अपराधी दागो
सि एम निरौला
पेन्सिल्भेनीय, अमेरिका
मेरो नाम कुलबहादुर हो । कामको चाप त छँदैछ, आजकल टिकटक र ट्विटरमा पनि त्यति नै रमाउन थालेको छु । ट्विटरका भित्तामा नो अवार्ड टु दागो छिरिङ- पनि देख्दैछु तर, खासै मलाई छोएको छैन । पर्शु, राम, कृष्णलगायत केहीले म्यासेन्जरमा दागोलाई दिइने अवार्डविरुद्ध हस्ताक्षर गर्न चेन्ज डट अर्गको लिङ्क पठाएका नोटिफिकेशन पनि आउँदै थियो । बेवास्ता गरिरहेँ ।
नयाँ नम्बरबाट फोन आयो, कतैबाट आएको होला भनेर रिसिभ गरेँ ।
“हेलो”, म-
“ओए, ठुले होइन?”, पाको मान्छेको जस्तो आवाज सुने ।
“हो त म ठुले नै हुँ, हजुर को होला?” मैले प्रश्न गरेँ ।
“म हो रमिलाको बाउ, केटाहरू हाम्रो नम्बर सेभ नै गर्दैन के । ओए सुन त, त्यो दागोलाई आगो लगाइस्?”, म फोनमै ट्वाल्ल परेँ ।
“हाहा केटो कलिलै छ । सुन्, सन् १९९० ताका हामीलाई देश निकाला गर्ने तल्कालिन गृह मन्त्री दागो छिरिङलाई जापानले अवार्ड दिँदै छ, जापानलाई के थाहा- त्यसले नरसंहार गरेको थियो भनेर । त्यसले धेरैको घर भत्कायो, परिवारलाई तितर बितर बनायो । कति छोरी चेलीहरूको सिउँदो पुछियो त कतिको कोख रित्तियो, त्यो अपराधी हो । त्यस्तो अपराधीले सम्मान पाउनु भनेको हरेक पीडितको घाउमा नुन छर्कनु हो । तँजस्ता युवाले आवाज उठाउनु पऱ्यो”- यसरी उनी बोलिरहे ।
“हे आवाज न सावाज, म त भ्याउँदिनँ, व्यस्त छु”, मैले इन्कार गरेँ ।
“थुक्क हुतीहारा, तेरो काकाको कन्पारोमा गोली हान्न लाउने त्यही अपराधी हो । सिता मोथेको मृत्युको जिम्मेवार व्यक्ति त्यही हो । गर्जमान गुरुङ र महासुर क्षत्रीको हत्याको जिम्मेवार त्यही हो, झटारेलाई टुहुरो बनाउने त्यसैको निर्देशन हो । तँजस्ता पाजी र त्यो दागोमा के फरक छ हँ?” गाली सहितको प्रश्न गरे उनले ।
“लु भन्नु न त मैले चैँ केको रिसइबी साध्ने, दागो र मेरो चैँ के लिनु-दिनु छ?”, मैले बुझ्न खोजेँ ।
“टेकनाथ रिजाल, जोगेन गजमेर, हरि, विश्वलगायतको के गल्ती थियो? तिनीहरूलाई कुकुरलाई झैँ गलहत्त्याएर जेल हाल्यो त्यो दागोले । उनीहरूले भुटानमा मानव भएर जिउन पाऊँ भनेका मात्र थिए । त्यसको बदलामा जेल भोगे, तिनीहरूको आँखामा अहिले पनि त्यो टर्चर झलझली आउँछ । बिचराहरू न्याय हराएका पीडितहरू हुन् । एउटा जिउँदो लाससरह बाँचेका छन् । तिनको पीडा कसले बुझ्ने- तँजस्ताहरु सब गधा भएपछि?”, नमिठो हप्काए बुढाले । बुढा बोली रहे ।
त्यता सुनेझैँ गर्दै ‘दागो छिरिङ’ भनेर गुगल गरेँ । कुइन्सेल लगायतका भुटानका राष्ट्रिय समाचार संस्थाले उनको बारेमा निकै राम्रो लेखेको पाएँ । थोरै तल भुटानी पत्रकार टिपी मिश्रको लेख देखेँ र त्यसलाई सरासर पढेँ । मैले बुझ्नुपर्ने कुरा त्यहाँबाट पाएँ ।
“होइन काका, अनि तपाइलाई पनि सिसा मिसाएको भात खुवाएको भन्नुहुन्थ्यो निः हामी सानो हुँदा, त्यही दागोको कुरा हो? म बिचरो बुझ्न खोज्दैछु ।
“हो त्यही हो । त्यसका सेनाले पिटेको घाउ आज पनि दुख्छ नानी । अचकल्टो बनाएर छाड्यो । प्रायः रातभरि रुन्छु दुखाई खप्न नसकेर। बेलाबेला त काललाई सराप्दै बस्छु। कति दुखेको छ कसलाई थाहा र? पीडित रोएका छौन। अरूलाई हाई सन्चो छ नानी। अब युवाहरू जाग, तिमेरू त ए के के हो के के चलाउन जान्ने भएका छौ, सबै तिर हावाको वेग जस्तो फैलाउन सक्छौ तर खै त के हो पारा नानी?”, उनी भावुक भएझैँ लाग्यो।
“अनि हामी सानामा टेकनाथ रिजाल जिन्दाबाद, दागो छिरिङ मुर्दावाद- भन्दै हिड्थ्यौं । न्याय पाइसक्या होइन र !” मैले बुझ्न खोजेँ ।
“होइन नानी होइन । न्याय मरेको छ हाम्रा लागि । यो पाली सबै मिलेर संयुक्त आवाजले न्याय ब्युँताउनु पर्छ, जगाउनु पर्छ । न्याय छ र पाइन्छ भन्ने सन्देश दिनुपर्छ । आइया हौ ! यो जिउ पनि कति दुखेको । दुख्न पनि के नदुखोस् । पहिल्यै मारेर छाडेको छ”-काले लामो खुई काढेको सुन्दैछु ।
“तपाईँ त काउसिलरकोमा जाजानुहोस हौ”, मैले सल्लाह दिएँ ।
“हेर बाबु, मनको घाउ हो यो । मनबाटै जाती हुन्छ । दागोजस्तो अपराधी सम्मानित हुँदै गए भने, दुखेको मनले मरणसम्म पुऱ्याउँछ ! धेरै मान्छे सहन नसकेर मर्छन्, जिउँदै मर्छन् । चोट के हो अचानोलाई मात्र थाहा हुन्छ । त्यसैले तँ खुकुरी होइन अचानो भएर हेर् त बाबु”, कता कता बुढा रोएका हुन् कि जस्तो पनि महसुस गर्दैछु म ।
“मजस्ता धेरै युवालाई यो कुरा थाहा नै छैन । मैले यो तपाईँले भनेको लिङ्क भक्त काकाको फेसबुकमा भेटेँ । म पनि हस्ताक्षर गर्छु र मेरा दश जना साथीलाई गर्न लाउँछु ।” यसो भनेर उनलाई शान्त पार्दै मैले उनीसँग काम गर्ने सङ्कल्प गरेँ र बोल्दाबोल्दै हस्ताक्षर गरी पनि हालेँ ।
“सुनि न नानी, तैँले त यो पीडितको कुरा सुनिस्, अरुकाँ नि पुऱ्या है बाबु”, आग्रहपूर्वक भने उनले ।
“अवश्य पनि काका”, मैले जवाफ दिएँ ।
“यहाँ मान्छे बाझेको देख्दा ड्रङ्पा छिमी दोर्जी र लाक्पा जोङ्दाले ‘तिमीहरूले न्याय त के आफू आफू लडेर/झगडेर मर्छौ’ भनेको याद आउँछ ! अनि त्यो दागोको अन्याय झलझली सम्झन्छु र बेलाबेला त भक्कानिन्छु । तेरो साथ पाएँ, खुसी छु । सबैलाई यो सन्देश पुऱ्या है नानी”, विनम्र भएर काकाले मलाई पगाले ।
यसरी बिना कारण दुःख दिने तानाशाहहरूले सम्मान होइन; यिनलाई न्यायको कठघरामा उभ्याउनुपर्छ । म त मेरा साथीहरूलाई यो कथा सुनाउँछु । तपाईँहरू पनि आफन्त, साथी-भाइ, सबलाई सुनाउनु होस् अनि न्यायका निम्ति एक ढिक्का भएर भनौँ-“नो अवार्ड टु दागो छिरिङ ।”