अपांग लोग्ने ( लघु कथा )
आचार्य प्रभा
निर्मला महिला संघको कार्यालय जाने तयारीमा थिई । महिला संघ कार्यालय शोषित- पीडित नारीहरुको निम्ति खोलिएको संस्था हो । जहाँ शोषित- पीडित महिलाहरुको सुनवाइ हुन्छ अर्थात नारी हक-हितको निम्ति केही पहल हुन्छ ।
निर्मला, जसको परिवार मध्यमवर्गको थियो । आर्थिक अवस्थाको कारणले उसका आमा-बाबाले उसलाई शिक्षित अनि सम्पन्न परिवारको केटासँग विवाह गरिदिएका थिए । तर उसको दुलाहामा अलिकति खोट के थियो भने उसका श्रीमान जन्मँदा अलिकति अपाङ्ग थिए । तथापि अपाङ्ग भएर पनि उसको दिमागी हालत सपांगको भन्दा तेजिलो थियो । निर्मलाले शुरुमा त विवाहको कुरामा केही प्रतिबन्ध गरिन, कारण उस्लाई पैसा,शान,सौकतको पनि लालच थियो । ऊ त्यो समय कल्पनाभरि धन, दौलत र सम्पन्नताको रंगिन आकाशमा उड्न पुगी र त्यो विवाहलाई आँखा चिम्लेर सहर्ष स्वीकार्न वाध्य बनी । तर जब समय बित्दै गयो ऊभित्रका नारी चाहनाले उसको यथार्थ जीवनको लोग्नेलाई नकार्न थाल्यो । ऊ भित्रभित्रै निरश बन्न थाली । सपांग लोग्नेको कल्पना आँखाभरि सजाउन थाली । उसलाई दिन प्रतिदिन आफ्नो श्रीमानप्रति घृणा लाग्न थाल्यो । अरुका लोग्नेहरु सपांग,चुस्ती,स्फुर्ती देख्दा उसको मन बिरक्तिन थाल्यो । उसको श्रीमान जत्तिसुकै पढे, लेखेको र बिवेकशील भए पनि उसलाई अधुरो र अपूरो लाग्न थाल्यो । ऊ बिह्वल बन्दै गई र उसले एकदिन महिला संघको कार्यालयमा गएर आफ्नो लोग्ने बिकलांग भएको कारणले मन नपरेको र ऊसँग पारपाचुके गर्ने इच्छा जाहेर गर्न उक्त कार्यालय जाने निर्णय गरी । उसले यो बारेमा भने आफ्ना बाबु,आमालाई सल्लाह मागेकी थिई तर, बाबु-आमाले उसलाई धेरै सम्झाए । “जे भए पनि ज्वाइँ मेहेनती, विद्ध्वान,बिवेकशील हुनुहुन्छ । तलाई सुखले पाल्नु भएको छ । तेरो हरेक आवश्यकता पुरा गर्नुभएको छ । समाजमा मान,सम्मान इज्जत छ । इमान्दार हुनुहुन्छ, तेरो इज्जत गर्नु हुन्छ । अब यस्तो मान्छेलाई पनि तैंले मन नपराउनु त तेरो नै दुर्भाग्य हो । हेर अरुको श्रीमानहरु सपांग भएर पनि आफ्नो परिवारप्रति बेवास्ता गर्ने हून्छन् । श्रीमतीहरुलाई अत्याचार गर्छन् । ज्वाइँमा त्यस्तो कमजोरी के नै छ र ? त्यत्ती सानो……..।” बाबु,आमाले त्यति भनिनसक्दा नै निर्मलाले ठाडो जवाफ आमा, बाबुलाई दिँदै भनेकी थिई, “मलाई मन पर्दैन । हजुरहरुको जबर्जस्तिले हुन्छ? ममा के कम्जोरी छ र ? म यस्तो अपाङ्ग मान्छेसँग जीवन बिताउँ? मैले के पाप गरेकी छु र? म यस्तो सजाय भोगौं?”
आफ्नी छोरीको अनायस यस्तो नकारात्मक परिवर्तनले निर्मलाका आमा,बाबु निस्तब्ध बनेर मनमनै सोचिरहेका थिए, “अब हाम्री छोरीको दु:खको दिन आएछ ।” उनीहरु कुनै निर्क्यौलबिना अन्योलमा डुबिरहेका थिए । नभन्दै निर्मला महिला संघमा जान तयार भई । उसका श्रीमानले पनि सम्झाउने कोशिश गरे त र पार लागेन । अन्त्यमा निर्मला गई र आफ्नो निवेदन बिसाई । उक्त महिला संघका महिलाहरुले पनि निर्मलाको वास्तविकताबारे बुझे र उसलाई सम्झाउन हर प्रयत्न गरे । उसका श्रीमानलाई पनि त्यहीं बोलाएर उसका भनाइ र भावना पनि उनीहरुले बुझ्ने अठोट गरे । श्रीमानको सोचविचार र कर्तव्यप्रति खोट लगाउने कुनै ठाउँ थिएन । तर, अफ्सोच ! मुख्य जीवन संगिनीले स्वीकार नगरेपछि, “ढुङ्गा र देवता चिन्न नसकेपछि”, अरुले भनेको के लाग्थ्यो र ? त्यसैले निर्मलाको श्रीमानले पनि त्यहाँ भन्न कर लाग्यो कि, “उसको इच्छा हो यदि उसलाई मन पर्दैन भने उसको जिन्दगी बाँच्ने अधीकार उसैलाई छ । म जबर्जस्ती गर्दिन ।” यति आदेश उसको श्रीमानबाट भएपछि निर्मलाले आफ्नो श्रीमानसँग पारपाचुके गर्ने नै निधो गरी । श्रीमानले उसलाई आउने जिन्दगी सफल, सुखमय र इच्छाअनुसार बितोस भन्ने कामना दिँदै खुशीसँग पारपाचुके कागजमा सही गरिदिए । उक्त काम सम्पन्न भयो / निर्मला अब उसो आफ्नो लोग्नेसँग स्वतन्त्र भएर आफैं गरिखाने निधो गरेर छुट्टिई । श्रीमान आफ्नै बाटो लाग्यो । कति सजिलोसँग सम्बन्धबिच्छेद पनि हुँदो रहेछ ? अहिलेको समयमा / यस्तै यस्तै सोच्दै ।
निर्मला अहिले स्वतन्त्र जीवनबाट पनि दिक्क लागेको अनुभव संगाल्दै बाँचि रहेकी छ । जसोतसो एक्लो जीवन त स्वतन्त्रसँग चारपाँच बर्ष बिताई । यतिका वर्षबीच उसको जीवनमा अनेकौँ परिवर्तनहरु आए । कहिले सहाराको आवश्यकताको पनि अनुभूत सँगाल्नु पर्यो शायद । समाजमा जति सजिलो हुन्छ लोग्ने मान्छे बाँच्न तर, स्वास्नी मान्छे, त्यो पनि एक्लो । बाँच्न उति नै कठोर हुन्छ भन्ने अनुभव पनि त सँगाल्नु पर्यो शायद ।
अहिले ऊ सहाराको खाँचोले छट्पटाएकी छे । तर उसकै आँखा अगाडि ऊ रात-दिन एक जोडीको रमिता हेरिरहेकी छे । जुन लोग्ने स्वास्नी विवाह गरेको दुई वर्षभित्र नै युद्ध संग्राम मच्चाइरहेछन् । रात-दिन मदिरा सेवन गरेर आफ्नी स्वास्नी पिट्दछ बिना माया,दया । बाहिरी ठिटीहरुको मोहमा फँसेर आफ्नी स्वास्नीलाई हर समय सास्ती दिइेरहन्छ । यसरी अर्की नारीको पीडा र व्यथा देखेर निर्मलालाई लोग्ने मान्छेप्रतिको साथ र चाहनामा नै निरशता जाग्न थालेको छ । अहिले ऊ सम्झँदै छे । सपांग लोग्ने भएर पनि यस्तो सास्ती र पीडा दिने लोग्नेको के अर्थ रह्यो र ? यसरी निर्मला बल्ल लोग्नेको साँचो अर्थ बुझ्दैछे ।
शरीरले सपांग भएपनि अविवेकी लोग्ने भएपछि के नै खुशी पाउने रै‘छ र हर स्वास्नी मान्छेले ? त्यस्तै उसले अर्को रमिता देखिरहेकी छे । आफ्नै अगाडिं बस्ने एक जोडीको । जसको लोग्नेको शारीरिक बनावट सुन्दर छ । जिउडाल कस्सिएको छ । मानौ आफुले आफुलाई कुनै फिल्मको हिरो नै ठान्छ तर, के गर्ने ? अफ्सोच ! कामधन्दा केही छैन । कोहीसँग केही व्यावहारिक कुराकानी गर्नेसम्म ढंग छैन। सबै व्यवहार स्वास्नीले टार्नुपर्छ । पढाई लेखाइ पनि त्यती छैन । लोग्ने मान्छे भएर पनि कुनै कुरालाई सहजसँग समाधान गर्ने हिम्मत छैन । त्यही कारणले उसकी स्वास्नी कहिलेकाहीँ निर्मलासँग दुखेसो पोख्न आउँथी र भन्थी, “मैले कुन जूनिमा पाप गरेछु र यस्तो लोग्ने पाए जसबाट केही आशा,भरोसा छैन । सबै समस्याको समाधान मैले नै गर्नुपर्छ । परिवारप्रति कुनै जिम्मेवारी छैन । आफ्नै सुख सयलमा मात्र मस्त हुन्छ । “यति भन्दै ती नारी रुन थाल्थिन् । निर्मला किङ्कर्तब्यबिमूढ बन्थी । अनि सम्झन थाल्थी/ बिगतका क्षणहरु । आफ्नो लोग्ने जो बिकलांग भए पनि शिक्षित र भद्र भलाद्मी थियो । उसलाई अति माया र सम्मान दिएर राखेको थियो । उसका हरेक चाहनाहरुलाई पुर्याइदिएको थियो । उसले कहिले असन्तोष र अभावको सामना गर्न परेको थिएन । उसको लोग्नेले कहिले उसलाई अपमानका शब्दहरु भनेको थिएन । अहिले निर्मला सम्झंदैछे लोग्ने मान्छे हुनुको अर्थ के हो? लोग्ने मान्छेको कर्तव्य के रैछ ? एउटी स्वास्नीले लोग्नेप्रति कस्तो अपेक्षा राख्नुपर्ने रै‘छ ?
हो यस्तै यस्तै आत्माग्लानिले गल्दै। निर्मला आफ्नै बिगतलाई मीठो जिन्दगी सम्झंदै बाँकी जिन्दगी अन्योलमा बिताउने प्रण गर्दै बाँचीरहेकी छ । आफ्नो निच सोच र अविवेकी निर्णयलाई धिक्कार्दै अनि पश्चातापको आसुँ पिउँदै सम्झँदै छे । “शरीर सपांग भए पनि, दिल-दिमाग, विचार अपांग भएपछि त्यो मान्छे के काम लाग्दो रहेछ र? बरु शरीर अपांग भए पनि दिमाग, बुद्धि र विचार सपांग छ भने त्यसैको महत्व र इज्जत हुँदो रहेछ।” यो निर्मलाको लागिमात्र सोच नभएर हर नर-नारीको लागि हितकर सोच हो । अहिले निर्मला यही सोचमा डुबिरहेकी छे, आफ्नो बिकलांग लोग्नेको तस्वीर आँखामा सजाउँदै ।