इमेलका भरमा मेरो गाउँ

लेखक
लेखक

डा. लक्ष्मी ढकाल  
द नेदरल्याण्ड्स्

विर्खले केही दिन अघि इमेल लेखेका थिए । बिर्ख मेरा गाउँले साथी हुन् । हामी लामो समय एउटै कक्षामा पढ्थ्यौं । उनीसँग मेरा धेरै कुराहरु मिल्थे–सोचाइ, पढाइको लगनशीलता, खेलप्रतिको चासो र प्रतिस्पर्धाको सामना । तामाङ्ग जाति भएकाले पनि होला, हाम्रा गाउँमा फैलिएका देश निकाला हैंजाले उनलाई छोएन । उनका बाबाआमा गाउँमै बस्छन् । बिर्ख भने शहर र गाउँ धाउने गर्दछन् ।

गाउँको खबरको एक मात्र स्रोत भने बिर्ख नै छन् । त्यसो त दुईचार वर्ष अगाडि अरु साथीहरुसँग पनि सम्पर्क हुन्थ्यो, खबर आदानप्रदान हुन्थ्यो । समय फेरियो, प्राथमिकता बदलियो र उनीहरु पूर्णरुपमा गायव भए । त्यसो त म पनि अर्कै संसार र लगावमा व्यस्त हुन पुगें ।

केही साता अघि विर्खले इमेल लेखेका थिए । उनी गाउँ जाँदै छन् रे । गाउँमा इमेलको सुविधा नभएका कारण पाँचसात हप्ता पछिमात्र सम्पर्कमा आउने बाचा गर्थे उनी । मौकाको फायदा लिँदै, गाउँको यात्रा सफल रहोस् भन्दै भारी प्रश्नकासाथ उत्तर दिएँ । अरु कुरा सोधेअनुसार जवाफ दिए पनि गाउँको खबर लेख्न भने उनी धेरै फारु गर्थे । तरै पनि गाउँको अवस्था, प्रगति र प्रकृतिको चित्रण गरी इमेल लेख्नु, बाबा आमालाई ढोग सुनाइदिनु भनि पेस गरें । बिर्खको इमेलको पर्खाइ निकै लामो भयो । अन्ततः २२ वर्ष अघिका सपना बन्न पुगिसकेका विषयहरु स्मरण गर्दै लेखेछन् बिर्खले –
घर पुगेको रात बाबाआमालाई तिम्रो ढोग सुनाई दिएँ । आमाले तिम्रो बारेमा धेरै सोध्नु भयो । सम्पर्क हुन्छ, फेरि पछि इमेल लेख्छु भने पछि आमाले आशीर्वाद पठाउनु भएको छ । ९० साल र त्यस पछिका प्रगति लेखी पठाउनु छ भनें । त्यो भुमरीका बारेमा कुरा गर्न नचाहने हाम्री आमाले एक्कासी काहानी सुरु गर्नुभयो । ९० सालमा तिमी सानै थियौ । अच्चोटको बेगले एउटा भुमरी आयो । गाउँ उथल पुथल भयो । हाहाकार मच्चियो । गाउँको सुख, शान्ति र समझदारी भय र त्रासमा परिणत भयो । पवित्र र स्वच्छ सम्बन्ध रातारात सिसाझैं चकनाचुर भए । छिमेकीमा शंका उपशंका उत्पन्न हुन थाले । त्यतिखेर नै त हो बले काकालाई आर्मीले पाता कसेर लगेको । आजसम्म उनका परिवार र विशेषगरी आमा विलाप गर्नुहुन्छ । सायद मेरो अनुहार त्रसित भयो होला वा मैले छुट्टै प्रकारले प्रतिकृया गरेँ होला । बाबाले एक्कासी आमालाई काहानी बन्द गर भन्नु भयो । छोरालाई एक्कासी यस्ता डर र भयका कुरा नसुनाऊ । फेरि भोलि बजार जानुछ, आज चाँडै सुत्नु पर्छ भनि बाबा सुत्न जानु भयो । आमाको कथा बीचमा नै रोकियो । मलाई सुत्ने ठाउँ ठिक पारी आमा पनि सुत्न जानु भयो । यस्ता यस्तै विभिन्न कुराहरु मनमा खेलिरहे । गाउँमा सुनेका धेरै घटनाहरु सोच्दा सोच्दै रात बित्यो ।

बिर्खको इमेल पढेपछि मलाई एक प्रकारको अनौठो अनुभव भयो । गाउँको सम्झना झलझली आयो । हाम्रो गाउँ बेग्लै थियो । त्यहाँ राम्रो सामाजिक नियम पालना हुने गर्दथियो । एक आपसमा आदर सत्कार र सहयोगको भावना थियो । एउटा विशाल प्रगतिशिल गाउँ थियो हाम्रो । हरेक घरमा बच्चालाई माया र हौसला दिइन्थ्यो । मेहेनत गर्नुपर्छ, ठूलो मान्छे बन्नु पर्छ, पैसा कमाउनु पर्छ, यस्तै यस्तै अर्तीहरुको गुञ्जयमान हुन्थ्यो । परिवारको सुख कामना गर्न बाबा हरेक औंशीका दिन धाराको शिरमा दूध धारा दिनु हुन्थ्यो, हरेक साँझ भगवानको पूजा आरती हुन्थ्यो । त्यसैगरी घरको माथिल्लो पेटीमा भएको तुलसाको मठमा जल धारा नदिइकन आमाको भोजन हुँदैन थियो । प्रकृति र वनस्पतिको आधारमा चलेको थियो हाम्रो गाउँ । खडेरी लाग्दा गाउँलेहरु मिलेर भगवान रिझाउन पुराण लगाउने गर्दथे र पानी पनि पथ्र्यो । चोट पटक नलागोस् भनेर देउरालीमा पाती चढाउने चलन थियो । फेरि बिर्खको इमेलतिर आँखा बढे–

आइतबारको दिन थियो । किनेमा र खोर्सानी बेची सौदा गर्ने हाम्रो घरको पुरानो चलन त तिमीलाई थाहै छ । त्यसो त हाम्रा वर्षौं देखिका आफ्नै ग्राहकहरु थिए । बजार जानु अघि घरको काममा आमा लाग्नु भयो । घरको काम सकेर बाख्रा र गाईवस्तुको व्यवस्था गरेर हामी बजारतिर लाग्यौं ।
खहरे खोल्सो नाग्ने बित्तिक्कै आमाले हिंजो बेलुका रोकेको बले काकाको कुरा सुरु गर्नु भयो । “आर्मीले लगेपछि बले काकाको निशाना हरायो । डर र त्रासका कारण उनको खोजीको बारेमा कसैले एक शब्द बोल्न सकेन । २३ महिना पछिको कुरा हो । डुङ्पा अफिसले पठाएको भन्दै २ जना आर्मीहरु बले काकाको घरमा आए । चारजना मान्छे भेला गरी डुङ्पा अफिसमा आउनु भन्ने आदेश थियो । बाजे डरले सातो गएको जस्तै गरी हाम्रोमा आउनु भयो । तेरो बाबा, थिङ कान्छा र रिमाल साइँलालाई लिएर बाजे अफिस जानु भयो । धर्मराज गुरुङ्गको घटना सबैलाई आलै थियो । गाउँले छिमेकीले बोलेनन् तर सबैले शून्यताको अर्थ भने बुझे । लगभग बेलुकाको ६ बजेको थियो होला, बले काकालाई झोलुङ्गोमा बोकेर बाजे लगायत तीन जना आउनु भयो । उनीहरुका साथ तीन जना आर्मीहरु पनि आएका थिए । मुखामुख भयो तर कसैले पनि आवाज निकाल्ने आँट गरेनन् । बोल्न पनि त मिल्दैन थियो । भोलिपल्टमात्र बाबाले भन्नु भयो – बले काकालाई मारेछन् । गरीखान नसक्ने बनाएछन् । कम्मरदेखि तल नचल्ने बनाएछन् । दिसा पिसाब ओछ्यानमै छ । बाजे भइञ्जेल बले काकालाई सधैँ चाकर गर्नु हुन्थ्यो । बाजे वितेपछि बले काकाको हालत कमजोरी छ । त्यसैले बरु अरुलाई भेट्न नगए पनि बले काकालाई चाहिँ भेट्न्ू ।”
आमाको यस्तो काहानी सुनेर मेरो आङ सिरिङ्ग भयो । जिउमा काँढा उम्रिए । आमाले मेरो शरीरको लक्षण बुझिहाल्नु भएछ । कथा बन्द गर्दै –“एकै क्षणमा देउराली पुगिन्छ” भन्नु भयो । “त्यहाँ पाती चढाउँदा भलो हुन्छ ।” भन्दै मलाई पनि दुईचारवटा हाँगा लुछेर दिनु भयो । गम्भिरे डाँडाको दृश्य तिमीलाई थाहै छ । तर यो पाली भने अनौठो र धेरै बेग्लै देखियो । थापाको रोपाइँमा बेठी लगाउँदा हामी बसेर रमाइलो गरेको चप्लेटी ढुङ्गो त दुई फ्याक् भएछ । बीचमा ठूलो भ्वाङ्ग परेछ । लाप्चिनी बूढीले भन्दा त्यो भ्वाङ्गमा अजिङ्गर बस्छरे । तिमीहरुको दुवै घरको निशाना देखिएन । आमाले भन्दा तिमीहरुको घरमाथिको काब्राको रुख चाहिँ आर्मीले धेरै वर्ष अघि नै दाउरा बाले रे । गड्डीवाला बाजेको पसल पनि लडिसकेछ । बजार बीचको पीपलको रुख सुकेछ । डुङ्पा अफिस् अगाडिको चौरमा धेरै धजाहरु फर्फराउँछन् ।

इमेल लेखाइ लामो भयो । अब मेरो काममा जाने बेला पनि भयो । आउने शनिबार बजारको विषयमा हामीले चाकाचुली खेलेको ठाउँमा भएको परिवर्तन, जोरपोखरीको पिकनिक लगायतका अरु विषयहरु लिएर लेखौँला ।

मन भारी भयो । नयाँ परिवर्तनहरुका बारेमा जान्न शनिबारसम्म पर्खनु पर्ने भयो । त्यतिञ्जेलका लागि मैले कम्प्युटर पनि बन्द गरें ।

3 Replies to “इमेलका भरमा मेरो गाउँ”

  1. Rp Subba

    Very interesting, sweet. Good to know that Laxmi Bhai has such a good grasp on Nepali language. The write can make any one nostalgic and I could not be an exception.

  2. Niraj Dhakal

    kaka very interesting.aru pani kahani sunaunu ni. Baba has opened your website and I was also there to read. ke yo hamrai bhutan ka gau ko katha ho. Balay vanne sachai kamar vachera suteko nai chha?

  3. Kamal

    Laxmi sir,
    Thanks for writing such an interesting article. Very well presented, touching and so clear. By the way, is it possible to post your article “lach le thau na payeka Mc K”. PES ko magazin ma publish bhako article. I was your student.
    Kamal

Leave a Reply

Your email address will not be published. Required fields are marked *