एउटा तारा अस्ताएकोमा
भक्त घिमिरे
♦ समूहलाई शान्त बनाउन जेलप्रशासनले सकिरहेको थिएन । त्यो भीडलाई सम्झाइ-बुझाइ गर्ने अठोटमा पुलिसले समूहबाट एउटा लिखुरे मान्छेलाई अगाडि बोलाएर कुनातिर लग्यो । साथमा अघिल्लै महिनादेखि जलपाईगढी जेलभित्र थुनामा रहेका डेढसय भूटानीमध्ये एकजनालाई ढोकामा ल्यायो । समूहबाट चुनिएको त्यो लिखुरे मान्छे भक्त घिमिरे थियो भने प्रशासनले जेलभित्रबाट ल्याएको सहजकर्ता गोविन्द रिजाल थिए ।
मई महिनाको ५ तारिखका दिन नेपालको कीर्तिपुरमा भूटानी युवा वैज्ञानिक डा. गोविन्द रिजालको एउटा सवारी दुर्घटनाको कारण आकस्मिक निधन भएपछि संसारभरि भिन्न देशमा शोक मनाउने क्रम जारी छ । पेन्सिलभेनियाको ह्यारिसबर्गमा पनि मई १८, शनिवारका दिन स्थानीय सामाजिक संस्था भूटानीज कम्युनिटी इन ह्यारिसबर्गको आयोजनामा शोकसभा सम्पन्न भयो । विभिन्न वक्ताले डा. रिजाल सम्बन्धका यादहरु, स्मृतिका गाथा र साझा सपनामार्फत बुनेका भावी योजनाबारे बोल्नुभयो । यसै सिलसिलामा मैले पनि डा. रिजाललाई हाम्रो पहिलो प्रत्यक्ष भेटदेखि नै सम्झना गरें ।
‘मानिसहरुको ठूलो समूह जेलभित्र पस्न चाहन्थ्यो तर, प्रशासनचाहिं उनीहरुलाई बाहिर धकेल्थ्यो’ भन्दा यहाँहरुलाई अपत्यारिलो लाग्नसक्छ ! तर, भएको त्यस्तै थियो । सन् १९९६ को फेब्रुवरी २७ तारिख । आधारात बितेको छ । जल्पाईगढी जिल्ला कारागारको प्रवेशद्वारमा करिब चारसय मानिसहरु गीत गाउँदै, नाच्तै नरम जाडो तापिरहेका छन् । त्यति धेरै मान्छेको भीडमा न कोही थाकेको देखिन्छ न त कोही निद्रामा झुलेको । फेब्रुवरी २६ तारिख नेपाल-भारत सिमानाको मेचीपुलमा पक्रा परेदेखिको भोक-निद्रा काँचै राखेका जाँगरिला, फुर्तिला मान्छेहरु कहिले उठेर जेलगेट ठेल्न खोज्छन् । कहिले समूहमा जोस बढाउने तुक्काहरु भन्न थाल्छन् ।
अपील आन्दोलन समन्वय परिषद् (एएमसीसी)-को आयोजनामा परिचालित शरणार्थी शिविरबाट भूटान जाने यात्रामा संलग्न लगभग चारसय शरणार्थीको समूह यसरी प्रवेशद्वारमा थुप्रो लागिरहेको त्यो बखत गीत र नाराले वरिपरिको वातावरण कोलाहलझैं बनिरहेको थियो । समूहलाई शान्त बनाउन जेलप्रशासनले सकिरहेको थिएन । त्यो भीडलाई सम्झाइ-बुझाइ गर्ने अठोटमा पुलिसले समूहबाट एउटा लिखुरे मान्छेलाई अगाडि बोलाएर कुनातिर लग्यो । साथमा अघिल्लै महिनादेखि जलपाईगढी जेलभित्र थुनामा रहेका डेढसय भूटानीमध्ये एकजनालाई ढोकामा ल्यायो । समूहबाट चुनिएको त्यो लिखुरे मान्छे भक्त घिमिरे थियो भने प्रशासनले जेलभित्रबाट ल्याएको सहजकर्ता गोविन्द रिजाल थिए ।
हामी दुइजनाको प्रत्यक्ष भेटघाट त्यही दिन भएको थियो । त्यसो त पहिले देखादेखै नभएको भने होइन । हामी दुइ एउटै जिल्लाका वासिन्दा थियौं । शिविर पसेपछि पनि हामी दुवै कारितास नेपालले शिविरहरुमा सञ्चालन गर्ने शैक्षिक कार्यक्रममा काम गर्ने भएकाले कहिलेकाहीं सामान्य औपचारिकताको नमस्ते आदान-प्रदान भएकै हो । तर, नजिकिएर भावनात्मक आदान-प्रदान गर्ने अवसर हामीलाई जल्पाईगढी जेल प्रशासनले जुराइदिएको थियो ।
खोपीजस्तो जेलको एउटा कुनामा तारजालीको वारिपारि भएर भेट भएका हामी दुइलाई प्रशासनले के चाहिरहेको छ भन्ने कुरोमा जानकारी लेन-देन गर्नु कुनै आवश्यकता थिएन । त्यसैले हामी त्यो अवसरलाई अन्य विषयमा प्रयोग गर्नतिर अग्रसर भयौं । जेलभित्र रहेका साथीहरुको स्वास्थ्यस्थिति र अन्य धेरै विषयमा भलाकुसारी भए भने बाहिर रहेकाहरुको बारेमा पनि धेरै कुराकानी गरियो । जेलको ढोकामा रहेको चारसयजनाको समूहलाई वास्तवमा दार्जीलिङ र जल्पाईगढी दुवै जिल्लाले जिम्मा नलिएपछि तीनदिनदेखि अनेकौं जेलका ढोका ढोका चहार्दै दौडाइँदै थियो । तीनदिनपछि समूहलाई कलकत्तानिकट मुर्सिदावाद जिल्लाको बह्रमपुर कारागार पुऱ्याइयो भने जल्पाईगढी कारागारमा एक महिनादेखि रहेको गोविन्द रिजाललगायत डेढसयजनाको समूह सिलगढी अदालतको आदेशमा फेब्रुवरी २८ को दिन रिहा भयो ।
त्यही दिनदेखि मेरो नजरमा बनेको गोविन्द रिजालको ‘सहजकर्ता’ छवि आजीवन कायम रह्यो । उनी लगायतको समूह जेलबाट रिहा भएपछि लामो समय म जेलमा रहें । हाम्रो भेटघाट बाक्लो भएन । श्री रिजाल जेलबाहिर बसेर कुटनीतिक पहलमार्फत हामी जेलमा रहनेहरुको व्यवस्था सहज गराउने काममा थिए ।
सन् १९९६ जुन १३ तारिख बाबुराम श्याङदनको मृत्युपछि जेलभित्र तनाव पैदा हुँदा त्यहाँ पुगेर जेलप्रशासनसित वार्ता गरी स्थिति सहज गराउन भूमिका खेल्ने गोविन्द रिजाल नै थिए । श्याङदानको शव जिम्मा बुझेर रिजालकै व्यवस्थापनमा बह्रम्पुरबाट सिलगढीसम्म ल्याई शवयात्रा गरिएको थियो । त्यसको लगत्तै दुइ हप्तापछि बह्रमपुरबाट छुटेका करिब सातसय भूटानीहरुहरुलाई रेलमा चढाएर पञ्चनदीसम्म ल्याउने काममा रिजालकै भूमिका थियो । रिजालसँगै त्योबेला ध्रुव भारती र इन्द्रावती राईले पनि सक्रिय सहयोगी भूमिका खेलेको कुरा म यहाँनेर स्मरण गर्न चाहन्छु ।
सोही वर्ष अगस्त १५ का दिन भूटान प्रवेश गरेको ५० जनाको समूहमा सामेल गोविन्द रिजाललाई गृहविभागका तत्कालीन महानिर्देशक डा. सोनाम तेञ्जिन र पुनाखा जोङ्दा शेराब दोर्जीले शरणार्थी समुदायलाई लाञ्छित गर्ने खालका अनेकौं प्रश्न राखेका थिए ।
‘नेपालमा बस्ने निर्वासित नेताहरु रनबहादुर बस्नेत, भीम सुब्बा, रोङथोङ क्युनलेहरुले भूटानमा ठूलो भ्रष्टाचार गरेर भागेका’ले उनीहरुको कुरा नसुन्न अनुरोध गर्दै तेञ्जिन र दोर्जीले गोविन्द रिजाललाई सरकारसित क्षमा मागेर भूटानमै बस्न आग्रहसमेत राखेका थिए । उनीहरुले यस्तै प्रस्ताव गोविन्द ढुंगानालाई पनि गरेका थिए । रिजालले ‘झापाबाट पैदल हिँडेर आएको समूह आफू एक्ला एक्लैको समस्या लिएर नआएको तर, देशका सम्पूर्ण प्रशासकीय खराबी र विशेषगरी शरणार्थी मुद्दामा केन्द्रित समस्या सम्बोधनका लागि राजालाई अनुरोध गर्न आएको’ बताएर डा. तेञ्जिन र शेराब दोर्जीलाई चुप बनाएका थिए । डा. तेञ्जिन र शेराब दोर्जीले ‘शरणार्थीका पुर्खा नेपालबाट आएर भूटानमा मोज गरी उनीहरुकै देश फर्किएका’ भन्ने विचार राखेपछि ‘तपाइँका पुर्खा पनि तिब्बतबाट आएर भूटानमा मोज गरिरहेका छन्’ भनेर रिजालले ठाडो जवाफ दिएका थिए ।
एएमसीसीका गतिविधिमा सुस्तता आएपछि हामी सबै शिविर फर्क्यौं र आ-आफ्नो भविष्यको निर्धारणतर्फ कर्ममा लाग्यौं । रिजाल नेपालको रामपुर कृषि क्याम्पसतिर पढ्नथाले भने म पत्रकारिता अध्ययनका लागि काठमाडौंतिर लागें । लामो समय हामीबीच कुनै सम्पर्क-अन्तरक्रिया भएन । तर, उनी जापानबाट कृषि वैज्ञानिक बनेर फिलिपिन्स सरेपछि सन् २०११ मा हुनुपर्छ, हाम्रो पुनः सम्पर्क स्थापित भयो । हामी दुवैले अब हाम्रो समुदायको अस्तित्व संकटमा परेको महसुस गर्दै अर्को चरणको अभियान के चलाउन सकिएला भनेर संवाद गऱ्यौं ।
समयक्रममा उनी नेपाल फिर्ता आए तर, त्योबेला हामी पुनर्वाश योजनामार्फत अमेरिकातिर प्रवेश गरिसकेका थियौं । त्यसपछि भाषा-साहित्यको खेतीबाट आफ्नो इतिहास र पहिचानको स्थायित्व कायम राख्न सकिने विमर्श गरी सोही अनुरूपको अठोटमा हामीले साहित्य परिषद्-भूटानलाई अमेरिकामा दर्ता गर्ने निधो गऱ्यौं भने रिजाल नेपाल प्रतिनिधिको रूपमा काम गर्न तयार भए । कवि तथा गजलकार याम थुलुङसँगै रिजालले परिषदको एशिया प्रतिनिधि बनेर लामो समयसम्म काम गरिरहे । यस सन्दर्भका सहमति र निर्णय जुटाउने क्रमका सहकर्मीहरु रमेश गौतम, रूप पोखरेल, यतिराज अजनबी, प्रकाश धमाला, शिव दाहाल, लक्ष्मण भण्डारी, सञ्चमान राई, मनोज राई, गंगाराम लामिटारेलगायतका अन्य सबैलाई पनि म व्यक्तिगत रूपमा एकमुष्ट सम्झन चाहन्छु ।
सामूहिक कर्ममा प्रतिनिधि बनेर वा नबनेरै पनि रिजालले सामुदायिक सरोकारको काम गर्न कुनै कसर बाँकी राखेनन्; उनले कहिल्यै पनि बिसाएनन् । साहित्यिक गतिविधिबाट उत्प्रेरित भएन रिजालले आधुनिक तथा उन्नतकृषिको झलक दिने ‘बेजोड बन्द’ कथासंग्रह प्रकाशित गराएका छन् भने ‘अ परदेशी ईन प्याराडाइज’ नाममा आफू संलग्न कर्मशील सामाजिक/राजनीतिक गतिविधि समेटिएको अंग्रेजी संस्मरण पनि प्रकाशित गरेका छन् । यो कृति प्रकाशनको लागि सहयोगी भूमिकामा डा. तारालाल श्रेष्ठलाई सम्झँदै उहाँप्रति रिजालजीको मातहतमा म कृतज्ञता अर्पण गर्न चाहन्छु । प्रकाशित कृतिबाहेक पनि रिजालले आफ्नो सफ्टवेयर कपीमा अनेकौं अनुसन्धानका फायलहरु राखेका छन् भन्ने कुरा मैले यसैवर्षको फेब्रुवरीमा काठमाडौंमा उनीसित एकरात बास बसेको अवसरमा जानकारी पाएको थिएँ । ती सबै खेस्रा-मस्यौदाहरु प्रकाशनको लागि तयारीको क्रममा थिए । तर, असमयमै, अल्पायुमै नियतिले उनलाई हामीबाट चुँडेर लगेको छ । यो घडीमा हाम्रो साझा सपनाको आकाश उज्यालो गराउने एउटा तारा अस्ताएको छ ।
पछिल्लो चरण, काठमाडौंमा डा. रिजाल र डा. शान्ता कार्कीको पाहुना बनेको अवसरमा हामी दुइले त्रिभूवन विश्वविद्यालयमा एउटा ‘भूटान डेस्क’ स्थापनाको खाकासमेत कोरेका थियौं । त्रिविविमा यसरी ‘भूटान अध्ययन केन्द्र’ स्थापना गर्नसकिए भूटानी समुदायको इतिहास अध्ययन-पुनर्लेखन सम्भव हुने र नेपाली भाषा-साहित्यमा यो समुदायले गरेको योगदानलाई दस्तावेजीकरण गर्नसकिने आशा थियो ।
समष्टिमा भन्नुपर्दा उनले आफ्नो निजी सरोकारभन्दा सामूहिक सपनालाई नै प्रमुखता दिएका थिए । धेरै वक्ताहरुको कथनबाट पनि त्यो कुरा पुष्टि भइसकेको छ । सबै मान्छेका निजी सपना हुन्छन्, उनका पनि थिए; तिनलाई कति पूरा गर्न सकिएला थाहा छैन । तर, जे भए पनि हामीले देखेका साझा सपना, समुदायको सरोकारमा राखिएका सामूहिक उद्देश्यहरु सफलिभूत गराउन सबै पक्षले बुद्धिमानीपूर्ण भूमिका खेल्नु अनिवार्य छ । डा. रिजालको चाहनामा भूटानसँग विगत र वर्तमान जोडिएका हरेक व्यक्ति र संस्थाहरुले साझा सपना र सामूहिक इतिहासको बिऊ जोगाइराख्ने अठोट राखेर समाजको सहस्तित्व, भातृत्व र सहिष्णुता कायम राख्नु पर्दछ ।
अलविदा, प्यारो भाइ, सहकर्मी मित्र, सल्लाहकार डा. गोविन्दा रिजाल ! तिम्रो बौद्धिक ज्योतिले दिने प्रकाशलाई अनुभूतिको जलपमा ताजा राखेर तिमीलाई सदासर्वदा स्मृतिमा अँगालिरहनेछौं ।