अन्तिम गफ गरें झटारे काकासँग
सिएम निरौला
न्यू ह्याम्पशायर, अमेरिका
आज शुक्रवार, बेलुका सबैजना भेट भएर घरमा गफ गर्दै बसिरहेका थियौँ । नानी आइप्याडमा छुःछुः टिभी हेर्दै उसैको संसारमा रमाइरहेको थियो । अन्य दिनभन्दा चाँडै काम सकेर सोफाभरि बसेर पारिवारिक कुराकानी गर्दै थियौँ । “आज चाहिँ सीएमको फोन आएन है”, भन्दै आमाचाहिं अमेरिकी नागरिकताको किताब फिजाउँदै थिइन् । किताब खोल्नेबित्तिकै नानीले पुस्तक खोस्न पुगीहाल्यो । मुसुमुसु हाँस्दै बाबाले नानीलाई समाउनु भयो । त्यातिकैमा मेरो फोनको घन्टी बज्यो । “उ… सुरु हुने भो यसको शुक्रवारको महाभारत”, आमाले भन्नुभयो । “अब अरूले कुरा नगरे भो,सुते हुन्छ”, भन्दै बाबाभित्र पस्नु भो ।
श्रीमती नानी लिएर कोठातिर लागिन् अनि मैले फोन हेरेँ । सदाको शुक्रबारझैं झटारे काकाको फोन रहेछ । झटारे काका हाम्रो शिविरका छिमेकी । उनलाई त्यति धेरै मान्छेले ख्याल नगरे पनि शिविरका हरेक गतिविधिबारे थाहा हुन्थ्यो । मैले फोन उठाएँ र ‘नमस्कार’ गरेँ । अनि हाम्रो विशेष कुराकानी सुरु भयो । उनको असली नाम रामलाल । तर सानोमा स्कुल जाँदा बाटोमा चोरेर झटारोले अम्बक झार्ने हुँदा टु्ङ्सीघरे ढुंगानी आमैले राखिदिएको उनको नाम सधैंलाई रह्यो, ‘झटारे ।’
उनको एउटा विशेष स्वभाव थियो; मलाई बोलाउँदा कहिले ‘जेठा’भन्थे, कहिले सीएमत कहिले ‘ए…डाका’ भन्दिन्थे । उनको यस्तो सम्बोधनले मलाई कहिलेकाहीँ “…मन परेको मान्छे ले त जे भने नि हुन्छ”, भन्ने लोक गीतको बोल सम्झना भइरहन्छ । यस्तो खस्रो ठेट तर, प्यारो सम्बोधनले त निकटता बढाउँछ भन्ने सुन्या छु । “के छ जेठा”,बाट शुरुभयो उनको कुराकानी । घरमा सबैलाई के कस्तो छ आदिजस्ता कुरामा दोहोरो भलाकुसारी सकेपछि मैले हाँस्दै भने,“अनि काका, कान्छोले जँड्याहा हुने बानी छोड्यो ?” लामो सास तान्दै काकाले भने,“कान्छो सप्रिनु र हामीलाई भूटान लानु उस्तै त होला हौ सीएम !”
झटारे काकाको बोली सदाझैं खुसी थिएन । मैले सोधेँ काका, ‘विसञ्चो हुनुहुन्छ कि के हो ?’ “किन, हैन है”-काकाको जवाफ आयो । उनको लवज अलि अर्कै असाधारण थियो र मैले त्यति सोध्ने हिम्मत गरेको थिएँ । उनी फेरि खुई तान्दै बोल्न थाले, “खै…तैंंले के बुझिस्,सारै धेरै थकित छु, त्यही भएर होला, हैरान पनि छु ।” मैले आत्तिँदै प्रश्नहरू थपी पठाएँ, “किन हैरान काका; कामबाट निकालेको त छैन नि ?” “हैन, छाड्दे त्यस्ता कुरा ! मलाई लागेकै साँच्चो कुरा सुन्छस् भने सुन्-मेरो मन केही गरे पनि भिजेन यहाँ । मुख्य कुरा भाषा नहुनु नै हो । नत्र म कत्रा कत्रा काम गर्ने मान्छे हुँ; तँलाई थाहा छ त ! गतिलो गरी पैसा कमाउने काम गर्न नसक्ता कुनै बेला आफ्न्तैहरुबाट पनि उपेक्षित भइँदो र’छ ठूले, के गर्नु । बाटोमा समुद्र नभए त म हिँडेर पनि नेपाल फिर्थें यतिबेलासम्म ! ए बरु भन्न गोल्धापका हेडसर के गर्दैछन् होला”, झटारे काकाले लामो प्रस्वास छोड्दै भने । मैले हाँस्दै भने,“किन चाइयो काकालाई चैँ गोल्धापका हेडसर ?” कतिबेला हो मेरो छेउमा आएर छोरोले हाम्रो वार्तालाप सुन्दैरहेछ । मलाई सोधिहाल्यो,“बाबा, गोल्धाप भनेको के हो ?” छोरोलाई ‘गोल्धाप’ भनेको नेपालको कुनै ठाउँको नाम हो भनी बताएँ । उता झटारे काका पनि बोलिरहेका थिए-उनको एकोहोरो कथा म पनि सुन्दै गएँ ।
भन्दै थिए उनी,“ए साँच्ची सुन् न, एक दिन मेरो नातिले मलाई सोध्यो, बाबा गोलधाप कहाँ थियो, एकै छिन अल्मलिएँ अनि भने, नानी गोलधाप पूर्वी नेपालको झापा जिल्लामा छ जहाँ हामीले २०सौं वर्ष शरणार्थी जीवन बितायौं । नातिले कम्युटरमा हेरेछ; भनिहाल्यो, अनि त्यहाँबाट त भूटान २५० किलोमीटर पर रहेछ कारमा जानु भएको भए डेढ घण्टा जतिमात्र टाढा, किन नजानु भएको भूटान ? भन्नु न किन ? मसँग उत्तर थिएन, मनमनै रोएँ । पछि जिद्दी गरेको देखेर बुहारीले उसलाई लिएर गइन् । फेरि आएर सोध्यो, बाबा भूटान कसले जान नदेको ? मैले सरल जवाफ दिएँ,‘राजाले । ’फेरि नातिले सोध्यो, बाबा राजा भनेको ओबामा भन्दा पनि ठुलो हो, ओबामाले हामीलाईअमेरिका आउन दिए, भूटानका राजाले दिएनन् ! तीन छक्क परें अबोध बालकको कुराले…!” यति कथा सुनाएर झटारे काकाले लामो सुस्केरा ताने ।
रमाइला कुराकानी हुन्थे हाम्राबीच । कोहीवेला भावुक,कोहीबेलाउट्पट्याङ तकोहीबेला सामाजिक,राजनीतिक । यस्तै कुराकानी बिच बिचमा आजचाहिं उनी खुई…खुई गरिरहेका थिए । थकानभरि सुस्केरा लिएझै सास तान्दै मलाई उनले फेरि भने, “यहाँ हेर न भतिज, सुविधा छ सुख छैन, शान्ति छ तर, मुर्दाजस्तो; कतै आनन्द छैन । यी केट्केटीले के गरी खाने हुन्, सारो सुर्ता लाग्या छ । मेरो मन त्यसै त्यसै तुलबुल छ । तँसँग अन्तिम कुराकानी गरेको आज । भोलिदेखि तैँले मलाई फोन नगर्नु है । मेरो मोबाइलमा सर्भिस सकिन्छ, फेरि ब्यालेन्स लाउँदिनँ पनि !” काकाले यी भनाइहरु निकैपटक दोहोऱ्याएका थिए तर, मलाई सधैँ ठट्यौली सम्झिएर म गहिराइमा पुगिनँ ।
हाम्रा यस्तै ठट्यौली गफ् बढीहुने गर्थे । “ए सीएम, त्यो गोल्धापमा खूब मिठा गजल र रुवाइ भन्ने त्यो काले भाइ कहाँ छ हँ ?” काकाले सोधे । ‘केनाडामा छ’, मैले भने । मलाई त बेलाबेला कालेले अझै पनि गजल सुनाउने गरेको काकालाई बताएँ । काकाले पनि फेसबुकमा कालेका गजलहरु देखेको जनाउँदै थिए । मैले ठट्टा गर्दै भने,“काका तपाईँ त शिविर सचिव कहिल्यै हुनु भएन है ।” अट्टाहासमा हाँस्दै उनले भने,“एकपटक सेक्टर हेड चैंं भएँ, सचिव त के हुनु, सचिव पनि बनेको भए त आज ‘रामलाल काका’ भइहाल्थें निः, किन ‘रामे’ वा ‘झटारे’हुन्थेंर म !”
रात छिप्पिसकेको थियो; छिमेकमा थापा दाइको घरमा बत्ती निभिसकेको थियो । नेपाल पण्डित एक निद्रा पुर्याएको अवस्थामा थिए । माथि लक्ष्मी गुरु पनि अघि कम्बलभित्र बेरिनु भएको रहेछ । छिमेकीचाहिं भरखर कामबाट आएर मलाई “Still awake”भन्दै मोबाइलमा सन्देश पठायो । मैले पनि “Busy on Phone”,भनेर पठाइदिएँ । फेरि उसले “Have a Fun”लेखेर लेख्नै छाड्यो । भाइ तिलकको छुट्टी भएर भखरै आउँदै गरेको रहेछ । उसको भितामा गाडीको बत्ती देखेँ।
यतिकैमा झटारे काकाले फेरि हाँस्दै भने,“ए साँची; त्यो बेल्डाँगीमा कुटाइ खाने पत्रकर भाइहरु चैँ कहाँ छन् हौ?” मैले हाँसेर उत्तर दिएँ-‘एकजना अहिले पनि मेरो सम्पर्कमा छन्।’ फेरि हाँसेरै भने, “शिविरमा आग्लागी हुँदा त ती ठिटाहरुले पैसा बाँडेका थिए”, यति भनेर मज्जाले हाँसे फेरि । यसरी रमाइला कुराकानी हुने गर्थे हामीबिच । त्यो बेलुका पनि कुरै कुरामा १२ बजिसकेको थियो । बाबाले परबाट कराउँदै भन्नुभो,“ए भयो सुत्,भोलि बारी जानु छ ।” बाबाको कुरा सकिएकै थिएन, काकाले फेरि जिस्कँदै भने,“अन्तिम रात हो, बोल्न बोल् ।” मैसे पनि दिल्लगीमै लिएँ र जिस्कँदै भन्दिएँ,“ए लोभी काका, एक महिनाको ब्यालेन्स लाइदिउँला हौ; के को अन्तिम ।” म हाँसे, काका पनि हाँसे । फेरि उनले अर्को हँस्यौली गर्दै भने,“शिविरमा ल्यांग्वेज पढाउँदा त खुबै ढाँटिस् हौ?” मैले पनि काकाले पत्याएर ढाटिदिएको बताएँ । दुवैतिरबाट हाँसोको फोहरा छुट्यो ।
आगो लाग्दा चाउचाउ खाको, बाढी आउँदा डाँडामा गएको कुरा निकालेर खुबै हँसाए झटारे काकाले । लाग्थ्यो हामी फोनमा होइन, सँगै बसेर कुराकानी गर्दै थियौँ । एक्कासि काका बोले, “ए सुन्त, मैले त बिझाएको छु भने माफ गर्नु ल,मलाई काँतर नभन्नु ल ! “किन काका, आज अलिक भिन्न कुरा गर्नुहुन्छ?” मैले भने । उनले सरक्कै प्रसङ्ग मोडेर भने- “झोडेहरुले खुबै दुःख दिन्थे है । दुःखै भए निः हामी जस्तालाई त शिविरै आनन्द थियो । भाषा त बुझिन्थ्यो । यहाँ त खै…।” फेरि शिविरमा छँदाका रमाइला घटनाहरुका साथ चाडपर्वको महत्वको बारेमा कुरा निकाल्दै बोलिरहे काका । त्यहाँ समय थियो, पर्व आउँथ्यो, सबै हुन्थ्यो, पैसा हुँदैन थ्यो । तर, यहाँ पैसा छ; अरू केही छैन”, तुलना गर्दै उनले लामो सुस्केरा हाले । म पनि मज्जा लिइरहेको थिएँ उनका कुरामा । उनले चिनेजानेका प्रायःमान्छे र घटना सम्झँदै थिए । “ए साँच्ची त्यो आगलागीमा पैसा बाँड्ने पत्रकार भाइचैं कहाँ छन्? तँसंग सम्पर्क हुँदै होला है ?” मैले सबै व्यस्त रहेकाले खास्सै उसित सम्पर्क नभएको बताइदिएँ ।
भखरै भुटानी गायकहरुले मिलेर “आत्महत्या रोकौं” भन्ने नाराको साङ्गीतिक कार्यक्रम गरेको बारेमा पनि कुरा निकाले झटारे काकाले । उनले भने, “केही काम त गर्न खोज्दैछन् केटाले ।” यस्तैमा “खु…ई..तर …”भनेर रोकिए काका । मैले, “तर..केकाका ? के भयो?” निकै कौतुहलताको प्रश्न गरेँ । उनको ठोस उत्तर आएन, बरु प्रतिप्रश्न आयो, “तँ अझै नाटक लेख्दैछस् ?” समय छैन काका मैले भनेँ । “अँ हो त, तिमीहरू त ठुला मान्छे, सधैँ बिजीको बिजी”, भन्दै हाँसे । यति भनेपछि काका निकै लामो सास तानेर बोले, “ल केटा मेरो जाने बेला भयो ।”मैले पनि भित्ताको घडी हेरेर यो २ बजे राती कहाँ जाने हो ? सोधिहालें । उनले भने-“ओछ्यानमा निः कहाँ जानु र ?” दुवैको हाँसो छुट्यो फेरि । “ल त भतिज, अब मानु घोप्ट्याउनु ।” सधैँ दिल्लगीमा यसरी बोल्ने गरेका कारण मैले पनि “सी यू” भनेर फोन राखें । कोठामा गएर सुतें । भोलिपल्ट बिहान, नित्यकर्म सक्नेबित्तिकै हाम्रा कान्छा काका आउनु भएछ ।चखिलो स्वरमा उनले,“सी.एम.उठेको छैन”, भन्दा म बिउँझी सकेको थिएँ । “खै..,रातभरि हल्ला गरिरहेको थियो, झटारेको फोन आयो भने शिविरमा आगो लाग्दाको भन्दा ठुलो हल्ला हुन्छ”, आमा बोलिरहनु भएको थियो । मैले काकालाई पोल लगाउने आमाको कुरो ओछ्यानबाटै सुन्दै थिएँ। आँखा मिच्दै ताउली बेरेर बाहिर आएँ र काकालाई नमस्कार गरेँ, आमाले चिया दिनु भयो, पिउन थाल्यौ हामी ।
त्यतीकैमा बाबाको मोबाइलको घन्टी बज्यो, बाबाले फोन उठाएर भन्नु भो-के छ हौ डिल्लीराम ?
बोल्दा बोल्दै बाबाका राता राता आँखा र कालो अनुहार देखिएपछि लाग्यो केही अप्रिय भइसकेको छ ।
फेरि अनुहारबाट पनि प्रस्ट भइसकेको तर, के भन्ने मात्र बुझ्न बाँकी थियो । हतारिँदै बाबाले सोध्नुभो, “कहिले, कहाँ? ए… बिचराहरू..”,बाबा लामो खुई काड्दै रोकिनु भयो । काका र म एकैचोटि भइएछ बाबालाई सोध्न, “कहाँ के भएछ ?” मतिर हेर्दै बाबाले भन्नु भो,“हैन हिजो रातभरि फोनमा गफ् गर्नेहाम्रो झटारे होइन ? यो मोराले त …।” म तीन छक्क परें, छाँगाबाट खसेझैं भएँ। बोली आएन, यतिभावुक भएँछु,लगभग आँसुले नुहाइसकेको थिएँ। कान्छा काकाले ‘ए ठूले…’भन्दै घच्घच्याउनु भयो, म बिउझें। त्यो बेला आफैँले आफूलाई समाल्न गारो भइसकेको थियो ।
त्यति धेरै लक्षणहरू दिँदा पनि थाहा नपाउने म हुस्सु, आफैँले आफूलाई धिक्कारें, केहीबेर हाम्रा ती गफहरूलाई मनन गरेँ । उनले कहिले भूटानमा बेगार तिरेको कुरा, कहिले शिविरमा आगो लाग्दा जङ्गलमा दुःख पाएको कुरा गरेर विगतलाई ताजा पारिरहन्थे । तर जे भएपनि भाषाको समस्या नहुँदा झटारे काकाहरुले उनीहरूको जमाना सहझै सम्हालेका थिए।
कान्छा काका, म, बाबा र बस्नेत बा बारीतिर लाग्यौं । परैबाट आमाले हपार्नु भो हामीलाई,“जे भए पनि उहिलेदेखि परिवार झैँ मिलेर बसेका, बिचरा झटारे मनको सफा थियो; सत्गत कहिले हुने हो, बारीबाट फर्कँदा अस्पतालमा बुझेर आउनु है । मलामी त जानैपर्छ ।” आमाको आग्रहमा स्वीकृतिको सङ्केत गर्दै बाबाले भन्नु भो,“उहिले त मानिसको प्राण जानासाथ जलाउनुपर्ने हाम्रो चलन थियो, यहाँ त खै…के रे त्यो, पोस्टा मार्तम हो कि के…अनेक नीति नियम मिलाउनु रे…। मुटुमा चोट दिएर गयो झटारे, अझै कति मर्ने हुन्…खै, कसले चिन्ता लेला हौ भूटानीहरुको अमेरिकामा…!”
म बोल्ने स्थितिमा थिइनँ, बुढाहरू मध्ये बस्नेत बा’गाडीमा भन्दै थिए, “यस्ता झटारेहरू हाम्रो समाजमा धेरै छन्, जो आफ्नो भाषा, संस्कृति, परम्परा, रीति-थिति मासिएकोमा चिन्तित र पीडित छन् । दुवै पिरोलो झेलिरहेका छन् । छोराछोरीले उनीहरूको भाषागत समस्याको फाइदा उठाउँछन् र झूट बोल्छन्, अशिक्षाको कारण उनीहरू पछुताउने कुरा त छँदैछ । यस्ता झटारेहरू अझै छन् जो हरेक युवाहरूको चरम उपेक्षाका कारण पीडामा छट्पटाइरहेका छन्। अरू पनि थप्दै थिए,“अब सामाजिक संस्था, सामाजिक कार्यकर्ता, पत्रकार लेखक, साहित्यकार सबैले नसोच्ने हो भने यो समाजमा धेरै झटारेहरूको हालत यस्तै हुनेछ ।” मलाई पनि यी कुराहरू कता कता सत्य लागिरहेको थियो ।