अव्यक्त !
प्रतिमान सिवा
ओहायो, अमेरिका
सल्किएको आगोमा हुर्हुरी दन्केको ज्वाला
वेदनाका शूल बनेर छातीभित्र
अटस् मटस् गुम्सिएका
ती तिम्रा असीमित प्रेमाभावहरू
वर्जित भएर परेलीको डिलबाट छहरा खस्दा पनि
म सधैँ अनभिज्ञ बन्दो रहेछु।
बिचरा, मलाई के थाहा र,
सामीप्यले पनि कुनै बेला समर्पण खोज्छ भनेर।
देख्न त देखेको थिएँ सिमसारमा
अग्नि ज्वाला सल्किँदै निभ्दै गरेको
मेरै अघि पछि र दायाँ बायाँ
गाउने रमाउने बहानामा अल्झी हिँडेको ।
बिचरा, मलाई के थाहा र,
चाहातको बिस्कुनमा बुर्कुसी मारेर
हृदयका कुना कुनाबाट आँखा आँखासम्म हुँदै
आँकुराएका ती प्रेमलहरीहरू
अनभिज्ञताको खुड्किलो टेकेर चटक चटक निमोठ्दै
बेपर्वाह म उपहास हाँसी रहेको छु भनेर।
आउने जाने क्रम त त्यसै चलिरहन्थ्यो
सूर्य उदाउँदै अस्ताउँदै फेरि उदाउँदै अस्ताउँदै झैँ
तिम्रा भावनाका लहरहरू पोखिँदै सुक्दै, पोखिँदै सुक्दै
निरन्तर छल्की रहन्थे अव्यक्त दोधारे मुस्कानमा ।
हो कि होइन को दोसाँधमा उभिएर बेलाबेलै
चिहाइरहन्थें म पनि सधैँ सधैँ ।
बिचरा, मलाई के थाहा र,
ती तिम्रा प्रत्येक कटाक्षहरूमा
अव्यक्त प्रेम भर् भराउँदो हो भनेर।
सुदूर सुदूर ती सम्झनाहरूमा पक्कै
तुरुक्क चुहाउँदी हौ ती अवशेषहरू
नुनिला तप्कनाका गोलार्ध बनाएर
मेरो जिउँदो चिताको बक्ररेखामा अझै पनि ।
बिचरा, मलाई के थाहा र ?
तड्पिँदो हौ अझै पनि भनेर,
जीवनका हरेक गाँसहरुलाई
निल्दै ओकल्दै गर्नु बाध्यता शिवाय अरु केहि रहेन भनेर ।