असोज १७ गते

Ramesh Diyali
कथाकार

रमेश दियाली
ओहायो, अमेरिका

 

हे! ईश्वर यो कस्तो द्विविधा !!! कस्तो टाउको दुखेको…, फुट्छ की क्या हो? पहाड खसे झैँ भई रा’छ । यस्तो त कहिल्यै भा थिएन…बरै । शरीरभरि काँडा उम्रे । २० को १९ भा छैन । ३ महिना देखि ओछ्यानको ओछ्यानमै छन् बा । घरमा लथालिङ्ग छ । खेत जोत्ने मान्छे छैन । कोदो पनि रोप्नु पर्ने । खेताला भनीराको थिएँ । बाछो हराएको ५ दिन भइसकेछ । यता बा आज हो की भोलि हो छन् । सोचेँ म बाहिर सुत्नु पर्‍यो । बिहान गोरुलाई घाँस हाल्न सजिलो हुन्छ । निन्द्रा पट्टकै लाग्या छैन । लग भग रातको २ पहर बितेर ३ पहरको समय हुँदो हो, म झँपक्क निदाएछु।

घर भित्र मूल खाँबोको देब्रे पट्टी , बाकै छेउमा पलेटी कसेर बसी रहेको थिएँ । सेतो टोपी र सेतै कमिजमा सजिएर फुच्चे केटो मेरो कानमा आएर असोज १७ गते भन्दै बालाई एकोहोरो हेरी मूल दैलो हुँदै हरायो। मेरो शरीर पसिनाले लुथ्रुक्क भिजीसकेको थियो। मेरो आवाज घाटीसम्म आएर भित्र भित्रै रोकियो । म कराउन खोजे, चिच्याउन खोजेँ र अन्तमा रुन खोजेँ तर अहँ, म थाकेँ । म भित्र भित्रै निस्सासीएर झल्याँस्स बिउँझे। बिहानको ९ बजी सकेछ।

सूर्यले आफ्नो किरणहरू धर्तीमा फिजाउदै गर्दा म पिँडीमा बसी चियाको चुस्की सँगै सुर्तीको धुवा वरिपरि बसिरहेको थिए। घरै मुनतिर खमारीको रूखमा एक हुल कागहरू आएर काग… काग…. गर्दै कराउन थाले। पुलुक्क हेरे। एउटा उडेर गयो। अरू आफ्नै भाकामा छन्, काग.. काग..। जा…. पर जा.. भाग… भाग भनेको ? ढुङ्गा टिपेर तर्साए र भागे। सोचे, अब राम्रो छैन। मन मनै यसो सोची रहँदा आकाश गडागं गुडुगं गर्दै पानी पर्न थाल्यो । पानी रोकिएको थिएन। तीव्र गतिमा परिरहेको पानीमा भिज्दै भिनाजु आए ।

“आ..छु..छु। कस्तो मुसालधारे पानी परेको।” भिनाजुले यसो भनिरहँदा , मेरो विपरीत दिशामा भएको पिरामा टुसुक्क बस्दै सुर्ती सल्काए। सायद जाडो भएछ क्यारे।
“ए भिनाजु !” आवाज फुत्त फुत्की हाल्यो ।
“बा सिकिस्त छन्। केही भवितव्य पर्छ होला? मैले सपना पनि यस्तो देखे। खै के हुन्छ है ? मलाई डर लाग्न थालो। लौ न भिनाजु! जप सप पढाऔँ । असोज लाग्ने मसान्त लाग्यो। बाहुन बाजेलाई डाकेर जप पढाऔँ ।”

त्यो दिन गई हाल्यो । भोलि पल्ट सगरान्ती भइहालो। गाई गोरुको बा…आ…बा.अ….! आवाज मेरै कानमा आएर ठोकियो। बिचरा! के गरून त भोक लागे पछि? कुँडो बनाएर लगी दिए। साँच्चै ! मानिस र पशुहरू बिच खुब मिठो परिविरक सम्बन्ध छ हगी !! हाम्रो खुसीमा बाचेका छन्। खुब रमाएर खाए। दु:ख एउटा जीवनको पाठशाला न हो, जसले जिउन सिकाउदौ रहेछ, भन्थे बा। आगं नै सिरिङ्ग पार्ने जीवनका कठिन भोगाइलाई एकमुष्ट बनाएर यात्रा गर्नु पर्ने। दिन भरिको थकान, कताको रोपाई कताको जोताइले गर्दा साँझ परेको पत्तै भएन छ । झपक्क साँझ पर्न लागेको थियो । म आँगनमा आ गो ताप्दै सुर्ती पिउँदै गर्दा बाहिरै आवाज सुनियो। आइया!! दौडेर भित्र गएँ । बा रहेछन्। बाको आँखा धमिलो थियो।

“के भो बा? म केशव ! तिम्रो कान्छो छोरो।” बाले पुलुक्क हेरे। दिशा लागेछ। घरमुनतिर डिलकै छेउमा , बोतलमा पानी सँगै बालाई बोकेर रूख मुनि राखे। बाको लौरो छोडिएछ। नातीनिले दौडेर ल्याई दिई। बालाई औ धी माया गर्छे र बाले पनि।
साउँको भन्दा ब्याजको माया धेरै भने झैँ, खाँदा , बस्दा धेरै जसो बासँगै हुने भएकोले पनि होला सायद, सधैँ बाले नातिनिलाई नै खोजिरहन्थे।
“बा ! यही बस।” मानेनन्  बा। बोट बिरुवा, रूख पात, बाटो घाटो र चौतारीमा दिशा पिसाब गर्नु हन्न भन्दै बाले सम्झाउँथे केटाकेटी हुँदा । आज सम्झे।
बा भन्ने गर्थे- “यी रूखहरूमा त हामीले पूजा गरेका छौ।” कति आस्था र विश्वास। यस्तो सोची रहँदा फेरी बालाई बोकेर पाईखाना लैजाऊ भन्दा बा पर्लक्कै पल्टेर टाउको ढुगांमा गएर ठोकियो। म आत्तिएछु ।
“बा….. बा…. ”  भन्दै गर्दा बोतलको पानी पोखिएर बाको खुट्टा पुरै भिज्यो । के गरौँ र कसो गरौँ भो । म आपतमा परें ।

“लौन बा लडे!!!.. बा.. बा” भन्दै गर्दा आमा र कान्छी बहिनी दौडेर आए। उमेरको हिसाबले आमा ५० काटिसकेकी थिइन। बहिनीको नाम सिता। सारै राम्रो हाँस्छे । आफ्नो जिउको सफाइमा खासै ध्यान दिन्न। उमेर १५ पुगी सक्छे। गाउँको सरकारी स्कुलमा ५ कक्षा पढ्दै गर्दा आमालाई सगाउने बहानामा स्कुल छोडेकी थिई।

बहिनी, आमा र मैले बोकेर घरको मझेरी सम्म त लगियो तर मूल प्राण त गई सकेछ। आमा बाको टाउको मसारदै रुन लागिन्। बहिनीको रुवाइले गाउँका मान्छेहरू हतारिदै आई हाले। मुखियाले हातको नाडी छाम्दै गर्दा बाले सास फेरे।
“सास अझै बाकी छ। मेडिकल लानु पर्छ भन्दै थिए मुखिया। अब ढिलो नगरेस!!!” मुखियाको सुझाव थियो ।

मरे पनि बाँचे पनि एक चोटि मेडिकल लानै पर्‍यो। भाइ कान्छो, छिमेकी दर्जी ठुले र भारवाला मिलेर बालाई डोकोमा बोकेर लाग्यौ बाटो। हिजो रातभरिको पानीले ललाई खोला र तक्लाई खोला उल्लेर असमेल भएको छ ।

“नहल्कीकन आइज है कान्छा।”  सानोमा यसलाई हात्ती पनि भन्थे। हात्ती जस्तै बलियो थियो। बोली अलिक लट्यागंरो बोल्थ्यो। नाम चैँ नन्दलाल हो। बालाई बोकेका छौ। हेर्दा हेर्दै पानी कम्मर हुँदै घाटी सम्म आइहालो। ‘हे प्रभु !यो आपतीमा हामीलाई बचाउ।’ मनमनै ईश्वर सम्झेँ । बल्ल तल्ल खोला पारी पुग्यौ। हामी सबै थकित भयौ। कस्तो गह्रुङ्गो बाको शरीर।गेलुफु मेडिकल लानु पर्ने। नाउमा राखेर माउखोला हुँदै मेडिकल पुर्‍यायौ। डाक्टर जाँच बुच अझै बाकी थियो। झिनो आशा थियो। सन्नाटासँग गासिएर आकाश तिर सुर्तीको धुवा उडाई रहँदा डुक्पा डाक्टरले बेस्सरी गाली गरे। अस्पताल वरिपरि सुर्ती पिउन मिल्दैन। हतनपत फ्याकीदिए। मेरा बालाई कस्तो छ? सोध्नै नपाई डाक्टर सरासर हिँडी हाले। यी डुक्पाहरू यस्तै हुन्छन्। हामी दक्षिण भूटानीहरुलाई खोक्रो र रित्तो ठान्छन्। एकातिर दक्षिण भूटानीहरुलाई देश निकाला गर्दै सयौँलाई बिनाकारण हत्याराको अभियोगमा जेलमा थुनि यातना दईरहेको थियो। भुटानको कूर शाशकहरूद्धरा हजारौँ भूटानी नागरिकहरूलाई देश विहीन बनाई समाप्त पार्ने षयान्त्रको खेल भइरहेको थियो दरबारमा।

दक्षिण भूटानमा सैनिकहरू द्धरा महिला दिदी बहिनीहरू माथि बलात्कार गर्दै हात खुट्टा काटी जङ्गलमा फाली दिएको घटना खुब सुन्न पाईन्थ्यो। कति त मेरै गाउँको चेलीहरू पनि यिनहरूको सिकार भएका छन्। जति बेला भूमिसुधार कार्यान्वयन गर्ने र नेपालीहरूको हकहित र अधिकारको लागि लड्दै गर्दा भूटानको तानासाही सरकार विपक्षमा उभिएर राष्ट्रप्रेमी माहसुर बस्नेतको (क्षेत्री)निर्मम हत्या गरी सुनकोसमा बगाई दिएको थियो। हामीहरूको जग्गा जमिन हड्पीएको अवस्थामा घर सम्पत्ति जफत गरी कन पनि सिमाना या भनौ देशनै छोड्नु पर्ने बाध्यता थियो।

बिहानको समय हुँदो हो। ठ्याक्कै समय याद भएन। २ दिन भा थियो ढिँडो नखाएको। केही खानु परो भन्दै गर्दा हस्यागं फस्यागं गर्दै बले आइपुग्यो। बले मेरो मित भाइको छोरा। सुक्क .. सुक्क गर्दै रुन थालो।
“के भो बले? किन रून्छेस ए?”  ती आँसुले भरिएको आँखा पुछ्दै बले बोल्यो-
“राती पुलिसहरू आएर बहिनी सीतालाई लगे।”
“के भन्छ यो?”  मैले सोधे।
“सीतालाई…,,,,,….?”  बले बोल्न सकेन। पासो लगाएर मर्नु बाहेक अरू विकल्प छैन भगवान्!!!! तिमी किन यती निर्दय छौ? एकातिर बा मूत्युसंग लड्दै छन्। म अन्योलमा परें। बाको अलिक बिसेकको खबर लिएर डाक्टार आए। सोचेँ बालाई लिएरै जान्छु। घरैमा झाँक्री हेरी कालीमाईलाई परेवाको बलि दिन्छु। बहिनीको पिरले छातीनै चिरिएला जस्तो भा छ।
“ल हीन बले !! बालाई लिएर घर जाँऔं ।”

……………………………………..

Leave a Reply

Your email address will not be published. Required fields are marked *