अतितमा रुमलिएको शरणबहादुर

कथाकार

गोपाल घिमिरे,
एडलेड, दक्षिण अष्ट्रलिया

ऊलवर्थ्सबाट पाँच किलो दहीको सेतो बट्टा बोकेर भावर गरम छल्न पिटम्यान पार्क हुँदै घर फर्किरहेको थियो शरणबहादुर । बाक्लै रुखहरु भएकाले पार्कको बाटो अरुभन्दा शितल थियो। मनभरि कुरा खेलाउँदै हिँडिरहेको शरणवहादुर बाटो छेउको बेन्चमा बस्यो, अघिल्तिरको टेबलमा बट्टा राखेर । उसलाई आफू सात-आठ वर्षको हुँदा यसरी नै ठेकीमा दही-मोही लिएर आमासँग गोठखर्कबाट झर्दा बाटोमा बिसाएको सम्झना आयो ।

उसको मानसपटलमा चलचित्र जस्तै विगत क्रमबद्ध भई झल्कन थाल्यो । पाठशाला बिदा हुनासाथ आफू गोठखर्क जाने गरेको र हजुरबासँग छुट्टीभरि गोठमै बसेको । दही, दूध, घिउ, कुराउनी जति खाएपनि दिनुहुन्थ्यो हजुरबाले, कति माया गर्नुहुन्थ्यो मलाई । खर्कमा साइँला हजुरबा, जेठा बडाबा, कुर्मी बाजे, स्याङ्देन बाजे र अरू धेरैका गोठहरु थिए । बिहान भुकभुकेमै उठ्थें, मुडा घसेर आगो फुक्थें । भकारा सोरेर पाडा-बाछा लगाई सकेपछि पानी लिन जाने अनि गाई-वस्तु खोलेर चरनमा पुर्‍याएर टाट्नाका पाडा-बाछालाई घाँस काट्ने । घाँसको भारी गोठमा फ्यात्त फ्याँकेर खाना बनाउँथें । खाने कुरामा प्रायः मकैको भात, ढिँडो र साग-सब्जीमा गुन्द्रुक-सिन्की, साग र चिण्डेको मुन्टा वा ठोट्नेको अचार हुन्थ्यो-दही, दूध, घिउ, मोही त सदा नै खानाको अभिन्न अंग हुन्थे । आइतबार बेलुका भने खीर, ढकने वा कुराउनी पाक्थ्यो । पालो गरीगरी  गोठालाहरु एक अर्काका गोठमा भेला भएर आइतबार मनाउँथे ।

स्वाँठ्ठ परेका ठुटे सुरुवाल र पेटे भोटो लाएका कम्मरमा ड्याप्प पटुका बाँधेर खुकुरी भिरेका बुढाहरु खाना खाईसकेर कि त दाम्ला बाट्ने पाट वा लोप्ता र तोसारो कि त मोहला, फुङ्ला, छाप्री, डोको, थुन्से, डेली, पेचा आदि बुन्ने बाँस वा वेतका चोया लिएर वस्तु चरनका बीचमा भेला हुन्थे अनि तुन्दै-बुन्दै गफास्टमा दिन बिताउँतथे । गेडीकुरा घासँदाउरा सम्बन्धि नै हुन्थ्यो- डेढ़सय फुटभन्दा अग्लाअग्ला रुखमा चढेर कन्चिरनु झारेको, नाम्ले भीरमा चढी थाक्रो, अम्लिसो, लिप्पेको घाँस काटेको, बडा-बडा मुढाहरु काँधमा हालेर नबिसाई गोठमा पुराएको रमाईला तथा ठट्टाका कुराहरु हुन्थे । अनि गाउँतिर छरवताउ गर्न जाँदा पालो गरेर कसरी जाने भन्ने सरसल्लाह हुन्थ्यो। म छेउमा बसेर सुनिरहन्थें । कहिले-काहिँ हजुरबाले, “एइ नाती! चुर खाने पेपर सकिएछ, जा जा ऊ त्यो सहरोको सुकेका पात एक मुठ्ठी लिएर आइज त”, भन्नुहुन्थ्यो म कुदेर गएर लिई आउँथें । “स्याबास मेरो नाति”, भन्नुहुन्थ्यो म फुरुक्क पर्थेँ।

बेलुकी गाईवस्तु जम्मा गरी बाँध्ने अनि दुनु-बानु र खानपिन सकेर पालो गरीगरी  एक-अर्काका गोठमा भेला हुने, आधा रातसम्म रामायण, महाभारत, देविभागवतका श्लोकहरु जंगल नै उचाल्ने गरी पढ्थे, सुन्थे र सुनाउँथे । लयबद्ध यी श्लोकहरु वनका अन्य प्राणीजगतले मात्र होइन गोठैभित्रका ठेकी, हर्पे, दुँधेरो, मदानी, कुँडे, सिङवाङ, हँसिया, कचिया, खुर्पा, खुकुरी, वञ्चरो, डेलीजस्ता प्राणरहित चीजहरुले पनि मस्त भएर सुनिरहेको जस्तो लाग्थ्यो । हाइ काड्न थालेपछि “निन्द्रा लाग्यो अब……लड्नु पर्छ” भन्थे र सरङ्गमा सुकाइराखेका बाँसका सिटा तानेर राँको बाली आ-आफ्ना गोठतिर लाग्थे । त्यसपछि टाँडे खाटमा तीनचार पत्रे राडीमाथि पाखी ओडेर घ्वाँरघ्वाँर घुर्दै त्यसदिनलाई बिदा गर्थे ।

आमा, दिदी-बहिनीहरु घरै बस्थे । बेलाबेलामा गोठमा सामल लिएर गोठ जान्थें अनि दहि, मोही, घिउ, छुर्पी लिई घर फर्कन्थें । गोठालाहरु याम अनुसारको खेती लाउन र धान-कोदोको दाईं गर्न गाउँ झर्थे । लाइदिएको खेती गोडमेल गर्ने, पानी लाउने, काट्ने, थन्क्याउने काम पर्मा लाएर र हुरी खेलेर महिलाहरुले उतार्थे । घरमा पनि उनीहरुको एकक्षण फुर्सद हुँदैन थियो। कुख्रा-बाख्रा, नानी-पानी, खाना-पिना, कुटन-पिँधन र मेलोपातले उनीहरुको दैनिक जीवन गोठमा बस्नेकोभन्दा दुई गुणा व्यस्त हुन्थ्यो । त्यस्तो व्यस्तता हुँदाहुँदै पनि घरमा चाहिने सामानहहरु जस्तै-गुन्द्री, गजरा, पिरा, राडी आदिको तयारी गर्न पनि समय निकाल्नै पर्ने हुन्थ्यो । बिहान भुकभुकेदेखि शुरु भएको दिनचर्या राती जाँतो पिन्दापिन्दै कति त त्यहिँ निदाएर बिहान जाँतोबाट उठेर धारामा पानी लिन जान्थे । साँच्चै कस्तो कष्टकर जीवन बिताउनु पर्थ्यो महिलाहरुले  त्यसताका । तर पनि सबै खुशी थिए, दु:ख थियो तर दु:खभित्र सुखको अनुभुति दर्बिलो भएर बाँचेको थियो ।

त्यसपछि भएभरको सबैथोक छोडेर शरणार्थी भई बस्नु पर्यो । अठार वर्षसम्म दाताराष्ट्रहरुले केहि कामै नलगाई बचाएर राखे । कामको सुख भए पनि मनको भारी दु:ख लिएर बाँचियो शिविरमा । रातैपिच्छे जस्तो आफ्नै गाउँ-घरको सपना देख्थेँ, विहान उठ्दा भरङ्ग हुन्थेँ । शरणार्थी जीवनभरि त आफ्नो थलो बिर्सन सकिएन किनकि हाम्रो जीवन भनेको धागो चुँडिएर आकाशमा हराएको चङ्गाजस्तो भएको थियो । तर अष्ट्रेलिया आइपुगेपछि त कुनै चीजको अभाव छैन, सुखैसुख छ, अब त पुरानो दु:खै दु:खले भरिएको जीवन बिर्सन पर्ने हो नि-किन पुराना दिनहरुको संझनाले सताउँछ हँ यसरी ? शरणवहादुर आफैँलाई प्रश्न पनि गर्छ घरिघरि ।

फेरि शरणका आँखाअघि ती पुरानै दृश्यहरु झन झरिला भई नाँच्न थाले, घरभित्र भकारी र ढुकुटीमा धान, कोदो, फापर थन्क्याएको, आँगनमा थांग्रामा मकै थन्क्याएको, टाँड छापेर बनाएको खोल्मामा कोदोको नरुवा र मकैका खोसेला थन्क्याइएको तलतिर ढिकी, एक छेउमा जाँतो । उतापट्टि भित्तामा काँटा, कोदालो, कोदाली, कुटे, हँसिया, कचिया, खुर्पी, खुर्मी झुण्डाएको, मास्तिरपट्टि हलो, जुवा, दाँधे, कोदो कुट्ने ग्यालविस लगायतका सामानहरु  राखिएका । एकापट्टि डोरीको झोलुङ्गो बनाएर गुन्द्री, सुकुल, गजरा अनि पिराहरु हिफाजत गरेर थन्क्याइएको । घरतलतिर बाख्राको खोर, कुखुराको खोर, घरमास्तिर कान्लामा भाटाको बार लगाएर बनाएको डुँडमा घरतरुल रोपिएको। घरतलतिरको माचमा ईस्कुसको झ्याल, परतिर नेभाराको रुख, अलिक परतिर पानीको धारो; धर-र-र- आवज कानमा आइराखेको जस्तो भएपछि शरणवहादुर तर्सेजस्तो गरी एकपटक जुरुक्क उठ्यो अनि त्यही बेञ्चमा थचक्क बस्यो । उसलाई दिवास्वप्न जस्तो लाग्यो र यता उता पल्याक पुलुक हेर्यो; अलिक मास्तिर एकहुल रैथानेहरु बीयर र रक्सीका बोतल हातमा लिएर नाच्दै रहेछन् ।

उसले गोजीबाट मोबाईल निकालेर समय हेर्‍यो अनि समय निकै ढलेको थाहा पाएपछि दहीको बट्टा टिपेर घरतिर हिँड्यो । मनै अमिलो पारेर हिँडेको शरणवहादुरलाई सोचाइले साथ छाडेन । बाटोभरि पनि सोच्दै गयो । मनमनै आफैँलाई प्रश्न गर्दै थियो, “ खै त ती सबै थोक, घर, गोठ, खेतबारी, बर-बगान कता गए ? खै त छरछिमेक, मेलोपात, बिहे बटुलो र पूजा-आजामा खुल्लासँग रम्ने दिनहरु, कहिले देख्नु ती खोला-नाला, भीरपाखाका कलकलाउँदा जंगल- खै केहि नै छैन पहिलाजस्तो । उतिखेर दु:खै दु:ख भए पनि  सबैथोक थियो । आज तेस्रो देशमा आएर सबैथोकको सुखैसुख त छ तर…! अस्ति भेलामा एकजनाले भन्थे, हामीले पाए भित्रबाट धेरै गुमाएका छौं र गुमाए भित्रबाट धेरै पाएका छौं- ठीकै भनेका रहेछन् ।

सोचमै डुबेर शरणवहादुर घर पुग्यो, ढोका खोलेरभित्र पस्यो । सानी छोरी कुदेर आइन् र दहीको बट्टा हेर्दै भनिन्, “ ए नाइ ! बाबाले त दही पो ल्याउनु भएछ, कोक चाहिं ल्याउनु भएन ?”

3 Replies to “अतितमा रुमलिएको शरणबहादुर”

  1. Buddha Dhakal

    गोपालजी धेरै पछाडी तपाईंको कथा सुन्न देख्न पाइयो | सम्झना छ नेपाली भाषा परिषद्को विधान लेख्दा सिसौका रुख मुनि सितल खोज्दै हामी पसिनाले भिजेका कागज लिएर घन्टौं बहस गर्थ्यौ | कथा लेख्न गाह्रो छ तर हामी कथाका पात्र सजिलै भेट्न सक्छौ | तपाईंको कथाले भुटानी नेपाली साहित्यमा एउटा इटा थपोस, अरु ईटाहरु पोल्दै गर्नु होला |

    बुद्धमणि ढकाल

  2. Sushil Pokhrel

    दाजु,

    लेखले निकै महत्व बोकेको छ | एकातिर सयौं शरण बहादुरको दैनिकीलाई एक शरण बहादुरको कथामा परिभाषित गर्ने प्रयाश गरिएको छ भने हराई सकेका नेपाली खाट्टी शब्दहरुको प्रयोगले लेखमा ज्यान थपिएको छ भन्नुपर्छ | लेख मार्फत हराई सकेका यी शब्दको प्रचलनमा जोड दिउँ भन्ने संदेश दिनु भएको पनि बुझिन्छ |
    तपाइको अर्को लेखमा पर्खाइमा छु |

    सुशील पोखरेल

  3. Rp Subba

    Great article Gopal Daju.
    You are one of the jewels of our society, especially when it comes to culture and language. I in particular appreciate your reformative thoughts on many issues. You also bring flavor to it from your combined experiences of Bhutan, Kalimpong and Nepal and now Australia.(हामी आजकल कहाँ देउराली मा बिसौछौ र; एता जति पार्क हरु छदै छन नि ! दहि पनि स्टोर मा पाइन्छ! किन घर मा ठेकी चाहियो र?

    तपाइको लेख फेरी पनि पदन पौने आसा राख्दै!

    Rp Subba

    Please keep on.
    Rp Subba.

Leave a Reply

Your email address will not be published. Required fields are marked *