अग्निपरीक्षामा– राजा जिग्मे सिङ्गे
गङ्गा लामिटारे
अमेरिका
संसारका हरेक निरङ्कूश शासकले आफनो वर्चस्व स्थापित गर्न आफ्ना परिवर्तनगामी जनतालाई विभिन्न आरोप-प्रत्यारोप लगाई अन्तमा देशद्रोही भन्छ र सैनिक लगाएर देशबाट खेदाउँछ । आज संसारमा यही भइरहेको छ । निर्दोषहरुमाथि दोषीहरुको र न्यायमाथि अन्यायको वर्चस्व कायम हुँदै आएको छ । यही घटना भूटानी जनतामा पनि पटक पटक दोहोरियो । विशेष गरेर दक्षिण भूटानी जनताको भाषा -संस्कृति र परम्परामाथि भूटानको निरङ्कूश राज्यव्यवस्थाले एक्कासी हमला ग–यो र भूटानीकरणको नाममा नचाँहिदो र कहीं पनि नचलेको तिब्बतीय संस्कार एवं आचरण भूटानी जनतामाथि थोपरेर उग्र कायरताको प्रदर्शन ग–यो । यसरी दक्षिण भूटानी जनताको भाषा-संस्कृति र परम्पराको अभ्यासमाथि जबर्जस्ती रोक लगाइयो । सरकारका यस्ता जनविरोधी र जनघाती नीतिविरुद्ध शान्तिपूर्ण प्रदर्शन गर्न सिवाय भूटानी जनताकालागि अर्को जायज विकल्प नै थिएन । संसार मानवअधिकार र प्रजातन्त्रको बकालत गरिरहेकै बेला भूटानी जनता पनि आफ्नो हक, अधिकार र कर्तब्यको प्रयोग गर्न पछिपरेनन् तर परिणाम भइदियो उल्टो । जन्मसिद्ध अधिकार पाउनुको सट्टा सन् १९९०पछि देशद्रोहीको कलङ्क बोकेर देशबाट लखेटिन विवश हुनु प–यो । त्यो पनि सेनाको बलमा । आफ्नो पुस्तौंदेखि सञ्चय गरेको जायजेथा सबै छाडेर । शरणार्थी हुनु प–यो एउटा सार्वभौम राष्ट्र्र्का स्वभिमानी नागरिकले । त्यो एउटा दुर्भाग्य थियो मानवअधिकार र प्रजातन्त्रको दुहाइ दिनेहरुका लागि ।
भूटान सरकारको दमन,ज्यादती र अमानवीय अत्याचार सहन नसकी रातारात देश छाड्न विवश जनतालाई संसारकै ठूलो प्रजातान्त्रिक भनिने त्यसमा पनि कानै नजिकको छिमेकी भारतले पनि त्यो अवस्थामा शरण दिएन । बरु उसले पनि पीडित भूटानी जनतामाथि आर्मी पुलिसको प्रयोग ग–यो र एक रात पनि भारतभूमिमा बस्न नपाउँदै नेपालको सीमा कटाएर भूटान सरकारकै पक्षमा काम ग–यो । त्यसबेला नेपालमा भरखर मात्र प्रजातन्त्रको उदय भएको थियो । नेपाली जनताको त्याग, तपश्य र महान बलिदानद्वारा प्राप्त शिशु प्रजातन्त्रले भूटानी जनताको मर्म,व्यथा र कथा बुझेरै होला भूटानीहरुलाई शरण दिनेहरुमध्येको पहिलो देश नेपाल नै हुन पुग्यो ।
नेपाली मानवअधिकार र प्रजातन्त्रवादीहरुको सहयोगमा पटक पटक देश फर्किने अभियान भूटानी जनताबाट पनि नभएका होइनन् तर भारत सरकारकै तीब्र दमन र घातक अवरोधहरुका कारण देश फिर्तीका कुनै पनि अभियान सार्थक बन्न सकेनन् ।
प्रवासमा गठित विभिन्न भूटानी राजनीतिक दल र मानवअधिकारवादी संगठनहरुले भूटानी शासकको दमन, दुराचार र अमानवीय यतनाका घटनाहरु विश्वसमुदाय समक्ष पु-याउन भने उनीहरु पछि परेनन् । यसमा नेपाल सरकार र अन्तराष्ट्रिय संघ संस्थाहरुको सहयोग र समर्थन पनि शरणार्थीका पक्षमा व्यापकरुपमा रह्यो ।
निर्दोष आफ्ना जनतालाई विनाशर्त देश फर्काउन र विद्यमान भूटानको शासन व्यवस्थामा सुधार र परिवर्तन गर्न विश्वसमुदायबाट तीब्र दवावको सृजना हुन थालेपछि भूटानी निरङ्कूश राजा जिग्मेले देशमा नाटकीय प्रजातन्त्रको उद्घोष गरे । सन् १९९० को जनआन्दोलनका क्रममा राजा सिग्येले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्र्यि संचारमाध्यमहरुलाई तीन वर्षभित्रमा दक्षिण भूटानको समस्या समाधान गर्न नसके गद्दी त्यागको घोषणासमेत गरे । यस आश्चर्यजनक घोषणाको १५ वर्षपछि २००८ मा आएर नाटकीय प्रजातन्त्रको चुनाव गराएर अन्तत उनी पर्दापछि लुक्न सफल भए । दुई पार्टी प्रणालीको प्रजातान्त्रिक नामको व्यवस्था शुरु गरे पनि त्यो कथित प्रजातान्त्रिक दलका दुवै नायक भने एउटा फूपाज्यू र अर्का आफ्नै जेठानलाई प्रजातान्त्रिक भूटानको बागडोर समाल्ने दार्र्ईत्व सुम्पिएर घीऊ कता पोखियो आफ्नै भागमा भन्ने भनाइलाई सार्थक बनाए । कूटनीति र षड्यन्त्रका खप्पिस राजा जिग्मे संसारको लागि यसरी एउटा कुशल प्रजातान्त्रिक नेताको पगरी बाँध्न सफल बने एकातिर भने अर्को तिर १९९० को दशकमा देशबाट खेदाइएका दक्षिण भूटानीहरुका जग्गा, जमीन उत्तरी र पूर्वी भूटानीहरुलाई वितरण गरेर सन् १९९६ पछि बढ्दो राष्ट्रिय खुशियालीको चर्को अवधारणाको योजना बनाए । भूटानमा चल्दै गरेको वास्तविक प्रजातान्त्रिक आन्दोलनको आवाजलाई ओजेलमा पार्न पर्दापछि रहेर राजा सिग्ये अहिले बढ्दो राष्ट्रिय खुशियाली र कथित प्रजतन्त्रको नाटकलाई विश्वमा मञ्चित गर्ने दुष्प्रयास गरिरहेका छन् । यस नाटकको महान सूत्रधार राजा जिग्मे स्वयं हुन् भने अर्कोतिर भारतको सहयोग पनि यसमा भरमार पाइरहेका छन् ।
यो ध्रुव सत्य हो,सत्यको जहिले जीत हुन्छ र असत्यको हार । जनताले हारेको र निरकूशताले जीतेको इतिहास कहीं छैन आजसम्म । भूटानको सन्दर्भमा अहिले असत्यको जीत भएजस्तो देखिए पनि अन्तत दुरगामी परिणाम जनताकै पक्षमा हुन्छ भन्ने वास्तविकतालाई कसैले बिर्सन मिल्दैन । माग्नेलाई खेदाउने र नचाहनेलाई कोच्याउने राजा जिग्मे सिग्येद्वारा निर्देशित कथित प्रजातन्त्र र जनसंख्याको एक तिहाइ हिस्सालाई पाखा लगाएर शुरुगरेको कथित राष्ट्रिय खुशियालीको जबर्जस्ती अभियान वास्तवमा राजा जिग्मेलाई अग्निपरीक्षा सावित हुनेछ । किन भने भूटानी शासकले ढाँट्ने र भीक्षाको झोली थाप्ने संसारका विकसित देशहरुमा उसले एकसमयमा देशद्रोही र आतङ्कवादी भनिनेहरुको प्रभाव एवं वर्चस्व स्थातपित हुँदैगएको छ । जुनजुन देशहरुबाट भूटानी जनता र राष्ट्र्यि उद्योगको नाममा अकूत सम्पति हासिल गर्ने र देशमा परिवर्तन चहाने जनताविरुद्ध त्यो सम्पत्तिको दुरुपयोग गर्ने गथ्र्यो । त्यो अब नब्बेको दशकमा खेदाइका दक्षिणी भूटानी नागरिकहरुको पुर्नबास कार्यक्रमबाट ती संसारका विकसित देशमा प्रवेश हुनु वास्तवमा भूटानी शासकका निम्ति कठोर दुर्भाग्य नै हो भन्नुपर्छ ।
९० को दशकमा शरणार्थी बनाइएका मानिसहरुको तेश्रो देश पुर्नवास कार्यक्रमले आय आर्जनका क्षेत्रमा मात्र होइन नाटकीय प्रजातन्त्र र राष्ट्रिय खुशियालीको कथित योजानको दुष्प्रचार प्रसार गर्ने र अन्तराष्ट्रिय समर्थन जुटाने कार्य पनि भूटानलाई फलामको चिऊरा सावित भएको छ यतिबेला । केही महिनाअघि युरोपको जेनेभामा आयोजित मानवअधिकार सम्बन्धी अधिवेशनमा प्रबासी भूटानीशरुद्वारा गरिएको चर्को विरोध र हालै अमेरिकाको भ्रमण राज्यमा आयोजित राष्ट्र्यि खुशियाली सम्बन्धी तीन दिने अधिवेशनमा भूटानी शासकका प्रतिनिधिहरुसँगको व्यापक छलफल र सरकारले अघिसारेको राष्ट्र्यि खुशियाली सम्बन्धी अबधाराणाप्रति प्रबासी भूटानी नागरिकहरुले जनाएको असन्तुष्टि वास्तवमा भूटानी शासकका निम्ति अग्नि परीक्षाका ज्वलन्त उदाहरण हुन् भन्दा फरक अवश्यै नपर्ला ।