अवसरमा रूमलिएको अमेरिकी सपना

गङ्गा लामिटारे
ओहायो, अमेरिका

अमेरिका सपना साकार पार्ने देश हो । यहाँ अवसरै अवसरहरू छन् । तर ती अवसरहरूलाई चिन्न र खोज्न जान्नुपर्छ । सुतेर कहिले पनि सपना पुरा हुँदैन । भाकेर र बोलेर मात्र हुँदैन । सपना साकार गर्न त पढ्नुपर्छ। मिहेनत गर्नुपर्छ । श्रम गर्नुपर्छ र पसिना बगाउनुपर्छ । यही नै जीवन निर्माणको सुगम र सहज बाटो हो भन्ने बुझ्न जरुरी छ ।
२५ वर्षको बिजु ६ वर्षदेखि एउटा वायर हाउसमा काम गर्छ । अमेरिका आएकै ६ महिनादेखि निरन्तर काम गर्दै आएका बिजुले एउटा ३ कोठे घर किन्यो र एउटा नयाँ कार पनि । यहाँ आएकै दुई वर्षमा आफूसँगै काममा जाने रूक्मिनासँग उसको लभ पर्‍यो । उनीहरू बिचको त्यो सानु लभ छुट्टिनै नसक्ने गरी कसिँदै गयो । यस्तो हुँदैछ भन्ने उनीहरू दुवैलाई पत्तै भएन । अदृश्य मायाको डोरीमा फुत्किनै नसक्ने गरी उनीहरू कसिँदै गए । प्रेमका जञ्जिरमा बाँधिएका दुवैले सँगै मर्ने र सँगै जिउने बाचा पनि गरिसकेका थिए । त्यही बाचाबन्धनले २४ वर्ष नपुग्दै प्रणय बन्धनमा बाँधिन बाध्य गरायो बिजुलाई। उनीहरूकी एक वर्षकी सानी छोरी छ । बिजुभन्दा ३ वर्षअघि मात्र अमेरिका आएका रामबहादुरको आर्थिक प्रगतिबाट प्रभावित भएका बिजुलाइ पढाइप्रति कुनै चासो नै भएन । अहिले उनीहरूसँग गाडी छ, घर छ र बैङ्क एकाउण्टमा दुईचार हजार डलर पनि डिपोजिट छ । नेपालमा केही थिएन र त जीवन चलैको थियो । नपढिकनै काम गर्न पाइने भएपछि पढाइका लागि किन टाउको दुखाउने भन्ने उसलाई लागो । फेरि नेपालमा सँगै १२ पढेर यहाँ आएका साथीहरूसँग सम्पर्क गर्ने समय नै मिल्यो नत उसका साथीहरूले नै बिजुलाइ सम्पर्क नै गरे । दिनभरि काम गर्‍यो । राती सुत्यो । शनिवार र आइतबार पार्क र पिकनिकमा व्यस्त । कहिले अस्पताल त कहिले भेकेशन । यसरी नै बिजुका ७ वर्ष ७ दिन जस्तै भएर बिते ।

—- – — – – – – – — — – — —- – – – — – – – — – – – — –

सधैँ झैँ यस वर्षको भेकेशन मनाउने क्रममा सपरिवार बिजु न्यु योर्क गएको थियो । नाग्राफल्समा उसको पुरानो साथी बिर्खसँग जम्काभेट भेट भयो । बिर्ख बिजुको नेपालमा १२ पढ्दासम्मको सहपाठी र बिर्सनै नसक्ने मित्र थियो । उ बृजुभन्दा दुई वर्षअघि अमेरिका आएको थियो । बिर्ख पनि समर भेकेशन मनाउने क्रममा नाग्राफल्स आएको थियो । अचानक एउटी केटीसँग रमाइलो गर्दै आफूतिर आइरहेका साथी बिर्खलाइ देखेर बिजुले भन्यो‘ नमस्कार बिर्ख’ !
अचानक आफ्नो पूर्वसाथीले यसरी आत्मीयता दर्साएको देखेर ओ…. बृजु भन्दै बिर्खले अँगालोमा बाँधेर मित्रतालाई थप प्रगाढ बनायो ।
बिजुका पछि पछि काखीमा नानी च्यापेर हिँड्ने महिलाप्रति सङ्केत गर्दै बिर्खले भन्यो ‘बिजु उहाँ चाहिँ को हुनु भो ?
‘’उनी चाहिँ मेरी अर्धाङ्गिनी’ बिजुले लजाउँदै जवाव दियो ।
‘बा ओ बिजु ! नानीको बाबु पनि बनिसकिस् हगि ?’ भन्दै बिर्खले प्रतिप्रश्न गर्‍यो ।
‘हो नि बिर्ख’ भनेर उत्तरदिदै बिजुले सोध्यो ‘ अनि तिमी चाहिँ के गर्दै छौ बिर्ख’ ?
‘बिजु म त कलेज गइराछु । नेटवर्किङको अन्तिम वर्षमा पढ्दै छु । कलेजमै पार्ट टाइम काम पनि गर्दैछु । समर भेकेशन मनाउने क्रममा यहाँ आएको ।’ बिर्खले चिनियाँ युवती छुमोतिर देखाउँदै-यिनी मेरो सहपाठी हुन्, र केटी साथी पनि । उनीसँग पहिलो पटक भ्रमणमा निस्किएको हुँ ।’ बिर्खले सरसर्ती भन्यो ।
’बिचरा’, राम्रो साथी नपाएर नै बिजु जनजालमा फसिसकेछ भन्ने बिर्खले तुरुन्त लख काट्यो । कुराकानी गर्दै बिर्ख एउटा इण्डियन रेष्ट्रुरेण्टमा पस्यो र सबैलाई चियरमा बस्ने आग्रह गर्दै २ प्लेट बिर्यानी र २ बोतल कोकको अडर गर्‍यो ।
छुमो र बिजुकी श्रीमतीलाई ‘तपाईँहरू यहाँ बसेर नास्ता गर्दै गर्नुहोस् । हामी एक छिन बाहिर गएर आउँछौँ’ भन्दै बिर्खले बिजुको हात समायो र तान्दै बाहिर निस्कियो ।
केही पर एकान्त ठाउँमा पुगेर उ रोकियो र पछिपछि आउँदै गरेको साथी बिजुलाइ संझाउदै भन्यो ‘बिजु तेरो यो पढ्ने उमेर हो कि बिहे गरेर बालबच्चा बनाउने ? बिजु बोलेन । टुलुटुलु बिर्ख हेरी मात्र रह्यो । एउटा अबोध बालक जस्तै । जुन सम्पत्तिका बारेमा त घमण्ड गर्दै छस् मित्र । त्यो नित्य र स्थाइ होइन । ठोकिने साथ तेरो नयाँ कार सकिन्छ । आगो लाग्नेसाथ तेरो घर खरानी हुन्छ । आर्थिक मन्द हुनसाथ तेरो वायर हाउसको जागिर सिद्धिन्छ । त्यसपछिको जीवनका बारेमा केही सोचेको छस् ? छैन । हेर मित्र, रातो-दिन इन्ट्रीलेबलको काममा जोतिएर केही कमाइस् होला ! तर जीवन त्यतिका लागि मात्र होइन । पेट र परिवार पाल्नु मात्र पनि हाम्रो लक्ष्य होइन ! पेट र परिवार त चरा मुसाले पनि पालेकै छन् । हामी त चेतनशील मानव ! त्यसमा पनि अमेरिका जस्तो शक्तिशाली देशको एउटा नागरिक ! हामी माथि विश्वको ठूलो आशा छ ! विश्व बदल्ने क्षमता हामीमा हुनुपर्छ । त्यसका लागि पढ्नुपर्छ । सीप सिक्नुपर्छ र चेतना बढाउनुपर्छ । सम्पन्न र संभ्रान्त जीवन निर्माणका लागि घर,गाडी र व्यापारमा होइन मित्र, शिक्षा र चेतनाको विकासमा लगानी गर्नुपर्छ । र मात्र अमेरिकी सपना पुरा हुनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *