एउटा व्यूरोक्र्याटको दिनचर्या
भीम ठटाल, सिक्किम-
रातभरि असिना र हुरीले कति घर-बाली नाशेको
अमिSSSSलो घुट्की निल्दै भर्खरै जिल्ला प्रशासनमा सरुवा भएको
म व्यूरोक्र्याट बिहानै ब्युँझिन्छु ।
दिउँसो कार्यालयमा त्येही युवक
आफ्नो रोजगार कार्ड दशौँपल्ट रिन्यू गरिमाग्न आउँछ
अनि जाबो एउटा नोकरीसम्म नभएको त्यस युवकलाई
नैराश्य र वेरोजगारी रिन्यू गर्नुबाहेक केही गर्न नसक्दा
तमाम कर तिरेर मेरो तलब भर्नेहरुका आशासम्म बाँच्न नसक्ने
म व्यूरोक्र्याट विचलित हुन्छु ।
मसँग क्षमता छ तर, ममाथि
मेरो क्षमतामाथि पनि ताण्डव गर्नसक्ने मान्छे छ
त्यसर्थ; मेरो क्षमता आफ्नै नपुंषक मुस्कानसँगै
घोल बनाएर नसर्किने गरी पिउनुपर्छ ।
दिनभरि जसो नै म सत्यापित गर्छु
सत्यापन गर्नुपर्ने यो अनुत्पादनमूलक काम,
कुनै विद्यार्थीको बल्ल-तल्ल उतीर्ण भएको परिणाम-पत्र
कुनै लोग्ने-स्वास्नीको पारपाचुके भएको प्रमाण-पत्र
ग्लोबल भिलेजमा पनि जात-जातको हुनुको कागज
देशकै भएर देशवासी हुनुको दस्तावेज
कुनै कविको पात्रको आइडेन्टिटी कार्ड !
हुन त म चौडा छात्ती भएकै मान्छे हूँ,
पेट न’भाको मान्छे दुनियाँमा को छ र ?
कत्तिले मबाट आफू हुनुको प्रमाण-पत्र पाउँछन् ।
म आफैं सोच्ने गर्छु कि अब
आफूले आफूलाई केर्नुपर्छ
अरुले आफूलाई आफू हुनुको प्रमाण दिने प्रथा फेर्नुपर्छ
हेर्नलाई नौलो आँखाले हेर्नुपर्छ,
तर, मैले पनि मान्छे, छात्ती र पेट टेर्नुपर्छ ।
व्यूरोक्रेसी वास्तवमा केही होइन
जसले जे पाउनुपर्छ उसलाई त्यही दिने एउटा चर्यामात्र हो
आधार, अधिकार अनि आवश्यकताको क्रय-विक्रय मात्र हो
आफू अलिक छाडा होइन्छ भनेर आफूलाई नै हप्काइ-दप्काइ गर्नलाई
निर्दिष्ट एउटा प्रक्रियानुसार नियुक्त आफू जस्तैहरुको एउटा हुद्दामात्र हो ।
यद्यपि, असिनाले छेडेका घर अनि
हुरीले उड़ाएका मनहरु छोप्न र सेक्न मेरोमा
बुर्जुआ आश्वासन अनि लेखेको नोटमा ‘रिगरेट’ गरिने नोटबाहेक
दिनलाई थप केही नै छैन ।
दिनचर्या हो;
साँझ घर गएर निद् सुतिन्छ
अनि सपनामा यो भीम ठटाल
कृष्णको जस्तो रूप लिएर उसकै अगाडि उभेर उसैलाई भन्छ,
तँ फगत् एक नोकर होस्,
तेरोमा आवेग, संवेग र विवेक भएरै पनि निर्विवेक तैंले
ऐन-कानूनका अनुश्छेदबाहेक अरु केही प्रयोग गर्ने अधिकार छैन ।
हात-खुट्टा अनि गति भएको तेरो शरीर र मगजले
नोट-शीटको फ्रेमदेखि बाहिर
कुनै स्वतन्त्रता पाउने छैन !
तेरो पदमा उन्नति हुन्छ तर, तेरो मानमा उन्नति हुँदैन,
सरकार अनि जनतालाई तेरो खाँचो पर्छ
तर, तेरो खाँचो तेरो तलबले जसोतसो टार्नुपर्छ ।
धनवानहरुको मात्र किपट भएको व्यूरोक्रेसीमा
तेरो खाली खुट्टे ब्याकग्राउण्ड
कुनै उल्का या उदेकको उदहारणमात्र हुन्छ ।
तेरो पैसा र पहुँचको आयतन जत्ति बढ्छ
त्यत्ति नै तेरो अभिव्यक्ति स्वतन्त्रता संकुचित हुन्छ ।
तेरो बोली नियन्त्रित र निर्धारित मात्र हुनुपर्छ,
तैंले जत्ति नै गरे पनि
तैंले गर्नुपर्ने भन्दा पर केही नापेको हुँदैन ।
तँ पखेटामात्र भएको उडान नभएको निरीह अनि निर्धो चल्लो होस्,
कुनै राजनीतिक आग्रह अनि कथित लगाव नहुनाले सरुवामात्र भइरहने
खेप-खेप गर्ने खेताला व्यूरोक्र्याटभन्दा बडी तँ केही होइनस् ।
त्यो कृष्णलाई म कतै विदा गरेर आफ्नो टेबलमा हेर्छु
अहो ! जिन्दगी घडीमा चढेर कुद्छ,
अब आजको नोटिंग समेट्नु पर्ने भयो
साँझ होटेलमा डीनर छ, भोलि मन्त्रीको प्रोटोकल
टाइट प्रोग्राम छ, टूर पनि छन्
अनि फाइल समेट्दै म घर फर्कन्छु,
श्रापयुक्त दुनियाँका आँखाको फेदबाट
व्यङ्ग्य र अविश्वासका लश्कर हुँदै
अनि मेरो निकम्मापनलाई सधैं झ्यालबाट
टेलिस्कोपिक आँखाले हेर्ने कविका लाञ्छनायुक्त प्लट हुनुबाट जोगिँदै !
(अप्रेल १५, २०१३, गेजिंग)