एकछिन बुद्ध

मनोज बोगटी, दार्जीलिङ-

कवि
कवि

चुल्हाको दाउराबाट झिलिलि झिलिलि झिल्काहरू

जोड जोडले रिसाउन थालेपछि
म पत्कर, घर छोडेर भागेको हुँ, एकछिन ।

एकछिन त हो तुफानको चुरिफुरी
एकछिन त हो छालको रवाफ,
एकछिन त हो आगो झिल्काको स्वाङ पनि !

आगोले झिल्को निकालेको बेला
एकछिन बसेँ भने म खाक हुनसक्छु
धेरै मिहिनेतले लेखेको एउटा पुरानो प्रेमपत्र खरानी बन्नसक्छ
त्यहॉं लेखिएको प्रियसीको नामलाई आगोले खान सक्छ ।
घर डढ्न सक्छ ।

एकछिन पसेको छु जङ्गल
एकछिन गृहत्याग गरेको छु,
एकछिन बुद्ध भइरहेको छु ।

तर घनघोर यो जङ्गलभित्र भित्र पसेर
छाडा कुइराहरू
तरुणी रुखहरूलाई अङ्गालो मारेर इत्रिरहेछन्‌ ।

न्याहुलको चुच्चोबाट फुत्त फुत्त निस्किरहेछ प्रेम गीत
र, पखेटा फरफराउँदै पर्खिरहेछ नाङ्गो हॉंगामा कसैलाई ।

धुप्पीको सिन्कामा दुईवटा शीत एकै अङ्गालोमा बॉंधिँदैछन्‌
र, मैरे अघि
आत्महत्या गरिरहेछन्‌ !

धुप्पीको बोक्रामा टुक्रुक्क बसेका दुईवटा फूल
जोडजोडले बतासको गीतमा नाचिरहेछन्‌ ।

बाटैमा भेट भएका केही कमिलाले एकार्काको मुख चाटेर
एउटै बाटो फर्किरहेछन्‌ हॉंगैहॉंगा उकालै उकालो ।

बच्चाहरुसित मुरीभुस सुतेकी पोथी चरालाई ठुङ्‌न तीनपल्ट भालेचरा झम्टिएपछि
खुसुक्क निस्किएर हान्नियो आकाशको टुप्पोतिर पोथी चरा
कस्सैले नदेख्ने ठाउँतिर पछ्‌याउँदै भाग्यो भाले चरा ।

यति देखेपछि,
धुप्पीको फेदमा बसेको सिद्धार्थको बोक्रा उक्कियो
र, निस्कियो एकछिन एउटा बुद्ध ।

त्यसपछि हजारपल्ट भयो मैले बन्द दैलोअघि उभिएर जपेको-
‘अहिंसा परमो धर्म,
सबैलाई प्रेम गर ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *