इच्छा
शम्भु गजुरेल अज्ञानी
नुवाकोट
टुसाइ मातृ कोखमा फलें म सौम्य भूमिमा
अमूल्य मल्मली धरा जहाँ छ प्रेम बासमा
हिडें म पेट घस्रिदै अबोध बाल्यकालमा
सुगन्धयुक्त मृत्तिका दलें सधैं निधारमा।
नदी नसा स्वदेशको र रक्त स्वच्छ हो जल
हिमाल श्रोत प्राणको हियार पार्छ निर्मल
पहाड ढाड दर्बिलो अरण्य शान्त आलय
मधेस अन्नको धुरी मुहार हो हिमालय।
अनेक जात वर्णका असंख्य फूल छन् जहाँ
दया र दान झाँगिने करोड मूल छन् जहाँ
बुटी छ शैल कापमा सुयोग्य वैद्य गाउँमा
हुँदैन बैरभावको निवास सभ्य ठाउँमा ।
महान बुद्ध जन्मिए कठोर साधना गरे
कराल खाँद मार्गको अगम्य ज्ञानले भरे
असारमा हिलो निलौं चलाउदै हलो जुवा
सुनेर बासुरी सधैं रमौं म कष्ट भैदिदा।
बगाइ स्वेद देहको शिला बनाइ उर्बर
भरौं म पेट बिश्वको फलाइ अन्न झर्झर
पुजौं म शैल कन्दरा बचौं म स्वच्छ फाटमा
हुँदा त प्राण अन्त यो जलौं म आर्यघाटमा ।
छन्द पञ्चचामर