आधुनिक युगकी प्रियसीलाई एउटा प्रेम पत्र

जे एन दाहाल
पेन्सिल्भेनिया, अमेरिका
आधुनिक प्रियसी ,
यो मनको प्रेम कथा , अनिँदो रातको व्यथा, कसरी सुरु गरौँ म। तिम्रो मायाको पागलले यो गोप्य कुरा मनको कुनै कुनामा राख्न सकेन। उठाउँदै छु डायरीमा सीमित राख्न नसकेका शब्दहरू । एउटा सानो कागजको पानाबाट इन्टरनेटको तरङ्गमा झुण्डाउँदै तिमी समक्ष पुर्याउने कोसिस गर्दैछु ।
सायद तिमीले मलाई चिन्न सकेनौ होला किनकि म फेसबुक जति चर्चित हुन सकिन । अनि गुगल जति अन्दाज लाउन सकिन । साँच्चै आज मात्र खुलस्त साट्दैछु सरु । विकीपिडीयामा नराखिएका मेरा भावनाहरू ।
याहुमा साथीलाई सोधिन कि.. ? फेसबुकमा कतै खोजिन कि .. ? तिम्रै खोजाइमा धेरै दिन र रात बिते । कहिले तिमीलाई मानिसहरूको भीडमा खोज्छु। कहिले तिमीलाई एकान्तमा खोज्छु। जुन आउँिछन्, तारा आउँछन् तर तिमी आउँदिनौ ।
एक दिन अकस्मात एउटा बटुवाबाट तिम्रो इमेल पाएँ । सीमाविहिन भए मेरा खुशीहरु । तुरुन्त स्काइप खोलेँ, अ्याड गरेँ अनि घन्टौँसम्म कुरेँ तर तिम्रो आगमन भएन । जान्न चाहन्छौ किन.. ? यही प्रश्न बोकी खडा भइरहेछु आजसम्म ।
सायद मैँले ट्विटर खोलिनँ ,फेसबुकलाई चिनिनँ, गुगलको अन्दाज बुझिनँ । मेरो गल्ती यहीँनेर अल्झेको छ । अझै पनि यो पागल प्रेमीको सम्झना आए सम्पर्क गर्न अफ्ठयारो नमान्नु ।
उही तिम्रो पागल प्रेमी
जे एन दाहाल