अर्थदेखि उता

मनोज बोगटी
दार्जीलिङ्ग, भारत
मलाई लक्ष्य गरेर पठाइने घृणा
ठेला उठेको हत्केलामा राख्न सक्छु
म।
बतासलाई
ढोका खोलेर राख्नु सक्छु
यसो भनौं कि
ढोकाबाहिर नै त्यसलाई उभ्याएर
पीडा दिन सक्छु।
परीक्षा त्यसले गर्छ
जो शङ्काले निर्मित छ।
हुनसक्छ कि
निर्णय कसैको निजी अधिकार हो।
जुन हत्केलामा अधिकार छ
त्यही हत्केलामा
सत्तालाई औंली तेर्साइरहेको रेखा पनि हुन सक्छ।
विश्वास-अविश्वास
फरक अर्थ होइनन्।
त्यही हातले ढुङ्गा उठाएर बनाएको देउरालीमा
त्यहा हातले पाती चढ़ाउँछ
के अर्थ यो घटनाको?
भत्किएको मन्दिर
कि त त्यसको सिकुवामा
टुक्सुक्क बस्ने शान्तिको
के भाग्य
के दुर्भाग्य।
शान्ति-अशान्ति
फरक अर्थ होइनन्।
अनुभूतिको छाया हुँदैन
किन भने आकार हुँदैन।
आकारबिना,छायाबिना त्यहॉं घटनाहरू आउँछन्
जान्छन्।
घटना-दुर्घटना
बेग्ला-बेग्लै अर्थ होइनन्।
हुन त संवेदनाको के रङ
शब्दको के स्वाद
पीडाको के भाषा।
घृणा-प्रेमलाई
एउटै अर्थी दिने नियति तोक्ने
न तिमी
न म।
Very nice . please do not stop you pen …………