अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान-३ सम्पन्न

विश्व भूटानी साहित्य सङ्गठनले (GBLO) गर्दै आइरहेको अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठानको तेश्रो संस्करण गत साता अमेरिकामा सम्पन्न भएको छ।

अमेरिकाको टेक्सास राज्यको अर्भिङमा गत नोभेम्बर २६ र २७ मा आयोजित कार्यक्रममा समुन्द्र पारिबाट पनि केही साहित्यिक व्यक्तित्वहरूलाई आमन्त्रण गरिएको थियो। बाहिरबाट आउने अतिथिहरूमा भारतबाट डा. कविता लामा र साहित्यकार बिन्ध्या सुब्बा, हंगकंगबाट लेखक देश सुब्बा तथा क्यानाडाबाट डा. आर. माइकल फिसर थिए।

अनुष्ठानको उद्घाटनमा आधुनिक प्रविधिको सुविधाको सदुपयोग गर्दै नेपालबाट साहित्यकार तारालाल श्रेष्ठ, बेलायातबाट विश्व नेपाली साहित्य महाँसंघ(GFNL) केन्द्रीय समितिका अध्यक्षविश्वास दीप तिगेला र भारतबाट GFNL केन्द्रीय समितिका उपाध्यक्ष सुरेन्द्र लिम्बुले पनि सहभागिता जनाएको उक्त कार्यक्रम भव्य तथा अभूतपूर्व भएको आयोजकहरुले जनाएका छन्।

gblo-texasविभिन्न चरणमा भएको उक्त कार्यक्रममा संयुक्त राज्य अमेरिकाका अन्य राज्यबाट सहभागी हुन आएका सर्जकहरूले रचना वचन गरेका थिए भने अतिथिहरूले साहित्यका विभिन्न पक्षमा आफ्नो धारणा तथा मन्तव्य व्यक्त गरेको जनाइएको छ ।

कार्यक्रममा खड्ग गजमेरको गीति अल्बम “काली” विमोचन भएको थियो भने कवि तुम्वेहाङ लिम्बुको कविता संग्रह “भग्न पर्खालको सयपत्री” जीबीएलओको वर्ष पुस्तकको रूपमा चयन भई पुरस्कारबाट सम्मानित भएको थियो। भौतिक रूपमा अनुपस्थित रहेका कवि लिम्बुलाई नगद ५०१ अमेरिकी डलर तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

यदु नेपाल, प्रभात दीक्षित, नारद पोखरेल, प्रदीप भट्टराई र GBLO अध्यक्ष डेन्जोम साम्पांगको छनौट टोलीले विभिन्न भूटानी नेपाली श्रष्टाहरूबाट उपलब्ध भएका १३ कृतिहरू मध्ये “भग्न पर्खालको सयपत्री” चयन गरेको थियो।

सन् १९९८ मा प्रकाशित कृति २०१६ मा GBLO को “वर्ष पुस्तक” भनी भनिएको र “भूटानका पहिलो पुस्ताका जनकवि” भनी विशेषण दिइएको समाचार प्रकाशित भएपश्चात भूटानी नेपाली साहित्यमा झुकाव तथा सरोकार राख्ने सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको ध्यानाकर्षण भएको छ र उनीहरूले त्यसको खण्डन गर्दै तिनको औचित्य, उपादेयता, सार्थकता तथा ग्राह्यताप्रति प्रश्नहरू उठाएका छन् ।

अष्ट्रेलियास्थित हाम्रा प्रधान सम्पादकसँग भएको वार्तालापमा साम्पांगले ती कुराहरू सच्याएर विज्ञप्ति निकाल्ने प्रतिबद्धता प्रकट गरेता पनि यो समाचार प्रकाशन हुँदासम्म त्यस्तो विज्ञप्ति आएको पुष्टि भएको छैन।

सन् २००९ मा स्थापित GBLO ले पहिलो अनुष्ठान केही वर्ष अघि नेपालमा र दोश्रो अुष्ठान २०१४ मा अमेरिकामा सम्पन्न गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *