आफ्नै टाउको र खुट्टा !

बलराम तिमल्सिना
काठ्माण्डु, नेपाल

हावाको झोक्कासँगै उड्नु
जसरी उडेर जान्छन्
सुकेका पातहरू धूलोसँगै
उड्नु र भुईँमा फ्यात्त खस्नुमा
कुनै योजना हुँदैन
किन कि ,
ती पातहरूसँग आफ्ना पखेटा हुँदैनन् !

बाढीको बहावसँगै बग्नु
जसरी बगेर जान्छन्
सुकेका मुढाहरू
बग्नु र किनारा लाग्नुमा
बगरभरि असरल्ल हुनुमा
कुनै निश्चितता हुँदैन
किन कि,
मुढाहरूसँग आफ्नो खुट्टा हुँदैन !

ठिक त्यसै गरी
भीडसँगै भड्किएकाहरू
कहाँ पुग्छन् र के गर्छन्
फर्केर फेरि आउँछन् आउँदैनन्
कुनै ठेगान हुँदैन
किन कि
भिडमा भड्किनेसँग
आफ्नो बेग्लै टाउको हुँदैन !

जोसँग पखेटा हुँदैनन्
तिनीहरूको आफ्नो उडान हुँदैन
जोसँग आफ्नै खुट्टा हुँदैन
तिनीहरूको आफ्नो यात्रा हुँदैन
जोसँग आफ्नो टाउको हुँदैन
कुनै निर्णय पनि आफ्ना हुदैनन !

लामो यात्राबाट फर्केपछि अचेल
मलाई
आफ्ना खुट्टा र टाउकोको
खुब माया लागेर आएको छ !

निकै ठूलो जोखिम मोलेर मैले
फिर्ता लिएको हुँ यी खुट्टा र टाउको
जिन्दगीको शेष यात्रा
मैले आफ्नै खुट्टाले गर्नु छ
र बाँकी सबै निर्णयहरू
आफ्नै टाउकाले गर्नु छ !

२०७५|०८|२०
सुवर्ण चोक , भक्तपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *