आध्यात्मिक दृष्टिमा मेरा देवकोटा (११० औँ जन्म जयन्तीका अवसरमा स्मरण)
डा.लक्ष्मीनारायण ढकाल
केन्टकी, अमेरिका
प्रत्येक वर्ष लक्ष्मीपूजाका साथसाथै नेपाली साहित्य जगतमा एक अर्को उत्सव पनि आउने गर्दछ, त्यो हो महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती I विश्वभरि छरिएर बसेका हामी नेपाली भाषीहरू अझ उल्लास र उमङ्गका साथ देवकोटाको जीवन, उनको साहित्यिक योगदान र उनले समाजलाई दिएको शिक्षाका बारेमा चर्चा परिचर्चा गरेर आफ्नो ज्ञानस्तरलाई बढाउने गर्दछौँ, अनि उनलाई श्रद्धा सुमन अर्पण गर्दछौँ I
हामी अमेरिकाबासी नेपाली भाषी भूटानीहरूले पनि विभिन्न स्थानहरूमा देवकोटा जयन्ती मनायौँ I दुई सप्ताह पूर्व कोलम्बसमा पनि देवकोटा जयन्तीका अवसरमा एक साहित्यिक कार्यक्रमको आयोजन भयो I त्यसै अवसरमा एउटा कविता सङ्ग्रहको विमोचन पनि भयो I यस कार्यक्रममा हामीलाई पनि निम्तो आएको हुनाले राती चारै बजे उठेर केन्टकीबाट उमङ्गकासाथ हिँडियो I १२ बजे भन्दा पहिले नै निर्धारित समय र स्थानमा पुगियो I मेरा साथमा भूटान न्यूस सर्भिसका भू.पू. चिफ एडिटर बुद्धमणि ढकाल पनि थिए I केन्टकीबाट चार घण्टाको ड्राइभमा हामी देवकोटाकै बारेमा चर्चा परिचर्चा गर्दै गयौँ I आ-आफ्ना अनुभव र ज्ञान साटासाट गर्यौँ I कार्यक्रममा अवश्य देवकोटाको चर्चा हुन्छ र केही अवश्य बोल्नु पर्ने हुन्छ, त्यसको एक पूर्व तैयारी पनि होस् भनेर मैले नै उहाँसँग यो चर्चा आरम्भ गरेको थिएँ I तर, कार्यक्रम अलि भिन्नै प्रकारको भयो I अन्य औपचारिकताहरू जे जसो भए पनि देवकोटाको जीवनीलाई युट्युबबाट केही अंश बजाइयो, चित्रमा अबिर चढाएर नमन पनि गरियो, तर देवकोटाका बारेमा चर्चै भएन I अर्को कुरो, कार्यक्रम पूरा नहुँदै हामीले घर फर्किनु पर्ने हुँदा अन्तिमसम्म बस्न सम्भव भएन I देवकोटाका बारेमा अन्य विचारकहरूबाट केही मीठा र ज्ञानगुनका कुरा सुन्ने र बटुल्ने ठुलो लोभ थियो, सो पूरा हुन सकेन I हामी फर्किएपछि यदि केही चर्चा भयो भने त्यो थाहा भएन I यदि भयो भने पनि त्यो हाम्रालागि लाभदायक हुन सकेन I अस्तु सञ्चालकबाट देवकोटा जयन्ती सम्बन्धित कार्यक्रमको समापन भएको सूचना र त्यसपछि आ-आफ्ना रचना वाचनको क्रम चल्दैथ्यो I जे होस्, हामीले बाटामा चार घण्टासम्म चिन्तन गरेका कुराहरू साट्ने अवसर नै आएन I त्यसैले पनि त्यस कार्यक्रमका लागि चिन्तन गरिएको देवकोटा प्रतिको केही विचारलाई लेखेरै भएपनि प्रस्तुत गर्न मन लाग्यो I
वस्तुतः जब हामी कुनै महापुरुष या प्रसिद्धि प्राप्त व्यक्तिहरूको जन्म जयन्ती मनाउँछौँ भने त्यस समारोहको उद्देश्य हुन्छ सम्बन्धित व्यक्तिलाई स्मरण गर्नु, उसको कार्यको चर्चा गर्नु, योगदान र उनका कृतिबाट मिल्ने शिक्षाको चर्चा गर्दै उनलाई अनुसरण गर्नु र आफ्नो तत्सम्बन्धी ज्ञानलाई बढाउनुका साथै आफू सहित समाजलाई अघि बढाउने प्रेरणा प्राप्त गर्नु I एउटा कविको जन्म जयन्ती मनाउनुको तात्पर्य हो उसको जीवन, कृति, काव्य वैभव, प्रवृत्ति, शिक्षा, चेतानात्मक परिवर्तनका आधारहरू, सामाजिक परिवर्तन या असरका सूत्रहरू खोजिन्छ I साथै उक्त चेतानात्मक स्थितिमा आफूलाई तुलना गरेर आफ्नो चेतानात्मक परिस्थितिको पत्तो लगाउनु र उक्त व्यक्तिले खनेको बाटामा आफूलाई हिँडाउने प्रयत्न गर्नु हो I परम्परा र दस्तुर पनि यही हो I तर, विडम्बना के छ भने आज जयन्ती मनाउनुका यी उपर्युक्त उद्देश्यहरू गौण भएका देखिन्छन् I सम्बन्धित आयोजनको मूल्यप्रति अवधारणा बदलिएको देखिन्छ, यो अवश्य पनि राम्रो लक्षण होइन I यसो गर्नाले ज्ञानको श्रोत समाप्त हुन्छ, विचार विमर्शको पद्धति नै समाप्त हुन्छ I आशा छ भविष्यमा यस दिशामा हामी सबैको ध्यान पुगोस् I
यसपालि हामी नेपाली साहित्यका अद्वितीय महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औँ जन्म जयन्ती मनाइरहेका छौँ I त्यसैले मैले बुझेको मेरो देवकोटा कस्तो रहेछ त भनेर प्रत्येक व्यक्तिले आ-आफ्नो देवकोटा खोज्नु पर्दछ I देवकोटालाई पुस्तकमा मात्र खोजेर पुग्दैन, उनलाई समग्र रूपमा जान्न उनलाई आफ्ना अन्त हृदयका कुना कुनामा खोजिनु पर्दछ र मात्र देवकोटालाई केही मात्रमा बुझ्न सकिएला I मलाइ लाग्छ देवकोटालाई सबैले आ-आफ्नै क्षमता अनुरूप नै बुझेका छन्, तर पनि समग्रमा देवकोटालाई सम्पूर्ण रूपमा बुझ्नै सकिँदैन भन्ने लाग्छ I त्यसैले म मेरो देवकोटा भन्दछु I यहाँ मेरा देवकोटा कस्ता छन् त भनेर उनीसँग सम्बन्धित केही विन्दुहरूलाई खोतल्ने प्रयास गर्दैछु I यो लेखको शीर्षकमा “मेरा देवकोटा” भन्नुको तात्पर्य हो मैले बुझेका देवकोटा I यद्यपि देवकोटाका प्रत्येक कृति पिउन नसकेको होला मैले, तथापि मेरा अन्तस्करणमा बसेका देवकोटालाई यहाँ राख्ने प्रयास गर्दछु I साथै अरूबाट समालोचनामा ध्यान नपुर्याइएका तथ्यमाथि आफ्नो धारणा राखिने छ I देवकोटाको जीवनीका बारेमा यहाँ कुरा गर्दिन किनकि यो त जताततै पाइन्छ नै I
विभिन्न समालोचक, अनुसन्धाता र लेखकहरूले देवकोटालाई थुप्रै लेखे, पढे तर पनि देवकोटालाई समग्रमा, सम्पूर्ण रूपमा बुझ्न शेष नै रहन्छ I वस्तुतः देवकोटाले जति लेखे र जति प्रकाशित कृतिहरू छन्, त्यति नै मात्र कृतिलाई अलग गरिदिनु हो भने पनि नेपाली साहित्यमा ठुलो खाडल पर्ने छ I यद्यपि धेरै लेखकहरूले लेखनाथ पौड्याल र बालकृष्ण समसँग जोडेर नेपाली साहित्यका त्रिमूर्ति भन्ने गरेका छन्, तर मलाइ लाग्छ अरूका तुलनामा देवकोटालाई राख्नै सकिँदैन I किनकि देवकोटाको काव्यात्मक चेतना अरूको भन्दा फरक छ, उनको शैली, भावाभिव्यक्ति र काव्य प्रवृत्ति सार्वभौमिक छ, उनका कृतिहरू कालजयी छन् I उनका रचनाहरू मानवीय चेतनाको आकाशसम्मको उचाइलाई छुने प्रकारका छन् I यसको मूल कारण हो उनले बाँचेको जीवन, उनको भोगाई र मानवता र प्रकृति प्रतिको तादात्म्य नै हो, जसले गर्दा उनी कालजयी महाकवि बन्न पुगे I यद्यपि देवकोटाले नेपाल र नेपालीकै लागि लेखे, तर उनले चेतनाको त्यो उच्चतम स्थितिमा पुगेर लेखे, त्यसैले उनी अरू कसैसँग तुलना हुनै सक्दैनन् I
पागल देवकोटा –
देवकोटालाई धेरैले पागल कवि भनेर लेखेका छन् I उनले जब ‘पागल’ शीर्षकमा आफूलाई पागल भन्दै कविता लेखे, तब समालोचकहरू र पाठकहरूले उनलाई पागल कवि भनेर भन्न थाले I उनलाई बुझ्न नसक्दा उनको बिचारलाई पचाउन नसक्दा गाली गरियो, आरोप लगाइयो, षड्यन्त्र गरियो, राँचीको पागलखानामा कैदसम्म गरियो I उनले म पागल भएको छुइन भन्दा सुनिएन I तत्कालीन राणातन्त्रप्रति विरोधको स्वर सुनिन थालेपछि उनलाई रोक्न गरिएको षड्यन्त्रपूर्ण यातना थियो यो I उनी पागल थिए त उनको पागलपनको कारण र चेतानात्मक उचाइको अनुमान नगरीकन भौतिक दृष्टिकोणले मात्र उनलाई पागल भनिएको पाइन्छ, तर आध्यात्मिक दृष्टिकोणमा उनलाई कसैले बुझेको देखिँदैन I मलाई लाग्छ देवकोटा भौतिक पागल थिएनन्, उनी एक उच्चतम दार्शनिक साधक र आध्यात्मिक पागल थिए I यहाँ आध्यात्मिक भन्नुको तात्पर्य हो उनको मौलिक दार्शनिक चिन्तन I
वस्तुतः मानव दुईटा कारणले पागल हुन सक्छ I पागल हुनुको एउटा कारण हो मस्तिष्कमा खराबी आउनु I यो खराबी अचानक हुन सक्छ, कुनै पीडा, मानसिक आघात र भौतिक संरचना अर्थात् शारीरिक बनावटको गडबडीले आउने हुन्छ, यो रोग हो I यस प्रकारको पागलपनले सिर्जना, संरचना गर्दैन, अपितु विद्ध्वंश गराउँछ, आफू लगायत अरूकालागि पनि समस्याको कारक बन्दछ I
दोस्रो प्रकारको पागलपनको प्रकृति भिन्न हुन्छ I यो पागलपन आफ्नो चेतनाको पराकाष्ठामा पुगेका व्यक्तिहरूमा मात्र देख्न सकिन्छ I देवकोटा पागल थिए त आफ्नो उद्देश्यका, लक्ष्यकाप्रति पागल थिए I यस प्रकारको पागलपन विध्वंसक नभएर उर्जाशील, सिर्जनामूलक क्रमशः विकसित र नियन्त्रित मस्तिष्कीय अवस्था हो, यसमा स्वान्तसुख निहित हुन्छ I यसैलाई दार्शनिक भाषामा भन्ने हो भने भक्तिको पराकाष्ठा या स्थितप्रज्ञ साधकको समाधिप्रतिको जिज्ञासा हो भन्न सकिन्छ I इतिहासमा हेर्ने हो भने संसारका जति पनि उच्चतम चेतनाको पराकाष्ठामा पुगेका आध्यात्मिक योगीहरू हुन् या दार्शनिक, वैज्ञानिक चिन्तक हुन सबै पागल नै थिए I डर्वींन, आइन्स्टाइन, बुद्ध, रामकृष्ण परमहंस, महात्मा गान्धी आदि महापुरुषहरूलाई धेरैले पागल नै भन्ने गर्दथे I देवकोटा पनि त्यही कोटीका साहित्यिक पागल थिए I
देवकोटाको स्वच्छन्दवाद-
देवकोटालाई स्वच्छन्दवादी कवि भनिन्छ I स्वच्छन्दवाद भनेको के हो त ? के स्वच्छन्दता स्वतन्त्रता हो ? अथवा अनियन्त्रित, अनुशासन हीनता र आवारा प्रवृत्ति ? अथवा आफ्ना मनमा जे आयो त्यो लेख्ने कवि ? भिन्न-भिन्नै आशङ्का र खुल्दुली हुनसक्ला I तर मेरो बुझाईमा देवकोटाको स्वच्छन्दता यी माथिका कुनै अर्थमा होइन I देवकोटाका काव्यमा देखिने स्वच्छन्दता भनेको उच्चतम चेतनाबाट खारिएर निस्किएको आत्माको आवाज हो I त्यसैले यहाँ स्वच्छन्दताको तात्पर्य हो पूर्वाग्रह शून्यता I अर्थात् देवकोटा कुनै व्यक्ति, कुनै विचारधारा या कुनै भौतिक शक्तिबाट प्रेरित, निर्देशित अनुयायी होइनन् I देवकोटा परिस्थितिवश प्रकृतिमा छरपस्ट मानवीय मूल्य रूपी दूधलाई जमाएर आफ्नै ठुला ठेकीमा मन्थन गरेर काव्यात्मक नवनीत निकाल्ने कलाका कलाकार हुन्, जसमा बनावटी औपचारिकता र संवेदनहीनता रहँदैन, अपितु आत्ममन्थनबाट निकालिएको दिव्य चेतानात्मक धरातलमा अभिव्यक्त गरिएको स्वतन्त्र, मौलिक र सैद्धान्तिक सिर्जनाको प्रस्फुटन हुन्छ I देवकोटाको स्वछन्दवाद अनुशासित, आत्म प्रेरित, सार्वभौमिक परमानन्दको सहोदर काव्यानन्दको दिव्यानुभूति हो, जसमा मानवीय संवेदनाको प्रकृति र दार्शनिक सूत्रहरूको मुहान हुन्छ I
हो पनि यदि हामीले स्वतन्त्र र मौलिक रचना गर्नुपर्छ भने सर्वप्रथम विषय सामग्रीलाई आत्म मन्थन गरेर खार्नु पर्दछ, अरूको कपीपेस्टनै मात्रले कुनै नवीनता, मौलिकता, मूल्यबोधता र ज्ञानगम्यता आउँदैन I आफ्नो आत्माको ध्वनिलाई प्रकट गर्नाले नै सत्यको प्रतिभास हुन सक्दछ, नत्र गुणवत्ता र सार्वजनहिताय सार्वजन सुखाय आदि मूल्यको पतन हुनेछ I
मानवतावादी देवकोटा-
यद्यपि नेपाली साहित्यका प्राय सबै आदर्श कविहरू जस्तै -भानुभक्त, धरणीधर, लेखनाथ, बालकृष्ण सम आदि सबैले धेरथोर मानवीय जीवनका परिघटना र संवेदनालाई कोट्याएकै छन्, तर देवकोटाको मानवतावाद उच्च कोटीको पाइन्छ I अरूले ईश्वरमा मानव खोजिनु पर्दछ भने, तर देवकोटाले त्यस कुरालाई यथार्थ रूपमा आध्यात्मिक दृष्टिकोणबाट मानव भित्रै ईश्वर निहित छ भने I वास्तविकता यही नै हो I देवकोटाको मनोविज्ञान उच्च कोटिको छ I ईश्वरलाई खोज्ने भनेकै जीवन भित्र हो, मूर्ति या स्वर्ग नामक कुनै मानव भिन्न लोकमा खोज्ने होइन I अझ उनले गरिब, असहाय, विपन्न, रोगी र असक्त मानवभित्र ईश्वरको वास हुन्छ भन्दै धार्मिक आडम्बर र आध्यात्मिक भ्रममा भ्रमित नेपालीजनलाई नयाँ दर्शनको सूत्र प्रदान गरे I
प्रेम र सेवा नै धर्म हो –
देवकोटा आदर्शवादमा स्वच्छन्दता खोज्न सिपालु छन् I धर्मको परिभाषा नै विकृत भएको अवस्थामा धर्मका मूल्यलाई पुनः याद दिलाउँछन् I धार्मिक आडम्बरले ग्रस्त समाजलाई धार्मिक शिक्षाका खुड्किला खन्दै प्रेम, दया, सेवा, परोपकार, जातीय समानता र छुवाछुत विनाको समाजको परिकल्पना गर्दछन् I उनी स्वर्ग खोज्न टाढा नजान र ईश्वर खोज्न मानवतालाई नभुल्न उपदेश दिन्छन् I यही नै साहित्यिक मूल्यको पराकाष्ठा पनि हो I यही नै देवकोटाको अध्यात्मवाद पनि हो I
‘शाकुन्तल महाकाव्य’मा कश्यप ऋषि नामक पात्रका मुखबाट देवकोटा प्रेम र धर्मका बारेमा व्यावहारिक पक्षलाई यसरी उजागर गर्दछन् –
प्रेमै हो सिर्जनाको प्रथम विधि यही विश्व आधार जान,
प्रेमै हो दिव्यताको मधुमय प्रेम हो विश्व प्राण I
प्रेमैले मिल्छ सारा, यसकन सबको धर्म हो तत्त्व जान,
हेलाँ हो पाप भन्ने बुझ नृपवर यो प्रेम हो दिव्य गान II
नोबल पुरस्कारका हकदार थिए देवकोटा –
देवकोटा नौ भाषाका ज्ञाता थिए भनिन्छ I उनका अङ्ग्रेजी भाषामा लेखेका ६१ वटा कविता प्रकाशित हुनै पाएनन् I नेपाली भाषामै लेखेका पनि थुप्रै अप्रकाशित पाइएका छन् I क्यान्सर रोगले ग्रसित भएर ५० वर्षको अल्पायुमा मरणासन्न देवकोटा स्वयं भन्छन् ‘मैले केही गर्न सकिन’ I उनको लेखनप्रतिको तृष्णा अतृप्त नै रह्यो I यदि आठ-दश वर्ष उनी अरू बाँचेका थिए भने अङ्ग्रेजी महाकाव्यहरूको लाइन लाग्ने थियो I त्यसो त उनले लेखेका नेपाली भाषाकै कृतिकै मात्र ठाउँमा सही मूल्याङ्कन हुने हो भने साहित्यमा नोबल पुरस्कार प्राप्त गर्ने योग्य थिए देवकोटा I जब उनी राँचीको पागलखानामा थिए त्यहाँको मनोरोग विशेषज्ञले देवकोटाका बारेमा भनेको कुरो स्मरण योग्य छ I उनले भनेका थिए –‘यो व्यक्ति पागल होइन, उसले नेपालमा जन्मिनु एक भौगोलिक भूल हो’ I
यसपालि यतिनै I समयमा फेरि सम्झौँला देवकोटालाई I अन्तिममा नेपाली साहित्य प्रेमीहरूका हृदय स्पन्दन महाकवि देवकोटालाई उनको ११० औँ जन्म जयन्तीका अवसरमा हार्दिक श्रद्धा सुमन समर्पण गर्दछु I