अन्तिम इच्छा
टी पी मिश्र
नर्थ क्यारोलिना, अमेरिका
प्यारा छोरा-बुहारी, यो पत्र तिमीहरूले पढिरहँदा म परलोक भैसकेको हुनेछु । मेरो देह यहाँ रहँदा आत्मा स्वर्गतर्फ लाग्छ वा नर्क, मलाई खासै चासो हुनेवाला छैन । पोहोर साल बितेकी आफ्नी जीवन सङ्गिनीसँग मेरो भेट भयो भने मलाई भइगो; त्यो भेट चाहे स्वर्गमा होस् या त नर्कमा । धर्तीमा रहँदासम्म आखिर उनले मलाई चाहेको बेला मागेपिच्छे नझर्की मनतातो पानी त दिन्थिन् । आखिर मेरो भौतिक शरीर धर्तीमा रहँदा मैले पर्याप्त रूपमा नर्कबासका धेरै वर्ष यता अनुभव गरिसकेको छु। तिमीहरूकी आमाले पनि त्यस्तै अमिलो अनुभवको भारी बिसाउन नपाउँदै अल्पायुमै क्यान्सर विरुद्धको लडाई हारिन् । उनको आँसुले दिनानुदिन भिजाएको सिरानीको खोलमा अहिले पनि छाम्दा आहालै जमेको भान हुन्छ मलाई।
ईश्वरले दया गरे भने तिमीहरूकी आमा र मेरो भेट स्वर्गमै हुनु पर्ने हो ।
२०२० साल, जुन बेला तिमीहरूले आमा र मेरो इच्छा विपरीत हामीलाई भर्जिनियाबाट लगभग गलहत्त्याएर पैसाको लालचमा पेन्सलभेनिया बसाइँ सारेऊ, त्यही बेला मलाई त लागिसको थियो कि धर्तीका मेरा अन्तिम दिनहरू पीडादायी हुनेछन् । म नपढेको भए पनि अनुभवले धेरै धोती फटाइसकेको थिएँ ।
आमा र मैले पाउने सरकारी सुविधाको एक सुको कालो हुन्छ कि सेतो, हामीले कहिल्यै पनि देखेनौँ । देख्न मन पनि थिएन। हामीलाई परिवारको महत्त्व बढी हुन्थ्यो – पैसाभन्दा पनि माया, मेलमिलाप, शान्ति, सहिष्णुताको कुरा ठुलो लाग्थ्यो । तिमीहरूको भौतिक घर मेरोलागि दरबारभन्दा कम थिएन । तिमीहरूले कुदाउने चिल्ला र ठुलठुला गाडीहरू मेरा लागि भूटान-नेपालतिर हुनेखाने र मन्त्रीहरूले कुदाउनेझैँ लाग्थ्यो; विशेष मान्छेहरू मात्र चढ्ने खालका । बेला-बखत अस्पताल जानबाहेक आमा र मेरा ती गाडीमा खासै त्यति पाइला परेनन् ।
छरछिमेकको गाइँगुइँ कुरा सुन्दा त्यस्ता सबै सुविधाहरू आमा र मेरै कारणले जम्मा हुने आम्दानीको आडमा तिमीहरूले जुटाउन सकेका थियौ। मलाई लाग्छ कि पुनर्वासपछि आखिर सम्पत्तिको लिप्तताले मेरो मात्र नभएर अन्य धेरै परिवारहरूलाई टुक्राएको छ। यो चलन अमेरिकाभरि उदयमान हुँदैछ। एक पटक आमाले उनको गाडीमा बान्ता गर्दा बुहारीले तीन हप्तासम्म पराइलाईझैँ गाली गरिरहिन्, छड्के हानिराखिन् हामीलाई।
हामीबाट गाडीमा डेढ घण्टा मात्र टाढा बस्ने तिमीहरूको बक्कलाटो साइँलो भाइ भेट्न आमाले कति पटक बिन्ती बिसाउँदा पनि आखिर समयले तिमीहरूलाई साथ दिएन । सास हुँदासम्ममा आमाले साइँलोलाई भेटेको भए सायद त्यसले उनको अलिक वर्ष आयु पो थप्थ्यो कि? उहिलेको जस्तो बल र आँट हुँदो हो त मैले सायद उनलाई ढाडमा बोकेर साइँलो कहाँ लुखुरलुखुर हिँडेरै पुर्याउँथेँ होला ।
हाम्रो हेरचाह गर्नु मात्र तिमीहरूको काम थियो; त्यो पनि सरकारले पैसो दिएर। त्योबाहेक अर्को काम गरेको मैले कहिल्यै पनि थाहा पाइनँ न कि तिमीहरूले आफ्ना दुई छोरीहरूलाई समय नै दिएको देख्यौँ हामीले। स्कुल नगएको बेला फोन र ल्यापटपमा झुन्डिएरै जान्छ यी अञ्जान नातिनीहरूको दिन। आफ्नो मातृभाषा नेपालीको यो देशमा काम छैन भनेर तिमीहरूले अङ्ग्रेजी मात्र सिकायौ उनीहरूलाई। आमा र मैले उनीहरूसँग दोहोरो बात नगरी हामीले धर्ती छोड्नु पर्यो – कस्तो विडम्बना ! न उनीहरू नेपाली बोल्थे, न त हामीले सकेको जति प्रयास गर्दा पनि दोहोरो संवाद गर्न पुग्ने अङ्ग्रेजी नै सिक्न सक्यौँ !
केही महिना पहिले सिब्सु भूटानमै भएका मेरा पिताजी सौ वर्ष पुगेर बिते । त्यो बेला काजक्रिया गर्ने अलिकति खर्च पनि मैले तिमीहरूकी आमा शिथिल परेको बेला यसो मुख हेर्न आउनेले थमाएको पैसो जम्मा गरेर छिमेकी राई भाइलाई भनेर पठाइदिएको थिएँ । पिताजीको बुढेसकालको सहारा बनेको माइलो भाइलाई अलिकति भए पनि भार कम गरेको थियो त्यो सानो सहयोगले। यताबाट पठाउनेको विवरणमा कागज भर्दा राई भाइले तिम्रै नाम लेखिदिएको थियो, छोरा । सायद काका तिम्रो नाम देखेर खुसी भएको थियो होला । भाइ माइलोले पहिले माताजीको अनि पछि पिताजीको स्याहार-चाकरमै आफ्नो जीवन सुम्पियो – बिचरा, आफ्नो बिहा गर्ने फुर्सद पनि पाएन उसले । ऊ माता-पितालाई देवता सम्झन्थ्यो; हाल अस्ट्रेलियामा भएकी अन्तरी फुपूले अस्ति भन्या मलाई ।
उसो त म दुःख-पीडासँग सानैबाट पौंठाजोरी खेल्दै आएको व्यक्ति । मैले पहिलेदेखि नै दुःख पाउनु जीवनको एउटा नियतिको रूपमै स्विकारिसकेको थिएँ । आफ्नै छोरा-बुहारीबाट यस्तो होला, त्यो पनि जीवनको उत्तरार्धमा; हो, त्यो चैँ मैले परिकल्पनासमेत गरेको थिएन ।
१९८९ को सुरुदेखि बिनाकसुर भूटानको चेमगाङ जेलमा झन्डै दुई वर्ष जति समय बिताएको मैले भोग्नु पर्ने सबै नियति सैँतीस वर्षमै भोगिसकेको थिएँ । जेलमा रहुन्जेल दिनै पिच्छेको शारीरिक यातनाले वर्षौँदेखि मेरा जिउका प्राय हड्डीहरू सडी-गली सकेका थिए । कुप्री परेको ढाडलाई थमाउन मैले बैसाखीको सहारा लिएको धेरै वर्ष भैसकेको थियो । जेलमा हुँदा एक दिन एउटा निकै अग्लो, कालो वर्णको अनि बोलीको लवजमा भारतीय जस्तो लाग्ने सैनिक जवानले बयान लिने क्रममा आफ्नो दाहिने हातको बिब्ल्याँटोले बजारेको मेरो देब्रे कान सधैँका लागि मरेको थियो । त्यो मरिसकेको कानबाट एकोहोरो …..टिनिनिनि…… शङ्ख बजेको तिसौँ वर्ष भएको थियो । दुखाइको कुनै सीमा हुन्थेन ।
झापा, नेपालको बेलडाँगी शरणार्थी शिविरमा हुँदा बरु डाक्टर भम्पा राई सा’वले घरीघरी दुखाई कम हुने औषधि-मुलो सित्तैमा थमाइदिइरहनु हुन्थ्यो । मलाई मात्र होइन, अन्य हजारौँ भूटानी शरणार्थीहरूको दुखाइलाई कम गराउने डाक्टर राईले आखिर आफ्नै अर्धाङ्गिनीलाई बचाउन सक्नु भएनछ । उर्मिला बहिनीले आफ्नो भौतिक शरीर सदाका लागि छोडेको कुरा छिमेकी कार्की मनेले मलाई सुनाउँदा डाक्टर राईलाई सम्झिँदै मेरो मन एक्कासि भक्कानिएको थियो । म डाक्टर राईलाई फोन गर्न चाहन्थेँ । मलाई दुखाइ परेको बेला वर्षौँसम्म सहयोग गर्ने डाक्टर राईलाई जीवनकै ठुलो बज्रपात परेको बेला पनि मलाई फोनमा सम्म गफ गराउने पनि वातावरण मिलाइदिएनौ । मैले धेरै पटक बिन्ती बिसाउँदासमेत तिमीहरूले एक कल फोन सुद्ध गरिदिएनौ ।
२०१६ सालमा नेपाल छोडेर भर्जिनियामा पुनर्वास हुनुअघि मैले डाक्टर राईलाई आफैँ सकेसम्म सम्पर्कमा रहन्छु भनेको थिएँ । आखिर त्यो सङ्कल्प मैले कहिले पनि पुरा गर्न पाइनँ । त्यसो त भूटानभित्रै रहनु भएका उमेरले डाँडापारिका घाम जस्ता आफ्नै पिताजीको कुरा सुनेको भए हामी जन्म थलो फर्किने आसमा नेपालमै बसिरहनु पर्थ्यो । खासमा उतै बस्न पनि मन थियो । तर तिमीहरूको उज्ज्वल भविष्यको निम्ति आफ्ना भित्री इच्छाहरू सदाका लागि खुम्चाउन हामी बाध्य भयौँ ।
म जेलबाट छुट्नुअघि तिमी आमाको कोखमा थियौ । हामी एकअर्काका हुनुपूर्व नै तिम्री आमा र मेरो एक प्रकारले भन्ने हो भने राम्रै चिनजान थियो । म उनलाई मन पराउँथेँ अनि सायद उनी पनि मलाई अलिअलि माया गर्थिन् । तिम्री आमा एउटा तानासाही पिपासुको सिकार बनेकी रहिछिन्, त्यो बेला । मलाई भेट्न चेमगाङ जेल आएको बेला मेरो माइलो भाइले सबै रामकहानी सुनाएको थियो । माइलोलाई विश्वास गरेर आमाले आफूलाई परेको चोट सुनाइछिन् । मैले माइलोलाई उनीसँग आफूले विवाह गर्ने अनि पेटको बच्चा पनि स्विकार्ने इच्छा व्यक्त गरेँ । पछि गाउँ फर्किएर माइलो भाइले सबै कुरा मिलाइदिएछ । भाग्यवश म चाँडो जेलमुक्त भएँ र सुटुक्क भगाएँ उनलाई। त्यो बेला तिमी आमाको कोखभित्र बसेको दुई महिना मात्र भएको थियो रे । छोरा, यतिका वर्षसम्म लुकाएर राखेको यो यथार्थ मैले तिमीलाई आज भन्नै पर्ने भो ।
दुई साल पहिले भर्जिनियामा रहुन्जेल त एक जना भारतीय मूलकी डाक्टर सोनियाले मलाई दुखाइ कम हुने औषधी दिइरहन्थिन् । आफ्ना बिरामहरू जानी-नजानी मैले हिन्दी भाषामा भन्ने मौका पाउँथेँ । यो नयाँ सहरमा मैले मेरा पीडाहरू राख्ने ठाउँ, भाषा र मान्छे खासै भेटिनँ । छरछिमेकलाई आफ्नो छोरा-बुहारीबारे नराम्रो कुरा सुनाउने पक्षमा म कहिल्यै पनि थिइनँ; बरु कसरी आफ्नो पीडा लुकाउने भन्नेतिर ध्यान जान्थ्यो मेरो । तिमीहरूले घरीघरी मलाई अब कानको उपचार गर्नु पर्दैन भनिराख्यौ । मैले पनि ‘हुन्छ, मलाई जाती भइसक्यो’ भनिदिन्थेँ । म तिमीहरूसँग हारिसकेको थिएँ । दिउँसोभरि आफ्नो दुखाइ म हाँसेर लुकाउन सक्थेँ तर राति भने आँखाबाट झर्ने आँसुका थोपाले मलाई खुब साथ दिन्थे ।
मेरो परिवारको कुनै पनि सदस्यलाई मात्र होइन, तिम्रो स्वयम् जन्म-पितालाई समेत ‘कान’ चैँ कहिले पनि नदुखोस् ।
जेलमा पाएको मानसिक यातनाले होला मेरो मस्तिष्कमा प्राय: जहिल्यै पनि तुवाँलो लागेको जस्तो लाग्थ्यो । जिउ भारी हुन्थ्यो । मानसिक रूपमा म पुरै गलेको हुन्थेँ । म प्राय: अनिदो हुन्थेँ । रातमा सुत्न कठिनाइ हुन्थ्यो । निदाइहाल्दा पनि झल्याँस्स- झल्याँस्स बिउँझिरहन्थेँ । मेरो मुटुको धड्कन छिटो-छिटो चलेको जस्तो लाग्थ्यो । मलाई डर मात्र लाग्थ्यो । हरेक रात डरलाग्दा सपनाहरू मात्र देख्थेँ । मेरो दिमागलाई अरू कसैले अराएको, खटाएको भान हुन्थ्यो । जेलमा आफूले पाएका यातनाहरूको गहिरो चोटहरूले मेरो मानसपटलमा वर्षौँसम्म घरजम बसाएका थिए । मलाई आर्मीका दुई जना जवानले करिब तीन महिना जति जेलभित्र आलोपालो करणी गर्थे, बेलुकै पिच्छे ।
म ठुलो आवाजमा रुन्थेँ, बेस्सरी कराउँथेँ, घाँटीका नसा बाहिरै देखिने गरी जोडले चिच्याउँथेँ, तर मेरो चित्कार सुन्ने कोही हुँदैनथ्यो ।
चेमगाङ जेलमा म जस्तै फोहोरी अन्यायको सिकार बनेका बले तामाङ दाइको पोहोर साल ओहायो भन्ने ठाउँमा गुदद्वारको भित्री भागमा निरन्तर रक्तस्राव र सङ्क्रमणको जटिलताले झन्डै ज्यान नै लिएछ । उनले निकै कसरतपछि मात्र नयाँ जीवन पाए भन्ने सुने मैले । धेरै पटक बिन्ती बिसाउँदासमेत तिमीहरूले मलाई बले दाइसँग न भेट गराइदियौ न एक कल फोन नै ।
मैले भोगेको त्यही तितो अनुभवले होला सायद म तिम्री आमालाई उही बेला परेको पीडा भित्री मनले बुझ्थेँ । तिम्री आमाले दुई पटक त आत्महत्याको असफल प्रयास नै गरेकी थिइन् अरे, मेरो माइलो भाइले भन्या । सायद मैले त्यो बेला तिम्री आमासँग विवाह गर्न आँट नगरेको भए न त ती निर्दोष नारीले तत्कालीन समाजमा बाँच्ने सहारा नै पाउँथिन्, न त तिम्रो जन्म नै हुन्थ्यो।
मलाई भएको मानसिक तनावबारे मैले निकै पटक तिमीहरूलाई सुनाउने प्रयास गरेँ । तिमीहरूले एउटा कानले सुनेर अर्को कानले उडाउनेबाहेक खासै अरू केही भएन । उल्टै मैले त्यतिकै तनाव लिएको भनेर मलाई नै दोष थोपरिरह्यौ । मैले एक पटक नेपाली टिभीमा हेर्दा एक जना डाक्टरले भनेको सुनेको थिएँ – शारीरिक र मानसिक दुवै हुन्छन् रे, रोगहरू ।
मलाई सायद शारीरिक र मानसिक दुवै रोगले भित्रभित्रै धमिराले झैँ ध्वान्द्रो पारिसकेको थियो ।
म र आमालाई जे जस्तो भएको थियो, त्यो त सकियो अब । तर तिमीहरू र मेरा फूलजस्ता दुइटी नातिनीहरूलाई चैँ शारीरिक होस् या त मानसिक रोगले कहिले पनि नचेपोस् । केही-केही महिना तिमीहरूकोमा आफूलाई मन पर्ने दौँतरी भेला गरेर दिनै जसो मेजमान, भोजभतेर भइरहन्छ । म सुतिसकेँ भनेर तिमीहरूले गरेका हरेक कुराकानी अहिले पनि मेरो मनमा ताजै छन् । तिमीहरूले के-के खान्थ्यौ र पिउँथ्यौ, मलाई सबै थाहा छ । तिमीहरूले गरेका हरेक क्रियाकलाप र व्यवहार ती नातिनीहरूले हेरिरहेका छन् – पछि त्यही सिको गर्न बेर छैन । मलाई त त्यसमा बढो चिन्ता लागेको छ ।
हुन त आमा र म जस्ताहरूको स्याहारसुसारको निहुँमा उपरखुट्टी लाएर सिन्कै नभाँची थैली भर्नेहरू मेरा घरमा मात्र थिएनौ । त्यस्ता पाखण्डीहरू गाउँभरि नै छ्यापछ्याप्ती देखियो । कति जना दलालहरूलाई सरकारी निकायले कानुनविपरीत काम गरेकोमा मोटो जरिवाना तिराएको पनि सुनियो । कति जना चैँ कानुनसँगको जुधाइमा अझै सिँगौरी खेल्दैछन् रे । निमुखाहरूको आँसुको पोखरीमा यता र उता घुमाई-घुमाई डुङ्गा चलाउनेहरू सबैको कल्याण होस् !
छोरा, तिम्रो कोठाभित्र पसेको बेला केही महिनाअघि मैले देखेको ती सङ्लो पानीका बोतल र स-साना प्लास्टिकभित्र बेस्सरी कसेर राखेको गाँजाले तिमीहरूलाई कहिल्यै पनि नखाओस्, मेरो त्यही कामना रहनेछ । तिम्रो सिरानी छेउको पिस्तोल नातिनीहरूको आँखाभन्दा टाढै रहोस् – खेलौना सम्झेर उनीहरूले कि आफ्नै कि त अरूको ज्यान लिन सक्छन् ।
म बित्नु अघि मलाई एक मनले खुसी पनि लागेको छ । अब आमा र म यो घरमा भौतिक रूपले नहुँदा सायद ओहोरदोहोर गर्नेको सङ्ख्यामा पनि कमी आउला । मान्छे धेरै आउँदा टाउको दुख्यो भन्ने बुहारीको सायद अब टाउको हल्का हुनेछ । हाम्रो घरमा आएपिच्छे अदुवा र मरीच हालेको फिक्का चिया बनाउन लाइरहने छिमेकी पिठाकोटे कान्छोको चैँ मलाई खुबै याद आइरहन्छ होला । मलाई थाहा छ उनले अब हाम्रो घरको ढोका ढकढक्याउँदा सायद भित्र पस्न पाउँदैनन् । म जिउँदै हुँदा त जबरजस्ती खोलिदिन्थेँ उनको लागि हाम्रो घरको ढोका । उनी दुःख-सुख गफिन्थे अनि एक बटुकी फिक्का चिया तात्तातै सुरुप-सुरुप पिएर घरतिर लाग्थे । तिमीहरूले आफ्नो घरमा पिठाकोटे कान्छो आएको देखिसहेनौ । आखिर त्यो सोझोले के नै बिराउँथ्यो त?
पिठाकोटे कान्छो आफ्नै घरमा पराईझैँ बनेर बसेको सायद मलाईबाहेक अरू कसैलाई पनि थाहा छैन ।
भेटेपिच्छे घरीघरी इतिहासका कुराहरू कोट्याइरहने घिमिरेनी दिदीले पनि अब तिमीहरूकहाँ सायद पाइलो पार्दिनन् । ती दिदीले हाम्रो सिकुवामा चप्पल फुकाल्दा लाग्ने भनिएको हिलो अब बुहारीले कहिले पनि पुछ्नु पर्ने छैन । एक पटक बाँकी स्वरूप चलाएको दिदीको पचास डलर मैले मेरो पूजा-कोठामा भएको देवी-भागवतको पुस्तक भित्र राखिदिएको छु – समय मिल्यो भने फर्काइदिनु । यदि समय मिलेन भने ठिकै छ – दिदीसँग मेरो कुनै दिन भेट हुनु पर्ने हो; म त्यही बेला हिसाब मिलाउँला ।
घरको बेल कसैले बजायो भने आफ्नो मोबाइल फोनमा हत्तपत्त भिडियो हेरेर त्यो व्यक्तिलाई ढोका खोल्ने कि नखोल्ने भन्ने दोधार अब तिमीहरूलाई हुने छैन । हामी नै नरहेपछि अब त्यस्ता बेल सायदै बज्लान् । नातिनीहरूले बेला-बखत कनीकुथी नेपाली शब्दमा आमा र मसँग बातचित गर्न खोज्दा तिमीहरूले उनीहरूलाई कड्किँदै ‘नो नेपाली’ भनेर तर्साउनु पर्ने छैन । आमा र मलाई सरकारी सुविधा दिनेहरूले पनि अब छड्के-जाँच गर्नु पर्ने छैन । झुकिएर आइहाले भने पनि यो पत्र उनीहरूले नदेखुन्, नभेटुन् ।
अब आफन्त-इष्टमित्रहरूले आमा र मलाई खोज्दै तिमीहरूको ल्यान्ड-फोनमा कल गर्ने छैनन् । त्यस्ता फोन आएको बेला ‘बा-आमा घरमा हुनुहुन्न’ भनेर अब ढाँटिरहनु पर्दैन । उनीहरूलाई यथार्थ भनिदिए हुन्छ – अब हामी यो संसारमै छैनौ भनेर । अब ‘फोनमा छोटो बोल्नुस्’ भनेर हामीलाई हप्काइरहनु पर्दैन । सायद तिमीहरूले खोजेको सुनसान वातावरण घरभित्र जताततै पाउनेछौ । अब मध्यरातसम्म खुट्टा लरबराउँदै दिनहुँ मेजमान गरे हुन्छ किनकि सबेरै पूजापाठको घण्टीले तिमीहरूलाई बिउँझाउने र झर्को लाउने छैन ।
वर्षौँदेखि आमा र मैले दर्शन गर्न जाने भनेको भर्जिनियाको वृन्दावन मन्दिर अब तिमीहरूले पुर्याउनु पर्ने छैन । यही गाउँमा पनि खोइ को एक जना हाम्रै भुटानी समाजका नेपाली-भाषी डाक्टर पनि छन् भनेको सुनियो । आफू जिउँदै हुँदा मैले दिनैपिच्छे उहाँलाई भेट्ने मेरो गनगन तिमीहरूले अब कहिले सुन्नु पर्ने छैन । मरे-परेका बेला अलिक टाढा बस्ने आफन्तलाई भेट्न जाने हाम्रो इच्छालाई अब उसो अनेक बहाना बनाउँदै हामीलाई तर्साउनु पर्ने छैन । अलिक समयसम्म घर छोडेर हिँड्यो भने ‘सरकारी भत्ता’ र ‘अरू सुविधा’ काटिन्छ भन्दै हामीलाई झुक्क्याउने दिनहरू अन्ततः सकिए । आखिर आमा र मलाई के नै त्यस्तो सुविधा दियो र सरकारले? वास्तवमा सुविधा त हाम्रो नाममा तिमीहरूलाई पो दियो त ।
अनि पैसा कै कारण आमा र म आफ्नै घरमा पिँजडाको सुगाझैँ बन्धक बन्न बाध्य भयौँ ।
तिमीहरूकी कान्छी बहिनिले आमालाई बर्सेनि किनिदिएका सुनका सबै गरगहनाहरू मैले एउटा बट्टामा पूजा-कोठाभित्र शालिग्राम सिलाको छेउमा राखिदिएको छु । त्यसको हकदार कान्छी छोरी नै हुन् । उनले कम्तीमा तिमीहरूको साइँलो भाइलाई खुसीसँग आफ्नो घरमा राखेर हेरचाह त गरेकी छिन् । अब तिनै दिदीको मुख हेरेर साइलोले आमाको न्यास्रो मेट्नेछ । ती गरगहना बहिनीको हातमा स-सम्मान राखिदिनू।
छोरा, तिमीले नेपालको धरानमा उच्च शिक्षा अध्ययनकोलागि आमाले उबेला लिएको ऋण हामीले अहिले पनि तिरेका छैनौ । झापाको बेलडाँगी शरणार्थी शिविरमा भएकी तिम्री कान्छी सानिमाले आमाको कुरा काट्न नसकेर आफ्नै कानको ‘चेप्टे सुन’ बेचेर तिम्रो पढाइखर्च दिएकी थिइन् । अहिले उनी निकै बिरामी परेकी छिन् अरे । मैले जोहोजाम गरेर केही पैसो त्यो मेरो सेतो कमिजको गोजीमा राखिदिएको छु । तिम्री आमाको अन्तिम इच्छा भनेको सानिमासँगको हरहिसाब मिलोस् भन्ने थियो । त्यो पैसो सानिमाकोमा जतिसक्दो चाँडो हात परोस् है, छोरा ।
मैले सन् १९९१ को अन्त्यतिर भूटान छोड्दा सम्झना स्वरूप आफ्नै आँगनको एक मुठी माटो ल्याएको थिएँ । बाचुन्जेल सिरानी मुनि राखेर सुतेँ, कुनै दिन आफ्नै जन्मथलो फर्किने आसमा । आधा जति त्यो माटो मिल्यो भने मेरो लासको छेउमा राखिदिनू । मेरो आत्माको एउटा सानो अंश सायद भूटानको आफू जन्मेको गाउँका खोला-नाला र भन्ज्याङ-चौतारीतिर पनि घुमिरहेको भान हुनेछ मलाई । मैले उतिबेला लेखेको जेल डायरी र भूटान सम्बन्धी केही महत्त्वपूर्ण कागजातहरू मेरो पहेँलो इस्टकोटको खल्तीमा राखेको छु। अलिअलि उब्रेको त्यो माटोसहित डायरी र ती कागजातहरू इतिहासको खोजी र संरक्षण गर्नेहरूको हातमा थमाइदिनू । यदि यी चिजलाई सम्हाल्ने मान्छे भेटिएन भने तिमीहरूको घर छेउमा रहेको त्यो सस्क्वेहन्ना खोलामा बगाइदिए हुन्छ ।
यो विन्दुसम्म पत्र पढिसक्दा तिमीहरूकालागि कमाइखाने दुवै भाँडाहरू झर्ल्यामझुर्लुम फुटेको महसुस भयो होला । त्यसका निम्ति यस जुनीमा आमा र म दुवै जना क्षमाप्रार्थी छौँ ।
यो ब्याथा मेरो सगोत्री भाई टीपी मिश्रको मैले रुदै रुदै पडे आज।
उस्को त पिडा पिडा नै खपिनसक्नु को हो, मैले चै भित्र भित्रै सोचे, कि मैले बरू काटेर मार्ने, गोलि हानेर मार्ने, झेलमै कुहाईदिने जस्ता खतरा आफ्नै रगतको साईनो भित्रकाहरूबाट बारम्बार पाईरहनुको जस्तो त अलिक होईन कि।
भाई मैले तलाई माया गरेको त छैन, टाडा टाडा थियौ पत्रकारिता र राजनितिको दृष्टीकोणको फरकले पनि, र भा पनि स्नेहको दृष्टीमा त रहियो। तेरो गोजिमा भएका यात्रा बिबरणहरू मलाई दिए म शब्दोकोशमा थप्छु, तेरो छोराको सानिमाको मालई सम्पर्क दे ल, तलाई लागेको ऋण म आजै सबै तिरिदिन्छु। ल टीपी भाई।
तपाईंको पत्रले कोमल हिर्दय भएका धेरैका आँशु बगेका छन, आधा पढेर, चित्तलाई थामेर, थोरै कमेन्ट्स लेखेर चित्त बुझेन, धेरै लेख्न सकिन , चिट्ठी चान चुने छैन, तपाईंलाई कुनैदिन सानो पुरस्कार भए पनि दिन मन परेको छ । पत्रले हाम्रो समाजमा भएका मार्मिक यथार्थ घट्नालाई उजागर गरेको छ । तिनीहरु र तिनीहरुका मतियारहरुलाई झापट दिने ठुलो आँट गरेको छ । समाजमा धेरै विद्वान बुद्धिजिबी हुँदा हुँदै यो अन्याय प्रतिको पहिलो झापट हो जस्तो लागेको छ । हाम्रा बुद्धिजिबी मुक दर्शक बनेका हुन्छन्, यतिको खोलेर भन्ने कसैले आँट गरेको थिएन, सबैले सुधार गरे पित्रिहरुको ठुलो उद्धार हुनेछ । भुटानमा आफु जनप्रतिनिधि हुँदा जनताको सुख दु:खलाई नजिक बाट बुझेको थिएँ, गाउँ गाउँमा एसेम्ब्लीको फैसला सुनाउदा घर घर गाउँ गाउँमा सुधार गर्नु पर्ने कुरा राख्ने गरेको थियो । गुरुजीहरुलाई भन्ने गर्थें ” सत्य नारायणको कथा भन्दा सँगइ गाउँ घरलाई सुधारने कुरा पनि गरौं । यथार्थमा भन्नु पर्दा यदि म पण्डितजी गुरुजी हुँदो हुँत व्यास बाट यो चिट्ठी पढेर सुनाउने थिएँ । चिट्ठिको निम्ति टि पि ज्यु तपाईंको कला ! तपाईंलाई धेरै धेरै धन्यवाद !
मिश्रजी: तपाईसित रहेको ,याथर्थतामा आधारीत र अनुसंधानमूलक , हाम्रो समाज लालयित हालका जल्द-बल्दा कूरितीलाई सतहसम्म ल्याईदिने अदभूत कौसलतालाई नमन गरें!
एउटाको पिडदाई जीवन भोगाई अपितु घर-घरकि काहानि , समघ्ररूपमा।
तपाई-हामी जसले हाम्रा बा-आमाको भूटान देखिको , अनि बिभिन्न ठाउॅको बिभिन्न किसिमको पिडा भोगाई नेरबाट देख्न र अनुभुती गर्न पाएका छौं, सक्छौं र केही उपाय लाग्छ भने, ल न केही प्रायस गरौं, मिलेर, उॅवाहरूको दर्धमा थोरै भए पनि मलम घस्न।
लाग्छ तपाई-हामीसीत अजैत एउटा जमात छ जो समजको भलो चाहिरहन्छ, परिश्रम-मेहेनत र इमानदारितमा कठोर विस्वास गर्छ, अनि समाजलाई सकेसम्म प्रगतीको मार्घ डोर्याउन चाहान्छ।
ब्याक्तिगत सुक्षव: यी र एस्तै भोगाईलाई समेटेर एउटा कीताव लेख्नूस, please!
Salute to the writer.
मित्र श्री टी. पी मिश्र एक कुशल कथाकार हुन् । मिश्रको कथा लेख्ने शैली पृथक् किसिमको छ । मिश्रलाई कथा लेख्न त्यस्तो ठुलो विषय चाहिँदैन । उनी सानो आँखीझ्यालबाट बृहत् दृष्टि आफूमा समाहित गर्ने क्षमता राख्दछन् । यस अघिका कथाहरूमा ‘याङे दाइ’ र ‘क्रस फायर’ पाठकहरूले औधी नै मन पराएका कथाहरूमा पर्दछन् । यस पटकको “अन्तिम इच्छा” ले सामाजिक परिवेश अन्तर्गत एउटा यथार्थ समस्याको मर्मस्पर्शी तरिकाले उठान गरेका छन् ।
निकट भविष्यमा यस्तै यस्ता कथाहरू समावेश भएका एउटा कथा सङ्ग्रह प्रकाशन तर्फ लागेको भन्ने सुन्दा अति नि खुसी लागेको छ । मित्र मिश्रलाई अग्रिम शुभकामना ।
अन्तिम इच्छा पढने अवसर लिएँ। कथाका ती पात्रको त्यो देश जहाँबाट जीवन शुरु भयो। माया कहिल्यै मरेन। कथामा एउटा पिताको हृदय जलेको छ। करुण क्रन्दन पोखिएको छ। पढ्दा पढ्दै आफैँ पनि त्यहि वेदनामा आहत भइयो। धेरै धेरै वयो वृद्ध माता पिताहरु असीम पीडामा छन्। विवशतासँग महा प्रस्थानको पर्खाइमा छन्। उनीहरुका चारपलको जीवन सुमधुर बन्न सकेन पुनर्वासमा। यो विखण्डन अझ तिब्र झाँगिदो छ।
लेखाइ प्रष्ट बुझिने भाषामा छ। कथा मर्मस्पर्शि छ। यथार्थलाई साह्रै नजिकबाट नियालिएको छ।
भाई
कथा अति रोचक र ह्रदयविदारक छ । कथामा पात्रहरु काल्पनिक हुन या होईनन् तर विषय बस्तुसंग मेल खाएको छ । तर लेखकको स्तिथीसंग भने पक्कै मेल खाएको छैन कारण झण्डै मेरो सँग मिल्न खोजेको छ ।