काँडादार चुम्बक

कवि

टंक उप्रेती
काठमाडौँ

मेरो हृदयको संग्रहालयमा
संग्रहित सम्पूर्ण खिलहरु
तिम्रै काँडाहरुका घोचाइबाट
उब्जिएका हुन्

मेरो संवेदनाको क्रमिक मृत्यु
तिम्रै आँगनमा भएको हो
मेरो यस्तो मृत्युका साक्षीहरुले
अहिले पनि भेटलान
सपनाको खोजीमा लम्कंदै गर्दाका
मेरा साना र कोमल पाइतालाका छापहरु
तिम्रा गल्ली, पेटी र चोकहरुमा

म स्पातमा रुपान्तिरत हुँदै गर्दा
तानिंदै गएँ तिमीतर्फ
मेरो क्रमिक मृत्यु र प्राप्ति
मेरो जीवनका एउटै कुचक्रका अभिन्न दुई विन्दूहरु हुन्

म जति अंश बाँचेको छु अहिले
त्यसको निरन्तरताको लागि पनि
तिम्रो सामिप्य अपरिहार्य भएको छु ।

तिम्रो घोचाइबाट नै मलाई महशुश हुन्छ
अहिले म बाँचेको कुरा
अहिले पनि म टेक्ने गर्छु
तिम्रा तिखा काँडाहरुमा

ओ काँडादार काठमाडौं !
तिम्रा तिखा काँडाहरुमा टेक्दै
अक्युप्रेसरबाट झैं
जीवनबोध गरिरहेछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *