ईन्टरप्रेटर महेश
जे एन दाहाल
पेन्सिल्भिन्या, अमेरिका
ट्याँ ट्याँ.. एकाबिहानै फोनको आलर्म महेशको कानमा पर्छ। अलार्मको एकोहोरो आवाजले उसको निन्द्रा बिथोल्लिन्छ। ऊ अर्धनिन्द्रामै छामेर टेबुल ल्याम्पमाथि चार्जमा राखेको फोन तान्छ। र सानो आँखाले स्क्रीनमा हेर्छ, आठ बजेको छ। मध्यरातसम्म काम गरेर थाकेको महेशको शरीर! यति चाँडै उठ्न सहज थिएन। कम्पनीको जेनरल लेबर, त्यहाँमाथि मेन्डेटरी ओभरटाइम। शरीर निक्कै थाकेको थियो। “ह्या यति बिहानै उठ्दिन!” ऊ फोनको बेवास्ता गरी फेरि सिरानी मिलाउँदै पल्टिन्छ अर्कोतिर।
महेश अर्कोपट्टी फर्किएको पाँच मिनेटपछि स्नोज भएको अलार्म फेरि बज्छ। ट्याँ ट्याँ..त्यसपछि सुनिन्छ नेपथ्यमा
“महेश.. महेश अब उठ्!” उसकी आमा ढोका बाहिरबाट ढ्याकढ्याक पार्दै कराउँछिन्। बिचरा महेश, ‘आज ज्यादै थाकेको छु, अलिबेरसम्म सुत्छु आमा’ भन्नपनि पाउँदैन। किनकि आज नै उसकी आमाको डाक्टरको एपोइन्टमेन्ट छ। उसले यो बुझेको छ— यो एपोइन्टमेन्ट छुटाए फेरि महिनादिन पर्खनुपर्छ।
महेश धर्मराउँदै बाथरुम पसेर मुख धुन्छ। शरीर तन्काउँदै हातमा गाडीको चाबी लिएर निस्कन्छ मूल ढोकामा। उसकी आमा अघि तयार भएर बसेकी छन्। नौ बजेको डाक्टरको एपोइन्टमेन्ट, जाँदै बिस मिनेट लाग्छ, पन्ध्र मिनेट अघि चेक ईन गर्नु पर्ने नियम छ। “ईन्सुरेन्स कार्ड, स्टेट आइडी सबै बोक्नु भयो?” बिस वर्षीय महेश चालिस वर्षीय आमा जो अङ्ग्रेजी बोल्नु हुन्न, उहाँलाई घरबाट निस्कनुअघि सोध्छ। महेशकी आमा बोल्छीन्, “छ—मैले सबै बोकेकी छु।”
डाक्टरको अफिसमा चेक ईन गरेर महेश एउटा कुर्सीमा ढल्कन्छ। उसकी आमा वरपर हेर्दै बस्छिन्। केही काला केही गोरा अनुहार हेर्छिन्। दश मिनेटको पर्खाइपछि नर्सले भित्रबाट बोलाउँछिन्। “टिका टिम्सीना..”
महेश आमाले झकझकाउँदै गर्दा हँ.. भन्दै उठ्छ। “यसो अडेस् लागेको थिएँ, निदाएछु।” आमाले किन निदाएको भन्ने नसोधी ऊ स्पष्टीकरण दिन्छ।
नर्सले हाईट वेट चेक गरी एउटा कोठामा लगेर राख्छ्न्। त्यहाँ ब्लड प्रेसर र पल्स चेक हुन्छ।
“हाउ इज दि प्रेसर?” महेश नर्सतिर हेर्दै सोध्छ।
“नर्मल” यी नर्सको बादल लागेको धुम्मपरेको अनुहार छ। फेरि न हेल्लो, न हाई भनिन्, यिनको स्वभाव हेर्दा उति खुलेर बोल्छिन् जस्तो उसलाई लाग्दैन। महेशकी आमा अनुहार हेरी केही अनुमान गर्छिन्।
“वाट इज दि पर्पोज अफ भिजीट?” उही बादल लागेको अनुहारले हेर्दै सोध्छीन्।
“फिजीकल चेक अप” महेश नर्सको अनुहारमा हेर्दै उत्तर दिन्छ। नर्स यी सवालका जवाफ एउटा फायलमा टिप्छिन्। “डाक्टर विल बि हेर्य सर्टली।” अर्थात् केही बेरमा डाक्टर आउनुहुन्छ। उनी फुत्त निस्किन्छिन्।
“महेशकी आमा सोध्छिन्, नर्स भएर डाक्टरको क्लिनिकमा काम गर्नु पेसेन्टका अघि यसरी धुम्म हुनु कति सुहाउँदो देखिन्छ? तँ आफैँ सोच त?
“आमा कसैको त्यस्तै स्वभाव हुन्छ। फेरि पहिलो भेटमा कत्ती अमेरिकन खुलेर बोल्दैनन्। परिचयसँगै बिस्तारै खुल्दै जान्छन्।” यो तिनको व्यक्तिगत विचार हो। अन्कनाउँदै ऊ फेरि बोल्छ, माफ गर्नु होला मैले अघि बोलेको शब्द फिर्ता लिएँ। अमेरिकन मात्र हैन, अरू देशका मान्छे पनि अन्जानमा एकैपल्ट त्यसरी खुलेर बोल्दैनन्।”
“नबोलेर कसरी नर्स बन्न सक्छन्? पेसेन्टका अघि नर्सको यस्तै गम्भीर स्वभावमा उभिने मात्र हो? अरू नर्स म जान्दिनँ यो चाहिँ नाप्पेकी रहिछ— एकपल्ट मुस्कान सम्म फालिन।” महेशकी आमाले नर्सप्रति आफ्ना विचार राख्न थाल्छिन्। त्यो त मैले उनको अनुहार हेरी अनुमान गरी सकेको थिएँ। तर महेश सोच्न थाल्छ “ नर्सले भनेको वाक्य, केही बेरमा डाक्टर आउनु हुन्छ। त्यो केही बेर भनेको दश मिनेट? बिस मिनेट? आधा घण्टा, कति हो?” पर्खँदा पर्खँदै फेरि महेश उघ्न थाल्छ।
ठक ..ठक.. आधा घण्टापछि ढोका बज्छ।
“कम ईन..” महेश बोल्छ। अग्ला डाक्टर मुस्कानसहित कोठाभित्र पस्छन्।
“आई एम स्टिभ मिलर” डाक्टरसँग हात मिलाउँदै “महेश तिम्सिना!”
“डु यु स्पिक ईंग्लीस?” डाक्टर मिलरको पहिलो प्रश्न आउँछ।
“आई डु..” भाषा जान्नु पनि स्थिति सहज हुनु हो।
महेश भाषा सिकेकोमा सहज महसुस गर्छ। र तुरुन्त ऊ भन्छ, “बट आई डन्ट वान् टु वि ईन्टरप्रेटर डक्टर!”
“ईफ यु डु ईट विल वि ईजी फर मी!” अम..महेश के गरौंको दोधारमा पर्छ। यसै त थाकेको शरीर फेरि टेलिफोनको ईन्टरप्रेटर जोड्न कति समय लाग्ने हो। महेश समयको बचत गर्न डाक्टर तिर हेरी “ओ.. के” भन्छ। र ऊ आमाको ईन्टरप्रेटर बन्छ।
“टिका, वाट ब्रिंगस् यु हेयर ?” अर्थात् तपाईँ यहाँ किन आउनु भयो?
“पेटमा ग्यास जमे जस्तो हुन्छ। त्यसैले चेक गर्न।”
“फर्मेसन अफ ग्यास ईन स्टोमक, सो आई केम टु चेक!” महेशले त्यही कुरा अङ्ग्रेजीमा फर्कायो। डाक्टर उसको बिरामीतिर हेर्छ।
“इज सि प्रेग्नेन्ट?” के उहाँ गर्भवती हुनुहुन्छ? महेश मुसुक्क हाँस्छ। आफ्नी आमालाई उक्त कुरा सोध्न त्यसपल उसलाई बडो असहज महसुस हुन्छ। ऊ के भनौँ को दोधारमा पर्छ।
“डाक्टर के भन्दै छन्?” आमा महेशतिर फर्किएर सोध्छिन्। महेश शरीरको थकाई र लागी रहेको निन्द्रा यही एउटा प्रश्नले उडाएको पत्तो पाउँछ।
“नो! सि इज नट” आमाको कुरा नसुने जसरी महेश उक्त प्रश्नको आफैँ जवाफ फर्काउँछ। डाक्टर ल्याबटपमा उक्त कुरा टाइप गर्न लाग्छन्।
“एनि फेमेली डिजीज्?” महेश आमातिर फर्केर सोध्छ, परिवारमा कुनै रोग छ।
“छ नि —तेरा बुवालाई मधुमेह” आमा तुरुन्त उत्तर दिन्छिन्।
“येस, डाईबेटीस्”
“टाइप ए अर टाइप बि?” अर्थात् जन्मै देखी लागेको भए टाइप ए र पछि लागेको भएको बि? डाक्टर विस्तृतमा बुझ्न सोध्छन्। उसकी आमा बर्बराउँदै भन्छिन्, नेपालमा ठिकै थियो अमेरिका आईकन भएको हो।
“टाई टु डाईबेटीस्” महेश डाक्टर मिलर तिर फर्किएर बताउँछन्। यति बेला महेशलाई अङ्ग्रेजी भाषा जानेकैमा सहज हुन्छ।
“ले डाउन टिका!” अर्थात् बेर्डमा ढल्कनु होस। डाक्टर मिलर चेकअप गर्न ठिक पर्छन्। त्यस पल महेशलाई लाग्छ यस्ता कुरा म ईन्टरप्रेट गर्न सकिहाल्छु नि। डाक्टर मिलर पेटको दायाँ साइडमा थिच्दै सोध्छन्,
“एनि पेन?” त्यहाँ दुख्छ? आमाको अनुहार हेर्दै महेश सोध्छ।
“नो!”
अब उहाँले बायाँ साइडमा चेक गर्नु हुन्छ रे! उसकी आमा आशावादी आँखा टल्काउँछिन्। र बायाँतिर फर्कन्छिन् । एनि पेन अन? त्यहाँ दुख्छ? डाक्टर आफ्ना स्नेही हातले थिच्दै सोध्छन्।
“अलिअलि..” आमाको मसिनो स्वर सुनेर महेश बोल्छ, “लिटल विट” ऊ कुरा हुबहु इन्टरप्रेट गर्छ। डाक्टर मिलर आफ्ना औँला ल्याबटपमा दौडाउँछन्। अब उठेर बस्न सक्नु हुन्छ! उनी बेडबाट ढाड उठाउँदै डाक्टरतिर हेर्छिन्।
“यु सेड सि इज नट प्रेग्नेन्ट राइट?” फेरि सुरु भयो! महेश झस्कन्छ। र अन्कनाउँदै भन्छ “येस्.. सर” यसपालि महेशले आमालाई डाक्टरले प्रश्न सोधेको हेक्कै दिएन। र आमा टुलुटुलु कहिले महेशका मुखमा कहिले डाक्टरका मुखमा हेरिरहिन्।
“इज सि युजीङ बर्त कन्ट्रोल?” महेश फेरि बडो सङ्कटमा परेको अनुभूत गर्न थाल्छ। एउटा छेराले आफ्नै आमालाई यस्ता प्रश्न कसरी सोध्न सक्छ? होला यो डाक्टरले बिरामीलाई सोध्ने प्रश्न तर छोराले आमालाई हैन। त्यो बेला उसलाई बडो लाजपूर्ण भारी बोकेको अनुभव हुन्छ। भाषा जान्नु पनि निक्कै कष्टकर काम रहेछ।
तर आमा महेशको अनुहार ताक्दै सोध्छिन्, “मलाई केही सोध्नै छाडिस् त के भयो?” यता महेशको अनुहार लज्जा र अप्ठ्यारोपनले पोतिएको हुन्छ। ऊ दोस्रो पल्ट आमाको कुरा नसुने झैँ गर्छ। र डाक्टरको प्रश्नोत्तरमा केन्द्रित हुन्छ। र हड्बडाउँदै भनिदिन्छ, “आई हेब नो आईड्या!”
र महेश सोच्न थाल्छ— कुनै एक समयमा म कलेज पढ्दा कथा र उपन्यासको समरी घोकाइले थकित भएपछि सोच्थेँ, अङ्ग्रेजी जान्नु सर्वस्व हो। र म घोक्न लागेथेँ— फिट्रसजराल्ड, सेक्पियर र गोर्कीका लेखहरू । तर हाल यस्तो अनुभव गर्दै छु अङ्ग्रेजी भाषा जान्नु मात्र सबै कुरा होइन रहेछ।
हँ..अनपेक्षित उत्तर सुनेर डाक्टर मिलर अजीब आँखाले महेशलाई हेर्छन्। ऊ डाक्टरलाई मेरो स्थानमा भएको भए थाहा हुन्थ्यो भन्ने आँखाले हेर्छ।
यसबिच महेशलाई लाग्छ दौडेर बाहिर जाऊँ। यहाँ बसेर म यस प्रश्न आमालाई कसरी सोधौँ। र डाक्टरलाई के उत्तर दिऊँ? कसरी आमालाई सोधौँ डाक्टरले यो प्रश्न सोध्दै छन् कि, के यहाँ परिवार नियोजनको कुनै साधन प्रयोग गर्दै हुनुहुन्छ ? ऊ गहिरो सोचाइमा पर्छ।
“आक्स हर!” डाक्टर अलि जिद्दीको स्वरले ऊतिर हेर्छन्। महेश रिससहित भावना नबुझ्ने डाक्टर मिलर र भाषा नबुझ्ने आमाबिच लाजले रातो अनुहार पार्दै निहुरी पर्छ। र सोच्न थाल्छ, घरभित्रका सदस्यको कहिले ईन्टरप्रेटर नबस्नु रहेछ। सबैभन्दा अप्ठ्यारो त्यहींबेला हुँदो रहेछ जब यस्ता प्रश्नले बारम्बार हमला गर्छन्।
आमा घरी महेशतिर घरी डाक्टरको मुख ताक्छिन्। “महेश किन रोकिएको?” आमा पुन: दोहोर्याएर बोल्छिन्।
निक्कै हिम्मत जुटाएर महेश डाक्टरलाई भन्छ, “सि इज अ पेसेन्ट टु यु, बट मम फर मि!” अर्थात् उहाँ तपाईँकी पेसेन्ट होला तर मेरी आमा हुनुहुन्छ। यहाँलाई मैले पहिलै ईन्टरप्रेटर गर्दिनँ भनेको थिएँ।
“ओ.. गड” स्थिति बुझे जसरी डाक्टर मिलर मुसुमुसु हाँस्छन्। महेश हड्बढाउँछ, यहाँले मेरो अङ्ग्रेजीको योग्यता हेरिराख्नु भयो। म दुबिधामा परेँ। र बाध्यतावश यहाँ बसेको छु। “सरी.. सो! सरी डियर..” डाक्टर मिलर बोल्दै टेलिफोन ईन्टरप्रेटर जोड्न केही नम्बर डायल गर्छन्।
“के भयो किन डाक्टरले फोन डायल गरेका” आमा महेशलाई हल्लाउँदै सोध्छिन्। एक क्षण पर्खनु न महेश सर्माउँदै आमातिर नहेरी बोल्छ। “वाट ल्याङ्वेज?” डाक्टर बिचमा सोध्छन्।
“नेपाली”
ईन्टरप्रेटरसँग फोन कनेक्ट हुन्छ। डाक्टर मिलर र आमाबिच वार्ता सुरु हुनुअघि महेश चिडियाखानाबाट फुत्किएको मृगझैँ बाहिर वेटीङ एरियामा निस्किएर बस्छ। निक्कै ठुलो समस्याबाट मुक्ती भएँ भन्ने सोच्दै ऊ लामो सास तानी अघि उँघ्दै बसेको कुर्सीमा गएर थचक्क बस्यो।
००
तेस्रो मुलुक पुनर्वासले जन्माएको नयाँ भोगाई र यथार्थ नेपालीपनमा । गज्जबको कथा ।