इतिहास, म अनि महाराज
क्षितिजको मित्र प्रकाश धमला
अष्ट्रेलिया
महाराज ,
इतिहासको पाना पल्टाएर हेर
मेरो पुर्खाको पदार्पण कसरी भयो देशमा ?
शायद,
बिर्स्यौ होला तिमीले,
वाङ्दीफोड्राङको झार्लांगी,
घना जंगलको फँडानी,
सिस्ने डाँडामुनिको बस्ती,
रातेखोला छेउकी इतिहासे बजु !
सायद,
बिर्स्यौ होला तिमीले,
हिजो छोरालाई राज्याभिषेक दिँदा
टेकेको भूमि चाम्लिमिथांग मैदान |
हो महाराज,
त्यही मैदान हो, मेरा हजुरबुबाले
वर्षौं कोदाली र फरुवा मच्चाएर सम्याएको ,
मेरी हजुरमाले,
वर्षौ हातले दिवाल उभ्याएको,
मेरा बाबाले
जन्मदै अंगरक्षकको अभिभारा निभाएको,
मेरी आमाले
बालिका हुँदै छिमेकीको प्रतिकार गरेकी |
तर महाराज !
तिमीले हिरा निलेर ढुंगो ओकल्ने बानीमा
मेरो भूमिको सुनौलो हार पनि
दाइजो दे ‘ छौ |
महाराज,
छालाको धोक्रोमा मेरा काका हालेर
सुनकोशमा जिउँदै डुबाएको पनि भुल्यौ क्यार ?
मायाहरुलाई बलात्कारको शिकार बनाएको,
पारो जोङभित्र धर्मराज,
चमर्ची खोलामा दिलबहादुर,
माऊखोलामा सुकबहादुर,
च्यांगबारीमा मने मरेको पनि भुलेउ क्यार ?
साँच्चि तिमीले,
मेरो सन्तानको हत्या गर्दागर्दै
जनताबिनाको राजा बनेको पनि भुलेउ क्यार |
महाराज,
तिम्रो विवाहमा मैंले फाँडो र खोले चाटदै
अन्न बेचेर विवाह सहयोग चन्दा दिएको पनि भुलेछौ
र अहिले भन्दैछौ रे-
म आतंककारी ,म देशद्रोही,
म राजद्रोही, म बिदेशी !
हे संसार, सुनिदेऊ,
चारसय वर्ष लामो इतिहास बोकेको म,
कसरी देशद्रोही, कसरी बिदेशी ?
हे संसार बुझिदेऊ,
सय वर्ष अघिमात्र देश छिरेको ऊ
कसरी देशभक्त र स्वदेशी हुनसक्छ ?
Fabulous poem. I Think this poem represents the true story of Innocent people of Bhutan……..
Thank u prakash g