अस्तित्व खोज्दै हिंडेका भूटानीको हत्या
दागाने काइँलो
तीन वर्षको छँदा सुरक्षा र शरण खोज्दै आफ्नो परिवारसित भूटानछाडेर हिडेको याद यी भूटानी शरणार्थीलाई अलिकति पनि थिएन । पूर्वी नेपालको बेलडाँगी शिविरमा हुर्कँदै जाँदा उनी बालकदेखि युवा भए अनि मात्र बुझ्न थाले उनको परिवारले देश छाड्दा भोगेको पीडा । परिवारको कहानीसंगै उनले भूटानी शाषकले जनतामाथि गरेको राम कहानी पनि बुझ्दै गए । आफ्नो जीवनको अधिकांश समय उनले शरणार्थी शिविरमै दुःख का साथ विताए । जब उनलाई अस्तित्वको अभाव खड्कियो र राष्ट्रियताको आवश्यकता प—यो उनी एउटा सवल युवा बनेर समाज र राष्ट्रका लागि केही गर्ने सोच राखेर आफ्नो चार परिवारका सदस्यसित गत मार्चमा अमेरिकाको फ्लोरिडा राज्यमा पुनर्वाशका लागि पुगे । अमेरिका जस्तो अवसरले भरिभराउ देशमा बसोवास गर्ने मौका पाउँदा उनी दङग परेका थिए । तर सायद भगवान पनि विनारो परेछ्न् कि क्याहो जीवनका सारा सपना र लक्ष्य परिपूर्ति गर्ने उनको त्यो साहस यसै साता चकानाचूर भयो जतिखेर उनलाई आफ्नै अपाटमेन्टबाहिर अन्धाधुन्द गोली प्रहार गरेर ढालियो। फ्लोरीडा राज्यको ज्याकसनभीलामा आइतबार राती भएको २१ वर्षीय हरीलाल अधिकारीमाथीको हमला र हत्याको समाचारलाई विश्वभरका अनलाइन संस्करणहरुले प्राथमिकताकासाथ उठाएका छन् । सुरुमा उनीमाथीको हमला पछाडिका कारणहरु धेरै हुन सक्ने आशंका गरिएको भए पनि उनको परिवारले लुटपाटपश्चात गोली लानेको पुस्टि गरिसकेको छ । पारिवारिक सुत्रका अनुसार पहिला उनको घडि र वालेट खोसियो अनि दर्जनौ राउन्ड गोली चलाइयो । जसले गर्दा सहयोगका लागि उनले हारगुहारसम्म माग्न पाएनन् र भैला ढले ।
दुवै हात उठाएर आत्मसमर्पण गर्दा पनि उनले घटनास्थलमै प्राण त्याग्नु प—यो । प्रत्यक्षदर्शीले आपतकालीन सहयोगका लागि ९११ मा खबर गरे अनि सुरक्षाकर्मीहरु तुरन्तै आइपुगे । तर उनको मृत्यु भइसकेको थियो त्यो बेला । यसरी जीवनको लाउँला र खाउँला उमेरको साथीलाई विरानो मुलुकमा गुमाउनु पर्दा नयाँ जीवनको खोजीमा त्यहाँ पुगेका दर्जनो भूटानीहरु शोकाकुल बनेका थिए । एक तथ्यांकका आधारमा विगत ५ वर्षमा ज्याकसनभीलामा भएका विभिन्न नरसंहारमध्ये उनको हत्या १९ औ नम्वरमा पर्दछ ।
बेलडांगी २ सेक्टर बी—३ छाप्रा नम्बर १४५/१४६ मा बस्दै आएका अधिकारी पुनस्थापनाका लागि ५ महिना अघि आफ्ना बुबा, आमा, दाइ र भाउजूका साथ त्यहाँ पुगेका थिए । शिविरभित्रकै पञ्चवटी विद्यलयबाट कक्ष १० उत्तीर्ण गरी शिविर आसपासको सिद्धार्थ बोडिङ उच्च मा.वि.बाट प्रथम श्रेणीमा विज्ञान विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेका थिए । अति मिलनसार स्वभावका अधिकारी सामाजिक काममा पनि उति नै रुचि राख्ने गर्दथ्ये ।
एउटा अमेरिकी अनलाइनको समाचारलाई उल्लेख गर्ने हो भने सोमबार सबेरै आफ्नै अपाटमेन्ट नजिक छताछुल्ल पोखिएको रगत देख्दा भरखर बीस वसन्त नागेको छोराको हो भत्रे कुरा ६५ वर्षीय टीका अधिकारीलाई विश्वास नै भएन । आखिर त्यो उनकै संतानको रगत थियो जसलाई क्रूर वन्दुकधारी लुटेराले गोली हानी उनको सास लिएका थिए ।
अमेरिका जस्तो सम्पन्न मुलुकमा केही गर्न सकिन्छ भन्ने जोस र उत्साह बोकेका हरिले जागिर पाएको पनि एक महिना मात्र भएको थियो । अंग्रेजी भाषाको टड्कारो आवश्यकता परे पनि हरिको परिवारमा उनी मात्र अंग्रेजी बोल्न जान्ने थिए । परिवार धान्ने सहारा कर्मठ व्यक्तिको मृत्यु निर्दयी लुटेराबाट भए पछि उनको परिवार मात्र के कुरा आज अमेरिकामा रहेका सारा भूटानी तथा आप्रवासीहरु त्रसित् बनेका छन् । भूटानीहरुले अस्तित्वको लडाइ लडिरहेको एउटा जोसिलो युवा मात्र गुमाएका छैनन्, विभिन्न मुलुकमा छरिदै गरेका भूटानीहरुलाई अमेरिकामा देखिएको नागरिक सुरक्षामाथीको प्रतिवद्धताप्रति ससंकित हुन बाध्य बनाएको छ ।