उपमाले गर्दा विभाजित मानसिकता
नैनसिंह सारू मगर
न्यू योर्क, अमेरिका
मानव विकाशसँगै, पृथ्वीको विकाशसँगै, देश र भूभागका विस्तारसँगै, चेतनाको अभिवृद्धि भएसँगै अरू एक अनेक प्रकारका तीनतिरका सिद्धान्तहरू हामी भेट्ने सुन्ने गर्छौँ । कसैले सपनामा, कसैले बिपनामा, कसैले कालको संघारमा पनि उपमा राखिएको पाइन्छ । हामी यिनै भित्रका सत्य वाणी वा भ्रमित कुचिन्तनलाई सर्वोपरि ठान्दै आजसम्म यो धरातलमा जिउन वा उभिन बाध्य छौँ । यो उपमा राख्ने प्रथा कहिले अनि कहाँबाट प्रारम्भ भएको हो भनेर यकिन नभए पनि मैले पनि सुनेकै भरमा अरूलाई उपमा राख्न खुब जानेको छु जन्मेदेखि नै । उपमा भनेको नामको अगाडि राखिने नाम जस्तै अर्को शब्द हो। यो निकै चमत्कारी पनि हुन्छ । राम्रो राखे राम्रै सुनिन्छ, नराम्रो राखे नराम्रै सुनिन्छ यो उपमा पनि । डाक्टर नैना ! पाइलट नैना ! इन्जिनियर नैना ! भनेको सुन्दा प्रफुल्लित नहुने कुरै भएन, तिहारमा माला लगाए जस्तो मङ्सिरमा धान पाके जस्तो तर लेंडा नैना ! काठा नैना ! चितुवा नैना ! भेडा नैना ! मसाने नैना ! भनेको सुन्दा कति रिस उठ्छ; नसके पनि काट्नु जस्तो ।
मेरो नामभन्दा अगाडि आउने उपमा ‘कामी’ हो । कामी नैनासिंह सारू मगर, मेरा बाबा आमाले राखिदिएका न्वारानमा । ज्योतिषीले राखेको नाम नैनसिंह सारू मगर हो । ‘कामी’ उपमा किन राखेछन् भने ममाथिका धेरै नानीहरू खेर गएकाले नाम अगाडि ‘कामी’ उपमा थपिदिएपछि खेर नजाने भन्ने कुरो कपोकल्पित शब्द भन्ने अर्थ लाग्यो । यसरी ‘कामी’ उपमा शब्द राख्दा नमर्ने आशा भरोसामा हामी झुण्डिन्छौ भने अझ हात्ती नैन, गिद्ध नैन, सखुवा नैन, कछुवा नैन, थप जोडिदिएका भए सय वर्षदेखि हजार वर्ष जीवित रहनेथ्यो कि ….!
अब मगरका नानीहरू खेर जाँदा कामी राखे, राईका नानीहरू खेर जाँदा पनि त्यसै गरे अरू बाहुनका, तामाङका, सुब्बाका पनि त्यसै गरे, कामी उपमा दिएपछि बाचे अरे तर कामी कै छोराछोरीहरू खेर जाँदा चाहिँ के राख्ने ? बाहुन नरे, मगर नरे, तामाङ नरे त राख्दैनन् होला ..! यस्तो निच ब्यावहारले गर्दा हाम्रो प्रगति हुन नसकेको भन्दा गल्ती हुनेछैन । विवाहमा अगाडि शुभ दिन गराएर हिँडाउने बाजागाजा बजाउन लगाएर गन्तव्यमा पुगेपछि परालमा खाना दिने के यो सही हो त ….? यसको ठोस प्रमाण हामी नै हौँ । के कामी चाहिँ मानव होइन ? उनीहरूका नाम दिएर नानीहरू बचाउने पक्कापक्की हो भने प्रत्येक नेपालीका नाम अगाडि थपिदियौँ न त ‘कामी’ उपमा कसो पर्ला …..होइन भने जायज भएन भनेर आज प्रमाणित गरे पाप लाग्ने छैन । जब दुई जनाभन्दा माथि नानीहरू खेर जान्छन् अनि कि कामी, कि दमाई, कि सार्की, कि गाइने,…..हामी राख्ने गर्छौँ। म सत्य बोल्दै छु कल्पनामा लेखिएको होइन यो लेख आज । यसरी मानवले मानवमाथि मानवकै मानहानी गरेर खेलबाड गर्नु ठुलो अपराध हो । आदरणीय कामी, दमाई, सार्की, गाइने परिवारहरू यहाँहरू हिजो पनि आज पनि हेपिनुभएको छ अब उठ्नुपर्छ आफ्नो संज्ञा अरूलाई दिनुहुँदैन यसरी । साथमा साथ काँधमा काँध मिलाएर एक तनमन भएर ब्युँझनुपर्छ यो मेरो अनुरोध पनि, आह्वान पनि ।
कामी र मगरमा फरक नपाएपछि स्कुलमा मैले सरलाई पनि मेरो नाम कामी नैन हो भनेँ । त्यसपछि कक्षामा पनि कामी नैन, एसेम्लिमा पनि कामी नैन, ईन्ट्रवलमा पनि कामी नैन, बल खेल्दा पनि कामी नैन! आषाढमा असारे किरो कराएभन्दा पनि अधिक मात्रामा कामी शब्द निस्किएपछि साथीहरू पनि बिरानो, छुवाछुतमा पनि फरक-फरक । मेरो मात्र कहाँ हो र……मेरो काकाको उपमा ‘सार्के’ जसले सार्कीको काम नै गर्न जान्दैन। दिदीको उपमा ‘दमुनी’ जसले दमाईकै काम गर्न जान्दैन। बाजेको उपमा ‘गाइने’ जसले गाइनेकै काम गर्न जान्दैन । घरैभरि गाइने, सार्के, दमाई, कामी भएपछि खुकुरीभित्र खुकुरी बनाउने मामा किन बाहिर ? मेरै घर छेउको झाँक्री बाजेको नाम चन्द्र बा० चाम्लिङ राई हो । खुसी हुँदा बिरामी निको हुँदा चाम्लिङ मामा..! नमस्कार मामा ! म निको भएँ भन्ने; निको भएन भने अलच्छिना किरा, मेरो कुखुरा रक्सी खाइस् भन्ने । बेल्डाॅगी एकको उप-सुपरिवेक्षक मास्टर दाहाल बाको पूजा कोठामा पुगेर प्रसाद खादा हुने, तिनै शिविरका मास्टर चाहिँ खाली गाग्रो लिएर पानी धारामा उभिनु नपाइने ? भोटेको नराम्रो उपमा हो ‘गादे’ रिस उठ्दा गादे, नउठ्दा ‘डासो’। मलाई ढोकाबाट छिर्न नदिने चम्लागाई बा, डासो सरासर बाको सुत्ने खाटमै पुगेर धोतीसँगै बाहिर तानेर ल्याउँदा पनि सुस्वागतै छ भनेपछि उपमा कसका लागि मात्रै बनाइएको होला ?
मेरा काकीहरू मिल्दा खोर्सानी पनि आधा भाँचेर खाने। भित्री कपडाहरू पनि साटासाट गरेर लगाउने। च्वाट्टै हातै काट्दा पनि आय्या नभन्ने तर नमिल्दा….बोक्सी, डंकिनी, नकचरी, उपमा त कति हो कति । लोग्ने स्वास्नीमा पनि कुरो त त्यही हो। स्वास्नी खुसी भएको समयमा, मेरो हजुर, स्वामी, मनको राजा, बाबा, पतिदेव; बेखुसीको बेला, बिफिरे, काइटे, मुर्दा, आकाशे, खराने यस्तै कति-कति उपमा । लोग्ने खुसी भएको बेला देवी, महारानी, आमा, प्यारी, मनको रानी, लक्ष्मी यस्तै कति उपमा। बेखुसीको बेला, चण्डाल्नी, सिद्रा, गन्दे, बकुल्लो, बोक्सी यस्तै कति उपमाहरू। गाउँ नै उचालेर मलाई कामी भनेर हजुरबाले बोलाउँदा शंकर मामाले मेरो नाम घरीघरी किन काटे यी बाजेले भनेर झन्डै चुटेका छन् । राम्रो उपमा थपिदा मुसुक्क हाँसेर दाँत देखाउनु हाम्रो विशेषता हो भने नराम्रो उपमा जोडिदा आगोले खुम्च्याएको प्लास्टिक झैँ मुहार खुम्चिनु अर्को हाम्रो विशेषता हो ।
मैले जीवनमा धेरै ठाउँमा चुटाई पनि खाएको छु । कामी भनेर राईको घरमा पस्दा, सारू भनेर कामीको घरमा पस्दा बराबर अचानो भएको छु । कामी भनेकैले कामी मामाको घरमा भात खाएको छु। पानी फुकेर दिँदा म निको पनि भएको छु। खाएकै कारणमा रातभरि आफ्नै घरमा बाहिर बसेको छु चितुवा लाग्ने ठाउँमा । मेरो बाबालाई चितुवा भन्दा भात प्रभावकारी भएछ कि क्या हो ….! कामी उपमा आफै दिने अनि कामीको घरमा भात खाँदा चुटाइ पनि खाने यो कुन मानव प्रवृत्तिमा पर्छ होला ? नाम थरसँग मात्र भातृत्व भइरहने उपमा वस्तुसँग पनि जोडिन थालेका छन्। लेंडाको घर, लेंडाको कार, लेंडाको गाउँ । अचम्म छ, अर्कालाई यसरी नाम अगाडि उपमा राख्दा आयु थपिन्छ कि, विवेक अभिवृद्धि हुन्छ कि, धनाढ्य भइन्छ कि मलाई अवगत भएन । यस्ता खालका अर्थालङकारले गर्दा कता-कता आज नागरिकतामा पनि हजुरको नाम, उपनाम, उपमा कति छन् भनेर अधिकारीहरूले सोधेका पनि छन् । हामी पशुहरूलाई पनि उपमा दिन पछि परेका छैनौ जुन उपमा मैले पाएको थिएँ तिनै महोदयले नै विस्तार गरेका हुन् सबै उपमाहरू । बाख्राले बदमास गरे चितुवा, गाईले तमास देखाए बाघे, कुखुराले झ्वाँक चलाए चील, बिरालोले बठ्याई गरे कोइरालो ।
आज यहाँ म जस्ताहरू चाइनिज भएर बाचेका छन् । बाहेककाहरू भारतीय भएर जोगिएका छन् । म आफै पनि ‘कामी’ उपमाले सन् १९७५ -१९८७ सम्म बाल्यकालमा तिरस्कृत हुँदै क्रमशः मगर र अरू जातमा पृथक् भएँ। पछि आएर नेपाली र भोटेमा विभाजन पनि भएँ । सन् १९८८ देखि सन् १९९० सम्म ङोलोप र ङालोङमा पुगेँ। सन् १९९१ -२००८ सम्म भोटाङे, बगडे र नेपाली भएर झापामा बाँचे । त्यही निरन्तरता सन् २००९ देखि आजसम्म भूटानी नेपाली र अमेरिकनको दोभानमा बाचेको छु । हामी यिनै उपमाले गर्दा घर किनाइमा ठगिएका छौँ, गाडी किनाइमा, बजारमा, नीतिवादमा, राष्ट्रवादमा, भौगोलिकतामा, वैचारिकतामा अनि कार्यालयमा जानीजानी छलिएका छौँ । आज यिनै उपमा टोपी र बुलाकीमा आइपुगेर जोडिएको छ । टोपी र बुलाकी खल्तीमा राखेर बाच्नु के बाच्नु र…..? टोपी र बुलाकी पनि हाम्रा उपमा हुन् आज दैनिक लगाउनेले पनि बाकसमा राखेर हिँड्न बाध्य छन् । टोपी शिरमा लगाउँछौँ दर्जी मामा पर, बुलाकी नाकमा लगाउँछौँ सुनारे काका पर यो किन ? यो उपमा राख्ने चलन नभएको भए अरू त कुन्नी मानवहरू चाहिँ यसरी बेगिएर आफ्ना देश, भेष, थलो, भाषा, नैतिक, पहिचान र अरूहरू जवर्जस्ति जस्तो अङ्गालेर बस्नुपर्ने थिएन होला परदेशमा ।
[ यस लेखमा व्यक्त धारणाहरू लेखकका निजी विचार हुन्। यी विचारहरूले Bhutaneseliterature.com को आधिकारिक अवधारणा प्रतिबिम्बित गर्दैनन् – सम्पादन समिति ]