इतिहासमा नलेखिएको एउटा कथा

प्रवासी कृष्ण घायल सुब्बा

‘तातो ढुङगा सुख्खा बगर छट्पटाउँदै उठेको छु
हजारौँ आँसुका थोपा भुईँमा लट्पटाउँदै उठेको छु
थाहा छैन मातृभूमि कुन मरुभूमिमा होलिन्
आधारातमा ऐँठन हुँदा च्टपटाउँदै उठेको छु ।’

साँच्चै नै हाम्रो बाध्यता यस्तै छ । कुनै पनि रात विना ऐठन कटाएका छैनौँ । कुनै रात सञ्चोसंगले सुत्न पाएका छैनौँ । त्यो कस्तो ऐठन हो । तपार्इं जान्न चाहानुहुन्छ ? हो म त्यही भन्दैछु । हाम्रो प्रत्येक निन्द्रामा ऐठन गराउन आउनेहरु ती आफ्नै माटोलाई बलात्कार गर्ने नरपिसाचहरु हुन्, जो हरपल हरक्षण एक लाखभन्दा बढी भूटानी शरणार्थीहरुको मध्यरातको निन्द्रालाई भङ्ग पारेर आफ्नो साम्राज्य जमाउन चाहन्छ । कस्तो विडम्बना, प्रतिकारको रूपमा हामी मुठ्ठी दह्रो पारेर दाँत किट्नशिवाय अरू केही गर्न सक्तैनौँ । यस्तै छ हाम्रो बाध्यता । माटोबिना जिउनु र देशविहीन भएर छट्पटाउनुको अर्थ हामीले १७ वर्ष लामो शरणार्थी जीवन बाँचेर धेरै बुझिसकेका छौँ । आज एक लाखभन्दा बढी भूटानी शरणार्थीको भविष्यमा प्रश्न चिन्ह लागेको छ । कति दिन यसरी अर्काले दिएको एकमुठी चामलले आफ्नो भविष्य निर्धारण गर्ने हो, यो त केवल संसारमा भगवान् बाहेक अरू कसैलाई थाहा नहोला । एउटा गोली लागेको मृगको जीवनको ग्यारेन्टी कसले दिन सक्छ ? हो त्यस्तै छ हाम्रो जिन्दगी एउटा घाइते मृग बाँच्ने झिनो आसमा अन्धकारको उकाली यात्रा गरिरहे झैँ, हामी पनि शरणार्थीको मुखुण्डो ओढेर कहिल्यै नभेटिने क्षितिजको अकल्पनीय यात्रा गरिरहेका छौँ । थाहा छैन कुन घुम्तीमा हाम्रो यात्राको अन्त्य हुन्छ । त्यो त बाढीरुपी समयको खेल हो जसलाई ठुला— ठुला बाँध र पहाडहरुले पनि छेक्न सक्तैन । परन्तु जिन्दगी जिउनु नै पर्दो रहेछ, चाहे किन व्रिकेटको प्रदूषित धुवाँसंग मुकाबिला गरेर नहोस् अनि किन अभाव र अप्ठ्याराहरुसंग जुधेर नहोस् ।निरन्तर खोलाझैँ बग्नु पर्दोरहेछ । जिन्दगी सागररुपी गन्तब्यमा पुग्न । साँच्चै आज म जस्तै लाखौँ भूटानीहरुको जीवन खोला जस्तै विभिन्न बाधा अवरोधलाई पार गर्दै सागर पुग्ने आशामा निरन्तर अघि बगिरहेको छ ।

साँच्चै यो प्रवासी बस्तीमा सबैको कथा एउटै भए पनि भित्री गहिराइमा डुबेर हेर्ने हो भने यता—कता भावहरु एकबाट अर्कामा पृथक् पाइन्छन् । यस्तै पृथक् कथामध्ये म एउटा यर्थाथ कथा यस कार्यक्रम मार्फत सम्पूर्ण जनमानसमा पुर्‍याउने जमर्को गर्दैछु । जुन कथा मृत्युसंग सङ्घर्ष गरेर अर्थहीन जीवनमा फर्किएको एउटा मान्छेको हो । जसको अधिकार माग्ने हातहरुमा हतकडी लगाइयो, न्याय हेर्ने आँखामा पट्टी बाँधियो । अनि सर्वहारा जनताको निम्ति मुक्तिको बाटो खन्न गैंती, फरुवा उचाल्दा देशद्रोहीको आरोप लगाइयो । हो त्यही मान्छेको कथा हो यो । यो कथा श्रोताहरुको भित्री मन छुने उद्धेश्यले कथाकारले बडो संवेदनशील भएर आफ्नो कथामा वियोगका घटनाहरू क्रमबद्ध रूपमा समावेश गरेकोभन्दा कम छैन । यो कथा सुन्दा मन कोमल भएकाहरुको आँखा रसाउन सक्छ भने मन दह्रो भएकाहरुले मुठ्ठी कसेर एकपल्ट भूटानको तानाशाही राजतन्त्रलाई मुढा हान्न पछि पर्दैनन् । कुरा केही साल अघिको हो। म शनिश्चरे शिविर अन्तर्गत सेक्टर आइ वान् छाप्रा नम्बर ५२ को छत्रमान राईको पराले झुपडी भित्र टाउको निहुराएर पस्न पुग्छु । पूरा घरै अन्धकार जस्तो थियो । लाग्थ्यो धेरै पहिले नै यस घरका मान्छेहरू अन्त कतै सरिसकेका छन् । परन्तु एउटा कुनामा दियोले कञ्जुष्याई पूर्वक मधुरो प्रकाश छरिरहेकोले भन्न सकिन्थ्यो, पक्कै पनि यहाँ कोही हुनुपर्छ । साँच्चै नै त्यो मधुरो उज्यालोको अधुरो प्रकाशमा छत्रमान दाइ कागज पत्र पल्टाउँदै हुनुहुन्थ्यो । मलाई देखेर कागजको थाकबाट आँखामाथि उठाउँदै बोल्नुभयो, “ए कृष्ण भाइ पो! खै के कामले आएका थियौ कुन्नि ?” प्रतिउत्तरमा म बोलेँ- “छिमेकी दाइकोमा आउन पनि खासै काम चाहिन्छ र ? बरु तपार्इँ चाँहि भन्नुस् न यो अन्धकारमा के गरिरहनु भएको ?” “ल भाइलाई थाहा छैन्, भोलि हाम्रो सेञ्चेस् हो । त्यहाँ कागज पत्र देखाउनु पर्छ रे । त्यसैले झेलबाट छुटेको एउटा कागज थियो। खै कता पर्‍यो पर्‍यो । त्यही खोज्दै गरेको। भेट्दै भेटिनँ।” उहाँका यी वाक्यहरु सुनेपछि म मनमनै सोच्न थालेँ । पक्कै पनि छत्रमान दाइसँग झेलभित्रको दर्दनाक कथा हुनुपर्छ । अनि प्रतिज्ञा गरेँ म अब उहाँका पीडाहरुलाई अवश्य कागजमा उतार्नेछु । ज-जसले यो कथा सुन्नेछन् उनीहरूले आफ्ना र आफन्तका पीडालाई आक्रोशमा बदल्नेछन्, भन्ने लाग्यो । त्यसैले पुन: मैंले छत्रमान दाइलाई प्रश्न गरेँ- ” त्यसो भए त तपाईँ भूटानको जेलमा पनि पर्नु भएछ है । सुनेको थिएँ झेलमा धेरै यातना दिइन्थ्यो रे, पानी— पानी भनेर छट्पटाउँदा मुखमा पिसाब गरिदिन्थ्यो रे अनि दुई मुठ्ठी भातमा चारमुठी सिसामिसाएर खान बाध्य पारिन्थ्यो रे । दाइ, यदि भन्न मिल्छ भने मलाई त्यो तपाईँको अतीत सुनाएर मन हलुका पार्नुस् र म तपाईँको यो अतीत सुनेर मनमा क्रान्तिको भावना जन्माउन सकूँ ।”

त्यसपछि केही क्षण हामी बिचम मौनता छायो। त्यो मौनतामा घडीको छ्याक— छ्याक आवाजले सुमधुर सङ्गीत भरिरहेको थियो । मैँले यसो घडी हेरो रातको ९:०० बजिसकेको रहेछ । केही क्षणको मौनतालाई भङ्ग पार्दै दाइ बोल्नु भयो – “यदि सुन्न चाहान्छौ, भने म तिमीलाई मेरो दुईवर्ष लामो जेल जीवनको दर्दनाक कथा सुनाउँछु । तिमी सुन्दै जाऊ जहाँ एक दिनको घाम अनि सयौँ दिनको पानीले मेरो अतीत सुसज्जित छ” ।

त्यस पछि छत्रमान दाइले अतीतका पानाहरु क्रमैसंग पल्टाउन थाल्नुभयो । उहाँले अगाडि भन्दै जानुभयो- “कृष्ण भाइ, सन् १९९० बाट सम्पूर्ण दक्षिण भूटानमा आफ्नो खोसिएको अधिकारको निम्ति गाउँ- गाउँमा शान्तिपूर्ण जनआन्दोलन सुरु भयो । हाम्रो सिब्सु गाउँ पनि त्यस आन्दोलनबाट अछुतो रहेन । हामी पनि सम्पूर्ण गाउँले एक भएर आफ्नो अधिकारको निम्ति शान्तिपूर्वक आवाज उठाउन थाल्यौँ । किनकि हाम्रो पनि अधिकार खोसिएको थियो । यहाँसम्मको अधिकार खोसियो कि भाइ आफ्नो नेपाली भाषा बोल्न नपाइने रे, आफ्नो भेष लगाउन नपाइने रे, अनि प्रत्येकले जोङखा भाषा बोल्नु पर्ने रे नेपाली चेलीले कपाल काट्नु पर्ने रे । हाम्रो सबै नेपाली किताबहरू डढाइयो । एउटा राष्ट्रप्रेमी, भाषाप्रेमी अनि न्यायप्रेमीलाई योभन्दा ठुलो अपमान र पीडा अरू के हुन सक्छ ? त्यस आन्दोलनमा म पनि सक्रिय रूपमा लागेको थिएँ । नोभेम्बर ५, १९९० को कुरा हो, मलाई छिमी छिरिङ जोङदाद्धारा चिठ्ठी काटेर बोलाइयो । म पनि छिमीको आज्ञापालन गरेर सम्बन्धित ठाउँमा गएँ । त्यहाँ म लगायत नरसिंह राई, प्रेम राई, चक्रमान राई, आशबहादुर सुब्बा, रनबहादुर राई गरी जम्मा ६-७ जना जम्मा भएका थियौँ । छिमीले बिनाकारण बिना सोधपुछ हामीलाई पुलिसको साथमा पठाइदियो । साँच्चै भाइ, म त छाँगाबाट खसेजस्तै भएँ। आखिर किन हामी पुलिसको साथमा पठाइदैछौँ ? अनि हामीलाई पुलिसले यो हाको डरलाग्दो जङ्गलमा विभिन्न प्रकारका गाली गर्दै डँढालोमा लात्तीले हान्दै त्यो नाक ठोकिने उकालो बाटोमा हात पछाडि बाँधेर हिँड्न विवश बनायो । त्यतिमात्र कहाँ हो र भाइ पुलिसको गह्रौँ भारी पनि बोक्न लगाइयो, नमाने राइफलको नालले टाउकोमा हान्थ्यो । यसरी त्यो कठ्याङ्रिँदो जाडोमा हामीले धेरै लामो यात्रा गर्‍यौँ । राति सुत्दा स्याउला ओछ्यानु पर्दथ्यो, ओढ्ने त्यो विशाल आकाश थियो । म त राती जाडोले खुबै काम्थेँ । अनि दुई हात दुई खुट्टाको बिचमा हालेर कुम्लो परेर सुत्थेँ । बिहान उठ्दा शरीर पुरै शीतले भिजेर निथ्रुक्क भएको हुन्थ्यो । हामीलाई हतकडी लगाएर त्यत्तिकै राख्थे, उनीहरू चाँहि हाँस्दै आगो ताप्थे । अनि बिहानीको मुटु नै कमाउने सिरौटोसंग मितेरी लगाउँदै थर्थर् ओठ् कमाउँदै बाटो लाग्नु पर्थ्यो ।

यसरी तीन दिनको कठोर पैदल यात्रापछि हामीलाई नोभेम्बर ८, १९९० को दिन हा जेलमा पुर्‍याइयो । त्यसपछि हामी सबैलाई बेतको लौरोले कुट्दै बयान लिन थालियो । हामी त देशद्रोही रे, आतङ्कवादी रे, हामीलाई फाँसी दिइन्छ रे । हामीले राजाको विरोध गर्‍यौँ रे । म छक्क परेँ भाइ, आखिर त्यस्तो ठुलो गल्ती हामीले के गरेका थियौँ र ? सिर्फ आफ्नो अधिकारको निम्ति आवाज उठाएका थियौँ । हामी न त राजा विरोधी थियौँ न त सेना विरोधी । हामी त केवल अन्याय विरुद्ध न्यायको निम्ति लड्दै थियौँ त्यो पनि हतियाररुपी मान्छेमा आवाजरुपी गोली भरेर । के अन्याय विरुद्ध बोल्नु हाम्रो गल्ती थियो भाइ ? तर कस्तो विडम्बना, म जस्तो देशप्रेमीलाई देशद्रोही रे । तिमी नै भन त भाइ एउटा देशप्रेमीलाई देशद्रोहीको आरोप लाग्दा उसको मन कति रुन्छ होला । हो भाइ त्यस्तै गरी मेरो पनि मन धेरै रोयो, मैँले आफैँलाई सम्हाल्न सकिनँ नि एउटा कुनामा बसेर बेस्सरी रोएँ । तर त्यो मेरो रुवाईको कुनै अर्थ रहेन मेरा आँसुभित्र छिपेको सत्यतालाई कसैले बुझ्न सकेन । ती ढुङ्गाको हृदय भएकाहरुले मेरो चित्कारलाई बुझ्न सकेनन् । केवल आँसुका बदलामा गाली पाएँ । यसरी त्यो हा जेलमा मेरो एक दिन एक रात बित्यो भोलिपल्ट बिहान थिम्पु केन्द्रीय जेलबाट पुलिसको भ्यान आएर हामी सबैलाई केन्द्रीय जेलमा लगियो ।

त्यसपछि त हामीले घाम-जून पनि देख्न पाएनौँ । कहिले रात पर्थ्यो कहिले दिन हुन्थ्यो हामीलाई केही पत्तो हुँदैन थियो । एउटा हतकडीमा दुई जनालाई बाँधिन्थ्यो, निर्दयीहरुले पिट्नसम्म पिट्थे । साँच्चै कृष्ण भाइ, हामी त चौतारीको मादल जस्तै भएका थियौँ । जसले पायो उसैले ठोक्ने । यतिसम्म कि भाइ हामीलाई जेलको चौकीदारसम्मले पिट्थ्यो । दिसापिसाब आयोभन्दा पनि भित्रै गर भन्थ्यो । प्रत्येकले दिनको ६- ६ डन्ठा कुटाइ खानु पर्थ्यो । केन्द्रीय जेलमा हामीलाई प्रत्येक दिन जसो बयान सोध्ने गरिन्थ्यो । नभएको अनि नगरेको कुरा पनि जबरजस्ती हो बनाएर कागजमा सही लाउन लगाइन्थ्यो । जिउभरि जताततै चोटैचोट थियो । तर पनि किन हो किन भाइ मलाई त्यो बाहिरी चोटलेभन्दा पनि भित्री मनमा लागेको चोटले बढी सताउँथ्यो । मलाई चिन्ता लाग्थ्यो कतै हाम्रो आन्दोलन मत्थर त हुने होइन ? फेरि मनमनै भन्थेँ, हुँदैन, कदापि हुँदैन। हाम्रो आन्दोलन कुनै हालतमा पनि मत्थर हुँदैन । बरु यो सल्किएको विद्रोहको ज्वालाले तानाशाही राजतन्त्रलाई भष्म पारेर प्रजातन्त्रको सुनौलो बिहानी ल्याउने छ । यस्तै यस्तै कल्पनामा म रातदिन कटाउँथे । तर एक रात मलाई केही पुलिसहरु आएर अँध्यारो कोठामा लगे र निर्धातरुपमा पिट्न थाले उनीहरू यसो भन्दै थिए- ‘तँ बाँचेको आज मात्र हो। भोलि त तँ मरिसकेको हुनेछस् र तँ मरेको खबरसम्म तेरा बुवाआमाले थाहा पाउने छैनन्।’ यति भनिसक्दा मेरा आँखामा आँसु अटाएनन् । म मेरी बढी आमा र बुढा बुवालाई सम्झेर रुन थालेँ । मेरो अघिल्लो रातको सपनी आज विपनीनै बन्छ झैँ लाग्यो। त्यो रातको सपनी मैँलै यस्तो देखेको थिएँ ।

साँच्चै कति माया गर्नु हुन्थ्यो मलाई मेरी आमाले । अझै पनि याद छ त्यो दिन जुनदिन म छिमीकोमा जान लाग्दा पिँढीमा बसेर सुर्तीको धुँवा फाल्दै आमाले भन्नुभएको थियो- “छोरा तँ घर चाँडै फर्केर आइज है । तँबिना त म कसरी बाँच्नु ? त्यसैले छोरा केवल मेरो निम्ति भए पनि तँ फर्केर आउनु पर्छ।” त्यसबखत मैँलै आमालाई भनेको थिएँ- “म अवश्य आउनेछु, आमा म अवश्य आउनेछु। तपाईँको निम्ति अनि यो बिग्रिरहेको देशको उद्धारको निम्ति म आउनेछु, आमा म अवश्य आउनेछु।” तर त्यो दिन जुनदिन मलाई अन्धकार कोठामा कुट्न थाले त्यसबखत मलाई यस्तो लाग्यो भाइ, अब मैँले मेरा आमा र बाबालाई भेट्न नपाउने भएँ, म त मर्ने नै भएँ। यस्तै-यस्तै सोच्दै थिएँ । मलाई एउटा पुलिसले ठुलो लठ्ठीले टाउकोमा हान्यो। त्यसपछि त म बेहोश भएछु। धेरै समयपछि म होसमा आउँदा मेरो छेउछाउमा कोही थिएनन् । मेरो शरीर वरिपरि रगतको पोखरी जमेको थियो । म दुई हातले टाउको थामेर उठेँ अनि पुन: साथीहरू भएको ठाउँमा गएँ । मलाई त्यहाँ देखेर साथीहरू छकक परे किनकि उनीहरूले त मलाई मारिसके भन्ने सोचेका रहेछन् । उनीहरूले मलाई हर प्रकारले सान्त्वना दिए। त्यो साथीहरूको सान्त्वना पनि मेरो गहिरो चोटको निम्ति मलम साबित भयो । यसरी नै त्यो अन्धकार जेलमा ६ महिना लामो जेल जीवन पार गरियो न त घाम देख्न पाइयो न त जून नै। केवल अन्धकार थियो जताततै । ६ महिनापछि हामीलाई त्यो अन्धकार कोठाबाट बाहिर निकाले पनि हामीलाई बारम्बार यातना दिइरहन्थे । त्यो ६ महिनाको अन्तरालमा मेरो कपाल छोरी मान्छेको जस्तो लामो भइसकेको थियो । सत्य- सत्य कृष्ण भाइ, त्यो ६ महिनासम्म मुखसम्म धुन पाइएन नुहाउन त कुरै छाडौँ । ननुहाएर पुरै शरीर दुर्गन्धित थियो । ६ महिनापछि केही सुविधा मिलेको जस्तो भान भएपछि हामीलाई दिनभरि लेबररसरह काम गर्न लाउँथे, राति सुत्दा भने पुन: हतकडी लगाइदिन्थे । हामीले त्यहाँ गर्नु पर्ने जति काम सबै गर्‍यौँ । कहिले गिट्टी कुट्नु पर्थ्यो, कहिले ढुङ्गा बोक्नु त कहिले बाटो खन्नु पर्‍यो। त्यति काम गर्दा पनि काँचो आँटा पानीमा घोलेर खाना स्वरूप खानु पर्थ्यो। अनि सँगसँगै बेतको लौरी पनि । कस्तो दुर्भाग्य, त्यतिमात्र नभएर नांगानांगै पारेर डँडाल्नोमा आइरनले तताउँथे अनि तिघ्रामा चेपुवा लगाउँथे। एकपल्ट त मरेझैँ हुन्थ्यो भाइ! यस्तै कठोर यातनाबाट मेरै सामुन्ने धेरै साथीहरूको मृत्यु भयो जस्तै डिसेम्बर १८, १९९१ मा रन बहादुर राईको मृत्यु भयो। त्यस्तै गरी डिसेम्बर १९ को दिन दलबहादुर राई र दलबहादुर गुरुङ्गको एकै दिन मृत्यु भयो। पुन: डिसेम्बर २७ को दिन सुकमान सुब्बाको पनि दुःखद निधन भयो । उनीहरूको मृत शरीर परिवारलाई दिँदैनथ्यो। सुनिन्थ्यो मृत शरीर भिरबाट चार किलोमिटर तल फालिन्थ्यो रे । भाइ, यस्तै थियो हाम्रो जेलको बाध्यता । कहिले त यस्तो लाग्थ्यो, म त अब यही जेलभित्र सढिएर मर्ने भएँ । विचरी मेरी आमा म आउने आशामा पिँढीमा बसेर मेरै बाटो हेरिरहेकी होलिन् ।

फेरी अर्को मनले भन्थ्यो, म अवश्य मेरी आमालाई भेट्ने छु । मेरो मनमा यस्तै कुरा खेलिरहन्थ्यो। यसरी नै म कठोर भन्दा कठोर जेल जीवन बिताइरहेको थिएँ । एक दिनको कुरा हो, नोभेम्बर २७, १९९२ मा मलाई त्यस जेलबाट छाडियो अनि म मनमा विभिन्न कुराहरू खेलाउँदै गाउँतर्फ लागेँ । गाउँमा म जब पुगेँ म छक्क परेँ, पुरै गाउँ सुनसान थियो । एउटा— दुईवटा घरमात्र बाँकी थिए । अनि बल्ल थाहा पाएँ, मेरा परिवारलाई त पहिले नै नेपाल खेदाइसकिएको रहेछ । त्यसैले म पनि मेरो परिवारको खोजाइमा भौँतारिँदै नेपालको मोरङ जिल्ला अन्तर्गत शनिश्चरे शिविरमा आइपुगें तर कृष्ण भाइ, म फेरि जीवनमा एक पटक बेस्सरी रोएँ आफ्नो भाग्यलाई धिक्कार्दै। कस्तो दिनमा जन्मिएँछु भन्दै, आफ्नैँमा घृणा पैदा भयो । म शिविरमा आइपुग्दा मेरा आमाबुवा बितिसक्नु भएको रहेछ । कस्तो भाग्य अन्तिम पल्ट आमालाई भेट्न पनि पाइँन । सानी बहिनी भन्दै थिई, आमाले अन्तिम श्वासम्म पनि तपाईँलाई खोजिरहनुभएको थियो । यति सुनेपछि त झनै म डाको छाडेर रोएँ । हो भाइ, यस्तै थियो मेरो अतीत।” यति भनेर उहाँले आफ्नो आँखामा छल्किएका आँसु पुछ्नु भयो ।

साँच्चै, छत्रमान दाइको अतीत सुनेर आज ममा देशप्रेमको भावना जुर्मुराएको छ । उहाँको दर्दनाक कथाले मलाई राष्ट्रको निम्ति केही गर्नु पर्छ भन्ने पाठ सिकाएको छ । अनि विश्वासमा छु- म ती हराएका सहिदहरुको हड्डीखुट्टी अवश्य खोज्ने छु । सहिदका अधुरा सपनालाई म साकार बनाएर छाड्ने छु अनि वीरले छाडेर गएको हाम्रो अपुरो कहानी म अवश्य लेख्नेछु, हो वीरले भुलेको कहानी म अवश्य लेख्नेछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *