आज छुट्टीको दिन !

कवि
कवि

डा० लक्ष्मीनारायण ढकाल
केन्टकी, अमेरिका

 

यान्त्रिक जीवनको अभ्यासमा
आज मान्छे हराएको छ
रोएको छ सम्बन्ध यहाँ
कलपुर्जा सँगै संवेदनाहरू पिसिएर
इच्छा आकाङ्क्षा र उल्लासहरू
ट्र्यासक्यानमा कुहिए,
आफ्ना भनेका तिनै भए, जो थिएनन्
जो थिए, आफ्ना ती आज रहेनन्
आज छुट्टीको दिन, यस्तै छ यहाँको चलन !

चालिसेमा चालिस घण्टा कमै हो भन्छन् यहाँकाहरू
अस्सी नब्बेमा चालिस घण्टा बिताउँछन् उनीहरू
स्वतन्त्र घुमिखाएका हामीहरू
स्वदेश प्राप्तिमा ठगिएकाहरू
परदेशमा स्वर्ग मानी रामाएकाहरू
अहर्निश निरन्तर-व्यस्तताको एलर्जीले
नाक रसाएको छ, छुट्टीका दिनहरूमा
यस्तै छ यहाँको चलन !

भालेको डाक सँगै उदाउँछ जीवन
सूर्यको लालिमा सँगै अस्ताउँछ जीवन
छुट्टीको दिन भन्नु मात्र छ यहाँ
बितेकाछन् हजारौँ परिपूर्तिहरू
घरका, सागवारिका र फुलबारीका
गाडीका, इन्स्यूरेंसका अनि तिरो तारोका
केही न केही बितेकै छ सधैँ यहाँ
केही न केही छुटेकै छ, यस मृग मरीचिकामा
आज छुट्टीको दिन, यस्तै छ यहाँको चलन !

घर आइपुग्दा बेलुका जागिरबाट
बितिराखेका हुन्छन् ढाकछोपहरू यहाँ
पानीको नल चुहिएछ
स्टोवको बर्नर बिग्रिएछ
फ्रिजमा शब्जी सकिएछ
उता बवा-आमाको औषधि सिद्धिएछ
एउटा हातमा फोन रिसिव गर्दै
अर्को हातले गाडीको स्टेयरिंग घुमाउँदै
निस्कन्छ मान्छे छुट्टी मनाउन बाहिर
छुट्टीको दिन, यस्तै छ यहाँको चलन !

गाडीमा ग्यास सिद्धिएछ
ग्यास भरेर फार्मेसी पुग्नै लाग्दा
आउँछ टुंगलुङ्…. श्रीमतीको टेक्स मेसेज-
‘धनीया पनि सकिएछ, मेथी मसाला त… रहेछ,
तर दूध ल्याउँन बिर्सिएला नि,
घुम्दा घुम्दा वाल्मार्ट र क्रोगरका गल्लीहरू
भइसक्छन् ओभर व्यायामहरू
पार्क जानु किन पर्‍यो र !
समय पनि त चाहियो
आज छुट्टीको दिन, यस्तै छ यहाँको चलन !

पालैपिलो कामहरू निप्टाएर घर आइपुग्दा
छोरो धर्नामा बसिराको छ
तीन सूत्री माँगको सूची लिएर
सुनिदिनै परो, पुरा गरिदिनै परो,
उता श्रीमती चिल्लै……
श्रीमानले घुमाउने आशामा
एउटा साडी हेरिदिने अभिलाषामा
मर्दछन अनेक वसन्त छुट्टीहरूका
आज छुट्टीको दिन, यस्तै छ यहाँको चलन !

भान्सा घरको कालकोठरीमा एक कैद झैँ
हुन्छन् थुप्रै बलिदानहरू उनका
टुक्रिन्छन् थुप्रै सपनाहरू
उनी पनि उत्तिकै, म पनि उत्तिकै
त्यो जमाना कहाँ छ अब र
उनी घर बसी श्रीमान् जागिर जाने
महिला पुरुष बराबर
भान्साघरले चिनाऊँ छ
आज छुट्टीको दिन, यस्तै छ यहाँको चलन !

हिंजो बेलुकै पिताजीले मेल बक्सबाट झिकिएका
चिठ्ठी पत्रका थाकहरू हेरेर
कहीँ भुगतानीको समय बित्ला कि भनेर
भुगतानी नगरे पुल मुनी बास हुने डर
हुनै परो सबैथाक बरोबर
चेक त लेख्नै पर्‍यो,खाममा लगाउनै पर्‍यो
उता टिकट नै सिद्दिएछ
पोस्ट आफिसको यात्रा गर्नै पर्‍यो
आज छुट्टीको दिन, यस्तै छ यहाँको चलन !

श्रीमतीले बनाएको मीठो च्या खाजा खाएर
च्याको चुस्की सँगै सुस्ती लिएर
बिजुली पानी र मोर्गेजको बिल हेर्दै
तातेको पुर्पुरो सुम्सुम्याउँछ जीवन यहाँ
रक्तचापको औषधी छुटेछ क्यार
झलस्स याद गराउँछ
आज छुट्टीको दिन, यस्तै छ यहाँको चलन !

घर वरी परी झार लामो भएछ
नकाटे भोलि फोटा सहित चेतावनी आउँछ
केहीकथं नभ्याए जरिमानाको डर
सक्दा नसक्दा झमक्क साँझ भइदिन्छ
छुट्टीको दिन त्यसै टुंगिन्छ !
जीवन त्यसै बुढिन्छ
यस्तै छ यहाँको चलन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *