आचरण र स्वतन्त्रता

शिवलाल दाहाल

कोही रुखका फेदमा
कोही ओड़ारमा
कोही गोठका छेकाबारमा
रातभरि सुत्छन्
र, एकाबिहानै
जंगलतिर हिड्छन्
गाई–वस्तुहरु
जंगलका गोठहरुमा ।

फेरि बेलुका
अगाएर
धकाउँदै–धकाउँदै
आफैं फर्किएर
आइपुग्छन्
गोठकै वरिपरि
गाई–वस्तुहरु
जंगलका गोठहरुमा ।

मलाई थाहा छैन
यिनीहरुले कसरी सिके
समयनिष्ठ आचरणहरु
स्वतन्त्र जीवनका मूल्यहरु
तर,
फरक यति हो
हामीलाई हुने समयबोध
घडीको सुइरोभन्दा पर पटक्कै छैन
हामीले बुझेको स्वतन्त्र जीवनको मूल्य
पगाहा लगाइएको बस्तुको दाम्लोभन्दा पर पटक्कै छैन !

रचना श्रावण ५,२०६७

Leave a Reply

Your email address will not be published. Required fields are marked *