आगोसँगको मुठभेड

यतिराज अजनबी
एड्लेड, अष्ट्रालिया

आगैआगो छ
अहिले अष्ट्रालियाको धरामा
कतै टहरामा
कतै पहरामा
छैन पानी कतै पनि कुनै छहरामा
हराएको छ सारा देश धुवैँधुवाँको कुहिरोमा

सुन आगो
सम्बोधन गर्दैछु तँलाई म
तेरै धुवाँको गुम्बजाकारभित्रबाट
कान खोलेर सुन
तैँले
हाम्रो पैतृक सम्पत्ति जलाए नि
प्राकृतिक धन जलाए नि
मान्छेको तन जलाए नि
जलाए नि जीवजन्तु
जलाए नि वनस्पति परन्तु
जलेको छैन हाम्रो मानवताको अमूर्त धागो
सुन कान खोलेर सुन ए आगो !

हामीसँग तँ विरुद्ध लड्न
विश्वभरि सहयोगी हात उठिसकेका छन्
समुन्द्रपारी बाट हवाइ ट्याङ्की उडिसकेका छन्
विदेशी बन्दरगाहबाट यन्त्रयुक्त जहाज छुटिसकेका छन्

जसरी भारमा राखेको काठ
आगो र धुवाँ खाएर बलियो बन्छ
त्यसरी नै तेरो ताप, राप, प्रताप र रवाफको
अभिमानको धुवाँमा सेकिएर
बलवान् बन्दै छौं हामी

हामी
आगो विरुद्ध आगोकै आयुधले सुसज्जित भएर लड्छौं !
तँलाई परास्त गर्न
तैँले जलाएका गाईको घिउमा भिजेर
जलिरहेछन् गुम्बाका दियामा बाती
मन्दिरहरूमा चलिरहेछन् होमादी
बजिरहेछन् गिरजाघरहरूमा घण्टा र
मगमगाइरहेछ परिसरको परिमण्डल जलिरहेको मैनको सुगन्धले
मस्जिदहरूमा पढिँदैछ नमाज

तँ अहिले आँधो भएको छस्
अति अन्धो भएको छस्
त्यसैले देख्न सकदैनस्
के के भइरहेछ तेरो अन्त निमित्त
हामीलाई इतिहास र समयले सिकाएको छ
कि आतङ्कको आयु छोटो हुन्छ

जबजब नियतिले हामीलाई
काँचा र दाँत कुँडिने आँप दिन्छ
हामी तिनलाई मीठो अचार बनाउँछौं
त्यही मिठासमा गफिँदागफिँदै नयाँ विचार बनाउँछौं
त्यसरी नै बिग्रिएको विधिबाट नवीन प्रविधि बनाउँछौं
जति बेला हाम्रो पोल्टोमा प्रारब्धले पारिदिन्छ निम्बू
हामी तिनलाई निचोरनाचोर पारेर
गुलियो र शीतल सर्बत बनाउँछौं
हाम्रो परिधिमा परेको पराकाष्ठा यसरी नै भगाउँछौं

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *