अविस्मरणीय व्यक्तित्व रश्मिप्रसाद आले

अनिता निरौला
गान्तोक, सिक्किम
मनोबल, आत्मविश्वास, कटिबद्धता र स्वाभिमान, अदम्य साहस र निर्भीकताका चार पोषक तत्त्व हुन्। यी तत्त्वको पोषणबाट सफलताले जन्म लिन्छ। यो शिक्षा सिक्किमका पहिलो शिक्षाविद् र शिक्षा-सुधारक रश्मिप्रसाद आलेको सङ्घर्षपूर्ण जीवनीमा लुकेको पाइन्छ। मान्छेका सोच दुइ प्रकारका हुन्छन्। एक सोचधारीले भन्छ, ‘मैले यो भोग्न सकेँ भने उसले किन सक्दैन? उसले पनि भोग्नैपर्छ।’ अर्को सोचधारीलाई लाग्छ, ‘मैले भोगेको छु तर उसले त्यो भोग्नु हुँदैन, उसको जीवन सहज हुनुपर्छ।’ रश्मिप्रसाद आले पछिल्लो वर्गका व्यक्तित्व थिए। आसाममा नेपाली भाषाको शिक्षा व्यवस्थाको अभावमा बङ्गला र आसामी भाषाको माध्यमबाट शिक्षार्जन गरेका रश्मिप्रसादले आफ्नो मातृभाषा नेपालीबाट वञ्चित हुनुपरेको भोगाइ भावी सन्ततिमा हस्तान्तर भएको चाहेनन्। सिक्किममा पनि तिनताक त्यही भोगाइका शिकार बनेका नेपाली भाषी विद्यार्थीहरू हिन्दीमा शिक्षार्जन गर्न बाध्य थिए। यस प्रकारको भोगाइका भुक्तभोगी भएर नै रश्मिप्रसादले नेपाली भाषाका पढ़ाइको पहल गरे अनि सिक्किमका पाठशालाहरूमा नेपाली भाषाको पढ़ाइ आरम्भ भयो। सिक्किममा भाषा, साहित्य, संस्कृति, कला र शिक्षाको वर्तमान स्वरूप रश्मिप्रसाद आलेको दूरदर्शिताका परिणाम हुन् भन्नमा अत्युक्ति नहोला। शिक्षकदेखि मन्त्रीसम्म बनेका रश्मिप्रसादले आफ्नो सम्पूर्ण जीवन भाषा, शिक्षा, कला र संस्कृतिको विकासमा अर्पण गरे।
सन् 1892-को 20 अक्टोबरको दिन आसामको ग्वालपाड़ा धुव्री गाउँमा जन्म ग्रहण गरेका रश्मिप्रसाद आलेले प्राथमिक शिक्षा धुव्री पाठशालाबाट आरम्भ गरेका हुन्। उनले सन् 1913-मा तेजपुर सरकारी हाई स्कूलबाट मेट्रिक अनि 1917-मा गुवाहाटीको कटन महाविद्यालयबाट आईए पास गरे। रश्मिप्रसाद आसाम क्षेत्रका पहिलो भारतीय नेपाली गोर्खा आईए हुन्। आफूमाथि परिवारको ठूलो जिम्मेवारी आइपर्दा उनले शिक्षालाई अघि बढ़ाउन सकेनन् बरू जीविकाको स्रोतको खोजीमा बनारस जान्छन् र नेपाली प्रशिक्षण एवं प्रकाशन कम्पनीमा आसाम क्षेत्रका प्रभारी निर्देशकको पदमा नोकरीमा प्रवेश गर्छन्। त्यहाँ कम्पनीद्वारा प्रकाशित साहित्यिक पत्रिका ‘गोर्खाली’-को प्रबन्धन र प्रचार कार्यमा संलग्न हुन्छन्। रश्मिप्रसाद आलेका निम्ति मातृभाषा नेपालीको सेवा गर्ने यो ठूलो अवसर थियो। तबसम्म उनी आसाम र बनारस मात्र होइन दार्जीलिङ पहाड़मा पनि परिचित भइसकेका थिए। खरसाङको हरि प्रिण्टिङ प्रेसका प्रबन्धकको निमन्त्रणालाई स्वीकार्दै उनी बनारसमा केवल एकवर्ष रहेपछि सन् 1919 -मा खरसाङ गएर पारसमणि प्रधानको पत्रिका ‘चन्द्रिका’-का मुद्रण, प्रकाशन र सम्पादनको काम गर्न लाग्छन्।
