एउटा आवाज
खेम रिजाल
ओहायो, अमेरिका
उमेश एक बच्चा हो, ऊ अन्धकारदेखि डराउँछ । उसले एक दिन औँसीको रातमा एउटा आवाज सुन्यो । त्यो आवाज खराब थिएन, तर परिचित पनि थिएन । सोमबार सबेरै उठेर स्कुल जान तयारी गर्दै गर्दा, त्यो असामान्य लागेको कुरो, सुनाउन खोज्यो, दिदीको फुर्सद थिएन । अनेक बहानामा व्याख्या गर्ने कोसिस गर्यो, जागिरका कारण, आमा, बाबा, कसैबाट पनि समय खोस्न सकेन ।
यस बिन्दुसम्म पुग्दा ऊ निक्कै डराएको थियो । केही दिनपछि, मध्यरातमा, वास्तविकता बुझ्न टर्च लाइट बोकेर बाहिर निस्क्यो । स्पष्ट रूपमा सबैतिर हेर्यो, केवल तारा मण्डल आकाश थियो । घरछेउको नदी सुसाउँदै थियो । कहीँ कतै केही नदेखेपछि मानसपटलमा कुराहरू खेलाउन थाल्यो ।
“यो बकवास होइन, मैले आफै सुनेको हो । पहिलेदेखि फरक, मेरो बुवाको जस्तो होइन, आमाको जस्तो पनि छैन, तर अचम्मको आवाज ।” अर्को रात बाटोमा ट्राफिकले गर्दा, घर आउन लेट भयो । बुवासँग कुरा राख्यो । बुवाले पनि भयको आक्रमणको सिकार भएको बताउनुभयो ।
गर्मीको शुरुआती सँगै बर्सात सुरु भयो, र जूनको कुनै अपवाद थिएन । घण्टौँ पानी परेकोले भान्सा कोठा चुइन थाल्यो । थापेको कसौडोको पानी धेरै चोटि मिल्क्याउनु पर्यो । बिहानको राति उठेर पानी डम्प गरेपछि, आमा पनि निदाइछन् । केही बेरमा सिलिङ भ्वाक्कै किचनमाथि झरेको आवाजले सबै बिउँझिए । उमेशले ल्याम्प बाल्यो र थाहा पायो, त्यहाँ आफ्नो छतमा मृत शरीर पो कसले राखेको रहेछ । पानीले ढाडिएर यति खराब र वजनदार भएछ । भिजेको सिलिङले सञ्चय गर्न सकेनछ । उमेशका बुवाले पुलिस बोलाए र अन्ततः त्यो लासको अवस्था, घटना छानबिन गराए । कपाल र छालाको अंश थुतेर डीएनए तुरुन्तै जाँच गरे । तब शरीरको पहिचान भयो कि, त्यही अपार्टमेन्टको हेण्डिमेन रहेछ । मेनेजरले मुख खोले । यो ट्रम्प त तीन महिना पहिले नै हराएको थियो । त्यस रातपछि मैले कहिल्यै एकल आवाज सुनिनँ ।