अहँ !

मदन दुलाल
पेन्सिलभेनिया, अमेरिका

अहँ !
त्यसपछि हाँसेन “ललाई”
अहँ,
किन्चित हाँसेन
न त तक्लाई नै हाँस्यो

न त हाँस्न नै सक्यो बिष्ट डाँडो

तेजोमय सूर्यको प्रकाशलाई
“अन्धक”ले आँफूमा समाहित गरेकै दिनदेखि
आमाको ओठमा मुस्कान हराएको हो

नजिकै बग्ने ललाई र तक्लाई खोला
मृदुल गुनगुनहाट छाडेर
चुपचाप दक्षिण बगिरहेका थिए
तमाम सपनाहरूको अस्तुहरू बगाँउदै

दक्षिण त लाशहरू पो जान्छन् त
सोच्दै थियो बिष्ट डाँडो

निरिह हेरिरहेको थियो
नदिहरूले बगाईरहेका सजिब अस्तुहरू

हो त्यहि निरिहताको
फायदा लियो
माथि उडी हिड्ने हुचिलले

निरिहको दोहन
हुचिलको धर्म
कहाँ रोकिन्थ्यो र दमहा बजाएर

चिथोरिदियो
समताको सम्बाहक घिच्रो

ललाईका धिमाल र हुमगाँई बाको घिच्रो लिएर माथि चार फन्को लगायो र हुँकार हिनहिनायो

हो त्यहि दिनदेखि
किन्चित
हाँसेन ललाई
न त तक्लाई नै

न त हाँस्न नै सक्यो बिष्ट डाँडो

अकाश थर्काउँदै उत्तरतिर उडेको हुचिलले
दौँतारी गिद्ध र हाडखोराको
बथान लिएर
छिमेकी गाउँ तहस-नहस पारेको खबर आयो

खबर आयो
स्वाभिमानी शिर ढलेको
आमाहरूको चिर हरेको

हुचिल र उस्का सहचरहरूले
कामोन्मादी नाद गरेको

निरबताले चारै प्रहर
चारै दिशा छपक्कै छोपेकै दिन देखि हो
बाबाको बज्रभन्दा कठोर छाती चिरिएको
आमाको ओठबाट मधुर मुस्कान हराएको

बाबाको छाती चिरिनु

आमाको मुस्कान खोसिए देखि नै
अहँ
किन्चित हाँसेन ललाई
न त तक्लाई नै
न त हाँस्न नै सक्यो बिष्ट डाँडो।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *