अक्षरहरुको ध्रुवीकरण

भक्त घिमिरे-पेन्सिलभेनिया/अमेरिका

 

५७ वटा कविताहरु समेटिएको कवि तुम्बेहाङ लिम्बूको तेस्रो कविताकृति ‘अक्षरहरुको ध्रुवीकरण’का सबै कविता पर्गेल्न समयको पावन्दीले गर्दा अहिले सम्भव भएन । समयको अन्तरालमा विस्तारित समीक्षा लेखिएला, कृतिको सांगोपांगो समालोचना होला, ती कुरा छँदैछन् ।

धेरै कविताहरु मैले पनि पढेको छु तर, ती  सबैमध्ये ‘कलियुगको महाभारत’ र, ‘गोक्ते कविता’ दुइटा चाहिं मेरो मनमा खिपिएर रहेका छन् । ती दुइमध्ये पनि कलियुगको महाभारतका केही अंश म अलि तलतिर पुगेर उल्लेख गर्नेछु ।

सामान्यतः तुम्बेहाङका कविताहरु विद्रोही चेतना उजागर गर्ने खालका छन् । शब्दको कञ्जुस्याइँ नगरी भन्नुपर्दा उनका कविताहरु मार्क्सवादी दर्शन-चिन्तनबाट अभिप्रेरित छन् । हुन त साहित्यमा मार्क्सवादी चिन्तनलाई अराजक, नारावादी लेखन भन्नेहरुको भीड पनि ठूलै छ । यद्यपि, यो सत्य हो कि विद्रोह अथवा परिवर्तनको विगुल फुक्नलाई अराजक नभई हुँदै-हुँदैन । नारा भनेको पनि कुनै विषयकेन्द्रित सन्देश र आह्वान नै हो जसले हाम्रो परिवेशमा रैतीहरुलाई जनतामा रुपान्तरण गर्न उत्प्रेरित गर्दछ । र, साहित्यले सधैं परिवर्तनको चेतनालाई बोकेर हिँड्छ भन्ने यथार्थ कसैले नकार्दैन पनि !

वास्तवमा विद्रोह भनेको न्यायको खोजी न हो । न्याय त हरेक सचेत मानिसले खोज्नै गर्दछ । कार्ल मार्क्सले स्थापित गरेको सिद्धान्त पनि न्याय र समानताकै खोजी थियो । त्यसो भए मार्क्सवादी दर्शन-चिन्तन स्थापित हुनभन्दा पहिले न्यायको खोजी भएकै थिएन त ? न्यायको अभिलासामा कसैले कुनै कदम उठाएकै थिएन त?  यहाँ बलियो प्रश्न उठ्छ । यो प्रश्नको उत्तर खोज्न कोही समाजशास्त्र, प्राचीन इतिहास र पुराणहरुतिर पनि पस्लान् । पुराणतिर जानेहरुलाई यहाँ म एउटै सुझाव राख्न चाहन्छु, कृष्ण र गोवरधन पर्वतको कथा पढ्नुभए सजिलै उत्तर पाउनुहुनेछ । कृष्णले राजा इन्द्रका विरुद्धमा गाउँलेहरुलाई सम्झाइ-बुझाइ गरेर इन्द्रले पाउने कर, भेटी पूजा सबै गोवरधन पर्वतलाई अर्पण गरेका छन् । राजा इन्द्र भनेको दमनकारी शक्तिचेतनाको विम्ब हो भने गोवरधन पर्वत अचल, धीर तर, जनहितमा केन्द्रित शक्तिचेतनाको प्रतिविम्ब हो ।

यति कुरा बुझिसकेपछि हामीले थप के पनि बुझ्नुपर्ने हुन्छ भने कि त कृष्ण अराजक पात्र थिए ! अथवा कार्ल मार्क्सले अर्थशास्त्र, राजनीतिक शास्त्र लेख्न अघिदेखि नै न्यायको खोजी जारी थियो ! मार्क्स नजन्मिँदै ‘मार्क्सवाद’ अर्थात् न्यायको खोजी जारी थियो !

ल ठीक छ, यी कुरा चर्चा फेरि अरु नै सन्दर्भमा गर्दै गरौंला ।

मेरो जानकारीमा आएभरि २०/२२ वर्षदेखि लगातार कविताको सन्धानमा लगनशील तुम्बेहाङ, साहित्यका अन्य विधामा समेत पारंगत रहँदा रहँदै कवितामा सशक्त देखिएका छन् । उनको ‘भग्न पर्खालको सयपत्री’, ‘किनाराको प्रश्न’ हुँदै ‘अक्षरहरुको ध्रुवीकरण’ यो तेस्रो कृति हो ! ध्रुवीकरण भन्नेबित्तिकै यस विचारले कुनै कित्ता वा कुनै पक्षको प्रतिनिधित्व गर्दछ भन्ने बुझ्न सकिन्छ । र, कविको त्यो कित्ता प्रताडित, उपेक्षित, दमित मानिसहरुकै जमात हो जसमा हामी सबै कुनै न कुनै हिसाबले अँटाउन सक्छौं ।

सबै कृतिमा उनको विद्रोही चेतनाले ओतप्रोत, परिवर्तनका आकांक्षी कविताहरु दोहोरो संवाद गरेझैं प्रभावकारी छन् । उनका कविताले भूटानको राष्ट्रिय परिस्थिति, शासनपद्दतिका बिरोधाभासहरु र जनताले भोग्नुपरेको अन्याय, प्रताडना झल्काउँदै किनारीकृत जमातको आवाज बोलिरहेका छन् ।

वास्तवमा कविता, कथा, निवन्धजस्ता साहित्यका सबै शिल्पविधानहरु  मान्छेको जीवन भोगाइप्रति गर्ववोध गराउने कलाकारिताभित्र पर्दछन् । साहित्य भनेको जीवनको चेतनामा रंग थप्ने एउटा शिल्प हो । साहित्यले नित्य जीवनलाई समाजको सापेक्षतामा चित्रण गर्दछ ।

केही लेखकहरु साहित्यको कलाशिल्पलाई कलाकै सुन्दरता र मिठासका लागि हो पनि भन्दछन् । तर, जीवनसित प्रत्यक्ष सम्बन्ध स्थापित नहुने साहित्यको कुनै रस हुँदैन । साहित्यले जीवनको यथार्थ उतार्नुपर्छ भन्ने मान्यता उहिलेदेखि प्रचलित छ, जो माथि उल्लेख गरियो । त्यसैले साहित्यलाई ‘समाजको ऐना’ भन्ने उपमा दिइएको हो ।

विजय र उत्सवका कुरामात्र होइन, पराजय, पलायन, उच्छेदन, दोहन, विद्रोह, संघर्ष जस्ता  जीवनका सारा अवयवहरुको चित्रण गर्नु नै साहित्यको शक्ति हो । तुम्बेहाङका कवितामा ती सबै पक्षहरु समाहित छन् । उनका कवितामा सधैं विद्रोह, क्रान्तिको एकोहोरो शंखनाद मात्र हुन्छन् भन्ने पनि होइन । उनका कवितामा हैरानी, आवेग, निराशा र खिन्नता पनि छन् । तर, त्यो क्षणिक निराशालाई समष्टिमा पुगेर दृढता-भरोसामुखी अभिप्रायमा टुंग्याउने उनको कविचेतनालाई सलाम गर्नुपर्दछ । उनको यो कृति ‘अक्षरहरुको ध्रुवीकरण’ को प्रथम कवितामै उनले आफ्नो समाजको वर्तमान परिवेशप्रति गतिलो व्यंग्यवाण प्रहार गरेका छन् ।

“अस्तित्व र अहंकारको महाभारतमा

म विवश बर्बरीक

निरन्तर नियालीरहेछु यस धर्मयुद्धलाई

विवशताको युद्धमैदानमा ।

आजसम्म

कवियुगका पाण्डवहरु वनवास गइसके

कतिपय गुप्तवासमा पनि छन्

शकुनी पासा दिग्विजय उन्मुख छ

कौरव खलकमा हर्षोल्लासको त्यौहार छ….

 

दुर्योधनले तिघ्रा ठट्टाइ-ठट्टाइ

अन्तर्राष्ट्रिय जगतलाई चुनौती दिँदैछ

उहिलेको महाभारतमा जस्तो अहिलेको महाभारतमा

पाण्डवपुत्र द्रौपदीको अस्तित्व रक्षा गर्न सकिरहेका छैनन्-

उनीहरु त शकुनीको पासामा परेर

व्यक्तिकेन्द्रित दिनचर्यामा लिप्त छन्…..

 

एक हातमा बासीभातको डल्ला, अर्को हातमा मुंग्रो उजाएर

पाण्डवपुत्रको शिर छेदन गर्न शकुनी उद्यत छ

पाण्डवपुत्र भने खिच्चा कुकुरसरह

अझ पनि त्यही बासीभातको डल्लामा

आफ्नो भविष्य देखिरहेका छन् ।……

 

 

….युधिष्ठिर ‘हिप्नोटाइज’ भएर निर्वासन साहित्य लेख्दैछ

अब यस चक्रव्यूह तोड्ने कोही देखिएन

अभिमन्यूलाई सबै ढोका तोड्नै आउँदैन

निरीह एकलव्य द्रोणाचार्यसामु नतमस्तक छ

त्यो भीष्मपितामहले के गर्ने ?

विवशताको काँडे शय्यामा मृत्यु कुरिरहेछ ऊ-

धृतराष्ट्र मजबूर छ, किनकि ऊ अन्धो छ

गान्धारी आफैं आँखा बाँधेकी छन्

आखिर महाभारत अराजकता रहेछ

अराजकताको युद्ध नै महाभारत रहेछ

यस कलियुगको महाभारतलाई

रणनीतिक धावनमार्गमा अवतरण गराउन

विशाल मनहरुका विशाल छाती चाहिँदोरहेछ

जहाँ तीक्ष्ण कला-शिल्पको पाइलटले

छुट्टै अनि नवीन कलाबाजी

विश्वसामु प्रदर्शन गर्न सकोस् ।

म विवश बर्बरीक

चित्त नबुझी-नबुझी नियालिरहेछ

यो कलियुगको महाभारत …!

 

मेरो निजी विचारमा यो कविताभित्रै हाम्रो हिँजो, आज र भोलिका लक्षणहरु समेत समेटिएकाले सम्पूर्ण कृतिको वजन यसैले बोकेको छ भन्न चाहन्छु । तर, मलाई जस्तै सबै पाठकलाई नलाग्न सक्छ । यसर्थ जनसाधारण, दर्शक, स्रोता, पाठकहरुसमक्ष यो कृति पढ्न, बुझ्न र सर्जक हृदयलाई हौसला दिन आग्रह पनि गर्न चाहन्छु । कृति पढेर आफूलाई लागेको प्रतिक्रिया मात्र दिनु पनि लेखक-स्रष्टाहरुका लागि वर्दान हो । तर, यो अभ्यास अहिले समाजमा निकै घटेर गएको छ । कविता केही गन्थनहरुको एउटा पुस्तकमात्र होइन, एउटा निश्चित कालखण्डको अमुक भूगोल र समाजको सधैं ताजा रहने दस्तावेज पनि हो ।

 

जुनसुकै भाषाका हुन् कविताहरु मूलतः तीनवटा अभिप्रायबाट लेखिन्छन् भन्ने मैले कतै पढेको छु । ती अभिप्रायमध्येः

१. यस्तो किन भयो, हुनु हुँदैन’थ्यो (गुनासो)

२. यस्तो वा त्यस्तो भइदिए हुन्थ्यो र, (अभिलाशा/आकांक्षा)

३. यस्तो वा त्यस्तो हुनैपर्छ । (दृढ्ता/अठोट)

यी तीन अभिप्रायभन्दा अलग ‘अहिले यस्तो छ, उस्तो छ’ भनेर वर्णनमात्र गरिने कविताहरुलाई चाहिं रुमानी विलासिताको विचार भनेर लिने गरिएको छ । जस्तै नदी बगिरहेको छ, पुतली उडिरहेको छ आदि आदि…!

कविता जस्ता जस्ता लेखिए पनि अक्षरहरुलाई बुनेर कविता बनाउने सर्जक वा कविहरु दुइटा आधारभूमिमा उभिएर कविता लेख्छन् । ती आधारभूमि हुन् विवेक र भावना । भावनाबाट लेखिने कविताहरु ‘त्यस्तो भइदिए हुन्थ्यो’ भन्ने आशयका हुन्छन् । तर, विवेकबाट लेखिने कविताहरु ‘त्यस्तो हुन्छ, हुँदैछ र हुनैपर्छ’ भन्ने आशयका हुन्छन् । कवि तुम्बेहाङका लगभग सबैजसो कविताहरु ‘त्यो हुन्छ, हुँदैछ र हुनैपर्छ’ भन्ने अभिप्रायमा सुगठित छन् ।

सामान्य रूपमा जसले, जुनसुकै आधारमा अडिएर लेखे पनि सबै खाले लेखनको अपेक्षित गन्तव्य एउटै केन्द्रमा टुंगिन्छ जसले समाजमा शान्ति, सुव्यवस्था र उन्नतिको आशा राखेका हुन्छन् ! र, त्यो शान्ति, सुव्यवस्था र उन्नतिको गन्तव्यमा पुग्नका लागि यथास्थितिबाट परिवर्तन जरुरी हुन्छ । कवि तुम्बेहाङका साथमा हामी तमाम किनारीकृत मान्छेहरुले गरेको अपेक्षित परिवर्तनचाहिं कसरी सिद्ध होला त ? अबको चिन्तन त्यतातिर केन्द्रित हुनुपर्छ भन्ने लाग्छ । अबको उर्जा अस्ति के भए भन्नेभन्दा अब के हुनुपर्छ भन्ने कुरातिर लक्षित हुनु जरुरी छ ।

परिवर्तन दुइ प्रकारबाट सिद्ध हुन्छ । विकासशील र गुणात्मक । परिवर्तन विकासशील अवस्थामा रहँदा कुनै वस्तु वा विचारमा स-साना परिमाणात्मक परिवर्तनहरु हुँदै रहन्छन् । र, ती परिवर्तनहरु खास विन्दुमा पुगेपछि त्यो वस्तु वा विचारमा गुणात्मक परिवर्तन हुन्छ र नयाँ चीजको उत्पति हुन्छ । यसबाट के स्पष्ट हुन्छ भने गुणात्मक परिवर्तन परिमाणात्मक परिवर्तनहरुमै आधारित छ र परिमाणात्मक परिवर्तनबिना गुणात्मक परिवर्तन सम्भव छैन ।

यो नियम नै विकासको सर्वव्यापी नियम हो । यो प्रकृति, समाज र मानवीय विचारका सबै प्रक्रियाहरुमा लागू हुन्छ । यस नियमको प्रमाणका लागि प्रकृति र समाजमा अनेक उदाहरणहरु छन् । पानीलाई तताउनुहोस् । पहिले त पानी विस्तारै तातिँदै जान्छ । तर, जब तापको मात्रा निश्चित विन्दु (१०० डिग्री सेन्टिग्रेड) मा पुगेपछि पानी वाफमा फेरिन्छ जसलाई पानीको गुणात्मक परिवर्तन मानिन्छ । फेरि पानीलाई चिसो पार्दै लगियो भने कुनै खास विन्दुमा पुगेपछि त्यो हिउँ बन्छ, जुन पानीभन्दा गुणात्मक रूपले धेरै भिन्न छ ।

अचेतनबाट चेतन अथवा प्रकृतिबाट मानव विकास पनि यही ढंगबाट भएको छ । द्वन्दवादका दार्शनिक एन्जेल्स र मार्क्सका शब्दमा, “एक एक मानिसहरुको सहयोग जुटेर धेरै मानिसको एक शक्ति बन्दछ, धेरै शक्तिहरु मिलेर एउटै विषयमा जुटियो भने त्यहाँ अझ नयाँ अजेय प्रकृतिको शक्ति पैदा हुन्छ तर, यो शक्ति त्यसका वैयक्तिक शक्तिहरुको शुरुवातको विन्दुभन्दा धेरै फरक हुन्छ ।” घर कसरी बनाइन्छ भन्ने सबैले जानेको कुरो हो । काठ, माटो र इँटाहरु मिलाउँदै लैजाँदा पछि गएर घर बन्छ । तर, जब घर बनिसक्छ त्यो, पहिलेको काठ, इँटा र माटोमात्र हुँदैन ।

विचार र वस्तु विकासको व्याख्या गर्ने द्वन्दवाद एउटै दृष्टिकोणमात्र होइन । अर्को एउटा अवधारणा पनि उत्तिकै क्रियाशील छ । त्यो हो अध्यात्मवादी चिन्तनधारा । यस धाराका मानिसहरु विकासको कारणलाई सम्बन्धित विषय वा वस्तुभन्दा अलग, बाहिर अन्तै कतैबाट आउँछ भनेर विश्वास गर्दछन् । यसका लक्षणहरुबारे अघि माथि पनि संक्षेपमा उल्लेख भइसकेको छ ।

यसको तात्पर्य के भने भूटानको परिवेशमा परिवर्तन आउन वा ल्याउन एउटा चिन्तनधाराले त्यहीँभित्रको चेतना, ऊर्जा र जनशक्तिको विद्रोह आवश्यक छ भन्छ भने अर्को चिन्तनधाराले बाह्यशक्तिहरुको निर्देशन, अतिक्रमण वा हस्तक्षेपबाट मात्रै त्यहाँको परिवर्तन सम्भव मान्छ । यिनै दुइखाले विचारमा आएको अन्तरद्वन्दले हाम्रो अस्तित्वको संघर्षलाई पनि ओझेलमा पारिरहेको छ । कवि तुम्बेहाङका कविताहरुले यो ओझेल पार्ने विचारको बादललाई हटाएर टुकीकै धीप धीप उज्यालो होस् बरु, उज्यालो प्रकाशमै आनन्दको उच्छवास लिने अभिप्राय राखेका छन् ।

यसरी द्वन्दवाद र विकासवाद प्रकृति र समाज विकासको सम्बन्धमा दुइ परस्परविरोधी दृष्टिकोण हुन् भन्ने कुरा मैले सकेसम्म स्पष्ट पारिसकें होला । विकासवादीहरु क्रमिक विकासको अनिवार्यतालाई अकाट्य ठान्छन् तर, फड्को मार्ने आमूल परिवर्तनलाई मान्दैनन् । द्वन्दवाद अनुसार, प्रकृति र समाजको विकास अनिवार्य रूपले क्रान्तिकारी फड्कोद्वारा नै हुने गर्दछ । अर्थात् सजिलै बुझ्ने भाषामा भन्दा वस्तु, विचार तथा समग्र चराचरमा परिमाणको मात्रात्मक परिवर्तन निश्चित विन्दुमा पुगेपछि गुणात्मक परिवर्तन  हुन्छ ।

तर, अध्यात्मवादी चिन्तनधाराका आधारमा विकासको कारण उक्त चीजबाहिरको कुनै तटस्थ शक्ति हो । यान्त्रिक भौतिकवाद र यथास्थितिवादले पनि विकासका अवधारणालाई अध्यात्मवादीले जस्तै रूपमा लिने गर्दछन् । द्वन्दवादी सिद्धान्तचाहिं यी सबै चिन्तनधारा भन्दा अलग, आधारभूत तहबाटै विकास  र परिवर्तनको विश्लेषण गर्दछ ।

यस दर्शनको अवधारणा अनुसार कुनै चीजको विकासको कारण कुनै बाहिरी शक्ति होइन, बरु भित्री तत्व नै त्यसको मूलकारण हो । कुनै वस्तु वा विचारमा आफैंभित्र अन्तर्विरोध हुन्छ, त्यो नै  त्यसको विकासको आधारभूत कारण हुन्छ ।

द्वन्दवादले कुनै विचार वा वस्तुमा बाहिरी कारणबाट पर्ने प्रभावलाई अस्वीकार पनि गर्दैन तर, त्यसलाई मूल कारण मान्दैन । यस सम्बन्धमा द्वन्दवादले के भन्छ भने,“बाहिरी कारणहरु परिवर्तनका शर्त हुन् र भित्री कारणहरु परिवर्तनका आधार हुन् । बाहिरी कारणहरु भित्री कारणहरुमार्फत क्रियाशील हुन्छन् । सुहाउँदो तापक्रममा एउटा अण्डा चल्लामा फेरिन्छ तर, जतिसुकै तातोले छोपे पनि एउटा ढुंगाबाट चल्ला निस्किँदैन; किनभने अण्डा र ढुंगाको अस्तित्वका आधारहरु अलग अलग छन् ।

यसरी, द्वन्दवादले भित्री कारणलाई नै विकास वा परिवर्तनको आधारभूत मान्दछ । यस अर्थमा भूटानमा बहुसंख्याका नागरिकहरुले परिवर्तनको चाहना राखेर जुर्मुराएको दिन पक्कै पनि त्यहाँ कवि तुम्बेहाङ र हामी सबैको अपेक्षा अनुसारको परिवर्तन सम्भव छ । तर, अहिलेसम्म परिमाणको परिवर्तनमात्र भइरहेको छ; यसको मात्रा निश्चित विन्दुमा पुगेपछि त्यहाँ आमूल परिवर्तन अवश्यंभावी छ ! खाँचो के छ भने न्यायचेतनाको उत्थानमा लक्षित लेखनकार्य जारी रहनु अनिवार्य छ । विकास, उन्नति र न्यायका विरुद्धमा केन्द्रित शक्तिहरुलाई तोड्ने, दासताको आधारभूमिलाई ध्वस्त बनाउने विचारको प्रक्षेपण गर्न हरेक सर्जक र सिर्जनाहरु लक्षित हुनुपर्छ । ‘अक्षरहरुको ध्रूबीकरण’ का जन्मदाता कवि तुम्बेहाङ र तमाम लेखक, सर्जकहरुबाट यही अपेक्षा राख्तै विराम लिन चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *