हामी हार्मोनियम र त्यसका रिडहरु

सबिन शर्मा
अमेरिका

कुनै गरीब र सिकारु कलाकारको
बिग्रिएर पनि बज्न बाध्य
बाजेर पनि कोठा भित्र सीमित
हामी हार्मोनियम हौँ,
हामी बिग्रिएका हार्मोनियम हौँ।

हाम्रो जड्सुत्रता चिम्टी भाँचिएको कुनै रिड हो
हामी जति बजे पनि, जे बजे पनि
त्यो बजिरहेकै हुन्छ।

हामी भित्र खोक्रा छौँ
हामीमा कसैले हावा भरिदिन्छ
र, त्यसलाई सत्य सम्झिएर,
प्राण सम्झिएर बाच्छौँ।
हावा लगाउञ्जेल कराउँछौँ , चिच्याछौँ
हावा सकिएपछि शान्त हुन्छौँ ,
थान्को लाग्छौँ।
बोल्ने प्रयत्नमा अर्थहीन आवाज निकाल्छौँ।
खुब चिच्याउँछौँ हामी हावाको भरमा
हावा निल्छौँ, हावा उकेल्छौँ।

हामी मध्ये जसमाथि थिचो-मिचो हुन्छ
जसलाई दबाइन्छ ,
त्यो मात्रै आवाज निकाल्छ
त्यो मात्रै चिच्याउँछ
बाँकी सबै चुप्चाप रहन्छौँ
चुप्चाप सहन्छौँ।
हामी अरु माथिको अन्यायको बिरुद्धमा बोल्दैनौँ
आफू माथिको अन्यायमा अर्को बोल्दैन।
हामी बोल्नै सक्दैनौँ।

हामी हार्मोनियमबाट चोइटिएर, टुक्रिएर रिड-रिड भएका छौँ।
हामी अन्यायमा एक्लो हुन्छौँ।
हामी सम्भावित खतराको प्रतिकार गर्न सक्दैनौँ।

कुनै दिन हामी सबै मिलेर करायौँ भने
कसैको बिरुद्धमा आवाज निकाल्यौँ भने पनि
हाम्रो आवाज एउटै हुँदैन,
हामी हार्मोनियम र त्यसका रिडहरु हौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *