आमा! तपाईँको छोरो इञ्जिनियर भयो
देवी सुवेदी
ओहायो, अमेरिका
आमा सधैँ गिट्टी कुट्नु हुन्थ्यो… बगरको घाम, तातो हावा र पानीले उहाँलाई रोग लाग्यो र बिस्तारै शरीर कम्जोर भयो । मैले जान्दादेखि कक्षा सातमा पुगुन्जेल आमाले गिट्टी कुट्नु भयो । परिवारमा ठूलैठूला थियौँ । संस्थाले दिएको खाद्यान्नले पन्ध्र दिन पुग्दैन’थ्यो । त्यसैले बिहान बेलुकीको छाक टार्न आमाले टोपी बुन्न थाल्नुभयो । हामी काम/मजदुरी गर्न जान्छौँ भन्दा पैसाको नशामा परेर पढाइ बिग्रिन्छ भनी जान दिनुहुन्नथ्यो । “आफ्नो कर्म र भाग्यले दिएन, अब हड्डी घोटेर भए पनि छोरा पढाउँछु” भन्नुहुन्थ्यो आमा।
ठूलदाइले एसएलसी पास गर्दा आमाका आँखाबाट हर्षका आँसु खसेका थिए । घरमा सम्पत्तिका नाममा सुक्को थिएन । बिहान-बेलुकी छाक टार्न धौ धौ थियो । दाइ पढाइमा अल्पबिराम लाग्ने हो कि भनी चिन्तित देखिनु हुन्थ्यो । तर, आमा भने कुनै पूर्वयोजना भएझैँ खुसी र ढुक्क देखिनुहुन्थ्यो । उहाँले आफू अलिकति पनि आत्तिएको आभास हामीलाई दिनुभएन । सधैँ जोस-जाँगर र हौसलाको स्रोत बनी शिक्षा नै गरिबीबाट दीर्घकालीन निकासको सही बाटो हो भनी मार्गदर्शन गराइरहनु भयो ।
“टोपी बुनेरै पढाउँछु, राम्ररी पढ मात्रै”, आमा सधैँ यसै भन्नु हुन्थ्यो।
त्यस साल दाइ एसएलसीपछिको छुट्टीमा पोखरा काम गर्न जाँदा आमाले खुसी भएर बिदा दिनु भएको थिएन । दुई महिनापछि दाइ घर आउँदा हामी सबैले उस्तै देखेको दाइलाई आमालेचाहिं छोरो दुब्लाएको भनी बाबासँग गन्गनाउनु भयो । बाबाले सँगै काम गर्ने स्वीकृति दिएर छोरो कमजोर भएको आमाको आरोप थियो ।
ठूलदाइले मात्र क्याम्पस पढ्ने हुन्जेल ठिकै थियो । आमाको दिनभरको मेहनतले धान्दै थियो । पछि मालदाइ पनि क्याम्पस जान थालेपछि भने आमालाई निक्कै धौ धौ पऱ्यो । छोराहरूको पढाइ नै आफ्नो सपना सम्झी स्वास्थ्यको पर्बाह नै नगरी दिनमा टोपी बुन्नु र रातभरि चर्खा बाट्नुहुन्थ्यो ।
क्रमशः साँलदाइ र मैले पनि एसएलसी सकेपिछ भने आमाको मेहनतले चार-चार भाइको पढाइ, कोठाभाडा, पुस्तक, चामल-शब्जी इत्यादि खर्च पुरै असम्भव भयो । तर पनि म विज्ञान पढ्ने भन्दा आमाले,“म तँलाई डाक्टर वा इञ्जिनियर बनाउँछु”, भन्नुभएको थियो ।
“जहाँ इच्छा त्यहाँ उपाय” भन्दै हामीलाई नैराश्यताबाट जोगाइरहनु हुन्थ्यो आमा । कहिलेकाहीँ छरछिमेक र आफन्तले मागेको ऋण नपत्याउँदा आँखाको आँसु लुकाएर हाँस्तै भन्नुहुन्थ्यो,“छोरा यसपालि स्कुल फी, कोठा भाडा र सब्जी खानमात्र पुग्छ होला । आवश्यक परे पकेट खर्च साथीसँग सापटी मागेर चलाउनु ल!”
आमाले हामी र हाम्रो पढाइलाई कहिल्यै हीनताबोध र अभावको महसुस गराउनु भएन ।
तोकेको भाकामा साहुलाई ऋण बुझाउन नसकी उनीहरूको वचनको चोट्ले आमाका आँखा रसाउँथे तर, पनि हामी सामु केही नभएको जस्तो गरी हाँस्न कोसिस गर्नुहुन्थ्यो । हाम्रो पढाइमा असर गर्ला भनी साहुलाई छोराहरूको सामु ऋणको कुरा नगरीदिनु भनी हात जोडेको देख्ता भोलिपल्ट क्याम्पस नगई मजदुरी गर्न जानुजस्तो हुन्थ्यो । तर आमाको सपनाको सामु हाम्रो सम्पत्तिको मोहले सधैँ घुँडा टेक्थ्यो र भोलिपल्ट आमाले तयार पारिदएको चामल, दाल, चिनी, सब्जी, पीठो, तेल र केरासीनको पोको बोकेर डेरातिर लागिन्थ्यो ।
म बी.एस्.सी दोस्रो वर्षमा थिएँ, ठूलदाइले भखरै बी.ए. सक्नुभएको थियो । साँलदाइ र मालदाइ क्रमशः बी.कम. र बी.ए. तेस्रो वर्षमा थिए, कान्छो भाइ एसएलसी दिनेवाला थियो । आमालाई बी.ए., बी.कम. र बी.एस.सी. भनेको के हो थाहा हुँदैन थियो । तर औंला गनेर पन्ध्र सक्न कुन भाइको अब कतिवर्ष छ भनी वर्षैपिच्छे सम्झाई रहनुहुन्थ्यो । शायद आमाको औंलाको गन्ती दोहोरिनु नपर्ने भएकाले होला, आमाको अनुहारमा त्यस साल एक अनौंठौ चमक हामी पाँचै भाइले याद गरेका रहेछौँ ।
दसैँमा भेट हुँदा यही प्रसङ्गमा रमाउँदै हामीले रातभर हजारे खेलेर उज्जालो पारेका थियौँ । तर, आमाको त्यो खुसीले धेरै महिना थामेन, कान्छो भाइलाई अचानक रोग लाग्यो । सुरुमा पढाइमा असर गर्ला भनेर आमाले ठूलदाइबाहेक अरूलाई कान्छो भाइको बिरामबारे नसुनाउने निर्णय लिनुभएको रहेछ । तर, भाइको अवस्था दिन-दिनै खराब हुँदै गएकाले र रोगको ठोस कारण पत्ता नलागेकाले, पिरवारबीच सल्लाह गरी ठोस उपाय अपनाउनु पर्ने आवश्यकता देखियो । सो अवस्थामा बाबाले हामी छोरा र काकाहरूलाई ढाक्नु भएको रहेछ । मलाई पनि खबर मिल्यो, घरमा आउँदा भाइ र आमाको अवस्था देखेर, भाइ जाती नहुन्जेल भद्रपुर नजाने निर्णय गरेँ ।
बेलडाँगी-आम्दा- धरान गर्दा गर्दै भाइको अवस्था धेरै कम्जोर भएको रहेछ । यु.एन. एच.सी.आर. को आगामी महिनाको रेफरल मिटिङमा भाइको केश काठमाण्डूको टिचिङ अस्पताल रेफर गरिदिने भनी धरानको बी.पी. मेमोरियलबाट बिदा दिइएको रहेछ । यु.एन.एच. सी.आर. को बजेटमा भर नपर्ने भनी बाबा-आमाले आफन्त, छरछिमेकी र साथी-भाइबाट ऋण र अन्य आर्थिक सहायता माग्ने निर्णय लिनुभयो । हप्तादिनमा ऋण र सहयोग स्वरूप उठेको रकमले भाइलाई सिलगढीस्थित मित्र नर्सिङ होम अस्पताल लग्यौँ । पन्ध्र दिन त्यहाँ राखेपछि भाइको स्वास्थ्यमा केही सुधार आयो । साथसाथमा काठमाण्डू रेफरलको खबर पनि आयो ।
पढाइको ऋणमाथि उपचारको ऋण थपिएकाले होला आमा निकै विचलित देखिन थाल्नु भएको थियो । दाइहरू पढाइ छाडेर बोर्डिङमा पढाउन जाने र मेरो भाइलाई काठमाण्डू लिएर जाने निर्णयले आमाको चिन्ता झनै बढेको थियो । तर बाबाले सम्झाएपछि आमाले समयको खेल भनी चित्त बुझाउनु भयो ।
त्यो मेरो काठमाण्डूको पहिलो यात्रा थियो । त्यो पनि बिरामी भाइलाई लिएर ! समाचारमा माओवादीका बन्द-हडतालका खबरहरू प्रशस्त सुनिन्थे, अनेकौँ चुनौतीहरू थिए तर, पनि मन दरो बनाएर घरबाट बिदा लियौँ । आमाले बिदाइको आशीर्वाद दिँदै आँखाभरि आँसु पारेर भन्नुभो,“भाइलाई जाती बनाएर ल्याउनु है ।”
आमाले भनेझैँ एक महिनामा भाइको स्वास्थ्यमा ठुलो सुधार आयो । म सोच्ने गर्थेँ आमालाई भाइको ठुलो चिन्ता छ । अब भाइको स्वास्थ्य सुधारसँगै आमाको मन पनि हलुका होला ! तर, आमाको चिन्ता भाइको स्वास्थ्य साथसाथै पढाइमा बढी रहेछ । आमालाई भाइको सुधारको खबर सुनाउँदा, “तेरो भाइ सिलगढीबाट आएपछि एसएलसी सकेरमात्र काठमान्डु जान्छु भन्दै जिद्दी गर्दै थियो ! मैले काल्दाइसँग काठमान्डुमै पढ्नु भनेपछि उपचारार्थ काठमान्डु जान मानेको हो । यदि एसएलसी गर्न पाएन वा पास गर्नसकेन भनी मानसिक चिन्तामा पनर्सक्छ ! त्यसलाई बिस्तारै पढ्न प्रेरणा दिनु र तँ पनि भाइलाई अस्पताल लिएर जानाले परीक्षा बिग्रियो नभन्नु नि ! समय निकालेर पढ्नु निः”, भन्नु भएको थियो ।
हप्ता दिनपछि सोमदाइको बुथबाट फोन आयो- आमाको दोस्रो प्रश्न थियो, “भाइलाई पढाउन थालिस् निः?” उत्तर दिन नपाई फेरि भन्नु भो आमाले,“आफू पनि पढ्नु निः, ददीले ल्याबब्रक सबै बुझाई दियो रे, ओमले दिएको नोटको फोटोकपी गरी हस्त बढीलाई पठाइ दिएको छु, सायद भोलि बढी भेट्न आउनु हुनेछ…! ददी ईक्जाम आउन अब दुई महिनामात्र छ भन्दै थियो…।”
आमा धेरै बेरसम्म भाइ र मेरो पढाइ, परीक्षाको चिन्तामा एकोहोरो बोलीरहनु भयो…। फोन लाउड स्पिकरमा थियो, हामी दुवै भाइले चुपचाप सुनिरह्यौं । हामी दुवैले जस्तोसुकै अवस्था आईपरे पनि परीक्षा दिने र पास गरेरै छाड्ने प्रतिबद्धता जनाएपछि आमाको स्वर क्षणमै परिवर्तन भएको थियो । फोन राखेपछि हाम्रो पढाइप्रतिको आमाको चिन्ता र हाम्रो प्रतिबद्धतापछि आमाको खुसीको अन्दाज हामी दुवै भाइले गरेका थियौँ ।
करिब डेढ महिनाको काठमान्डु बसाइपछि भाइको बिराम बिस्तारै ठिक हुने तर, पुरै ठिक हुन चैँ समय लाग्नसक्ने भन्दै चार महिनापछि फलो-अपमा ल्याउन भनी टिचिङ अस्पतालले बिदा दियो । भाइका लागि कतिपय नियमित दवाईहरू समयमा उपलब्ध हुँदैन थिए, ती आफैँले किन्नुपर्थ्यो । दवाईसँग उचित पौष्टिक खानेकुराको अति आवश्यक थियो । मृगौलाको बिरामी स्याहार्दाको अनुभव हाम्री आमालाई शायद एउटी अस्पतालकी नर्सभन्दा अधिक होला- वास्तवमा प्रत्येक आमाहरू प्राकृतिक अनुभव भएका दक्ष नर्स नै त हुन्छन् !
त्यो साल हाम्रो परिवारको सबैभन्दा ठुलो सङ्कटको साल थियो । गरिबीमाथि गरिबी-ऋणमाथि ऋण थपिएको थियो । दाइहरू घरमा आउना साथ साहुहरूको घरमा घुइँचो लाग्थ्यो…। कोही सब्जीको, कोही दही-दूधको, कोही छोरा पढाउन दिएको, कोही छोराको उपचारका निमित्त दिएको र कोही धेरै पुरानो ऋणको साउँ-ब्याज असुल्न आएका हुन्थे । तर आमा कति पनि हत्तोत्साहित नभई कसैलाई मिठो वचनले, कसैलाई ब्याजले, कसैलाई साउँले र कसैको भाका सार्दै बिदा गर्नुहुन्थ्यो । मेरो बीएससी तेस्रो वर्ष र भाइको आइएससी पहिलो वर्षको एडमिशन फी जम्मा गर्न आफ्नै बहिनीसँग ऋण माग्न जानुभयो । बहिनीले पैसा भएको तर, “अर्काका बाछा चाटी मुखभरि रौं”, उखान जोडेर ऋण नदिएको भन्दै पछिसम्म खेद प्रकट गर्नुहुन्थ्यो।
आमाले त्यो साल मेरो र भाइको एडमिशन फी तिर्न वर्षौंदेखि आफूले लगाएको, सुनका नाममा घरमा रहेको नाकको फुली र एकजोडी मड्वारी सुनारेलाई बेच्नु परेको थियो । तर, हामीले सोद्धा भने ‘खोलेर राखेकी छु’ भन्दै पछिसम्म ढाँट्नु भयो । ओरालो लागेको मृगलाई बाछाले पनि लखेट्छ भनेझैँ त्यो साल केही आफन्त र बाबाका निकट मित्रहरू मिलेर पुरानो ऋण नतिरेको भन्दै झुटो लाञ्छना लगाए । ऋणको मुद्दा हालेर काउन्सिलिङ बोर्डमा दर्खास्त पनि दिए । परिवार र बाबाको बेइज्जती गर्न केही सामाजिक षड्यन्त्र पनि रचिए ।
कसैले आलो घाउमा त कसैले खाटो उक्किएको घाउ कोट्याएर नुन छर्किने प्रयास गरे । एकाएक गरी नयाँ सङ्कटहरू आइलागे । समस्याहरू थपिँदै गए । तर, आमाले हाम्रो मानसिकता र पढाइलाई असर गर्ला भनी हामीलाई सधैँ प्राथमिकतामा राखी समस्याहरूको समाधान खोज्नु भयो । मैले तेस्रो वर्षको ल्याब वर्क र क्याम्पसको औपचारिक क्लासहरू सिध्याएपछि बोर्डिङ पढाउँदै परीक्षाको तयारी गर्छु भन्दा आमा निकै रिसाउनु भएको थियो । पछि अरू साथीहरू विकास, ओम, केवल, ताराले नि त्यसै गर्ने रे भन्दा आमाले मौन अनुमति दिनुभयो ।
चारै भाइले ब्याचुलर सिध्याएर कमाउन थालेपछि एक दिन आमाले चारै भाइलाई भेला पारेर हामीलाई लागेको ऋण र साहुलाई दिएको भाकाको अवगत गराउनु भएको थियो । चारभाइ मिलेर तीनै महिनामा हामीले आमालाई ऋणमुक्त बनायौँ । ऋण सकिएपछि आमालाई फुली, मरवाड़ी, र सिक्री पनि लगाई दियौँ । अनपढ़ भए पनि हाम्री आमा वास्तवमा ज्ञानी र दूरदर्शी । उहाँ भन्नुहुन्थ्यो “यदि म बाँकीदेखि डराएर तिमीहरूलाई नपढाएको भए यत्रो धेरै बाँकी त लाग्ने थिएन तर, हाम्रो गरिबी र जीवनस्तर पनि कहिल्यै उक्सने थिएन!” …आहा कति महान् सोच मेरी आमाको !
अमेरिका पुनर्वाश हुनेभन्दा बाबा खुसी हुनुहुन्थ्यो तर, आमाको अनुहारमा भने बसाइँ सराइको हैरानी र नयाँ देशमा आइपर्ने नयाँ चुनौतीहरूलाई पढ्न सकिन्थ्यो । उहाँ भन्नुहुन्थ्यो,”भूटानमा अनेकौँ दु:ख गरेर नयाँ घर बनाइयो, सुखका मुना देखापर्न थालेपछि सर्वस्व माया मारेर हिँड्नु पऱ्यो । फेरि नेपालमा आएर दश नङ्ग्रा ख्याउँदै सत्र वर्षपछि बल्ल मनमा थोरै शान्ति र सुख मिल्न थालेको छ… बुढेसकालमा म त जान्न कुइरेको गुलामी गर्न….! यहाँ छोरालाई बनीबुतो गरेर अक्षर चिनाइयो । अब फेरि नयाँ देशमा नयाँ भाषा पढ्नु पर्छ रे…। कहिले छोराहरूलाई पढाउने र सुख पाउने?” आमा आफ्नो कुरामा अडिग हुनुहुन्थ्यो ।
एक तरिकाबाट सोच्ने हो भने उहाँले भनेको ठिकै जस्तो लाग्थ्यो । भाषा र प्राविधिक चुनौती अवश्य हुन सक्छन् । तर, हामीसँग भोटाङे शरणाथीर्को बिल्ला हटाउने उपाय पनि पुनर्वाशशिवाय अरू केही थिएन । हामी विकल्पहीन विकल्प रोज्न बाध्य थियौँ । भाइको बिराम पुरै निको बनाउने र छोराहरूलाई अझै पढाउने आमाको सपना अमेरिका गएपछि पूरा हुन्छ भन्दा-भन्दा बल्ल आमाले फारममा सही गर्नुभएको थियो ।
अमेरिका आएपछि मलाई बारम्बार यही चिन्ता लाग्थ्यो । नेपालमा फोन गरेर आमालाई के गर्दैछु भन्ने…? शुरुशुरुमा त ढाँट्न कोसिस गरेँ तर, पुनर्वाश भएका आफन्त र छिमेकीहरूबाट कुरा खुल्यो भने आमालाई चोट पुग्ला भन्ने डरले सबै कुरा सविस्तार सुनाएँ । तर, बिस्तारै प्रगति हुने कुरामा विश्वस्त पारेँ ।
एक पटक “हाउस् किपिङ् गर्छु” भन्दा आमा धेरै बेरसम्म बोल्नु भएको थिएन ! आमाको त्यो मौनतालाई म बुझ्न सक्थेँ । पछिपछि कम्पनीमा काम पाएँ भन्दा कस्तो कम्पनी, के गर्नुपर्छ, तेरो पढाइ सम्बन्धी पर्छ कि पर्दैन ? भनेर अनेकौँ प्रश्नहरू सोध्नुहुन्थ्यो । युनिभर्सिटीले नलिएको खण्डमा आमालाई आघात पुग्ने डरले मैले आमालाई युनिभर्सिटीमा एप्लाई गरेको कुरा नै सुनाइनँ ।
सन् २००९ डिसम्बर, एक तारिख युनिभर्सिटीबाट घरमा भर्ना मञ्जुरीको चिट्ठी आयो । त्यसिदन बेलुका फोन गरेर सुनाउँदा आमाको खुसीको सीमा नरहने कुराको आँकलन मैले गरेको थिएँ । त्यसपछि प्रत्येक चोटि फोन गर्दा मुख्य विषय पढाइ र काम नै हुने गर्थ्यो । बाबा-आमा अमेरिका आउँदा मैले दोस्रो सेमिस्टर सकेको थिएँ । म पार्ट टाइम काम र फुलटाइम कलेज जान्थेँ । मेरो व्यस्तता देखेर होला आमाले मलाई काम नगर्न भन्नुभयो । त्यसपछि आमाको भत्ताबाट गाडीमा ग्यास र खाजा खाने खर्च चलाउँदै फुलटाइम पढाइमा लगाएँ ।
हामीभन्दा पछि अमेरिका आएकाहरूले स्मार्ट फोन र नयाँ गाडी कुदाएको देख्ता कहिले कहिले आह्रिस लागेर आउँथ्यो । अमेरिका आएर पनि सुख भोग गर्न नसकेको जस्तो लाग्थ्यो । धेरैचोटि आफैँले आफैँलाई गाली पनि गरियो । कहिले कहिले मन पनि भड्कीन्थ्यो । तर, परिवारको आथाहा सहयोग र प्रेरणाले क्षणिक भन्दा दीर्घकालीन खुसीको बाटोमै धकेली रहन्थ्यो । बारम्बार आमाले पढाइको बारेमा सोध्नुहुन्थ्यो । नेपालमा वर्षको एउटा ईक्जाम हुन्थ्यो तर, यहाँको सेमिस्टार सिस्टम आमा बुझ्नुहुन्न थियो र कहिलेकाहीँ ईक्जाम, टेस्ट र कुइज भनेको सुन्दा,“अमेरिकाको पढाइ दिक्कलाग्दो हुँदोरहेछ”, भन्नुहुन्थ्यो ।
मेरो फाइनल सेमिस्टर थियो तर, मैले हल्लै गरिन । आमा-बाबा र ठूलदाइलाई एकैचोटि ग्य्राजुएशन डे मा बोलाएर सरप्राइज दिने गीतु र मेरो सोच थियो । एक दिन एकाबिहानै पिट्स्बर्गबाट बाबाको फोन आयो । म फाइनल थेसिस सक्न भनी बिहान पाँचै बजे लाइब्रेरी गएको थिएँ । बाबाले न्यु हेम्प्शायरमा हजुरबाको अचानक स्वर्गवास भएको दुःखदायी खबर सुनाउनु भयो । त्यो सुनेर मेरो दिमागले थेसिसका बारेमा सोच्नै सकेन । कोठा पुगेर यो दुःखद खबर गीतुलाई सुनाएँ । गीतुले दिन गन्दै भनिन्,“तपाईँको ग्य्राजुएशन र हजूरबाको कामको एकै दिन पर्नेरहेछ; तपाईँले आमालाई दिने भनेको सरप्राइज पूरा नहुने भयो ।” उनले यति भनेपछि मलाई कता-कता नमिठो लागेर आयो । तर हजूरबाको देहावसानको पीडामा मेरो खिन्नताको कुनै स्तर थिएन, यो समयकै खेल हो भनी चित्त बुझाएँ ।
अन्डर-ग्य्राजुयेटमा आफू बिरामी परेर जान नसकेकाले यो ग्य्राजुएशन सेरमनीको मेरा लागि ठुलो महत्त्व थियो । मेरो सरप्राइजको अब कुनै औचित्य पनि थिएन । ग्य्राजुएशन सकेर बाबा-आमालाई न्यु हेम्प्शायरमा लिन आउने कुरा आमालाई भने । आमा निकै कम्जोर हुनुभएको थियो । सुगर र पेटको रोगले आमालाई सताइरहन्थ्यो । बाबाले फोन गरेर आमाको स्वास्थ्यको जानकारी गराइरहनु हुन्थ्यो । आमालाई सञ्चो भएन भनेको सुन्दा बारम्बार मनमा अफ्शोच भइरहन्थ्यो । तर, फाइनल ह्वीक परेकाले छोडेर जान पनि सकिनँ । हजूरबाको कामको बाह्रौं दिनमा बाबाले आमालाई निक्कै गारो पारेको खबर दिनु भो । यो खबरले मेरो ग्य्राजुएशनप्रतिको मोह पनि रहेन । भोलिपल्ट बिहानै कान्छो भाइ र म न्यु हेम्प्शायरतिर लाग्यौँ । बाटोमा कान्छा काकाले आमालाई साह्रो परेर इमरजेन्शी भर्ना गरिएको छ भन्ने खबर सुनाउनु भयो । यो खबरले त झन् यात्राभरि हाम्रो गाडी लिमिटभन्दा माथि गुडेको थियो । धन्न ल इन्फोर्समेण्ट अफिसरको आँखा हामीमाथि परेन ।
लगभग साँझको पाँच बजेतिर हामी एलीयट अस्पतालको कोठा न॰ ३४५ मा पुग्यौँ । आमा अधर्चेत अवस्थामा हुनुहुँदो रहेछ । अगाडि साह्रो परेको बेला आमाले छोरा खोज्नुभएछ र काकाले आउँदै छन् भन्नु भएको रहेछ ! भाइले कोठामा पस्ने बित्तिकै आमालाई बोलायो…। आमाले सानो स्वरमा “आईपुग्यौ…” मात्र भन्नुभयो । एक क्षण वातावरण सुनसान भयो । सानो स्वरमा आमाका मुखबाट अय्याऊ-अय्याऊ आवाज निस्कँदै थियो । मेरो बोली फुटेन । भाइका आँखामा आँसु देखेर मैल उसलाई इसाराले कम्जोर नहुन भने र आमाको हात सुम्सुम्याउँदै कहाँ दुख्छ आमा भनी सोधेँ । “ए तँ पनि आइस्, तेरो त ग्य्राजुएशन भनेको हैन….म जाती भई हाल्थेँ निः, किन छोडेर आएको?”, आमा फेरी सन्तानकै चिन्तामा हराउनु भो । तपाईँलाई जाती बनाई घर लान आएको निः भन्दै म आमाका हात मसाज गर्नथालें । भाइलाई आमाका गोडा मसाज गरिदिन भनेँ । आमा फेरि मेरै चिन्तामा हराउनु भो क्यार…बोल्नुभएन । तर म भने बोल्दै थिएँ । “ग्य्राजुएशन सेरमनी त औपचारिकता मात्रै हो आमा ! तपाईँको छोरो इञ्जिनियर भयो!”, यो वाक्य नै टुंग्याउन नपाई आमाका आँखा खुले । आमाको अनुहार एकाएक रातो भयो । आफ्नो हात मेरो शिरमा राखी स्याब्बासी दिँदै आमाले भन्नुभयो,“बल्ल मेरो आशाको फल फल्यो…!”