अध्यक्षको सन्देश: सृजनात्मक अभिव्यक्तिमा वैचारिकताको खाँचो

गङ्गा लामिटारे
ओहायो, अमेरीका                     

सृजना स्रष्टाको निजी अनुभूति र कलात्मक अभिव्यक्तिको सुन्दर प्रकाशन हो । समाज,देश र राष्ट्रिय परिवेशका घटनाक्रमहरूलाई स्रष्टाले निजी विचार र अनुभूतिसँग मुस्छ । त्यसलाई कलात्मक भाषा-शैलीको प्रयोग गरेर सिँगार्छ र अन्ततः शृङ्गारित सृजना समाजलाई नै सुम्पन्छ । समाजबाट स्विकारिएको त्यो कलात्मक सृजना नै अन्ततः साहित्यको रूपमा प्रतिष्ठापित हुन पुग्छ । भूटानी नेपाली साहित्यका बारेमा भन्नुपर्दा मूलधारको साहित्यभन्दा भिन्न र छुट्टै किसिमले अघि बढिरहेको छ । यसले कसैलाई जित्नु पनि छैन र कसैबाट पराजित हुनु पनि छैन । यो कसैको प्रभाव र उक्साहटमा बरालिएको पनि छैन । आफ्नै जग र हैसियतमा उभिएर नै भूटानको नेपाली साहित्यको प्रतिनिधित्व गरिरहेको छ । यो हाम्रा लागि हर्ष र गर्वको विषय भन्नुपर्छ । भूटानको नेपाली साहित्यमा स्तरीयता छैन भन्ने प्रश्नहरू पनि नउठेका होइनन् । प्रश्न उठ्नु स्वाभाविक हो र आफ्नै चाल र गतिमा लम्कनु अस्वाभाविक पनि होइन । हो,सृजना खारिनु पर्छ र मात्र साहित्यमा स्तरीयता आउँछ । यो वैश्विक मान्यता पनि हो । तर हामी बिचमै पनि साहित्यबारे दुई विचारको टकराब चल्दै छ,यति बेला । एक थरी जे जस्तो  लेखिएको र सृजना गरिएको रचनालाई साहित्यको दर्जा मिल्नुपर्छ भन्ने स्वीकारोक्ति मान्यता राख्छ भने अर्को समूह स्रष्टाको खारिएको सृजनात्मक अभिव्यक्तिलाई मात्र साहित्यको रूपमा मान्यता दिनुपर्छ भन्ने अडानमा छ । त्यति मात्र होइन,कृति समीक्षाबारे पनि यी दुवैको विचारमा समानता देखिँदैन । पहिलो समूह कृतिको समीक्षाको नाममा लेखकलाई नकारात्मक प्रभाव पार्ने किसिमका टिका-टिप्पणी गर्नु कदापि हुँदैन भन्छ । लेखकलाई बढी सकारात्मक प्रोत्साहन र प्रेरणा दिन जरुरी छ । बढी नकारात्मक टिका-टिप्पणीले लेखकलाई बढी  निरुत्साहित गर्छ र लेखकले लेख्न छाड्छ । लेख्नै छोडेपछि साहित्यको विकास सम्भव हुँदैन । त्यसैले लेखकको उत्साह र सर्जकीय ऊर्जालाई सदैव सम्मान गर्नुपर्छ । प्रोत्साहन गर्नुपर्छ र मात्र लेखनमा निरन्तरता हुनसक्छ,भन्ने मान्यतामा  अडिग छन्,एक थरी  । अर्को समूह भने कृतिभित्र देखिएका सबल र निर्बल पक्ष बारे सर्जकलाई अवगत गराउनु नै सही समीक्षाको दायित्व हो । निष्पक्ष गरिएको समीक्षात्मक टिप्पणीलाई स्रष्टाले कहिले पनि अन्यथा मान्नु हुँदैन । स्थापित स्रष्टा बन्न चाहने स्रष्टाका लागि  सही सुझाव र निर्देशनको आवश्यकता पर्छ र त्यो आवश्यकताको परिपूर्ति वास्तविक समीक्षक वा समालोचकहरूले नै गर्छन् । कृतिकारहरूको वास्तविक गुरु भनेकै समीक्षक र विश्लेषकहरू हुन् । समीक्षकहरूको सही सुझाव र निर्देशनको अनुगमन गर्नेहरू नै आज संसारमा चर्चित स्रष्टाका रूपमा स्थापित भएका छन् ।

आजसम्म  भूटानको नेपाली साहित्यको क्षेत्रमा समीक्षाको नाममा लेखकलाई हौस्याउने मात्र कार्यहरू भए । त्यसैले स्तरीय साहित्यको विकास हुन सकेन । आलोचनाको त कुरै छाडौँ सही समालोचना पनि हुन सकेको छैन आजसम्म । गुणात्मक कृतिहरूको प्रकाशनमा जोड्दिनु पर्छ र मूल्यहीन र हलुका कृतिहरूको प्रकाशनलाई निरुत्साहित गर्नुपर्छ भन्ने  उनीहरूको धारणा छ । जति नै कृतिहरू प्रकाशन गरिए पनि गुणहीन र मूल्यहीन सृजनाले साहित्यको मान गर्दैन, बरु अवमूल्यन गर्छ । त्यसैले मूल्यहीन कृतिको सङ्ख्यात्मक प्रकाशनलाई निरुत्साहित गर्दै गुणात्मक कृतिहरूको प्रकाशनमा जोड दिनुपर्छ,भन्ने दोस्रो थरीका स्रष्टाहरूको मत रहेको छ  ।

हो, लेखनमा विभिन्न विचार र वादहरूको  टकराब हुनुपर्छ र मात्र  वास्तविक समालोचनाको जन्म हुन्छ । अब भूटानको नेपाली साहित्य लेखन परम्परामा  पनि समीक्षा,विश्लेषण,आलोचना र खरो समालोचना गर्ने बेला भएको छ । स्वस्थ  आलोचना नै  स्तरीय साहित्यको जग हो र बलियो पृष्ठभूमि पनि भन्ने स्रष्टाले/विचारकले बिर्सन मिल्दैन ।

भूटानी साहित्यको साझा मञ्च (Bhutaneseliterature.com) साहित्य  परिषद् भूटानको पाक्षिक प्रकाशन हो ! पुनर्वास प्रक्रियाले तत्कालीन क्याम्पमा भइरहेका साहित्यिक गतिविहरू  अवरुद्ध भएका   बेला यसको स्थापना भएको थियो ! विशेष गरी क्याम्पमा भएका साहित्यिक प्रकाशनहरूलाई निरन्तरता दिने उद्देश्यले २००९मा यसको  स्थापना भयो !  स्थापना कालदेखि आजसम्म यो प्रकाशन अविरल चलिरहेको छ । ३५ सयभन्दा बढी लेख रचनाहरू सङ्कलित गरेको छ र ती रचनाहरूलाई विद्युतीय तरङ्गमा सुरक्षित अभिलेखीकरण गरेको छ । भूटानको सृजनाको बाँझो धर्तीमा सृजनाका फूलहरू उमार्ने जुन काम गरेको छ, त्यो नेपाली भाषी भूटानीरूका लागि  मात्र होइन संसारकै नेपालीहरूका लागि पनि एउटा उदाहरण बनेको छ, भूटानी साहित्यको साझा मञ्च ।  भूटानी नेपाली साहित्यको संरक्षण र संवर्द्धनका लागि निरन्तर प्रकाशनमा सक्रिय यो साझा मञ्च यही मई,७ देखि ११ पुगेर १२ वर्षमा  प्रवेश गर्दै छ भन्ने खबरबाट म निकै उत्साहित भएको छु र हर्षित पनि  ! भूटानकै जेठो साहित्यिक संस्था साहित्य परिषद् भूटानको प्रकाशन विभागका निर्देशक, सम्पादक तथा मञ्चका संस्थापकज्यूहरूलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु  । प्रकाशनको  यस १२ औँ  स्थापना दिवसलाई अझ उल्लासमय र सृजनशील बनाउनका लागि आफ्ना अमूल्य लेख, रचना, विचार र शुभकामनाहरू पठाएर सहयोग गर्नुहुने लेखक,कवि र शुभचिन्तकहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । अन्तमा सृजनाको यो यात्रा अविरल चलिरहोस् र लेखकहरूको सृजनशील चेतनाको आयाम फराकिलो बन्दै जाओस् । यही शुभकामना भूटानी नेपाली साहित्यको साझा मञ्चलाई ।

धन्यवाद
गंगा लामिटारे
अध्यक्ष, साहित्य परिषद्, भूटान

Leave a Reply

Your email address will not be published. Required fields are marked *