‘ईश्वर भेटिएको’ घोषणा (?)

Pennsylvania, America

Bhakta Ghimire is one of the editors of Bhutaneseliterature.com.

भक्त घिमिरेः पेन्सिलभेनियाँ/अमेरिका

♦ मानिसले ईश्वर खोजेकै छैन-

मानव जीवनको मूल लक्ष्य ईश्वरको खोज होइन, परमानन्द (दीव्य आनन्द) प्राप्ति हो । अर्थात्, जब मानवचेतनाले गाँस, वास र कपासभन्दा बाहिर चिन्तन गर्नथाल्यो, तबदेखि नै शान्ति र समृद्धिको बाटो भएर परमानन्दमा पुग्ने यात्रा शुरु गरेको हो ! भय, लोभ र दोषहरुबाट मुक्त भई आनन्दित रहनका लागि मनुष्यले उपायको खोजी शुरु गऱ्यो । त्यही आनन्द, परमानन्द वा प्रज्ञालाई मानिसले ‘ईश्वर’ नाम दियो ।

तर, त्यो परमानन्द नै ईश्वर हो कि त्यो अपेक्षित परमानन्दको ‘भण्डारे’ अथवा ‘दाता’चाहिं ईश्वर हो भन्ने कुराले मनुष्य फेरि द्विविधामा पऱ्यो । मनुष्यले आनन्द र सुखमा पनि पार्थक्य छुट्याउन सकेन । त्यसपछि उसले अझै नयाँ नयाँ सिद्धान्तहरु जोड्न थाल्यो, अद्वैत, द्वैत, विशिष्टाद्वैत, द्वैताद्वैत आदि-आदि । यद्यपि, ती सबैले खोज्न थालेको चीज फेरिएको छैन । पुग्नलाई ताकेको गन्तव्य बद्लिएको छैन । सबैले लगातार आनन्दकै खोजी गरिरहेका छन् ।

त्यही आनन्दमा पुग्ने सोपानको रुपमा मनुष्य शान्ति र समृद्धि निर्माण गर्न खोज्छ । शान्ति र समृद्धिको सिँढी बनाउन मनुष्य सुखका खुड्किलाहरु जोड्छ ! तर, आनन्दको निवास कहाँ छ भनेर ठेगाना पत्तो पाउँदैन र जतासुकै सिँढीहरु बन्छन्, भत्किन्छन् । भग्नावशेषहरु थपिँदै जान्छन् । मनुष्य तिनै भग्नावशेषमा अल्मलिन्छ र पुरिँदै जान्छ ।

सुख भनेको स्वतःस्फूर्त आउने, बाहिरबाटै प्राप्त हुने साधन हो ! अर्थात् शास्त्रीय भाषामा ‘इन्द्रियजनित विषय’ हो । त्यसो हुनाले सुख खोज्दा पहिले दुःख भेटिन्छ । जसरी अहंकारलाई पार गरेर प्रज्ञामा पुगिन्छ त्यसरी नै दुःख पार नगरी सुखमा पुगिन्न । सुखमा पुगिसकेर पनि मान्छेले समृद्धि भेट्तैन । समृद्धि भेटे पनि शान्ति पाउँदैन । सुखले सुविधा दिलाउँछ तर, शान्ति दिँदैन । शान्ति पाए पनि मनले त्यसको अनुभूति गर्न नसकेपछि मान्छे शान्त बन्दैन ! समृद्धिको भोग गर्दैमा मनुष्यको इच्छा समाप्त हुँदैन । आकांक्षाले अझै परको वस्तु खोज्न थाल्छ, र, त्यो अझै परको वस्तु परमानन्द हो ।

जति नै नजाने पनि मानिसले फेदैमा जान्नैपर्ने कुराचाहिं के हो भने खोजको यात्रामा अघि बढ्ने पहिलो पाइलास्वरुप ‘ईश्वर र धर्मका लागि जीवन होइन; यी सब कुरा जीवनका लागि हुन् !’ यति बुझेपछि मात्र निरन्तर यात्राका थप पाइलाहरु निश्चित गन्तव्यको दिशामा लक्षित हुन्छन् ।  

सुख र दुःख जीवनका व्यावहारिक पक्ष हुन् जो क्षणभरका लागि हुन्छन् भने प्रज्ञा वा परमानन्द यो सांसारिक जञ्जालबाट मुक्त अवस्था हो । अर्थात् मोक्ष, मुक्ति जे भने पनि प्रज्ञा नै अन्तिम गन्तव्य हो । प्रज्ञामा पुग्न मानिस अनेक घुम्तिहरुमा अल्मलिँदै लगातार यात्रारत छ । यस धर्तीका सारा मानिसहरुको सासंस्कृतिक पक्षधरता, राजनीतिक उद्देश्यहरु, साहित्यिक अभियान वा तथाकथित राष्ट्रवादी अवधारणाहरु पनि आनन्दकै लागि हुन् । तर, ती सबै अरुभन्दा उच्च, अरुभन्दा शुद्ध र सबैभन्दा सर्वोपरीताको भ्रम पालेर आफैं पीडित छन्, शिथिल र व्यथित छन् ।

खोज/अनुसन्धान कहिल्यै पूरा नहुने, जति भेटियो अझै धेरै भेटाउन बाँकी रहने अवस्था हो । खोज प्याजका पत्र उक्काएजस्तो प्रक्रिया हो, जति पत्रहरु उक्कायो रहस्य अझ गहिरिन्छ ! जब पत्र सकिन्छ, अनि जीवनले महसुस गर्दछ, यसभित्र केही छैन रहेछ ! मैले जे भेटाएँ त्यसले त मेरो खोजमा अझै रहस्य थपिदियो ! त्यसै कारण बीचैमा पत्र उक्काउन छाडेर भाग्नेले आफूलाई ‘सर्वज्ञ’ महसुस गर्छ, तर जसले सबै पत्र उक्काइसक्यो, उसले सोच्छ–‘मैले जान्नुपर्ने त अझ धेरै बाँकी रहेछ !’ यसै कारण हो थोरै जान्नेले भन्दा धेरै जान्नेले आफूलाई अञ्जान ठान्छ । जान्नेले नजानेको ठान्नुको उदाहरणका रूपमा दार्शनिक सोक्रेट्सको भनाइलाई लिन सकिन्छ । उनको भनाइ थियो,“म एउटै कुरा जान्दछु, त्यो हो म केही पनि जान्दिनँ !” तर, जति नै नजाने पनि मानिसले फेदैमा जान्नैपर्ने कुराचाहिं के हो भने खोजको यात्रामा अघि बढ्ने पहिलो पाइलास्वरुप ‘ईश्वर र धर्मका लागि जीवन होइन; यी सब कुरा जीवनका लागि हुन् !’ यति बुझेपछि मात्र निरन्तर यात्राका थप पाइलाहरु निश्चित गन्तव्यको दिशामा लक्षित हुन्छन् ।

आफूले सबैथोक जानिसकेको, भेटिसकेको बुझ्नेहरु जीवनको आधा यात्रामै ढुक्क भएर बिसाउँछन् तर, केही नजानेको ठान्नेहरुले खोजी जारी राख्छन् ! खोज र साधनाकै कारण मनुष्यले अनेक दुःखहरुबाट निकास पाएको छ । जीवन सुगम बन्दै गएको छ तर, आनन्द प्राप्त भएको छैन । जति खोज्दै गयो उति थप रहस्यमा डुबेको छ । जीवनमा आफूले पत्ता लगाएका नयाँ खोज र आविष्कार देखेर मनुष्य बेलाबेला हौसिन्छ पनि ! तर, उसले खोजेको निर्विकल्प परमानन्द कहिल्यै प्राप्त हुँदैन ।

 

♦ ईश्वर भेटिएको घोषणा-

गोरुले हलो तान्नु आफ्नो कर्तव्य ठान्छ र नै लर-लर मेलोमा हिँडेर बारी जोत्छ । मान्छेले आफ्नो स्वार्थका लागि ‘मलाई जोतिरहेको छ’ भन्ने यदि गोरुले बुझ्द’थ्यो भने उसलाई जुवा, सोइला, जोतारो र हरिसले थाम्थ्यो र ? गोरुले यी सबै कुरा बुझ्दो हो त हलिको के गति हुन्थ्यो, यहाँहरुले स्वयं अनुमान गर्न सक्नुहुन्छ !

यही हो मानिस आफैंले थाहा नपाएको जीवनको रहस्य ! यही हो आनन्दको खोजमा जीवनको मूलस्रोत, सारा अस्तित्वको गन्तव्य अर्थात् ब्रह्म, प्रकृति, अविनाशी वा अव्यक्त ईश्वरप्राप्तिको आकर्षण अथवा ईश्वर आविष्कार गरिएका घोषणाहरु । खोज्दा खोज्दै हारेपछि एउटा मनुष्यले बाटैमा ‘सुन बड्कौंली बाख्री’ भेटेझैं मुफ्तमा आनन्द बाँड्नसक्ने एउटा ईश्वर मन्दिरभित्र भेटिएको घोषणा गर्छ । र, पत्याउनेजति उसैलाई पछ्याएर मन्दिरतिर पस्छन् ! यसरी  निर्मित हुन्छ मन्दिरभित्र ठिंग उभिइरहने प्रतिविम्बमा मानवीय विश्वास आरोपित ईश्वर !

गोरुले हलो तान्नु आफ्नो कर्तव्य ठान्छ र नै लर-लर मेलोमा हिँडेर बारी जोत्छ । मान्छेले आफ्नो स्वार्थका लागि ‘मलाई जोतिरहेको छ’ भन्ने यदि गोरुले बुझ्द’थ्यो भने उसलाई जुवा, सोइला, जोतारो र हरिसले थाम्थ्यो र ? गोरुले यी सबै कुरा बुझ्दो हो त हलिको के गति हुन्थ्यो, यहाँहरुले स्वयं अनुमान गर्न सक्नुहुन्छ ! घोडाले यदि ‘म मान्छेका लागि ढाडमा पसिना गुम्स्याएर भारी बोक्तैछु’ भन्ने बुझेको भए मान्छेले जता भन्यो उतै पुऱ्याउँथ्यो र ? अरुबेला बगरको बालुवा भेट्ता रमाउँदै लडीबडी गर्ने खच्चडहरु मान्छेले भारी बोकाएपछि बगरकै बाटो लुरुलुरु किन हिँड्थे ?

अरुले गरेका तिलस्मी तुक्का र व्याख्यामा भर पर्दै आफूभन्दा बाहिर, स्थूलमा भौतिक विम्बको ईश्वर खोज्नु, विम्बमै ईश्वरीय प्राकट्यको विज्ञापन गर्नु र त्यो पत्याइरहनु गोरुले मान्छेका लागि जोतिदिए जस्तै, घोडाले मान्छेका लागि मरिकुच्च भारी बोकिदिए जस्तै कुरा हुन् । मनुष्य हुनलाई त स्वविवेकले शालीनतापूर्वक आफ्नो प्राकृतिक गुणको, चेतनाशक्तिको उपयोगिता निर्क्यौल गर्नुपर्छ; अरुभन्दा गतिलो देखिनलाई दम्भ साधेर होइन, अरुका लागि उदाहरण बन्न त्यसो गर्नुपर्छ । त्यसो गर्नलाई दृढ साधक हुनु आवश्यक छ ।

साधकहरुले वास्तवमै गहन चिन्तन गर्दै बुझ्नुपर्ने कुरा के छ भने, स्थूलभन्दा सूक्ष्म धेरै गुणाले विशाल र शक्तिशाली हुन्छ ! सूक्ष्मले नै स्थूललाई आफूभित्र अँटाएको हुन्छ । विचार गर्नुहोस, पृथ्वी, जीव र वस्तुभन्दा जल सूक्ष्म हुन्छ र नै समुद्रभित्र पृथ्वी अँटाएको छ । यसरी नै जलभन्दा पनि हावा सूक्ष्म हुन्छ । त्यसैले सारा पृथ्वीको अन्तरीक्ष हावाले ढाकेको छ । यसरी नै हावाभन्दा भुवन (आकाश) सूक्ष्म हुन्छ । आकाशभन्दा अहंकार सूक्ष्म हुन्छ र अहंकारभन्दा पनि परमानन्द वा प्रज्ञा अझै सूक्ष्म हुन्छ । अनि यही परमानन्द वा प्रज्ञालाई दर्शनसास्त्रले ‘ईश्वर’ भनेका छन् । त्यसैले प्राकृतिक संरचना नबुझी मानिसले आफ्नो रुप आरोपित प्रतिविम्बलाई मात्र ईश्वर ठान्नु अज्ञानता र अहंकारको पराकाष्ठा हो ।

  • विम्बको ईश्वर मान्छेले बनाएको कारण नै नररुपी बन्यो ! मान्छेले उसलाई पनि आफूजस्तै कतै छली-कपटी र कतै युद्धनायक, वीर, पराक्रमी, चमत्कारी, जादुवाला भाव दर्शाउने चटकी बनाइदियो !
  • यदि गोरुको चेतनाले ईश्वर बनाउन सक्थ्यो भने गोरु आफू ईश्वर भई मान्छे जोतेर यस जगतका प्राणीलाई भरणपोषण गर्न अन्न उब्जाउने कथा बुन्थ्यो होला !
  • घोडाको मस्तिष्कले ईश्वर बनाउँदो हो त संसारमा सबैभन्दा छिटो दौडिएर एक मनुष्यलाई अर्कोभन्दा अगाडि पुग्ने, स्पर्धामा उछिन्ने दीव्य ज्ञान दिलाएको विज्ञापन गर्थ्यो होला !
  • यदि कुखुराले ईश्वर खडा गर्दो हो त देवता भाले स्वर्गपुरीको आँगनमा बास्तै जगतलाई पवित्र संगीतमय ध्वनि सुनाइरहेको, पोथी देवी ओथरा बसेर जगतकल्याणका लागि दीव्य चल्ला काडिरहेकी बनाउँ’थ्यो होला !
  • बाख्राको चेतनाले यदि ईश्वर बनाउँदो हो त, मान्छेलाई बलि चढाएर आफूले भोज खाइरहेको परिकल्पना गर्थ्यो होला !
  • यदि हात्तीले ईश्वरको निर्माण गर्थ्यो भने मान्छेलाई बाइस्कोपतिर नानाथरिका माला र ध्वजा भिराएर नचाइरहेको दृश्य खिप्थ्यो होला । आधुनिक यन्त्रहरुको व्यवस्था नभएका ठाउँमा ठूलठूला मुढा उचाल्न, हेमान्यको भारी ढुवानी गर्न र नदी तार्ने काममा मान्छेलाई हात्तीले नै कुटी कुटी सधाउँथ्यो होला !
  • यदि स्यालको चेतनाले ईश्वर बनाउँथ्यो भने उसले पनि आफूजस्तै मुखमा कुखुरा च्यापेर दौडिरहेको देखाउँथ्यो होला । आफूजस्तै स्यालरूपी ईश्वरले कुखुराहरुलाई चौरासी लाख योनीको चक्रमा चाँडो चाँडो घुमेर मनुष्य चोला दिलाउने अभियानमा आफ्नो दीव्य योगदान रहेको दाबी स्यालले गर्ने’थ्यो शायद !

♦ ईश्वरको घर-

मैले यहाँनेर यस्ता कुरा गरिरहँदा यो पढेर रिसाउने, बेस्सरी सराप्ने मान्छेहरु हुनसक्छन् । रात-दिन मन्दिरमा गएर साकार दर्शनका लागि ‘ईश्वर’सित याचना गर्नेहरुले ‘यो लेखक नास्तिक रहेछ’ भन्न सक्छन् । तर, म भनिरहन्छु, मन्दिरहरु ईश्वरका घर होइनन् ! मन्दिरहरु सीमित संख्याका ‘ईश्वर चिन्ने’ (प्रकृतिको विधान बुझ्ने) साधकहरुका लागि साधनास्थल हुन् र नचिन्नेका लागि पर्यटन केन्द्रमात्र हुन् । पारिवारिक टण्टा र गन्थनले ध्यान साधनामा बाधा पुग्ला भनेर एकाग्रतामा स्वसंवाद गर्न, ध्यानयात्राको साधना गर्न बनाइएका सार्वजनिक स्थल थिए उहिले मन्दिरहरु; त्यस्ता साधकहरु मन्दिरमा भेला हुनथाले ! ती साधकलाई देख्ने अरु मानिसहरु लट्ठै हुनथाले । उनीहरुकै सामु आफ्नो ‘भाग्य हेराउन’, शक्तिसम्पन्नताको वरदान थाप्न मानिसहरुको पनि भीड लाग्न थाल्यो ! सातु-चामल बोकेर टाढा टाढाका मानिसहरु पनि मन्दिरमा आउनथाले !

यो देखेर उतिबेलाका जौहरीहरुले थाहा पाए, मन्दिरबाट धेरै नाफा रहेछ ! उहिले मन्दिर बनेपछि निश्चित ठाउँको पर्यटन विकास हुन्थ्यो । मन्दिरकै परिसरमा व्यापारीहरु आउँथे । विस्तारै मानिसहरुको जमघट बढ्दै जान्थ्यो ! व्यापारीहरुले आफ्नो फायदाका लागि अझ जम्घट बढाउन थप मन्दिर बनाउँथे । त्यसपछि त मन्दिरहरुकै बजार बन्यो; देवता खोज्ने मान्छेभन्दा धेरै मन्दिर बने । तपाईंलाई थाहा छ निः अहिलेका शहर-बजार पनि उहिले मन्दिर भएकै ठाउँहरुमा केन्द्रित छन् !

मन्दिरहरु पक्कै पनि आय-आर्जनकै लागि बनाइएका संस्थान हुन् । तर, आजको परिवेशमा त्यो आय-आर्जन मुद्राको विनिमय मात्र नभएर अरु सामाजिक उन्नतिका उद्देश्यहरु पनि समेटिएका हुन सक्छन् । स्थानीय समाजको साझा हितमा लक्षित योजनाहरु चलाउन पनि मन्दिर खडा गरिएको हुनसक्छ ।

यद्यपि, ती ईश्वरका लागि बनाइएका घरचाहिं पक्कै होइनन् । जसले बनायो त्यो त्यही समूहका मान्छेहरुको हित गर्न बनाइएको सभास्थल हो । बोलीचालीकै भाषा प्रयोग गर्ने हो भने मन्दिरहरु कमाउनलाई बनाइएका हुन् । त्यसर्थ, मन्दिर नजानु होइन, जानुपर्छ तर, सामाजिक एकताको भावना कमाउनका लागि जाने हो ! मन्दिर भनेको संगठन (हरु) को केन्द्र हो । संगठनले सामाजिक उन्नति, सार्वजनिक उपलब्धि र सर्वकल्याणको उपाय कमाउँछ/कमाउनुपर्छ ! कमाउनु भनेको लिनुमात्र होइन, बाँडेर पनि कमाइन्छ । जस्तो कि शिक्षालाई जति बाँड्यो त्यति कमाउन सकिन्छ ! तर, शिक्षाको नाममा मन्दिरभित्र पस्नेजति सबैले तुरुन्तै ईश्वर भेट्ने; ईश्वरसित दोहोरो संवाद गर्न सकिने घोषणा र विज्ञापन गर्नुचाहिं प्रज्ञामा लीन हुने हैन बरु, गुमाउने बाटो हो ! यसबाट मानिसले विश्वास गुमाउँछ !

यहाँनेर संक्षेपमा समाजले बुझ्ने गरी भन्नुपर्दा ईश्वरको साइनोमा जेसुकै जसरी खोजे पनि खोज गरिरहनु धर्म हो भने ऐश्वर्य र परमानन्द खोज्दा-खोज्दै त्यसको स्रोतका रूपमा ईश्वर भेटिएको घोषणा गरी भौतिक संरचनामा ईश्वर आरोपित गर्नुचाहिं महापाप हो ! त्यो ईश्वरीय तत्व आफ्नो जीवनसँगै आएको छ र, जीवनकै साथमा रहन्छ । अथवा अझ स्पष्ट पारौं, ईश्वरभित्रै जगत छ, जीवन छ अनि जलभित्रै अग्नि भएजस्तो आफ्नो जीवनभित्र पनि ईश्वर छ । आफूभित्र विद्यमान त्यो प्रज्ञालाई चिन्नु नै ईश्वर भेट्नु हो ! बाहिर कतै खोज्नु पर्दैन ।

तर मनुष्यले आफूभित्र के छ विचारै नगरी बाहिर बाहिरै ईश्वर खोजिरहेको छ । भ्रान्तिभित्र ईश्वर खोज्नेहरुको ताँतीलाई नै उनीहरु ‘धर्म’ भनिरहेका छन् ।

♦ ईश्वरलाई छुने ‘धर्म’ को बाटो –

मानिसले ‘धर्म’को बाटो हिँडेर ईश्वरलाई छुन सकिने दाबी गर्दै आएको छ । तर, धर्मको सम्बन्धमा अहिलेसम्मको मेरो अध्ययनले पाँच किसिमका मान्छे रहेछन् भन्ने देखाएको छ ।

१. एउटा यस्तो वर्ग छ जो धर्म भनेको ईश्वर, भगवान, देवता जुनसुकै नामले पुकारिने एउटा हेमान्यको शरीर भएको, आकाशमा घर बनाएर बस्ने दैवलाई खुशी पार्नुपर्छ भन्ने बुझ्छ । त्यो अजंगको शरीरधारी प्राणी जसको कृपाले हामी मरेपछि सुखै सुख र आनन्दको भण्डार भएको अर्कै लोकमा पुग्नेछौं । उसको कृपा नभए अथवा उसलाई खुशी पार्न नसकेमा मरेपछि तेल खारिँदै गरेका बढेमानका कराईमा भुटेर, खारेर, झाँनेर सुकुटीझैं भारमा झुण्डाइनेछ-भन्ने मात्र बुझ्दछ ।

२. दोस्रो तहमा अर्को यस्तो वर्ग छ जो धर्मको नाममा समाजका सांस्कृतिक आधारशीलाहरुलाई आफ्नोमात्र पेवा सम्झिन्छ । कर्मकाण्ड र जातिपेशालाई स्वर्ग, बैकुण्ठ जाने लिस्नो सम्झेर आफूचाहिं अरु सबैभन्दा पहिले लिस्नोको छेउमा पुग्नका लागि आरक्षित रहेको बुझ्दछ । यो वर्गले संस्कृतिका प्राचीन औचित्यहरु आज फेरिएको परिस्थितिलाई बुझ्दछ तर, तिनलाई परिवर्तन गर्न मान्दैन । ती प्राचीन सांस्कृतिक औचित्यभित्र यो वर्गले आफ्नो वर्चस्व देखेको छ । र, त्यसकारण यदि परिवर्तन भए पनि पूर्णरूपमा आफ्नो वर्गको अख्तियारी कायम हुने प्रत्याभूति ऊ चाहन्छ । यसैकारण संस्कृतिमा आवश्यक परिवर्तन हुनुपर्छ भन्ने आवाजसित यो वर्गको दृष्टिकोण कूटिल हुन्छ ।

३. तोस्रो तहमा रहेको वर्ग यस्तो छ कि धर्मलाई आम समाजले बुझेजस्तो गरी लिँदैन । समाजको बुझेको धर्मलाई ऊ एउटा सांस्कृतिक परम्पराको रूपमा मात्र बुझ्दछ । र, सामाजिक पहिचान जोगाउने वहानामा त्यो धार्मिक परम्पराको नजानिँदो पैरवी ऊ गर्दछ । यद्यपि, ऊ त्यसप्रति भित्रैबाट गहिरो दिलचस्पी भने राख्तैन ।

४. चौथो वर्ग यस्तो रहेछ जसले तेस्रो वर्गले झैं धर्मलाई नलिए पनि बुढा-पाकाको चित्त बुझाउनका लागि उनीहरुले जे गरी ल्याएका छन् सोही सोही गर्नुपर्छ; उनीहरुलाई खुशी राख्नुपर्छ र जे चाहन्छन् त्यो गर्न दिनुपर्छ, धर्म त्यति नै हो भनी ठान्दछ । र, यस वर्गले धर्म भनेको ७० वर्ष कटेकाहरुले गर्ने वैराग्य-उपासना मात्र हो भन्ने बुझेको छ ।

५. पाँचौ तहको वर्गचाहिं यस्तो छ जसले धर्म भन्ने शब्दलाई घोर अन्धविश्वासको रूपमा बुझेको छ । यदि कसैले पनि धर्म भन्ने शब्दको उच्चारणमात्र गर्छ भने  पाँचौ तहको त्यस वर्गका लागि त्यो पाखे हो, अनपढ र मूर्ख हो जो अति पक्षपाति हुन्छ र समाजलाई विखण्डनको दिशामा लान्छ !

यी माथिका कुनै पनि धारणाहरु ईश्वरप्राप्तिको यात्रालाई अंगिकार गर्ने लायकका छैनन् । माथि धेरैपटक भनिसकिएको छ, ईश्वरको खोज गर्नका लागि आफूले जति जानेको-बुझेको छ, त्यतिमै अडिएर बस्नु हुँदैन ! यस सम्बन्धमा अनुसन्धानको यात्रा जारी राख्नैपर्छ ।

-नानाश्रान्ताय श्रीरस्तीति रोहित शुश्रुम ।

पापो नृषद्वरो जन इन्द्र इच्चरतः सखा चरैवेति ॥ (ऐतरेय ब्राह्मण, अध्याय ३, खण्ड ३)

—————————————-

-कलिः शयानो भवति संजिहानस्तु द्वापरः ।

उत्तिष्ठस्त्रेता भवति कृतं संपाद्यते चरंश्चरैवेति ॥ (ऐतरेय ब्राह्मण, अध्याय ३, खण्ड ३)

यी श्लोकहरुको अर्थसारांश के हो भने एउटा निश्चित विश्वास आरोपित गरेर ‘मैले खोजेको यति नै हो’ भन्दै निष्क्रिय नबस । निरन्तर खोजी गर, चलायमान बन । यानिकि मानसिक रुपमा अनुसन्धानको यात्रा जारी राख । कहिल्यै नथाक । थाक्नेहरुलाई पापले छोप्छ । हिँडिरहनेहरुले नै ज्ञानको सामिप्यता पाउँछन् । हिँड्नु नै सत्यसम्म पुग्ने एउटा उपाय हो । हिँड्नेहरुलाई नै इन्द्र (लाक्षणिक ईश्वर) ले साथ दिन्छन् । सुत्नु कलियुग समान हो भने सचेत हुनु द्वापरयुग सरह हो । यसरी नै उठेर उभिनुमा त्रेता सादृश्य हुन्छ अनि उद्यमतर्फको निरन्तर यात्रा गर्नु कृतयुग (सत्ययुग) बराबर हुन्छ । यसर्थ तिमी हिँडिरहु ! निरन्तरको साधना यात्रामा रहेर खोज जारी राखे साँच्चो धर्म भेटिन्छ र ईश्वर पनि भेटिन्छ !

तर, हाम्रो समाजले धर्म र ईश्वरलाई यसरी बुझेको छैन । उसले साझा रूपमा जुन सांस्कृतिक अभ्यास गरिरहेको छ त्यसैलाई ‘धर्म’ को अन्तिम चरण ठानेको छ तर, त्यो वास्तवमा धर्म नभएर परम्परागत संस्कृतिमात्र हो । केही मान्छेहरु ईश्वर पनि चिनिसकेको दाबी गर्दछन् । तर, ईश्वरको घरसम्म पुग्ने ठेगाना कसैलाई पनि थाहा छैन । सबैले ईश्वरको ठेगाना सोध्न गुरुहरुलाई माध्यम बनाएका छन् तर, उत्तर कसैको समान छैन । एउटै ग्रन्थ पढेर बेग्ला-बेग्लै ठेगाना बताइदिन्छन् । यसरी ईश्वर पनि धेरै र ठेगानाहरु पनि धेरै भएका छन् ।

♦ कुण्ठ र बैकुण्ठ-

जीवन निरन्तरको पैदलयात्रा जस्तै हो ! यात्रामा रुखहरु भेटिन्छन् । तिनको शित्तलता हामी ग्रहण गर्दछौं । फलैंचा भेटिन्छन्, हामी विश्राम लिन्छौं । लामो यात्रामा रुख र फलैंचाहरु एकठाउँमा मात्र भेटिने होइनन् । अघि खमारीको रुखको शित्तल लिएको, अलि पर पुग्दा पाडरीको रुख भेटिन सक्छ । अघि देउरालीको फलैंचामा बिसाएको, अलि पर पुग्दा भञ्ज्याङको चौतारी भेटिन सक्छ ! ‘आहा ! कति शित्तल दियो अघि त्यो खमारीको रुखले; यसलाई त त्याग्नै सकिन्न’ भन्दै साथमा बोकेर हिँड्न मिल्दैन ! विश्रामको आनन्द सम्झेर फलैंचा पनि बोकी हिँड्न मिल्दैन । नदी पार गर्न नसकेर लखतरान परेका बेला भेटिएको माझी र नाउप्रति तपाईं जतिसुकै अनुगृहीत हुनुहोस्, नदी तरिसकेपछि तिनलाई पनि त्यहीँ छोड्नुपर्छ । साथमा लिएर हिँड्नु हुँदैन । यदि साथै लैजान्छु भनेर ढिप्पी गर्नुभयो भने तपाईंले माझीको धर्म र त्यो नाउको अस्तित्व त्यहीँ समाप्त पारिदिनु हुनेछ ! किनभने नाउको अस्तित्व नदी र बगरसम्म सीमित हुन्छ ।

बाटोमा हिँड्दै जाँदा एउटा अति सुन्दर, सुवासिलो फूल देख्नुभो, आहा ! कति आनन्द ! तर, त्यो आनन्दको लोभले फूल चुँडेर खल्तीमा हाल्नुहुन्छ भने त्यो तपाईंको अपराध हो । चिन्ता नगर्नुहोस्, अलि पर पुग्दा तपाईंले अर्को अझै सुन्दर फूल देख्न पाउनुहुनेछ । ती गुणकारी वस्तु वा व्यक्ति, तपाईंका लागि मात्र गुणकारी भइदिएका होइनन् ! त्यो गुण अरुलाई पनि चाहिन्छ । जसरी खमारीको रुखले तपाईंलाई जस्तै शित्तल तपाईंबाहेकका यात्रीलाई दिन्छ, फलैंचाले पनि तपाईं इतरका यात्रुहरुलाई विश्रामको आनन्द दिन्छ !

जसरी हामी प्रकृतिको विधानलाई बुझ्दै नबुझी जीवनको यात्रामा भेटिएका सबै गुणकारी वस्तु र व्यक्तिहरुलाई ‘महादेवले सतीदेवीको मृतदेह बोके’झैं, साथमा बोकी हिँड्न खोजिरहेछौं; धर्मको सरोकारमा हामी ठ्याक्कै यस्तै रवैया अपनाइरहेका छौं ।

‘मानवले कुण्ठ (कुण्ठा) अँगालेर बस्नहुन्न’, सारा शास्त्रहरुले भनेको सारांश हो । यो सन्देश दर्शाउन शास्त्रहरुले ‘कुण्ठ’ र ‘बैकुण्ठ’ दुइवटा शब्दहरुको प्रयोग गरेका छन् । व्याकरण र शब्दकोशहरुमा हेर्नुस त -कुण्ठ भनेको के रहेछ ! गुनको विपरित बैगुन भनेजस्तो कुण्ठको विपरितार्थक शब्द ‘बैकुण्ठ’ थियो । ‘बैकुण्ठ’ भन्नु नै माथि उल्लेख गरिएको “चरैवेती…चरैवेती” श्लोकको मूल मर्म थियो । तर, ईश्वरलाई मन्दिरमा थुनेर बन्दी बनाउने कारापालहरुले बैकुण्ठलाई फेरि ईश्वर [कल्पित ईश्वरहरुका अध्ययक्ष] को अर्को घर बताइदिए ।  

यति धेरै कुरा गरिसकेपछि हामीलाई महसूस हुनुपर्छ; मन्दिर जाने ईश्वर भेट्न होइन, ईश्वरबारे खोज गर्न, बुझ्न जाने हो ! एकाग्रताको साधनायात्रा गर्न जाने हो ! यात्रा गर्नलाई पहिले गन्तव्यको ठेगाना थाहा हुनुपर्छ ! तपाईंको चेतनदृष्टिमा जी.पी.एस. (मार्गदर्शक यन्त्र) जडान गरिएको हुनुपर्छ । ल, जी.पी.एस.को सहायताले गन्तव्यमा पनि पुग्नु भयो रे ! त्यहाँ पुगेर कसलाई के दिने वा कोबाट के लिने भन्ने कुराको निश्चितता नभएमा तपाईंको साधनायात्रा काम लाग्दैन ! केवल एकाग्रताको ध्यान त बकुल्लाले पनि गर्छ । पानीभित्र एउटा खुट्टाले मात्र टेकेर बकुल्लो तपस्यारत हुन्छ ! एउटा शिकारी सिंहले पनि ध्यान गर्छ । उनीहरुको ध्यान आफूले प्राप्त गर्ने फल वा शिकारमा लक्षित हुन्छ ! तर, मानिसद्वारा गरिने उपासनाको ध्यानचाहिं प्रज्ञाप्राप्तिको अभिप्रायमा हुनुपर्ने हो ! ‘मानवले कुण्ठ (कुण्ठा) अँगालेर बस्नहुन्न’, सारा शास्त्रहरुले भनेको सारांश हो । यो सन्देश दर्शाउन शास्त्रहरुले ‘कुण्ठ’ र ‘बैकुण्ठ’ दुइवटा शब्दहरुको प्रयोग गरेका छन् । व्याकरण र शब्दकोशहरुमा हेर्नुस त -कुण्ठ भनेको के रहेछ ! गुनको विपरित बैगुन भनेजस्तो कुण्ठको विपरितार्थक शब्द ‘बैकुण्ठ’ थियो । ‘बैकुण्ठ’ भन्नु नै माथि उल्लेख गरिएको “चरैवेती…चरैवेती” श्लोकको मूल मर्म थियो । तर, ईश्वरलाई मन्दिरमा थुनेर बन्दी बनाउने कारापालहरुले बैकुण्ठलाई फेरि ईश्वर [कल्पित ईश्वरहरुका अध्ययक्ष] को अर्को घर बताइदिए ।  

ऋग्वेद र ऐतरेय उपनिषद १/२  मा समेटिएको  ‘प्रज्ञानं ब्रह्मा…’ भन्ने उक्ति हामीले पढेका वा सुनेका हुनसक्छौं । यसको अर्थ भनेको जीवनको मूल केन्द्र ‘ब्रह्म’ नै प्रज्ञामा अवस्थित छ भन्ने हो !’ यद्यपि, ‘विम्बमा ईश्वर खोज्नेहरु’बाट यस्तो हुनसकेको छैन । अधिकांश ध्यानी साधकहरुले पनि प्रज्ञा पहिचानको लक्ष्यमा आफूले गरेको साधना स्थूल ध्यान, ज्योति ध्यान वा सूक्ष्म ध्यानमध्ये कुनचाहिं गरिरहेको छु भन्ने पत्तै पाएका हुँदैनन् ।

तपाईं आफू त्यो अंहकारभन्दा पर सूक्ष्म प्रज्ञामा पुग्ने प्रयत्न नै गर्नुहुन्न अनि एउटा कारीगरले बनाएको प्रतीमाको अगाडि आँखा चिम्लिएर, हात जोडेर, ‘मलाई संसारका सबै मान्छेभन्दा सुखी बनाइदिनु, सम्पत्तिले भरिपूर्ण बनाइदिनु, अरुभन्दा बेग्लै खाले सौख र सौर्यले सम्पन्न बनाइदिनु, हरेक उपलब्धिमा प्रथम बनाइदिनु, स्कूल जाने मेरो छोरोलाई पनि कक्षामा प्रथम बनाइदिनु; मेरा साखा-सन्तानको आयु, श्रेय, ऐश्वर्य, मान, सम्मान, गति, कीर्ति सबै अरुको भन्दा सर्वोपरि भइदियोस् भन्दा कसरी पूरा हुन्छ ? प्रकृतिको विधानविपरीत ईश्वर पनि जान सक्तैन !

यदि ध्यानयात्राको गन्तव्य र सरोकारको केन्द्र तपाईंलाई पहिले नै थाहा छ भनेचाहिं दीव्यनेत्र खोलिएछ भनेर बुझ्नुपर्छ । यदि त्यस्तो हो भने तपाईंले मन्दिरभित्र देख्ने ईश्वर मन्दिर बाहिर पनि देख्नुहुनेछ । आरोपित विश्वासबाट होइन, स्वाभाविक अनुभूतिबाट यदि तपाईंले ईश्वर देख्नु भो, चिन्नु पनि भो भने भोलि पण्डित/आचार्यहरुले ‘यहाँ वा उहाँ ईश्वर छैन’ भन्दिए पनि तपाईंले पत्याउनुहुन्न ! त्यसो भए आज ‘ईश्वर मन्दिरभित्र छ’ भन्दाचाहिं किन पत्याइरहनुपर्ने ?

पत्याउनु किन परेको हो भने जीवनचक्रको प्राकृतिक गुण, प्रकृतिको विधान आदिबारे सोच्नसक्ने, स्वाभाविकताको प्रवृत्तिलाई स्वीकार गर्ने ज्ञान आफैंमा नभएर हो । त्यो दीव्यशक्ति आर्जन गर्नुहोस्, त्यसपछि मन्दिरमा राखेको ढुंगा, बगरको ढुंगा वा कुनै पहाडको चट्टानमा पनि तपाईंले बराबर ईश्वर देख्न सक्नुहुनेछ । तपाईं आफू नित्य ईश्वरको साथमा रहन सक्नुहुनेछ ! एउटै ईश्वरले हरेक जीव र वस्तुमा निवास गरेको तपाईंले अनुभूत गर्न सक्नुहुनेछ ! विचार गर्नुहोस्, अत्यन्तै तेज ऊर्जाको अग्निमाथि जल हावी भए अग्निको अस्तित्व समाप्त हुन्छ । सबैलाई थाहा छ, यो ब्रह्माण्डमा पृथ्वीको भूभागभन्दा जलको मात्रा अधिक छ ।

यद्यपि, तपाईंलाई थाहा नहुन सक्छ; तरल पदार्थ अडिनका लागि पिँधमा केही ठोसको सहारा चाहिन्छ । यसको लक्षणा के हो भने जल पृथ्वीमाथि नै अडिएको छ ! तथापि, पृथ्वी आफैं पनि जलभित्रै अवस्थित छ । यस्तो विचित्रता प्रकृतिमै विद्यमान छ ! जलभित्रै अग्नि छ ! पृथ्वीको गर्भभित्र पनि अग्नि छ ! यसरी नै ईश्वरको अस्तित्व पनि हरेक अंशमा विद्यमान छ ।

ईश्वर तपाईंले भित्तामा टाँसेको चित्रमा मात्र होइन, तपाईंले सास फेर्ने धम्नीमा विद्यमान छ, स्वासनलीमा विद्यमान छ, तपाईंले खाने अन्न र तपाईंको सगोल अस्तित्वमा विद्यमान छ । तपाईंमा जस्तै ईश्वर पृथ्वीका हरेक जीवहरुमा विद्यमान छ । ईश्वरलाई वास बस्न तपाईंले बनाएको भवन नै चाहिने होइन ! तपाईं र तपाईंजस्ता जीवहरुको स्वच्छ स्पन्दनमा ईश्वर रहन सक्छ । हरेक जीव-निर्जीवमा पनि ईश्वर उत्तिकै विद्यमान छ ! ईश्वर खोज्ने वा भेट्ने सवालमा दर्शनका कुरा यति नै हुन् ।

प्रकृतिको विधान र जीवनको स्वाभाविकता नबुझीकन ईश्वर खोज्ने कुरा नौटंकी मात्र हो । ईश्वर खोज्ने वहानामा अनेक सन्यासीहरुको चित्त बुझाउँदैमा जीवन बित्छ । एउटाले भन्छ ‘भक्तिबिनाको ज्ञान’ काम लाग्दैन ! अर्कोले भन्छ ‘ज्ञानबिनाको भक्ति’ काम लाग्दैन । तर, वास्तविक ज्ञान र भक्तिको सारतत्व के हो, भन्ने दुवै बताउन सक्तैनन् । यसरी ईश्वर खोज्ने यात्रामा मान्छे जन्ती जान लागेको दुलाहा सजिएझैं सजिँदा सजिँदै जीवन बिताइरहेको छ ।

विचार गर्नुहोस्, एउटा मत्थु भट्टिबाट घर फर्किँदा बाटोमा होशियारी साथ सह्मालिँदै हिँड्छ । तर, ऊ जति सिधा हिँड्न खोज्छ त्यति बाङ्गो हुँदै जान्छ र नालीमा घोप्टिन्छ । जसले रक्सी नै पिउँदैन ऊ बाटोमा खुम्चिँदै किन हिँड्नुपऱ्यो ? यसको तात्पर्य, सज्जनहरुले आफलिँदै हिँडे पनि हुन्छ भन्ने होइन । बाटो हिँड्नलाई एउटा निश्चित औचित्यको स्वाभाविक विधान हुन्छ । त्यति पालन गरे त भइहाल्यो ! हो यसरी नै ईश्वर खोज्ने वा भेट्ने वहानामा जसले अतिरञ्जित ढोंग गर्छन् ती भनेका त्यो भट्टिबाट घर फर्किदै गरेको मत्थुजस्तै हुन् जो सिधा बाटोलाई पनि बाँङ्गो देख्छन् र सोझिँदा सोझिँदै बाटै छुटेर बाहिर पोखिन्छन् !

हामी रातभरि भट्टितिर निशाचरझैं डुल्ने मत्थु हैनौं । मान्छेले जुवा नार्ने बित्तिकै लुरुलुरु मेलो लाग्ने गोरु, भारी लदाउने बित्तिकै सोझो बाटो लाग्ने घोडा पनि हैनौं । तर, प्रकृतिले दिएको गुणको बोझा बोकेर उसैले देखाएको मेलोमा हिँड्न सक्ने स्वविवेक भएका प्राणी हौं ।  हामीसित त्यो स्वतन्त्रता छ । आफैंले आफ्नै अस्तित्वबारे अध्यन गर्न हामीलाई कसैले निर्देश गर्नुपर्दैन । निर्देश गर्नपरे पनि प्रकृति स्वयंले गर्छ । आफूजस्तै शरीरधारी अर्को मनुष्यले गरेको निर्देश उसका लागि दीक्षा हुँदैन; बरु शासन हुन्छ ।

♦ उपसंहार-

हाम्रो दर्शन शास्त्रले भन्दछ, “म आत्म हुँ; मेरो जन्म पनि छैन, मृत्यु पनि छैन, मेरो कुनै जात छैन, मेरा कुनै मातापिता छैनन्, माता-पिता छन् त शरीरका लागिमात्र छन्, मेरो न कोही शत्रु छ न कोही मित्र ! म पाप र पुण्यभन्दा अलग छु । मलाई कुनै तीर्थब्रत गर्नु छैन, मलाई न भोक लाग्छ न तिर्खा । यो शरीर मेरो हैन, ममा कुनै अन्धविश्वास छैन । म नै शिव हुँ, म नै ब्रह्म हुँ, म नै मूलतत्व हुँ । जसरी आकाशमा धेरै बादल आउँछ जान्छ; तर, आकाशको नीलोपन फेरिँदैन, आफ्नो अस्तित्वमा अटल रहन्छ ! जसरी समुद्रमा फिँज उठे पनि, छाल आए पनि समुद्रले आफ्नो शान्त रुप गुमाउँदैन, त्यस्तै म पनि स्थिर आत्मा हुँ । म नै अविनाशी हुँ, म नै ईश्वर हुँ ।”

जब आत्म आफैं ईश्वर हो भने म मनुष्य त्यही आत्म बोकेर अर्को ईश्वर खोज्न किन दौडिनु ? आत्मलाई कुनै भय छैन, उसलाई कसैले मार्न सक्दैन, आत्म नै एकमात्र सत्ता हो, अस्तित्व हो । दर्शन भन्छ,“ब्रह्माण्डमा एउटा मात्र सत्य छ, त्यो हो ब्रह्म । र, जगत-लगायत सबै चराचर त्यो ब्रह्मकै वरिपरि जेलिएका छन् ।

जब आत्म आफैं ईश्वर हो भने म मनुष्य त्यही आत्म बोकेर अर्को ईश्वर खोज्न किन दौडिनु ? आत्मलाई कुनै भय छैन, उसलाई कसैले मार्न सक्दैन, आत्म नै एकमात्र सत्ता हो, अस्तित्व हो । दर्शन भन्छ,“ब्रह्माण्डमा एउटा मात्र सत्य छ, त्यो हो ब्रह्म । र, जगत-लगायत सबै चराचर त्यो ब्रह्मकै वरिपरि जेलिएका छन् । अर्थात्, ब्रह्मलाई नचिनेसम्म जगतको जीवन मिथ्याचारमा अल्मलिन्छ । नाम र रुपहरु जगतका आवरणमात्र हुन् । ती अनित्य छन् । तर, जीवनको अस्तित्व ब्रह्ममा लीन छ । वास्तवमा ब्रह्म र जगतलाई अलग वर्गीकृत गरेर हेर्न सम्भवै छैन । यी दुवै अभेद्य छन्, ब्रह्म नै जीव हो र जीवन नै ब्रह्म पनि हो । शास्त्रको अध्ययन, सुझबुझ र परिभाषित अर्थ्याइ वेदान्तले दर्शाएको अनुरुपकै हुनुपर्छ भनेको यही हो ।”

“ब्रह्म सत्यं जगन्मिथ्या जीवो ब्रह्मैव नापरः ।  अनेन वेद्यं सच्छास्त्रमिति वेदान्तडिण्डिमः ॥” –(बाल गंगाधर तिलकको गीता रहस्य अथवा कर्मयोग शास्त्रः पृष्ठ २२९ मा सविस्तार उल्लेख)

तर विडम्बना यहाँनेर के छ भने, धेरै अध्येताहरु यो माथिको श्लोकका प्रारम्भिक तीनवटा शब्दावलीमात्र टिपेर,“ब्रह्ममात्रै सत्य छ, त्यसबाहेक यो सारा जगत र जीवहरु झूटा छन्, यो जगत र ब्रह्मबीचमा कुनै सम्बन्ध छैन”, भनेजस्तो गरी व्याख्या गरिरहेका सुनिन्छ । अध्येताहरु नै यसरी अल्मलिन्छन् भने आम मनुष्यहरु त घोर भ्रान्तिमा नअल्झिने कुरै भएन ।

भ्रान्तिको कारणले गर्दा मनुष्य एकै रुपलाई अनेक रुपमा देख्छ ! वास्तवमा ‘म’ र ‘तिमी’ अथवा ‘हामी’ भन्ने केही पनि छैन । जन्म र मृत्यु प्रकृतिमा निःसर्गको नियम अन्तर्गतका विधि हुन्, आत्मको शुरुवात वा समाप्ति होइन । यसर्थ यो संसारमा आफूभन्दा पृथक तर, आफ्नै विश्वास आरोपित भौतिक ईश्वर खोज्ने र भौतिक विम्बमै ईश्वर भेटिएको घोषणा गर्नेहरुको प्रज्ञायात्रा एक मरीचिका मात्र हो । जब मानिस प्रज्ञामा प्रवेश गर्दछ, तब थाहा हुन्छ,‘म नै ब्रह्म हुँ, म नै शिव हुँ, म नै निर्विकल्प तत्व हुँ !’

यी सबै कुरा गरिसकेपछि अब बुझौं, हामी हलो वा भारी नारेपछिमात्र मेलो समाउने गोरु र घोडाझैं भइरहने कि सज्जन, स्वविवेकी मानव बन्ने ? ईश्वर भेट्न कतै दौडिरहने कि हरेक पाइलामा त्यसबारेको अध्ययन-साधना गर्ने ?

दर्शन शास्त्रले भन्छ, जब सत्य वा असत्य केही पनि थिएन, त्यस बखत यो जगत पनि थिएन । त्यसबेला प्रकृति पनि सूक्ष्म र अव्यक्त थियो । यो ब्रह्माण्ड प्रलयपछि फेरि नयाँ रुपमा सृष्टि हुन्छ र फेरि त्यही सूक्ष्म-अव्यक्तमा लीन (विलय) हुन्छ । सूक्ष्मबाट विराट र फेरि विराटबाट सूक्ष्ममा लय हुने यो क्रम निरन्तर चलिरहन्छ । यो लय र प्रलयको शृंखलामा हामीलाई चाहिएको त्यो परमानन्द कहाँ छ; त्यो प्रज्ञा वा परमानन्द खोज्नभन्दा पहिले हामी आफैं कहाँनेर छौं, आफैंले आफैंलाई पनि खोज्नुपर्छ, खोज्ने क्रम जारी रहनुपर्छ !

2 Replies to “‘ईश्वर भेटिएको’ घोषणा (?)”

  1. Param Ananda

    You are the first person I found in my community whom I was and am looking since my school age. I tried all the stupidities when I was in school level and lost the trust and hope, especially because of 2 reasons: 1) Their way couldn’t address my problem at all! 2) No Guru , including Highly revered ones, could answer my quest. So when I was in 11th grade, I found Osho Meditation group. I started meditation, and found the clouds getting thinner! Went Kathmandu and learned different meditation techniques. And got trained on Yogic Sciences. Now I am learning Ayurveda. Since I was seven years old, I have been searching something in life that never dies. Interesting thing here is: the more I am learning the tools and applying, more I find myself ignorant! But it’s full of charm and happiness! Not-Knowing is such a Joyfor me!!
    Still I am a struggling Saadhak!

    • Bhakta G

      Thanks a lot for commenting. The Sadhak is called a Sadhu. Ordinary people see the outer world only, But Sadhus live a life with Vairagya and they find the world is within them.

Leave a Reply

Your email address will not be published. Required fields are marked *