खरसाङ बसाइँ सराइ रश्मिप्रसादका जीवनको एउटा निर्णायक मोड़ थियो। तिनताक सिक्किममा महाविद्यालय स्तरीय शिक्षित व्यक्तिको अभाव थियो। खरसाङमा रहँदा अचानक सन् 1920 -को 13 जनवरीको दिन उनलाई सिक्किमका महाराजाबाट गान्तोकमा नेपाली बोर्डिङ स्कूलका हेडमास्टरको पद सम्हाल्ने प्रस्ताव प्राप्त हुन्छ। सिक्किममा तिनताक वन प्रबन्धक अधीनस्थ शिक्षा विभागको त्यस पत्रमा निःशुल्क क्वार्टरसितै सत्तरी रुपियाँको मासिक वेतनमा नियुक्तिको प्रस्ताव गरिएको थियो। रश्मिप्रसाद द्विविधामा पर्छन्। हरि प्रिण्टिङ प्रेसलाई त्याग्ने कि महाराजाको प्रस्तावलाई? यसरी पत्रकारिता र शिक्षाबीचको तानातानीमा पत्रकारिताको मोहले उनलाई महाराजाको प्रस्ताव अस्वीकार गर्न बाध्य गराउँछ। तर रश्मिप्रसादको कौशलता र योग्यताप्रति पूर्ण परिचित महाराजा उनलाई सिक्किममा शैक्षिक विकासको दायित्व सुम्पिन चाहन्थे। प्रस्ताव अस्वीकार भएको पन्ध्र दिनपछि लगत्तै रश्मिप्रसादलाई कमिटीका सचिवको अर्को पत्र प्राप्त हुन्छ, जसमा वेतन बढ़ाएर मासिक अस्सी रुपियाँ गरिएको अनि चार वर्षपछि अरू बढ़ोत्तरी गरी एक सय रुपियाँ गर्ने प्रस्ताव उल्लिखित थियो। दोस्रो प्रस्ताव रश्मिप्रसादका निम्ति स्वीकार्य हुन्छ। समाज सेवा र शिक्षा सुधारको भावनाले उनी खरसाङको हरि प्रिण्टिङ प्रेसमा एकवर्ष मात्र काम गरेपछि गान्तोकको नेपाली बोर्डिङ स्कूलमा हेडमास्टरको पदभार सम्हाल्न सिक्किम प्रवेश गर्छन्। गान्तोक आउन तिनताक सहज थिएन। खरसाङदेखि सानो रेलमा चढ़ेर भोलिपल्ट कालेबुङ रोडस्टेशन अथवा गेल खोलासम्म आउनु पर्थ्यो। गाड़ी-घोड़ा नभएको हुँदा रश्मिप्रसादलाई त्यहाँदेखि रम्फू र बत्तीस नम्बरमा बास बस्दै हिँड़ेर गान्तोक आइपुग्न चार दिन लागेको थियो। तितेपाती र ऐंसेलुघारीले भरिएको गान्तोक शहर देख्दा बिरक्तिएर उनलाई फर्किने मन हुन्छ तर मनलाई बाँधेर राख्न सिवाय अरू कुनै विकल्प उनका निम्ति थिएन।
सिक्किममा पहिलो स्कूल सन् 1894-मा हिन्दी स्कूल नाउँमा वर्तमान जेल र इञ्चे गुम्पाबीच ठाउँमा खोलिएको थियो। रामधनी पाण्डे प्रधान अध्यापक रहेको त्यस स्कूलको नाउँ परिवर्तन गरी सन् 1897-मा स्टेट स्कूल राखियो। सरकारको स्वीकृतिपछि सन् 1902-मा त्यस पाठशालालाई दुइवटा स्कूलमा परिणत गरियो, वर्तमान लालबजारमा नेपाली बोर्डिङ स्कूल र बुर्तुकमा भोटिया बोर्डिङ स्कूल। सन् 1920-मा सिक्किममा यी दुइवटा मात्र सरकारी पाठशाला थिए। गान्तोक आउने बित्तिकै रश्मिप्रसाद आले सन् 1920-को 26 अप्रेलको दिन नेपाली बोर्डिङ स्कूलमा प्रधान अध्यापकको पद सम्हाल्छन्। तिनताक स्कूलमा पढ़ाइको माध्यम हिन्दी थियो। विद्यार्थीहरूले नेपाली पढ़्न र लेख्न जान्दैन थिए। भाषाका कर्मठ सेवी रश्मिप्रसाद आले अवकाशका बेला अनि शनिबार र आइतबार घरमा विद्यार्थीहरूलाई भेला गराई नेपाली पढ़ाउन थाल्छन्। यसका निम्ति उनलाई आधिकारिक अनुमति प्राप्त थियो। तर पाठ्य पुस्तकबिना कसरी पढ़ाउने? ठूलो चुनौती थियो। रश्मिप्रसाद आफैले पन्नामा नेपालीको साउँ अक्षर, स्वर र व्यञ्जन वर्ण आदि लेखेर पढ़ाउन शुरु गर्छन्। हिन्दी मात्र पढ़्ने बानी बसेका नानीहरूलाई नेपाली भाषा पढ़्न र लेख्न सिकाउँदा रश्मिप्रसादले सामना गर्नुपरेको स्थिति शायदै हामी अनुमान लगाउन सक्छौँ। तर उनको लगनशीलता र कटिबद्धताको परिणामस्वरूप बिस्तारै नानीहरू नेपाली भाषाप्रति आकर्षित हुँदै गए। उनले नेपालबाट गोर्खा भाषा प्रकाशिनी समितिद्वारा प्रकाशित गोर्खा पुस्तकहरू मगाएर नानीहरूलाई बाँड़्ने गर्थे। यसरी रश्मिप्रसाद आलेको पहलमा सन् 1921 -मा सिक्किमका पाठशालाको पाठ्यक्रममा नेपाली भाषा विषयलाई समावेश गरियो र नेपाली भाषा शिक्षाको श्रीगणेश भयो। रश्मिप्रसादको दूरदर्शिताको फलस्वरूप सिक्किममा नेपाली भाषाले राज्य भाषाको मान्यता पाउन सक्यो। सरकारी कागजपत्र, जमीनको दस्तावेज, खतियान, पर्चा, राजकीय रसिदहरू सबै नेपालीमा लेख्न शुरु भए। सिक्किमको विकासमा नेपाली भाषाले महत्त्वपूर्ण भूमिका खेल्न थाल्यो। आज ती नानीहरू नेपाली भाषाविद्, बुद्धिजीवी र नेपाली साहित्यका रचेता अनि ठूल्ठुला पुरस्कार प्रापक बनेका छन्।
रश्मिप्रसादको प्रयासमा सन् 1925-मा नेपाली बोर्डिङ स्कूल र भोटिया बोर्डिङ स्कूललाई मिलाएर एउटै स्कूल बनाइयो, गान्तोक स्कूल। यो सिक्किमको पहिलो हाई स्कूल थियो। तिनताक नवौँ कक्षादेखि माथिका परीक्षाहरू दिन दार्जीलिङ जानुपर्ने हुँदा विद्यार्थीहरूले झेल्न परेको कठिनाई रश्मिप्रसाद आलेका निम्ति असह्य हुँदा समस्याको समाधानका निम्ति उनले गान्तोक हाई स्कूललाई कलकत्ता विश्वविद्यालयसित आबद्ध गराउँछन्। स्कूलको पहिलो समूहका एकजना विद्यार्थी युवराज टाशी नामग्याल स्वयं भएका हुनाले रश्मिप्रसाद आलेकै सरसल्लाहमा उनको नाउँमा स्कूलको नामकरण गरियो -सर टाशी नामग्याल हाई स्कूल, जो सन् 1966 -मा दुइ भागमा विभाजित भयो, टाशी नामग्याल हायर सेकेण्डरी स्कूल र पब्लिक स्कूलको रूपमा टाशी नामग्याल अकादेमी।
सन् 1941-को 31 मईसम्म सर टाशी नामग्याल हाई स्कूलका उप-प्रधान अध्यापक रहेपछि पहिलो अगस्तदेखि उनी सरकारी मुद्रणालयका प्रमुख बन्छन्। आसामबाट अत्याधुनिक उपकरण मगाएर उनले यस मुद्रणालयको आधुनिकीकरण गरेका थिए। तिनताक सिक्किममा ठेकादारी प्रथाको रग्र्गी थियो। झार्लाङ्गी, कुरूवा, बेठी, जमीनदारी, कालोभारी जस्ता कुप्रथाले सीमा नाघिसकेको स्थितिमा असह्य भएर 1948 सालमा टाशी छिरिङले त्यसविरुद्ध आवाज उठाउँदा रश्मिप्रसादले अप्रत्यक्ष रूपमा भरपूर सहयोग पुर्‍याएका थिए। फलस्वरूप 1949-को 8 मईमा टाशी छिरिङको मुख्यमन्त्रीत्वमा अन्तरिम सरकारको गठन हुन्छ, जसमा रश्मिप्रसाद आलेलाई भू-राजस्व एवं वन मन्त्री नियुक्त गरिन्छ। यसरी शिक्षा सुधारक रश्मिप्रसाद मन्त्री बन्न पुग्छन् तर मन्त्रीमण्डलको आयु 29 दिन मात्र रहन्छ। महाराजाले 7 जून, 1949-मा सरकारी विज्ञप्ति जारी गर्दै अन्तरिम सरकारको विघटन गर्छन्। यसरी केवल 29 दिन मन्त्री बनेपछि सरकार विघटन हुँदा उनी फेरि शिक्षाकै आफ्नो क्षेत्रमा फर्की आउँछन् र सर टाशी नामग्याल हाई स्कूलका प्रधान अध्यापक नियुक्त हुन्छन्।
शिक्षामात्र नभएर कला र संस्कृतिको विकासमा पनि रश्मिप्रसाद आलेले पुर्‍याएको योगदानलाई सिक्किमले भुल्न सक्दैन। कलाकारहरूका निम्ति उनी मार्गदर्शक थिए। कुनै ठोस् मञ्चबिना भाषा, साहित्य र कलाको विकास सम्भव छैन भन्ने कुरालाई उनले राम्ररी बुझेका थिए। त्यसैले कला प्रदर्शनको मञ्च तयार गर्न उनले भानु जयन्तीलाई माध्यम बनाए। सन् 1944-मा रश्मिप्रसाद आलेले गान्तोकको आफ्नै घरमा कलाकारहरूलाई बोलाएर खुबै सादा ढङ्गमा भानुजयन्ती मनाएका थिए।सिक्किममा भानुजयन्ती मनाइएको त्यो पहिलोपटक थियो। रश्मिप्रसाद आले नै हुन्, जसले सिक्किममा भानुजयन्ती समारोह परम्पराको बीजारोपण गरे। उनकोअध्यक्षतामा अपतन साहित्य परिषद्ले सन् 1948-मा पहिलोचोटि संस्थागत तवरमा राजधानी गान्तोकमा भानुजयन्ती मनाएको थियो।
बहु-आयामिक व्यक्तित्व रश्मिप्रसाद आले सशक्त साहित्यकार पनि थिए। उनको मार्गदर्शनमा सन् 1958-देखि अपतन संस्थानले ‘सुनखरी’ पत्रिकाको प्रकाशन शुरु गर्‍यो।
प्रतिभाशाली लेखक रश्मिप्रसादका लेख र कथा तिनताक चन्द्रिका, गोर्खाली, भारती, दियालो, नवज्योति र सुनखरीजस्ता पत्रपत्रिकामा प्रकाशित हुन्थे। उनले सन् 1932-देखि प्रत्येक वर्ष नेपाली साहित्य सम्मेलन दार्जीलिङको वार्षिकोत्सव तथा सम्मेलनमा सिक्किमको प्रतिनिधित्व गर्ने गर्थे। सन् 1939-मा 12 मईको दिन दार्जीलिङमा धीरधाम मन्दिरको उद्घाटन हुँदा सिक्किमबाट रश्मिप्रसाद आलेलाई विशेष निमन्त्रणा थियो। धीरधामको उद्घाटन नेपालका श्री मद्राजकुमार कुमारात्मज कमाण्डिङ जेनरल बहादुर शमशेर जङ्गबहादुर राणाले गरेका थिए। नेपाली साहित्य सम्मेलन, दार्जीलिङले सन् 1964 -मा निबन्ध ‘छद्मवेशमा वरदान’-का निम्ति रश्मिप्रसादलाई दियालो दुलीचन्द स्वर्ण पदकले सम्मानित गरेको थियो।
रश्मिप्रसाद आले अपतन साहित्य परिषद्का अध्यक्ष पनि थिए। उनकै प्रयासमा सन् 1950-को सेप्टेम्बरमा सर टाशी नामग्याल हाई स्कूलको रजत जयन्ती समारोहमा अपतन संस्थाले ‘कमल’ नाटक प्रस्तुत गरेको थियो। घरघर देउसी खेलेर अर्थ सङ्ग्रह गरी आयोजन गरिएको यो सम्भवतः सिक्किमेली भूमिमा मञ्चित पहिलो नाटक थियो। सिक्किमका नेपाली साहित्य प्रेमीहरूका निम्ति 1952 साल ऐतिहासिक रह्यो। रश्मिप्रसाद आलेको तत्परता र अपतन साहित्य परिषद्को आयोजनमा त्यस वर्ष नोभेम्बर महिनामा गान्तोकमा दुइदिने भव्य साहित्यिक सम्मेलन आयोजन गरिएको थियो। सिक्किममा आयोजित त्यो आफ्नो प्रकारको पहिलो सम्मेलनमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाटककार बालकृष्ण सम र साहित्यकार लेखनाथ पौड्यालजस्ता साहित्य पण्डितहरूको ऐतिहासिक जमघट भएको थियो। तिनताक सामाजिक, साहित्यिक, सांस्कृतिक र शैक्षिक सबै कार्यक्रममा रश्मिप्रसादको महत्त्वपूर्ण भूमिका रहन्थ्यो। सन् 1955-मा ‘अपतन’ साहित्य परिषद्को पतन भएपछि सिक्किममा साहित्यिक र सांस्कृतिक गतिविधिहरू लथालिङ्गिएको स्थितिलाई सम्हाल्न रश्मिप्रसाद आले अघि आउँछन्। सिक्किमका साहित्यकारहरूका निम्ति मञ्च तयार गर्न सन् 1963 -मा उनले ‘सिक्किम साहित्यकार सम्पर्क समिति’-को गठन गर्छन्। रश्मिप्रसादको संस्थापक अध्यक्षतामा यस समितिले एक वर्षपछि 1964 सालको 5 जनवरीको दिन नेपालका ख्यातिप्राप्त लेखक एवं नेपाल राजकीय प्रतिष्ठानका सदस्य भवानी भिक्षुका स्वागतार्थ गान्तोकमा भव्य कार्यक्रम आयोजन गरेको थियो। त्यसपछि सन् 1966 -को 5 नोभेम्बरमा ‘सिक्किम साहित्यकार सम्पर्क समिति’-को तत्वावधानमा गान्तोकमा बाल साहित्यिक गोष्ठी आयोजन गरियो। राज्यमा आयोजित त्यो आफ्नो प्रकारको पहिलो कार्यक्रम थियो।
आले गुरुबाउ नाउँले लोकप्रिय अनि संस्कृत, नेपाली, असमी, बङ्गला र अङ्ग्रेजी भाषाका जानकार रश्मिप्रसाद आले सङ्गीतप्रेमी थिए। उनले सिक्किमलाई रेड़ियो, ग्रामोफोन, रिकर्ड र विभिन्न वाद्य यन्त्रसित परिचय गराए। उनले गान्तोकको ह्वाइट हलमा बेलाबेलामा सिनेमा प्रदर्शनीको आयोजन पनि गर्ने गर्थे। सन् 1920 -मा रश्मिप्रसाद आलेले गान्तोकमा बीपी आले एण्ड कम्पनीको स्थापना गरेका थिए। उनी हिज् मास्टर्स भोइस्, द ट्वुइन रिकर्ड कम्पनी, कोलुम्बिया म्युजिक मार्ट र द मेघाफोन कम्पनीसितैि फलिप्स रेड़ियोका पनि बिक्रेता थिए।
तिब्बती सङ्गीतको विकासमा आलेको योगदान अविस्मरणीय रहेको छ। तिब्बती गीतहरूलाई ग्रामोफोन रिकर्डमा रिकर्ड गर्ने रश्मिप्रसाद आले पहिलो व्यक्ति हुन् अनि यो उनले कलकत्ताको ग्रामोफोन कम्पनीमा गरेका थिए। सिक्किमलाई माइक अथवा लाउड स्पीकरसित अनि कोडाक, आग्फा र अरू क्यामेरासित परिचित गराउने पनि रश्मिप्रसाद पहिलो व्यक्ति हुन्। फोटोग्राफीमा खुबै सौखिन आले एक असल फोटोग्राफर पनि थिए।
त्यसरी सिक्किमेली समाजको लगभग चौवन्न वर्षसम्म सेवा गरेपछि सन् 1974-को 21 अप्रेलको दिन 82 वर्षको उमेरमा रश्मिप्रसाद आले पञ्चतत्वमा विलीन हुनपुग्छन्। त्यस दिन सिक्किमले एक निःस्वार्थ र कर्मठ समाजसेवी अनि सिक्किमका भाषा र साहित्य साधक र कलाकारहरूले एकजना इमानदार र समर्पित पथप्रदर्शकलाई गुमाएको थियो।
सिक्किममा लोकतन्त्र कायम गर्नमा बहुमूल्य योगदान पुर्‍याएबापत तत्कालीन सिक्किम सरकारले सन् 1997-को 26 जनवरीको दिन रश्मिप्रसाद आलेलाई स्वतन्त्र सेनानी ताम्रपत्रले सम्मानित गर्‍यो। सन् 2005-मा राज्य सरकारले गान्तोकको शेरे पञ्जाबदेखि इन्दिरा बाईपाससम्मको मार्गलाई रश्मिप्रसाद आले मार्ग भनी नामकरण पनि गर्‍यो। रश्मिप्रसाद आलेको योगदानको मूल्याङ्कन गर्दै नवगठित ‘सिक्किम प्रज्ञा प्रतिष्ठान’-ले पनि सन् 2018 -को 3 जुलाईमा रश्मिप्रसाद आले स्मृति पुरस्कार स्थापना गरेर विभिन्न क्षेत्रका दिग्गज व्यक्तित्वलाई सम्मानित गर्दै आएको छ।
बहु-प्रतिभाका धनी रश्मिप्रसाद आले एक व्यक्ति नभएर पूर्ण संस्थान थिए। उनले सिक्किममा भाषा, साहित्य, सङ्गीत, कला र संस्कृतिको विकासमा पुर्‍याएको योगदान अतुलनीय रहेको छ। समयको बालुवामा उनका योगदान पुरिएर गएका होलान् तर इतिहासका पानामा भने रश्मिप्रसाद आले सदा जीवन्त छन् र उनको योगदान स्वर्णिम अक्षरले अङ्कित भइसकेका छन्। धन्य हुन् सिक्किमका यस्ता पुराना इमानदार र जनसमर्पित समाजसेवीहरू। धन्य हुन् पावन हृदय बोकेका सिक्किमका यस्ता भाषा, साहित्य, सङ्गीत, कलार संस्कृति बगैँचाका मालीहरू।

Leave a Reply

Your email address will not be published. Required fields are marked *