एम्बुसमा एकलव्यहरु
प्रदीप लोहागुन-कालेबुङः-भारत
द्रोणाचार्यहरू अझै पनि चहाँदैनन्
कि कुनै पनि एकलव्य
निपुण धनुर्धारी बनोस्
र हानोस् एउटा विचारको काँड
सत्ताको क्रूर मुखमा।
एकलव्यहरूलाई
आरक्षणको अनकण्टार जंगलबाट
शहर पस्न वर्जित गर्छन् द्रोणाचार्यहरू
त्यो शहर,
जहाँ कौरव र पाण्डवहरू
सत्ताको कुरूक्षेत्रमा उभिएर लड्छन्
षडयञ्त्रको महाभारत।
देशलाई गान्धीको वीर्य सम्झिने भीष्म पितामहहरू
मुख थुनेर बसेका छन्, डराउँछन् सत्य बोल्न
धृत्राष्ट्रहरूले कान थुनेका छन्, डराउँछन सत्य सुन्न
गान्धारीहरूले आँखा छोपेका छन्, डराउँछ सत्य हेर्न।
कर्पोरेट कमण्डलू बोकेर
द्रोणाचार्यहरू आफै आउँछन् जंगल
र माग्छन् एकलव्यको बूढीऔलीँ।
सत्ताको कारखानामा बनिएको
चाप्लुस रेडियो र टेलिभिजनहरूले
हरेक युगमा फुकेका छन् एउटा मसालेदार खबर
कि अहिंस्रक भन्ने त्यो ज्ञानी किशोर
आफ्नै गुरूमातासँग सल्केको थियो।
पुराणजस्तो लाग्ने अध्याँरो गुफाबाट
कहिले निस्केनन् प्रेस काउन्सिलका अध्यक्ष
र कहिले गरेर त्यो झूटो खबरको खण्डन
कि, निर्दोष अहिंस्रकलाई षड्यन्त्रको पासो थापेर
पुर्याइएको थियो जालिनीको जङ्गल
र बनाइएको थियो अङ्गुलिमाल डाकू !
हरेक युगमा हातमा छुरी बोकेर
एकलव्यको बूढीऔँली काट्न
तयार छन् द्रोणाचार्यहरू ।
हरेक युगमा,
हातमा वीषको प्याला बोकेर
सुकरातलाई मार्न तयार छ सत्ता !
हरेक युगमा,
बदनामी फैलाएर
अहिंस्रकलाई अङ्गुलिमाल डाकू बनाउन तयार छ सरकार !
मेरो गल्लीको त्यो मैला कुनामा
पिसाब फेरिरहेको मान्छे गुप्तचर हुनसक्छ !
मेरो घरअघिको किरानापसलको भित्तामा
पोष्टर पढिरहेको त्यो मान्छे
‘र’को एजेण्ट हुनसक्छ !
अनाहकमा मेरो कलम खोसिनसक्छ,
व्यर्थैमा मेरा किताबहरू जफत् हुनसक्छ !
टोलमा कुनै संदिग्ध मान्छेले मलाई सोधे भने
भन्दिनू,
उ त कृषिदर्शनको नयाँ अङ्क पढ्न
सरकारी लाइब्रेरीतिर गएको छ।