आइओवा भूटानी समाजको विज्ञप्ति
सभ्य समाज हुनुपर्छ हाम्रो कामना
पुरा गरौँ सबै मिलेर यही चाहना
विज्ञप्ति
उत्कृष्ट कला, साहित्य, र संस्कृति हरेक समाजको सफलताको परिसूचक हो । आफ्नो जन्म जहाँ भए पनि अहिले जहाँ भएका भए पनि जन्मजात नेपाली र पहिचानले भूटानी हुन चाहने कला, गला, साहित्यप्रेमी तथा संस्कृतिप्रेमी आइओवाबासी भूटानी नेपालीहरुको साझा तथा स्वतन्त्र सङ्गठन आइओवा भूटानी समाजको आयोजनामा आइओवा साङ्गीतिक साँझ २०१५को आयोजना गरिने भएको जानकारी गराउन चाहन्छौँ ।
सन् १९९० को दशकमा भूटानबाट नेपालीभाषीहरुको जातीय सफाय गर्ने अभिप्रायबाट अभिप्रेरित जहानिय तानाशाही शासनको कुनीतिको सिकार भएपछि देशबाट जबरजस्ती लखेटिएर नेपालको झापा र मोरङका शरणार्थी शिविर हुँदै हाल अमेरिकाको आइओवा राज्यमा पुनर्बास हुन आइपुगेका नेपाली भाषी भूटानीहरूको निजी, मौलिक तथा सांस्कृतिक पहिचान झल्काउने सामाजिक एकरूपता, भातृत्व अनि नेपाली साहित्य र सङ्गीतको संरक्षणमा टेवा पुर्याउने मनसायले आयोजना गरिएको उक्त कार्यक्रम तपशिल बमोजिमको मिति, स्थान र समयमा हुने व्यहोरा जानकारी गराउन चाहन्छौँ ।
नौलो समाज, नयाँ जीवनशैली, मानसिक सन्त्रास र निरासपनका कारण तड्पिरहेका स्थानीय नेपाली भाषी भूटानीहरूलाई सामाजिक अपनत्वको भावना तथा साङ्गीतिक मनोरञ्जन प्रदान गर्ने मनसायले आयोजना गरिएको उक्त कार्यक्रममा युवा गीतकार तथा भूटानी ढुकढुकी कार्यक्रमका निर्देशक तथा प्रस्तोता राकेश काफ्लेले बजारमा ल्याउनु भएको सुमधुर गीत गजलहरूको एल्बम तुलसी मञ्जरी – प्रीति भाग दुर्ईको विमोचन तथा लोकार्पण हुने पनि जानकारी गराउन चाहन्छौँ ।
कार्यक्रमका मुख्य आकर्षण ख्यातिप्राप्त नेपाली गायक (Melody King) याम बराल आउनु हुँदैछ साथमा भूटानी माहोलबाट नेपालित्वका वजनदार प्रतिभाहरू डम्बर खापुङ, गोविन्द फुयाल, किशोर शिवाकोटी, डिबि तामाङ, मनोज ढकाल, किरण गजमेर, कृष्ण ढकाल, इन्द्र गुरुङ, तारा क्षेत्री, तुला क्षेत्री, प्रवेश रार्इ, गोपि रसार्इली, मनिस अधिकारी लगायतका कलाकारहरूले सुमधुर साङ्गीतिक कोशेलीहरू प्रस्तुत गर्ने छन् ।
विचार र साहित्य मन्थन, केही सम्मान र केही भलाकुसारीहरू समेत प्रस्तुत गरिने लक्ष राखिएको उक्त साङ्गीतिक मनोरञ्जनात्मक कार्यक्रममा उपस्थित भएर कार्यक्रमको शोभा बढाइदिनुकासाथै भरपुर मनोरञ्जन लिनका निम्ति हामी यहाँहरू सम्पूर्णमा खास गरेर आइओवा निवासी सम्पूर्ण महानुभावहरूलाई हार्दिक आह्वान पनि गर्न चाहन्छौँ ।
भवदीय
सिता अधिकारी
कार्यबाहाक अध्यक्ष
आइओवा भूटानी समाज
Date: July 07, 2015
तपशिलः
मितिः जुलार्इ २५, २०१५ शनिवार तदानुसार श्रावण ०९, २०७२ साल
स्थानः Nathan Weeks Middle School
901 Park Ave Des Moines Iowa 50135 USA
समयः बिहान ठिक १० देखि साँझ ०६ बजेसम्म ।