आभास

सञ्चमान खालिङ/पीए,अमेरिका
सञ्चमान खालिङ/पीए,अमेरिका

भैगो
तिम्रो हिस्सा धर्ती
मेरो भाग आकाशै पारेको छु
केवल निस्सार आकाश
यहाँ ठूला ठूला आकृतिहरु
इच्छानुसार कोरी दिउँला
आलम्बन–उद्धीपन
अनुराग–विराग
आशा–निराशा आदि
बिम्ब–प्रतिबिम्बमा उभाइदिने
अभिलाषा–अङ्कुराएको छ
त्यो मेरो निलाम्बरमा मात्र
अटाउन सकूँला
अनि तिम्रा विशाल प्रतिमा
बीचमा राखी दिउँला
तिमीले पनि हेर्न सक्छ्यौ
वर्षाद पछिको ढल्किँदो किरणहरुमा
इन्द्रेणीको कौशीमा कावा खाँदै

शायद
स्वार्थको गहिरो दलदलमा
फुल्ने फूल हुनुपर्छ अनुराग
त्यसैले त यहाँ
निजत्वको आकांक्षा औधि उर्लन्छ
यथार्थमा के नजिक के टाढा
शून्यताबाट सुरु भै
सुन्यतातिरै यात्रा मोडिन्छ
फगत बीचमा केही पाए जस्तो
केही गुमाएजस्तो–मात्र आभास

संसारीको पुरानै परम्परा
सम्झिने बिर्सिने चलेकै छ
मेरा रातका ऐनारुपी चाँदनीले
लाग्छ पक्कै
तिमीलाई पनि देखिरहेकी होलिन्
आँगनीमा उभिएर
उनीलाई हेरिदिए पुग्छ
तिम्रा प्रतिबिम्ब त्यहाँ खोजूँला
तिमीले पनि उसै गरे हुन्छ
शुक्लपक्षका यामिनीहरुमा
सन्नाटालाई मनपर्ने भाषामा
मरेका दिनहरुको
जिउँदो कथा सुनाउँदै

(२०६०—०५—११)
धरान
श्री खालिङको ‘धनेहरु निरन्तर हिँडिरहे’ कविता संग्रहबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *