एउटा संयोग
खेम रिजाल
ओहायो, अमेरिका
उनले धेरै वर्षपछि फोन गरिन् । आवाज ठम्याउन सकिनँ र सोधेँ ।
“म के तपाईँ कि सुमित्रा”, सुरिलो स्वरमा उत्तर आयो । असजिलो, अलिक अप्ठेरो मान्दै संवाद अगाडि सारिन् । “के तपाईँ मलाई अझै माया गर्नु हुन्छ?”
मैले आपत्ति व्यक्त गरेँ, “म विवाहित पुरुष हुँ।”
“म त अविवाहित नै छु नि त ?” उनको प्रत्युत्तर ।
त्यसपछि उनले मलाई प्रश्न प्रतिप्रश्न सोध्दै गइन् । उनको आक्रोशलाई मत्थर बनाउन, म दुई सन्तानको बाबु भैसकेको जानकारी गराएँ । तरै पनि एक प्रकारले बेखुसी दर्साइन् । पन्ध्र-बिस मिनेटको कुराकानी पश्चात्, फेरि भनिन्,
“तपाईँ मलाई एउटा सहयोग गर्न सक्नु हुन्छ ?”
“कस्तो सहयोग? ” मैले सोधेँ ।
उनले भनिन्, “मलाई एउटा बच्चा बनाइदिनुहोस्, अरू केही चाहिँदैन ।”
म अकमक्क परेँ । करिब पाँच वर्ष पहिले हुँदो हो, एक अधबैँसे फिलिपिन्सकी साथीले, मलाई यही कुरा धेरै पटक अनुरोध गरेकी थिइन् । खूब माया गरी टोपल्थिन् । मैले बिस्तारै अस्वीकार गरेँ ।
फोनको कुरामा केही बेर मौन रहेपछि, उनले धैर्यतापूर्वक, दबेको आवाजमा विनय गरिन् ।
मैले सोधेँ, “अनि तिमी विवाह गर्दिनौ?”
“बच्चा जन्माउन के श्रीमान् श्रीमती नै हुनुपर्छ र अमेरिकामा ?” उनको चर्को सवाल थियो । अझै थपिन्, “म फियन्सीसँगै बस्छु र डाक्टरको परामर्श अनुसार, उसको बच्चा हुँदैन रे ! तर मलाई आमा बन्ने चाहना छ । तपाईँ नै भन्नुहोस् के यो सौभाग्य दिनुहुन्न त?”
मैले हुन्छ भन्दिएँ । तर, दुई सातापछि मेरो गर्भनिरोधनका लागि भ्यासेक्टोमिको एपोन्टमेन्ट स्केज्वल गरिएको थियो !