अनौठो रात

कवि: रूप पोखरेल पिट्सबर्ग, अमेरिका
कवि: रूप पोखरेल
पिट्सबर्ग, अमेरिका

” कति घन पानी थिम्पु’छु पुलमुनि बगिसक्यो
कति बेत त्यो एक काने टाकीनले पाठा हुर्काइसक्यो
साइप्रसका कापमा रेवनले कति ओथारा पुरा गरिसक्यो
ब्लु-पपीले फक्रंदै-वइलाउदै कति वसन्त मुस्कुराइसक्यो
सानोतिनो युगै बितेको पत्तै भएन !

स्वागतद्वार, ध्वजा-पतंगा देख्ता हिनतावोध हुन्छ
आफ्नै आँगन, करेंसा देखि सरम लाग्छ
खुसीयालीका बात सुन्दा मन भारी हुन्छ
आफ्नो परिभाषा स्मरण गर्दा आत्मग्लानि हुन्छ
म भित्रको जलन, बेचैनी नपोखियोस भनेरै
फोक्सो कुँज्याएर
स्वास बेस्सरी थेगेर
मस्तिष्कलाई काबुको गाम्चाले कसेर
जनमानस सामु हाँसी दिन्छु ।

बाहिरी जगतलाई जसोतसो
नुतन खुसियालीका ललिपप
भ्रमको महमा चोबेर
आज सम्म चुसाइयो
विवश थिएँ
यो धेरै टिक्तैन-थाहा थियो
त्यो जालो पनि फाट्यो !

मैले यतिका समय
कसरी बिताएँ? …
सिमाना नकाटेको दशकौं भो
अलिकति सरम
अलिकति बेआराम
अलिकति मनको बाघ…
विशाल संसार आफ्नै कारण कुवा भयो
म माफी- को सँग मागौं?….
ताँतीका ताँती आउछन हरेक रात
अतृप्त आत्माहरू
अबोध बालक देखि
बयोबृद्ध अनि बिधवा सम्म
भनिरहन्छन के के-के के
निर्जवाफ म पानी-पानी हुन्छु
मबाट अवश्य त्यो पाप भयो !

निरिहका घरबार उठाइदिएँ
परिवार फुटाइदिएँ
कैयौंको अस्मिता लुटाइदिएँ
इतिहासमा अनौठो पाना थपिदिएँ
खोइ कोनी मैले कसलाई बडी सुनें
खोइ कोनी मैले आफ्नै कर्म कसरी भुलें

हो- बर्षौं बर्ष भो
स्मरण छैन
मैले कतिवटा आँशुका फोछु-मोछु निर्माण गरें
कति काख रित्याएँ
कति सिउदा उजाड़ें
कति नयाँ टुहुरा उत्पादन गरें
लेखा जोखा छैन
म खाली हात आएँ- भरोसा बनेर
म खाली हात जानुछ- बिस्मत बोकेर
………
……… ” ।
“म उहि चट्याङको देशको नरेश हुँ”
एउटा धुमिल आकृति आधा रातमा
सपना बिथोल्दै
आलाप-बिलाप गरिरहयो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *