उफ् यो गरम !

भक्ति रिजाल
ओहायो, अमेरिका

उफ् यो गरम !
असह्य गरम
जेठको प्रचण्ड घामको भन्दा गरम
मन्छे नै मान्छेले फैलाएको गरम
उफ् यो गरम !

मान्छे, मान्छेकै सेवामा समस्याको भारी बोकेर
बिचरा ! ऊ मान्छेकै समाजको घोडा भएछ
एक्लो छँदा मान्छेहरूकै कोचारोमा परेर
मान्छेकै बजारमा मान्छे चेप्टिएछ
तर यही चेप्टिएको मान्छे जान्दैन
जीवन के हो ?
बरु शिशिरका नाङ्गा वृक्ष र
बगरका ताता ढुङ्गालाई थाहा होला
तर जाडोको कट्ले मात्तिएर रगतको होली खेल्नेहरूलाई
यति मात्र थाहा छ
अर्कालाई मारेर जिन्दगीको पूर्णता पाउन सकिन्छ भन्ने
आजसम्म लडिरहेथे मान्छेहरू गरमसँग
अब व्यर्थ सम्झँदाहुन् यिनै मान्छेहरू
किनकि गरमसितको लढाँईमा
किर्ती आर्जन व्यर्थ छ ।
मान्छे अर्ध पागल झैँ छन्
कुन्नि कसलाई तर्साउँने निहुँमा
हावालाई कैद गर्न खोज्छन् अनि
निर्धक्क बाली चरिरहने साँढेलाई छाडेर
बित्थामा निर्दोष गोरु चुटिरहन्छ्न् ।
पसिना पुछ्दै हतारमा हिँड्ने यी मान्छे
विस्फोटन सम्भव धढकन बोकेर हिँडिरहेछन्
त्यो धढकन सायद अणुबमभन्दा कम शक्तिको छैन
यस्तो शक्ति सम्पन्न धड्कन् बोकेर पनि
उपहास केलाइरहेछ मान्छे, यो गरम देखेर
उफ् यो गरम !

अष्टमीको आधाकप्टेरो जुन झैँ सोच लिएर
चिसो हिउँद पर्खने बाध्यतामा
त्यही धुपसँग
लडिबढी खेलिरहेछ मान्छे,
रावणको स्वर्ग जाने भर्‍याङ बनाउने अधुरो स्वप्नजस्तै
सायद यी मान्छेको पनि
यो गरम निवारक यन्त्र बनाउने झिनो स्वप्न
पुस्तौंसम्म देखिरहेछ मान्छे
रावण मर्‍यो, स्वप्न पुरा नहुँदै
तर यहाँ भावी पुस्तालाई गरम निवारणको
आश्वासन दिँदैछ मान्छे
उफ् ! यो गरम !!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *