एउटा परदेशीलाई सम्झेर
तारा पराजुली-मोरङ, नेपाल

प्रभातले
सप्को खोल्न नभ्याउँदै
दुईचार धर्का मिरमिरे
भुर्इँमा खस्न नपाउँदै
गर्भिणी क्षितिजहरू
चिसो घाम कोरल्छन् ।
लखेटिएर पल्लो भू-खण्ड पुग्छन्
अपाङ्ग शरणार्थी सपनाहरू ।
घामसँगै ओहोरदोहोर गर्ने दिनहरू
त्यो जूनको बलेँसी
झ्यालढोका छलेर चियाउने हावाका झोक्काहरू
मौसमका बहार
पिठिउँभरि थकाइ थाप्ने चौतारी
फुर्सदका कल्पना
फूलको महक
पालममा तुमुल स्वर
खर्कको सेलो
बेठीको सुरम्य
उत्ताउला रतेउलीहरू
मारुनी, हाक्पारे
बालुन र च्याब्रुङ
दसँैको मालसिरी
तिहारको सयपत्री, मखमली मेला
देउसी र भैली
चासोक ताङ्नामको नूतनता
बकरिदको अङ्गालो
सबै सबै पोको पारी उतै लगेछौ
फगत छाडेछौ
झझल्को अल्झाइराखेर यो भूगोलभरि
कतिन्जेल झुक्याउनु निर्मल आँखाहरूलाई
उः त्यो मूलबाटाको हरियो मन देखाउँदै
प्रतीक्षालयमा कुराएर ?
फेरि यो निष्ठुर कालचक्रले भेटाउँछ भेटाउँदैन
मैले मेरो देश हँुदै
सगरमाथाको अटाली निस्केर
यो सन्देश पठाएकी छु
भोलि हेर्ने ऐनाहरू नघटाउनू भनेर
कसैगरी सुनाइदिनू
एउटा परदेशीलाई सम्झेर ।