आजको ‘महाभारत’-१

भक्त घिमिरे -पेन्सिलभेनिया/अमेरिका

नेपाली साहित्यको माध्यमबाट विश्वराजनीति केलाउन हाम्रा लागि सवाई, श्लोक र कविताहरु उपलब्ध छन् जसले समाजको सम्पूर्णता उजागर गर्ने सामर्थ्य राख्तैनन् । किनभने तिनमा धेरैजसो शासकका प्रशस्तिगान गरिएको हुन्छ अथवा छन्द र अनुप्रासका नियमले बाँधेर लयात्मक बनाउन वा अतिरञ्जना  बढाउनतिर अधिक परिश्रम गरिएको हुन्छ ।

नेपाली साहित्यमा रुपनारायण सिंहको भ्रमर उपन्यासबाहेक क्षेत्रीय राजनीति र इतिहासिक परिदृश्यहरुको संकलन अति न्यून छ । थोरै राजनीतिक इतिहासहरु उपलब्ध भए पनि तिनको बहुपक्षीय इतिवृत्ति केलाइएको हुँदैन । यस्तो विचारमा बगिरहँदा मलाई दक्षिण एशियाली राजनीतिका केही अवयव केलाउने इच्छा जाग्यो ।

दक्षिण एशिया भन्नेबित्तिकै भारतको प्रसंग उठिहाल्छ । त्यसैले भारतीय राजनीतिको करिब ६० वर्षदेखिको इतिहासलाई केलाउनसके हाम्रो वर्तमान बुझाइमा परिस्कार गर्न सजिलो हुन्छ भन्ने ठानेर त्यसका केही अंशहरु खोतल्न तम्सिएँ । मैले यसैलाई ‘आजको महाभारत’ शीर्षक दिएको छु; कृपायः ग्रहण गर्नुहोला ।

माथि राखिएको शीर्षकबाटै यहाँहरुले अनुमान गरिसक्नुभएको हुनुपर्छ, यो लेखन केही दशकअघिका राजनीतिक घटनाशृंखलाहरुको दस्तावेज हो । सन् १९७० को दशकमध्यमा घटेको एउटा राजनीतिक काण्डले भारतको समग्र वर्तमानलाई बोकेर हिँडिरहेको छ । त्यो  काण्ड हो इन्दिरा गान्धीद्वारा घोषित संकटकाल ! गान्धीले सन् १९७५ मा संकटकाल घोषणा गरेकी थिइन् । त्यो संकटकाल घोषणा गर्नुभन्दा पहिले नै त्यसका पूर्वाधारहरु निर्माण हुँदै आएका थिए ।

सो संकटकालको पृष्ठभूमि बुझ्नलाई इन्दिरा गान्धीको राजनीतिक जीवनचर्याबाटै अध्ययन शुरु गर्नुपर्दछ ।

वास्तवमा इन्दिरा गान्धीको राजनीतिक जीवनबारे बुझ्न सन् १९६० पछि भारतका आन्तरिक तथा बाह्यराजनीतिक घटनाक्रमहरु जान्नुपर्ने हुन्छ ।

भारत र पाकिस्तानबीच १९६५ देखि चलेको युद्ध रोक्न सन् १९६६ मा सोभियतसंघले मध्यस्थता गरेको थियो । १० जनवरी, १९६६ को दिन जब ताश्कन्दमा यी दुइदेशबीच युद्धविरामको सम्झौता भयो, त्यसको भोलिपल्टै हृदयघातबाट तत्कालीन प्र.म. लालबहादुर शास्त्रीको निधन भयो । त्यसको लगत्तै  इन्दिरा गान्धी गणतन्त्र भारतकी प्रधानमन्त्री बनेकी थिइन् ।

सन् १९६६ देखि ६७ बीचमा भारतीय अर्थव्यवस्था डामाडोल थियो । यसका मूल कारण थिए सन् १९६२ मा चीनसितको युद्धमा भारतको हार तथा सन् १९६५ -अप्रेलदेखि सेप्टेम्बरसम्म चलेको भारत-पाक युद्ध । गान्धी प्रधानमन्त्री बन्नेबित्तिकै सन् १९६७ मा आमचुनाव भयो, धेरैवटा राज्यमा गैर-कंग्रेसी सरकार बने । केन्द्रमा कंग्रेसको झिनो बहुमत थियो ।

स्वाधीन आन्दोलनका पुराना अगुवाहरु नै सत्ताको खेलमा गान्धीका विरोधी बनेका थिए । धेरै अगुवामध्ये एक डा. राममनोहर लौहियाले त्यसबेला गैर-कंग्रेस सत्तास्थापनाका लागि सबै राज्यलाई आह्वानसमेत गरिसकेका थिए । डा. लोहियाले इन्दिरा गान्धीलाई ‘लाटो गुडिया’ भन्थे जो आफ्नै बोली र विवेकमा काम गर्दैन ।

महात्मा गान्धी र नेहरुकालीन अग्रजहरुकै लागि दाँतमा लागेको ढुंगो बन्नै लागेकी थिइन् । तथापि, इन्दिरा गान्धीको अगुवाइमा कंग्रेसले झिनो बहुमतकै सही, सरकार धान्न सफल भयो । त्योबेला कंग्रेस साँचो अर्थमा देश चलाउने पार्टी नभएर सरकार चलाउने पार्टीको रूपमा दर्तिएको थियो । गुजराती नेता मुरारजी देशाई पनि त्यसबेला इन्दिरा सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्रीको रूपमा काम गरिरहेका थिए ।

साँच्चै भनौं भने सन् १९६० देखि १९६९ सम्म भारतीय राजनीतिको उतार-चढाउ टीठलाग्दो गतिमा चलिरहेको थियो । इन्दिरा गान्धी चाहन्थिन् साना उद्योग र ब्यांकहरुको स्वामित्व सरकारको हातमा रहोस् । तर, देशाई चाहन्थे निजीकरण, खुल्ला बजारमुखी अर्थतन्त्र ! यो मतभेदले गर्दा गान्धी देशाईलाई अर्थमन्त्रीको पदबाट हटाउन चाहन्थिन् ।

यसैबीच सन् १९६९ मा प्र.म. गान्धीले देशाईलाई अर्थमन्त्री पदबाट बर्खास्त गरिन् । तत्कालै उनले ब्यांकहरुको राष्ट्रियकरण गरिन् ।

यता अपमानपूर्वक अर्थमन्त्रीबाट हट्नुपरेको आवेग थाम्न नसकी मुरारजी देसाईले पार्टी विभाजनको योजना बुन्नथाले । देसाईले नै कंग्रेसको समर्थनमा राष्ट्रपति बन्नलागेका निलम सञ्जीबा रेड्डीको उम्मेदवारीमाथि विरोध जनाए र रेड्डीलाई हराउँदै भीभी गिरीलाई राष्ट्रपतिको चुनाव जिताए ।

यही क्रममा कंग्रेस पार्टीभित्र क्रमशः इन्दिरा गान्धीको पनि भीषण मतभेद हुनथाल्यो । यसरी १२ नोभेम्बर २९६९ को दिन इन्दिरा गान्धी कंग्रेसबाट निष्कासित भइन् । पार्टीबाट निष्कासनमा परेपछि सरकार फेरि अल्पमतमा पऱ्यो, गान्धीको प्रधामन्त्री पद नै संकटमा पऱ्यो । तत्काल उनले नयाँ दल कंग्रेस (आर) घोषणा गरिन् ।

यता मूल पार्टीचाहिं ‘कंग्रेस-ओ’ बनेर रह्यो । तर, सबैले यसलाई ‘बुढो कंग्रेस’ नाम दिएका थिए । गान्धीले आफ्नो शाख बचाउन तामिलनाडुकेन्द्रित डि.एम.के. लगायत केही क्षेत्रीय वामपन्थी दलहरुसित हात मिलाइन् । जसरी भए पनि आफ्नो सरकार धान्न उनी सफल भइन् ।

विस्तारै कंग्रेस-आर फेरिएर कंग्रेस आई बन्यो । ‘आई’ले इन्दिरा नामकै संकेत गरेको भनेर धेरै इतिहासकारहरुले लेखेका छन् । पछि कंग्रेस (ओ) ‘जनता पार्टी’-मा समाहित भएपछि भने कंग्रेस आई-इण्डियन नेशनल कंग्रेस (आईएनसी) मा परिणत भयो । सत्ताको साझेदारीमा सत्तालाई सहयोग मिल्छ तर, त्यस्तो सहयोग बिना स्वार्थको हुँदैन । त्यहाँ पनि अनेकौं सौदावाजीका लेनदेन अवश्य भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *