एका बिहानै आकाशमा

कवि
कवि

‘क्षितिजको मित्र’ प्रकाश धमला
अस्ट्रेलिया

अर्ध चन्द्रमा हेरेर
“घाम भन्दा चन्द्रमा क्या सोफ्ट एंड कुल हुन्छिन”
भन्ने मेरो छोरोले
टेलिभिजनमा समाचार हेरेछन् भने
“बाबा हेर्नु त टी भी मा
घोप्टो परेर पूर्वी क्षितिज तिर
एउटा नानी म जस्तै,
हात खुट्टा पसारेर बालुवामा
समुन्द्रको ओछ्यान लगाएर
घामलाई वेल्कोम गर्ने बसेको,
म पनि त्यसै गर्न जाने नि”
म चुपचाप रहे, बोली सम्म आएन
म निर्धो भए, सोफाबाट उठ्न सम्म सकिन
भित्ताको घडीमा ठ्याक्क साढे छ बजेको छ
हेरिरहेछु समय सूचकलाई
सम्झे मैले
बरपीपलको फेदीमा बसेर आमासँग रोएको
ठुलीआमाले ५ मानो चामल दिएर बिदा गरेको
बाबाको रगताम्मे टोपी ह्याण्डब्यागमा बोकेको
खोलाको बगरमा जीवन रोपेको
आगोले पोलेको, झरीले चुटेको, हुरीले सास रोकेको,
पत्तै भएन कहिले परेलीका बाध भत्किएछन
अनि भने छोरोलाई
“नानी मेरो आँसु त्यो समुन्द्र भएर बगोस्
बालुवा मात्र भएको हेर्न मन छ मलाई ”
छोरालाई सुम्सुम्याउदै फेरि थपे
“धन्न तिम्रो बाबाले डुङ्गा छाड्नु परेन”
टेबुलमा भएको ग्लोब घुमाएर
देखाए मेरो साधा जीवन ब्ल्याक एण्ड वाइट रिलहरूमा
केही नबोलीकन छोराले टप्पक्क टिपे
घुम्दै गरेको ग्लोब
बिस्तारै स्क्रीन डोर खोलेर निस्किए बाहिर
एक्कै छिन् पछि फेरी सोफामा आएर भने
“बाबाले मैले संसार डुबाइ दिए;
मैले संसार डुबाइ दिए;
अनि एकासी आँखा भरि आँसु परेर भने
“म जस्तो नानीहरू सेफ नहुने संसार चाइदैन;
मलाई म डुब्ने संसार चाइदैन;
मलाई मेरो जीवन अर्काको डुङ्गामा निर्भर हुने
संसार चाइदैन;
त्यसैले मैले डुबाइ दिए संसार”
समाल्दै छोरालाई निस्के बाहिर
ग्लोब त स्विमिङ्ग पुलमा तैरिएको रहेछ
आधा भाग पानीमा डुबेर |

Leave a Reply

Your email address will not be published. Required fields are marked *