अम्बर तुम्बापो: श्रव्य सपना र अथक साधना
खेम रिजाल
ओहायो, अमेरिका
सन् १९७८ मा भुटानको चिराङ्ग बिचगाउँमा, बुवा धन तुम्बापो र आमा खड्ग हाङ्मा सामाको कोखबाट जन्मिएका अम्बर तुम्बापो सन् २००८ देखि अमेरिकाको एक्रोन सहरमा बस्दै आएका छन् । छ वर्षको उमेरमा सलामी प्राथमिक विद्यालयबाट औपचारिक शिक्षा आरम्भ गरेका अम्बर कक्षा चार उत्तीर्ण हुन नपाउँदै परिवारसहित जन्मभूमि भूटानबाट विस्थापित हुनु पर्यो । अनिश्चित भविष्यका बिच गन्तव्यहीन यात्रामा रहँदा भोगेको कष्टपूर्ण जीवनको सकस भनिसाध्य छैन ।
जन्मभूमिबाट लखेटिएपछि अन्योलपूर्ण गन्तव्यमा निस्किएको उनको परिवारले माई खोलाको बगर हुँदै बेलडाँगी १ शिविरमा कुम्लो बिसाएको थियो । सन् १९९२ मा उत्पन्न विषम परिस्थितिमा पनि दुस्साहस बटुलेर समाजका केही अग्रज, अनुभवी र दातृसंस्थाको सहयोगमा ग्रिन भेल एकेडेमी (Green Vale Academy) माध्यमिक विद्यालयको स्थापना लगत्तै अम्बरले कक्षा पाँच देखि थप अध्ययन सुरु गरेका थिए ।
कठिन परिस्थितिका बिच पनि उनको अध्ययन यात्रा निरन्तर रह्यो । सन् १९९७ मा त्रिरत्न माध्यमिक विद्यालय, बेलडाँगी २ झापाबाट एस्. एल्. सी उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययनका लागि अम्बर दमकस्थित मोडल उच्च माविमा भर्ना भए । मेची बहुमुखी क्याम्पसबाट बि. एस्सी पहिलो र दोस्रो वर्ष पुरा गरेपछि थप अध्ययन र अवसरको सिलसिलामा काठमाडौँ हानिएका उनी आफ्नो लक्ष्यमा निर्दिष्ट रहिरहे । जतिसुकै कठिन परिस्थितिमा पनि शिक्षाभन्दा ठुलो सम्पत्ति केही होइन भन्ने बाबुको आदर्शलाई हृदयदेखि नै आत्मसाथ गरेका उनले सन् २००३ मा त्रिचन्द्र क्याम्पस काठमाडौँबाट स्नातक पुरा गरिछाडे ।
तीन दिदीबहिनी र चार दाजुभाइमध्ये तेस्रो सन्तानका रूपमा जन्मिएका अम्बरले सानैमा जेठो दाजु, एक भाइ र बहिनीको अकल्पनीय वियोगको पीडा सहनुपर्यो । बाँचेका चार जनामध्ये कान्छो भाइ भेषराज र कान्छी बहिनी तारा उनी बसेकै सहरमा बस्छन् भने दिदी देवी नेदरल्यान्डमा बस्दै आएकी छिन् । सन् २०१३ मा अम्बर तुम्बापोको विवाह स्थानीय टिफनी स्टेसीसँग भएको थियो । हाल उनीहरूका एक छोरा साइसल र एक छोरी पाउलिना छन् भने स्टेसी द युनाइटेड वेएमा कार्यरत छिन् ।
सन् २००८ मा पुनर्वास भए लगत्तै भूटानी समाज एक्रोनका (Bhutanese Community of Akron) संस्थापक अध्यक्ष बनेका तुम्बापो २०१७ देखि २०२१ सम्म भूटानी अमेरिकी सङ्गीत सङ्गठनको (Bhutanese American Music Association) केन्द्रीय समितिमा रहेर सक्रिय भूमिका निर्वाह गरेका थिए । एक्रोनकै किराँती समाजको सल्लाहकार रहेका उनी अहिले पनि विभिन्न सामाजिक गतिविधिमा सक्रिय छन् । इन्टरनेशलन इन्स्टिच्युट अफ एक्रोनमा एक दशक जागिरे रहेका अम्बर सन २०१७ यता जब एन्ड फ्यामेली सर्भिसमा (Job and Family Services) कार्यरत छन् ।
गीत सङ्गीतमा सानैदेखि रुचि राख्ने अम्बर, जीवनयात्रामा जतिसुकै असहज परिस्थिति आइपरे पनि अठोटमा कहिल्यै विचलित भएनन् । कक्षा सातमा पढ्दा पहिलो पटक कक्षामा गीत गाएका अम्बरलाई सन १९९६ मा बेलडाँगी एक सेक्टर बी मा स्थापना भएको ड्रुक याली क्लब (Druk Ally club) कोशेढुङ्गा बन्यो । यस संस्थामा सक्रिय बनेपछि साङ्गीतिक आँकुरा झन् झाँगिँदै गयो । त्यसपछि उनी स्कुल र क्लबले आयोजना गरेका कार्यक्रममा बाक्लै देखिन थाले । सन् १९९८ मा उर्लाबारीका गुरु कृष्ण योञ्जनबाट सङ्गीत सम्बन्धी शिक्षा लिएका अम्बरको सङ्गीत यात्रा सन २००४ मा साधना कला केन्द्र काठमाडौँ र सन् २००६ मा गुरुदेव कामतको सान्निध्येले अझ विस्तारित र उत्साहपूर्ण बनाइदियो ।
अम्बरले सन् २००५/६ मा आफ्नै शब्द सङ्गीतमा पहिलो गीत,गायक तथा सङ्गीतकार छवि न्यौपानेको स्वरमा रेकर्ड गराएका थिए । तिमी आउने गोरेटो ‘बोलको गीतमा जेम्स प्रधानको सङ्गीत संयोजन रहेको छ । अमेरिका प्रवेश अघि साधना कला केन्द्रबाट, सन २००६ मा सार्वजनिक ‘सुर’ कलेक्सन एल्बम उनको पहिलो गीति एल्बम हो । यसै एल्बमको दुई नम्बरको गीतमा सङ्गीत गरेका उनले एल्बमको तेस्रो गीतमा शब्द सङ्गीत र चौथोमा शब्द, सङ्गीत र स्वरसमेत दिएका छन् ।
अग्रज साधक प्रकाश गुरुङको संयोजनमा तयार भएको यस एल्बममा असीम राई, विनीता सुनुवार, छवि न्यौपाने, अम्बर तुम्बापो, मनित गुरुङ र मीन गुरुङको स्वर तथा शब्द रहेको छ । यस एल्बममा बुद्ध सायमी, नर्बु शेर्पा, जेम्स प्रधान र शिलाबहादुर मोक्तानको सङ्गीत संयोजन रहेकोछ भने रेकडिष्टमा बुद्ध सायमी, मित्र लामा, मोहित मुनाल र अराज केशव रहेकाछन् । जहाँ पुगे पनि सङ्गीतको प्यास मेट्न नसकेका तुम्बापोले सन २०१२ मा सात वटा गीत समावेश भएको दोस्रो एल्बम ‘अम्बर’ बजारमा ल्याए । यसमा समावेश छ नम्बरको गीत हाँस्दाहाँस्दै शिव चौलागाइको शब्दबाहेक अरू सबै गीत अम्बर स्वयंले लेखेका हुन । उनको एकल सङ्गीत रहेको यस सङ्ग्रहका सबै गीतमा नेपाली तारा सन्तोष लामाले स्वर दिएका छन् । मोहित मुनाल, फिरोज बज्राचार्य, चाँद सिङ्ग, महराज थापा र गोपाल रसाइलीको सङ्गीत संयोजनमा तयार यो गीतलाई फिरोज बज्राचार्यले ध्वनि सम्मिश्रण गरेका छन् । विरह र वियोगान्तलाई मूल मर्म बनाइएका यी गीत पाको पुस्ता भन्दा पनि युवा पीढीमाझ बढी लोकप्रिय छन् ।
अम्बरका गीतहरूमा कतै अर्ध-शास्त्रीय त कतै लोक-आधुनिक पपको सम्मिश्रण पाइन्छ । सत्तरीभन्दा बढी गीतमा सङ्गीत गरेका तुम्बापोले, गीतकार गोपी दाहालको दोस्रो एल्बम ‘प्रज्वल’ मा समावेश पाँचै वटा गीतमा एकल सङ्गीत दिएका छन् । उनका गीतहरू गायक राजेश पायल राई, शिव परिवार, राजनराज शिवकोटी, किरण गजमेर र रमेश कँडेलले गाएका छन् । यसै एल्बममा रहेको पहिलो गीत ‘सानीमा सानी पातली नानी’एकताका निकै चर्चित बनेको थियो ।
सन् २०२३ को उत्तरार्धमा अम्बरले आफ्नो पछिल्लो एल्बम अम्बर-२, कोलम्बस ओहायोमा डिम्स ल्यान्डिङको (Dream Landing) एक अवार्ड समारोहमा लोकार्पण गरेका थिए । उक्त एल्बममा सत्य स्वरूप आचार्य, कर्म गेल्छन्, मेलिना राई, किरण गजमेर, विकाश लिम्बु र अम्बर तुम्बापोले स्वराङ्कन गरेका छन् । जम्मा आठ गीतमध्ये मोहनी मन्तर डिपी खनाल, उनको याद अर्जुन रसाइली र नहोस् मेरो धड्कन सौरभ तिम्सिनाले लेखेका हुन् भने बाँकी पाँच वटा गीत तुम्बापो आफैँले लेखेका हुन । यसै एल्बममा रहेको गीत हिँड्दाहिँड्दैले निकै ख्याति कमाएको थियो । त्यसै गरी दुई नम्बरमा रहेको डोको नाम्लो बोलको गीत एक विशेष रियालिटी सोमा गाइएको थियो ।
निरन्तरको साधना र अथक परिश्रमबाट मात्रै कलाले विशिष्टता हासिल गर्दछ । अम्बर त्यसैको यात्रामा छन् भन्ने कुरा उनले कला साधनामा खर्चिएको समय र त्यागले देखाउँदछ । गीत सङ्गीतको क्षेत्रमा लामो समय व्यतीत गरिसकेका अम्बरले सिर्जनाका माध्यमबाट आफ्नो समाजलाई उत्प्ररित गरिरहेका छन्। उनको सङ्गीत प्रतिको मोह र तिर्खा अझ बढ्दो छ । तुम्बापो गीत सङ्गीतका अलावा भूटानी अमेरिकी समाजमा हुने विभिन्न खेलकुदका साथै सामाजिक, सांस्कृतिक र धार्मिक कार्यक्रममा यत्रतत्र उपस्थित भइरहन्छन् । हाम्रो समुदायमा एउटा राम्रो सङ्गीतकारको हैसियत बनाइसकेका अम्बर, गीत लेखन र गायनमा पनि दक्ष छन् भन्ने कुरा समाजले भुल्नु हुँदैन ।