आकाशवाणी
प्रतिमान सिवा
ओहायो, अमेरिका
न्याउल जब विरहको गीत गाउँछे
दिन,
रातलाई लाखेट्न छोडेर
चुपचाप रोइरहन्छ ।
आकाश र धरती
मुखा-मुख गरी टोलाउन थाल्छन् ।
मृत्यु- भयवह गड्गडाहट लगाउँछ ।
चिता- स्वागतको धुन बजाउन मस्त हुन्छ
बन्धु-बान्धवको चितकारले
आकाश-धरती सबै गुञ्जन्छ ।
तब,
मेरी आमा
एकमात्र छोराको जीवनदान माग्दै
यमराजको पाउमा लम्पसार हुन्छिन् ।
एउटा मुलुक,
आफ्नै स्वतन्त्रताको भिख माग्दै
ताल बेतालका धुनहरू
बहिरो सारङ्गीमा रेटिरहन्छ ।
निलगगनको शून्यतामा
विशाल गोलार्ध कोर्दै
आफ्नै स्वतन्त्रतामा उडिरहेको बाज
एक्कासि भुईँमा पछारीन पुग्छ ।
देउराली डाँडामा रोपेको
हरियो बर-पिपलको रुख
खङ्ग्रैङै सुक्छ ।
जीवनको आरोहण अवतरण
अनि मानवता र भातृत्वालाई
अशान्त अहम र स्वार्थले
लपक्कै छोपेछ ।
एकादेशमा, एउटा जङ्गलमा
नवजात बचेरा लिएर
नौलो आशा-अभिलाषा बोकेर
आहारा बटुल्न गएका
भालेलाई कुरिरहेको पोथी मैना
आज
विश्वशान्तीसङ्गै पिञ्जडामा कोचिन पुगिछ ।
अन्धकारलाई चिर्दै उदाएको भव्य सूर्य
फेरि अन्धकारलाई नै निम्त्याएर डुबेछ ।
अनि फेरि
रक्सी र मान्छे, नेता र कुर्सी
सङ्गिन र रगत, पैसा र कपटको
बाघचाल हुन थालेछ ।
इतिहासको पानाहरू
रगतको छिटाहरूले लेखिन थालेको छ ।
मेरो लासको सत्गतकालागि
मलामी भन्न म हिँडेथे
जिउँदा मलामी न आउने रे
मरेका मलामी नभ्याउने रे
शङ्ख बजाउन नहुने रे ।
त्यसैले
आफ्नो लास आफ्नै काँधमा हाली
मसान घाट हिँड्नै लाग्दा
एउटा आकाशवाणी भयो ।
‘आफ्नो किरिया आफै गर्नु पर्ने रे
आफ्नो सुरक्षाको सङ्गिन आफै उठाउनु पर्ने रे
म जस्तै धेरै धेरै अरुपनि
मार्ने छन् रे, मर्ने छन् रे
आमा-छोराको छुटानाम गराउनेछन् रे
असङ्ख्य आमाहरूले काख रित्ताउनेछन् रे
धेरै धेरै सावित्रीहरू
सत्यवानको जीवनदान माग्दै
यमराजलाई पछ्याउनेछन् रे
अनि
धेरै धेरै आमाहरूले आफ्ना छोराहरूलाई
बारुद सङ्गै साट्ने छन् रे ।
त्यसैले आफ्नो किरिया आफै गर्नु पर्ने रे,
आफ्नो सुरक्षाको सङ्गिन आफै उठाउनु पर्ने रे ।
म सुन्दै छु
हिजो आज
कोइलीहरू गाउन छोडे रे,
मानिसहरू हाँस्न छोडे रे ।
सीमा रक्षामा होमिएका सपुतहरु
विदेशीको तक्मा पाउँदै छन् रे ।
हरपल हरदिन
मेरो राष्ट्रको भूगोल
खुम्चिएर झान सानो सानो
हुँदै जान्छ रे ।
मुलखुट्टीमा धमिरा लागेझैँ
निर्दोषीहरू अझ बढी पिसिँदै छन् रे,
आकाशमा उड्ने निर्दोष चखेवाहरुको
पखेटा काटिँदै छ रे ।
माटाका बुँद बुँदहरू
बारुद भएर पड्कन थाले रे ।
शहीदहरू स्वर्गबाटै आफ्नो रगत
फिर्ता माग्दै चिच्याउन थाले रे ।
डाँडा काँडा र खोला नालाहरूपनि
विद्रोह गाउन थाले रे ।
विश्वशान्तिको ध्वजा रातो देखिन थाल्यो रे ।
अनि
यस धरतीमा फेरि फेरि
बुद्ध, राम, यसु कोहीपनि
अब कहिल्यैपनि न आउने रे ।
फेरि कहिल्यैपनि न आउने रे । ।
(सन २००१ ना प्रकाशित कविता सङ्ग्रह ‘डोबहरु’बाट साभार यो एक कविता जो २०५४-०५-३० मा लेखिएको थियो । )