असुरक्षित बन्दै शरणार्थी शिविरहरु

दागाने काइँलो
ससस्त्र प्रहरीबल पाथीभरा गणको प्रत्यक्ष निगरानी तथा शरणार्थीका लागि राष्ट्रसंघीय उच्चायुक्तको नेपाल कार्यलयको व्यावस्थापनमा रहेका झापा र मोरङका भूटानी शरणार्थी शिविरभित्र ज्यानै लिने प्रकारका आपराधिक गतिविधि बड्दै गएपछि त्यहाँ सुरक्षासित जोडिएका विभिन्न प्रश्नहरु उठ्न थालेका छन् । शरणार्थीहरुको नेपाल बसाई जति लम्बिँदै जाँदैछ, त्यती नै यस प्रकारका घटनामा बृद्धि भएको पाइन्छ । आफ्नो गाँस, बास र कपासकालागि दातृराष्ट र विभिन्न संघसस्थामा निर्भर रहेका शरणार्थीका अगुवाहरु आज सबै कुरा भुलेर ‘ज्यान बचाइदिनोस्’ भन्दै गृह प्रसाशन र यूयनएचसिआरका ढोका घच्घच्याउन बाध्य छन् ।

शरणार्थीहरुको नेपाल आगमनसंगै उनीहरुमाझ दैनिक उपभोग्य बस्तुको टड्कारो आवश्यकता खड्केको थियो । यी कुरासंगै आवास र सुरक्षाको प्रश्न पनि उतिनै महत्वकासाथ उठ्यो । शरणार्थी शिविरको व्यावस्थापनमा यूयनएचसिआरको प्रवेशसंगै सुरुका केही वर्ष त आफूसंगै भूटानबाट लिएर आएका पीडा दर्दलाई बिर्सेर शरणार्थीहरुले राहतको महशुश पनि नगरेका होइनन् । तर लामो समयसम्म शरणार्थीलाई पालनपोषण गरिसक्दा पनि कुनै पनि शरणार्थीको घर फर्कने वातावरण बनेन । त्यसपछि विभिन्न प्रकारका कारणहरु देखाउँदै शरणार्थीका राहत सामाग्रीमा क्रमिकरुपले व्यापक कटौती गरियो, जसबाट शरणार्थीहरु दुखित बन्न बाध्य भए ।

ठूलो संख्याका मानिसहरुको एउटै ठाँउमा बसोवास भएपछि शरणार्थीको सुरक्षाका लागि भनेर केही शिविरमा जनपथ प्रहरीको सानो जत्था पनि राखियो । तर त्यसप्रकारको परिपाटीबाट अपेक्षितरुपमा शरणार्थीले सुरक्षा पाएनन् उल्टै बरु सानोतिनो भनाभन वा लिनदेन गरेकै निहुँमा कयौं शरणार्थीमाथि सुरक्षा जत्थाले शोषण गर्‍यो। सुरु सुरुका दिनहरुमा शरणार्थी शिविरमा ठूला चोरी डकैती हुने गरेका थिए । भूटानबाट नेपाल आउँदा कतिपय शरणार्थीहरुले धेरै धनराशी लिएर आएको हुनाले त्यसप्रकारका घटनाहरुले प्राथमिकता पाएका हुन्। कतिपय अवस्थामा शरणाथीहरुले लुटपाटमा सम्लघ्न गिरोहलाई लाल हातसमातेर प्रहरको जिम्मा नलाएको पनि हैन । तर पीडित शरणार्थीले कहिल्यै राहत पाएनन्। बरु चोरी भएको सामान र पैसासमेत प्रहरीले खाइदिए ।

सुरक्षाका लागि भनेर बसेका प्रहरीबाटै शोषित भए पछि शरणाथीहरुले पनि प्रहरीविरुद्ध कडा संघर्ष गरेका थिए । झापाको बेलडागी—२ र मोरङको शनिश्चरे शिविरको प्रहरी जत्थालाई त शरणार्थीहरुले दिउँसै लखेटेर खेदाउन सफल भए । त्यसपछि शिविर व्यवस्थापन समितिको अनुमतिविना प्रहरीलाई शिविर प्रवेशमा रोक लगाइयो । तर त्यसको पनि पालना भएन अनि प्रहरीको लाचारीपन र शोषणप्रतिको संघर्ष शरणार्थीले जारी राखे । नेपाली माओवादीहरुले विभिन्न ठाँउका प्रहरी चौकीमाथि आक्रमण गर्न थाले पछि शरणार्थी शिविरका प्रहरीका टुकडीहरु पनि हटाइयो । सन २००७ मा शरणार्थीको पुनर्वासको कुरासंगै प्रत्येक शिविरमा करिब तीन दर्जन ससस्त्र प्रहरी परिचालन गरिएको छ । तर अहिले आएर यी प्रहरी शरणाथी शिविरको सुरक्षाभन्दा पनि पुनर्वाशमा जाने शरणार्थीलाई ओसारपसार गर्ने अन्तराष्ट्रीय आप्रवासी संगठन (आइओएम) का गाडी अघि पछि दर्गुने काममा व्यस्त छन् ।

गत वर्ष आइओएमका गाडीमा तोडफोड गरिए पछि, यूएनएचसिआरले पहरीकालागि थप गाडी र इन्धनको चाजोपाँजो मिलाएको थियो । सरसर्ती हेर्दा पुनर्वाशमा जाने शरणार्थीका लागि सुरक्षा दिन यूएनएचसिआर तम्सिएको छ । तर शिविरभित्रका शरणार्थीहरु आज त्रसित बनेर बाँचेका छन् जसका लागि यूएनएचसिआर मौन देखिएको छ । बेलडागी—२ विस्तारित शिविरका भूतपूर्व शिविर सचिव कर्णबहादुर खड्काको केही दिनअघि उज्यालैमा बेलडागी—२ शिविर नजिकको व्यस्त सडकमा छुरा र फलामे रडको प्रयोग गरेर हत्या गरियो । सामाजिक काममा सकृय खडकालाई गुमाउँदा सारा शरणार्थीहरु दुखित भएका बेला शरणार्थीको संरक्षण र सुरक्षाको नारा बोकेर हिँडेको यूएनएचसिआरले कुनै प्रतिकृया दिएन । बेलडागी—१ शिविरका एक अगुवा शान्तिराम नेपालको शिविरभित्रै दुई महिनाअघि अज्ञात समूहद्धारा गोली प्रहार गरेर हत्या गरियो । त्यसबेला पनि यूएनएचसिआर बोलेन । बरु, गतमहिना अमेरिकामा हत्यागरिएका हरी अधिकारीको घटनाको विषयमा भने यूएनएचसिआर, आइओएमलगायतमा धेरै चर्चा चलेको बुझिएको छ ।

खड्का र नेपाल दुवैका हत्यारा अहिलेसम्म पनि फरार छन् । दुवै घट्नाका हत्याराको खोजी भइरहेको पहरीको दाबी छ । शरणाथीहरुको संरक्षक रहेको यूएनएचसिआर मौन भएपछि शरणार्थीहरु असुरक्षित र निराशाजनक जीवन जीउन बाध्य छन् । शृंखलावद्धरुपमा देखिएका यस प्रकारका भयानक घटनाले शरणार्थी शिविर असुरक्षित स्थल बनेको शरणार्थीहरुको मनसाय छ भने कति त तुरुन्तै शिविरबाट बाहिरन चहान्छन् तर त्यस्तो उपाय पाउँदैनन् ।

दुई साताअघि दमक प्रहरीले जालीनोटको कारोबारमा संलग्न बेलडागी—१ शिविरका एक युवालाई एउटा पेस्तलसंगै समातेको थियो । शरणार्थी शिविरभित्रै त्यसप्रकारका हतियार बन्ने गरेको ती युवाले पत्रकार र प्रहरीसमक्ष खुलासा समेत गरेका थिए । यस प्रकारका शृंखलावद्ध घटनालाई राम्ररी विश्लेषण गरी नियन्त्रणको उपाय नखोख्ने हो भने भोली गएर शिविरमा रहेका शरणार्थी मात्र हैन सिंगो पुर्वाचन असुरिक्षत वन्न सक्छ । कुनै पनि आगन्तुकले शरणार्थी शिविरमा प्रवेश गर्नकालागि यूएनएचसिआरको अनुमतिको आवश्यकता भएको बेला कसरी शरणार्थीको जीवन निमोठ्ने अपराधीहरु शिविर प्रवेश गर्न सक्छन्? पाकिस्थानको पेसावर सहरका शरणार्थी शिविरभित्र एके—४७ हतियार भेटिएका रहस्य थाहा पाएको यूएनएचसिआरले नेपालका शरणार्थी शिविरमा शान्ति सुरक्षा कायम गर्न आवश्य थप पहल गर्नु पर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *