हिमालको साम्राज्यवाद
गङ्गा लामिटारे
ओहायो, अमेरिका
देशै फर्किनु पर्छ भनेर दरो अडानमा बसेका हिमालले पनि अन्ततः पुनर्वासमा हिँड्नै पर्यो ।
कोही चाहेर हिँडे भने कतिले बाध्यताले हिँड्नुपर्यो । पुनर्वास कसैका लागि रहर बन्यो त कसैका लागि कर बन्यो । त्यही बाध्यताले हिमाललाई पनि छाडेन । एक छोरा एक छोरी र श्रीमतीका साथ अमेरिका छिरेका हिमालले पुनर्वासका ३ वसन्तहरू रमाइलोसँग बिताए । ६ महिनासम्म एजेञ्सीका सेवा र सहयोगमा उनका दिन रमाइलो भएर बिते । प्रायः नव आगन्तुकहरूका लागि पुनर्वासको पहिलो चरण महत्त्वपूर्ण मानिन्छ । त्यसै भएर होला यसलाई हनिमुन चरण भनिएको । हिमालले ६ महिनासम्मको यस चरणलाई व्यर्थ जान दिएनन् ।
अमेरिकाको विकास-निर्माणमा प्रयोग गरिने ऊर्जा र प्रविधिहरूलाई मार्क्सवादी ढङ्गले विश्लेषण गरे । अमेरिकाका राष्ट्रिय राजमार्गहरूको ढाँचा र सुरक्षित ट्राफिक व्यवस्थापनबाट उनी धेरै प्रभावित भए । ६० प्रतिशतभन्दा बढी काम-काजहरू विद्युतीय प्रणालीबाट हुने भएकाले पनि अमेरिकाले शक्ति र समृद्धि दुवै हासिल गरेको भन्ने उनलाई विश्वास भयो । केही वर्षपछि यस शक्तिशाली राष्ट्रको गौरवशाली नागरिक हुनेछु भनेर भित्रभित्रै हर्षले पुलकित पनि भए उनी । हरेक नागरिकले समान अवसर, समान सहभागिता र समान अधिकारको उपभोग गर्न पाएकाले नै अमेरिकामा कुनै द्वुन्द र टकराब नभएको भन्ने उनको निष्कर्ष थियो । जातीय र लैङ्गिक विभेद उनले देखेनन् । अमेरिकामा विना रोकटोक हरेक समुदायले आफ्नो भेष-भूषा, भाषा, संस्कृति र धर्मको अभ्यास गर्न पाइएको र आफ्नो भाषा-संस्कृतिको प्रवर्धन र विकासका लागि आर्थिक-सहयोग र अनुदानहरूको समान वितरण भएको उनको ठहर थियो । यी सबै समानताहरूलाई उनले कम्युनिस्टको साम्यवादसँग दाँजे । आर्थिक सम्पन्नताका दृष्टले अमेरिकी समाज उच्च, मध्य र निम्न ३ वर्गको भए पनि जातीय र वर्गीय विभेद विल्कुलै नभएको भन्ने हिमालको अध्ययनले देखायो र कानूनीरूपमा सबै नागरिकले समान हैसियत पाएको बुझे ।
अशक्त, रोगी र निम्न वर्गीय नागरिकका लागि मेडिकेड र फूडस्ट्याम्पको व्यवस्थापनमा अमेरिका सबैभन्दा अघि रहेको उनको ठहर थियो । नागरिकका घर घरमा सञ्चार, सम्पर्क र यातायातको पहुँच । वातानूकुलित घरहरूको निर्माण । पुलिस प्रशासनप्रति नागरिकको अदम्य विश्वास । अपराध नियन्त्रण र कानुनको संरक्षणमा पुलिसको भूमिकामा अमेरिका अन्य देशहरूभन्दा सय वर्षअगाडि पुगेको उनको सर्वेक्षणले देखायो । अमेरिका अपार अवसर र सम्भावनाको देश हो । सपना र महत्वकांक्षा पूरा गर्न चाहनेहरूले यहाँ पसिना बगाउनै पर्छ । कामको समान अवसर र समान महत्त्व । वर्षभरि काम गरेबापत पाइने ट्याक्स फिर्ती। कामदारहरूका लागि अवकाश भरण र सोसियल्स सेक्युरिटी फाइदाहरू संसारमै अभूतपूर्व रहेको ठाने उनले । ३ वर्षसम्म अमेरिकामा न कुनै जुलुस, नारा र हड्ताल नै देखे उनले न त बन्द। हड्ताल र बिना बिजुलीको अमेरिका नै देखेनन् । सुशासन, समृद्धि र कानुनी राज्यको व्यवस्थापनमा मात्र होइन राजनैतिक र आर्थिकरूपमा समेत अमेरिकाले विश्वलाई उछिनेको उनको निर्कियोल थियो ।
– – – – – – – – – – – – – – — – – – – – – – – –
अमेरिकी दादागिरी र उसको साम्राज्यवादी नीति विरुद्ध कुर्लिने हिमाल पुँजीवादभित्र साम्यवाद देख्न थाले । क्युबा र चीनलाई राजनैतिक आदर्श ठान्थे उनी । मार्क्स र माउसेतुङ्को जीवन दर्शन र दुन्द्वात्मक भौतिकवादप्रति उनको आकर्षण थियो । हरेक भुटानी प्रजातान्त्रिक सङ्घर्षहरू विफल हुनुमा सैद्धान्तिक राजनीतिको अभावले हो भन्ने सोचेर नै उनले भुटान कम्युनिस्ट पार्टीको स्थापना गरे । वर्ग सङ्घर्षको माध्यमबाट भुटानको राज्यसत्ता हड्प्ने उनको अभियान थियो र त्यस अभियानमा ५ वर्ष निरन्तर लागि रहे उनी । सिद्धान्तले भन्दा पनि भोक र शोकले मानिसको महत्वकांक्षा बढी प्रभावित हुँदो रहेछ । र त्यही महत्वकांक्षाले भुटानी कम्युनिस्ट आन्दोलन पनि हुर्किनै नपाइ अपाङ्ग बनाइदियो । राज्यसत्तासँग जुझ्न शपथ खाएका चट्याङहरू, किस्मत र विकल्पहरूले थाहै नदिई कुलेलम ठोकेपछि एक्लो हिमालले मात्र के गर्ने ! पटक पटक अमेरिकालाई साम्राज्यवादी भनेर सरापेकोमा अहिले उनलाई निकै पछुतो लाग्यो । वास्तवमा कम्युनिस्टहरूले विश्लेषण गरे जस्तो अमेरिका होइन रहेछ । सिद्धान्त र वास्तविकतामा धेरै अन्तर हुँदो रहेछ भन्ने उनको निष्कर्ष थियो ।
यो त उनको हनिमुन पिरियड थियो । वैधानिकरूपमा अमेरिका छिर्नेहरूका लागि यो चरण धेरै महत्त्वपूर्ण हुन्छ । यस चरणमा उनले अमेरिकाको आन्तरिक र बाह्य दुवै पाटो अध्ययन गर्ने अवसर पाए । अमेरिका आएको ८ महिना पछि हिमाललाई एजेञ्सीले एउटा वायर-हाउसमा काम लगाइदियो । अमेरिकाको पहिलो जब भएकाले उनी खुसी र उत्सुक पनि थिए । पहिलेदेखि त्यस कम्पनीमा धेरै भूटानी युवाहरू काम गर्थे । कामको पहिलो दिनको पहिलो प्रहर नै उनका लागि नरमाइलो भइदियो । कम्पनीमा उनलाई देख्ने बित्तिकै लु कम्रेड हिमाल आयो भनेर साथीहरू पर पर सर्थे । आँखा कर्काएर हेर्थे । उनीहरू मन मनै भन्थे- ’अब यहाँ पनि यसले राज्यसत्तालाई धुलो चटाउने र भाँडभइलो मचाउने कुरा गर्छ । यससँग बोल्नुभन्दा नबोल्नु नै वेश‘ भन्दै ततर्किन्थे । हुन पनि क्याम्पमा पुनर्वासको कुरा गर्नेहरूको नाम उनी आफ्नो कालो सूचिमा राख्थे । मध्यराति जनसेना पठाएर लुट्न लाउँथिए । र प्रतिकार गर्नेहरूलाई साम्राज्यवादीहरूको दलाल भनेर भौतिक कारबाही गर्ने गर्थे । देशभित्रभन्दा पनि क्याम्प केन्द्रित थियो उनको सङ्घर्ष । उनको भौतिक कार्यबाहीमा पर्नेहरू पनि त्यहाँ थिए । उनको राजनीति विचारप्रति विमति राख्नेहरू पनि थिए त्यहाँ । सबै परिस्थिति आफूविरूद्ध देखेपछि उनी समालिए । समस्यालाई सरसरती अध्ययन गर्दै विपरीत स्थितिलाई आफ्नो अनुकूल पार्ने जुक्तिमा लागे उनी । जस्तै समस्याहरू पनि सहजताका साथ समाधान गर्ने कुशलता उनमा थियो । त्यही कला प्रयोग गर्दै उनले एक दिन लन्चमा साथीहरूसँग क्याम्पको घटनाहरू बिर्सिदिन आग्रह गर्दै भने ‘साथी हो, कुनै पनि भूटानी पुनर्वासको अवसरबाट नछुटोस् भनेर नै मैले त्यस बेला भूमिगत सङ्घर्ष चलाएको थिएँ । यदि मैले आतङ्कित नगरेको भए यो अवसरको हकदार कोही पनि हुने थिएन ।’
– – – – – – – – – – — – – – – – – – – — – – – – – – – – – —
काममा लागेकै दुई महिनामा उनको फूडस्ट्याम्प काटियो । मेडिकेड काटियो । बिजुली, ग्यास, पानी र फोनको चर्को बिल र घरभाडाको चाप उनी माथि खनिँदै गयो । जाबो कम्पनीको एक्लो कामले मात्र घर धान्न धौ धौ पर्न थाल्यो । उनले श्रीमतिलाई पनि आफ्नो कम्पनीमा काम लगाए । श्रीमतीले काम गर्न थाले पछि छोरा र छोरीको मेडिकेड र फूडस्ट्याम्पसमेत काटियो । पाउँदै गरेको सौलियतहरू काटिएको चिठ्ठी आयो । किन नानीहरूको सौलियत काटेको भन्दै काउन्टीमा गराएर केसवर्करसँग जङ्गिए । चर्का चर्की गरे । जंगिएर के गर्ने ! अन्ततः भावनाको होइन सिस्टमकै जीत भएरै छोडो । उनी जति छिट्टो माथि उठ्न चाहन्थे त्यति त्यति अमेरिकी दलदलमा भासिँदै र कसिँदै जान्थे ।
सुरुमा खुलेर अमेरिकी साम्राज्यवादका पक्षमा वकालत गर्ने हिमालले आर्थिक सङ्कट आउने साथ सबै सिस्टमहरूमा खोट देख्न थाले । अमेरिकाले आर्थिक, रानैतिक र सामजिकरूपमै विश्वको नेतृत्व गरेको भनेर प्रशंसा गर्ने हिमाल एक एक दादागिरी र हैकमवादी भन्न समेत पछि परेनन् । काम गरे बापत दिइने ट्याक्स क्रेडिटलाई अभूतपूर्व भन्ने हिमाल श्रमजीवी मजदुरहरूले काम गरेका कम्पनीलाई, स्थानीय सरकार देखि सङ्घीय सरकार र सौदा गर्दासम्म तीन तीन पटकसम्म कर असुल्ने प्रणालीलाई आर्थिक शोषणको चरम विन्दुसमेत भन्न भ्याए । जातीय विभेद नदेखिए पनि रङ्ग र वर्णका आधारमा व्यापक विभेद र असमानता रहेको उनले देखे । अधिकारको नाममा अमेरिकी महिलाहरू नाङ्गिदै गएकाले बलात्कार जस्तो चरम उत्पीडनको सिकार बन्न विवश भएको उनले पाए । बच्चाहरूले ५/६ महिनामै अङ्ग्रेजी फरर बोलेको सुनेर अमेरिकी शिक्षाप्रणालीको खुलेर प्रशंसा गर्न भ्याएका हिमालले एक वर्ष नबित्दै किताबी ज्ञानविनाको शिक्षा संसारमै तल्लो स्तरको प्रमाणित गर्दिए । उनले चारैतिर असमानता र विभेदै विभेद मात्र देखे । त्यसै गरी बाटा घाटा र ट्राफिक व्यवस्थालइ विश्वकै श्रेष्ठ मान्ने उनले रातोमा छिराएर टिकट पाउनासाथ अपराध नियन्त्रणको नाममा अर्थ असुल्ने बेकारको तगारो भन्न थाले । हुनपनि एकदिन उनी काममा ढिलो पुगे । ढिलो भएकाले २ प्वाइन्ट पाए । अन्याय गरिस् भनेर मेनेजरसँग चर चरी बाजे पनि । दोस्रो दिन पनि ट्राफिक जाममा परे उनी । आज पनि ढिला भयो भने ४ प्वाइन्ट दिन्छ । र कामबाट पनि निकाल्छ भन्ने ढर र त्राससमेत थपियो उनलाई । त्यसैले यताउति हेरेर रातैमा गाडी स्वाट्ट छिराए । उनी ढुक्कसँग काममा पुगे । तर ३ दिनपछि गाडीको तस्बिरसँगै २ सय ५० डलरको टिकट पाएको चिठ्ठी आयो । चिठ्ठी पढेर रिसले मुर्मुरिए । ट्राफिक सिस्टम नै उडाई दिन्छु भनेर उफ्रिए । उनी जति दाँया बायाँ गर्न खोज्थे त्यति त्यति सङ्कटमा जाकिदै जान्थे । गरिब र सर्वहरा वर्गको शोषण गरेर नै शक्ति र समृद्धि हासिल गरेको भन्ने उनलाई पक्का भयो । हिमालको सोच र चिन्तनको विद्रोह बिस्तारै व्यवहारमा देखिन थाल्यो । उनीभन्दा पहिला पुनर्वासमा आएका चट्याङ, किस्मत र प्रकाण्डहरूसँग फोन सम्पर्क गरे । आर्थिक शोषणका विरुद्ध जुट्नु पर्छ । गरिब र मजदुर मारा साम्राज्यवादी सरकारलाई घुँडा टेकाउनुपर्छ भनेर सबैलाई आह्वान गरे । चोकचोकमा बसेका मगन्ते र घरविहीहरूलाई पनि होमलेस बनाउने सिस्टमका विरुद्ध उठ्नुपर्छ भन्दै उक्साए । राष्ट्रपति दिवसको अवसर पारेर राष्ट्रपति भवन घेर्ने योजना पनि बनाए । राष्ट्रपतिलाई ज्ञापन दिएर सङ्घर्षको उत्कर्ष गर्ने उनको योजना थियो । दिवस नजिकिँदै आयो । भोलि बेलुकै डिसी पुग्नुपर्छ भनेर उनले सल्लाह गरेका साथीहरूलाई फोन गरे । तर फोन उठेन । मेसेञ्जर कल गरे । इमेल र इन्बक्स पनि गरे । कसैले पनि रेस्पोन्स गरेनन् । सधैँ गल्ली गल्ली र चोकमा बसेर माग्नेहरूलाई भेट्न गए । त्यहाँ पनि कोही थिएनन्। यसरी कसैले पनि साथ र सहयोग नगरेपछि उनको साम्राज्यवाद विरुद्धको आन्दोलन तुहिएर गयो । उनी झन्नै झन्नै बौलाए पनि ।
– – — – – – – – – – — – – – – – – – – – – – – – – – – — – – – – –
सबै जुक्तिहरू फेल भएपनि उनले हरेस भने कहिले खाएनन् । आवश्यकता नै आविष्कारकी जननी हो भन्ने उनलाई विश्वास थियो । आज एक्कासि उनलाई चुरोट र पानको तलतल लागेर आयो । रन्फनिदै उनी एउटा ग्रोसरी पसलमा पसे । निकै भीड थियो पसल । उनले एक प्याकेट सिग्रेट, एक खिली पान, एक प्याकेट गुडका र एक थान दारी काट्ने ब्लेट किने । उता ५ रुपियाँ पर्ने एक खिल्ली पानलाई १ डलर, ५ रूपियामा पाइने ब्लेटलाइ २ डलर र ५ रुपियाँ पर्ने गुड्खाको प्याकेटलाई २ डलरमा बेचेको देखेर हिमाल तिन छक्क परे । उताबाट ल्याएका सबै समानहरू तेब्बरमा बेचेको पाए । भिन्न भिन्न पसलमा फरक फरक मूल्य । जसले जतिमा बेचे पनि भयो । कसैले किन यस्तो मनपरी पनि भन्दैन । कुनै आधिकारिक संस्थाहरूबाट जाँच र अनुगमन पनि छैन । एक वर्षमै व्यापारीहरू मालामाल भएको रहस्योत्घाटन भयो आज हिमाललाई । समानहरूमा मनोमानी ट्याग लगायो अनि कम्युटरमा टिक् गर्यो र आधिकारिकता देखायो । यसरी व्यापारको नाममा तेब्बर ब्रह्मलुट देखेर हिमालको तेस्रो नेत्र खुल्यो । प्रत्यक्ष समुदायको सेवा पनि हुने र अप्रत्यक्ष आर्थिक समृद्धि ओइरिने अमेरिकामा व्यापार सिवाय अन्य उनले केही पनि देखेनन् । आर्थिक मज्बुती बिनाको कुनै पनि सिद्धान्त र वादको प्रयोग र प्रयोजन व्यर्थ र निकम्भ हुँदो रहेछ भन्ने निचोडमा पुगे, उनी । सेवा गर्छु भन्दा साथ र सहयोग नगर्ने सर्वहारालाई अब व्यापारको माध्यमबाट दुहुन्छु भन्ने निर्णयमा पुगे उनी । अन्ततः साम्राज्यवादको मूल जड भनेकै प्रत्यक्ष अप्रत्यक्ष आर्थिक ब्रह्मलुट नै रहेछ भन्ने उनको निष्कर्ष थियो । उनी साम्यवादको सिद्धान्त बिर्सिएर पुजिवादभित्रको आर्थिक समृद्धिप्रति आकर्षित हुँदै गए । अमेरिकाको व्यापार-व्यवसायमा प्रशस्त आर्थिक साम्राज्यको संम्भावनाहरु देखे उनले र त्यो आर्थिकसम्राज्यको सपना साकार गर्नका लागि एउटा ग्रोसरी स्टोर स्थापना गर्ने योजना बुन्दै उनी छिट्टो छिट्टो घरतिर लागे ।