ए ! कृष्ण आऊ अब
मणिराम धिमाल ‘दीपित’
टेक्सास, अमेरिका
छन्द: शार्दुलविक्रिडित
यो ब्रहमाण्ड विनाश तर्फ रणमा लाग्दैछ ए ! ईश्वर
मान्छेको बध गर्छ मानिस स्वंय के निम्ति के खातिर
मान्छेमा ममता र मानवपना खाली भयो ईश्वर
धर्मस्थापन गर्न फेरि कलिमा ए ! कृष्ण आऊ अब ।।१।।
सुन्दैनन् शिशुका अलाप दुनियाँ हेर्छन रमीता बरु
सुन्दैनन् करुणा पुकार दिलका तर्केर हिड्छन बरु
बग्दैछन नद रक्तका जगतमा उर्लेर चारैतिर
यस्तो बर्बर हत्य रोक्न कलिमा ए ! कृष्ण आऊ अब ।।२।।
गोला बारुद अस्त्र बख्तर नयाँ गर्दै अविस्कार याँ
लड्दैछन दिन हुँ अराजक ठुलो मच्चाउँदै धर्तिमा
नारी गर्भवती न बालख कुनै छोडेन बाकी नर
यस्तो ताण्डव युद्ध रोक्न कलिमा ए ! कृष्ण आऊ अब ।।३।।
जल्दैछन मठ धर्मका र नितिका ती शास्त्रका पुस्तक
गर्दैछन अपराध राज्यहरुमा ती कंश भै एक् जुट
हा ! हा ! कार छ मृत्युको घर घरै चित्कार को सुन्छ र
यस्तो शोक अधर्म रोक्न कलिमा ए! कृष्ण आऊ अब ।।४।।